महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले अछामस्थित वैद्यनाथ वेद विद्याश्रमलाई एक लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन् । बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको हो । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
सिटी एक्सप्रेसको ‘न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत १० लाखकाे विजेता घाेषित
काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति” योजना अन्तर्गत जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् । एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो । साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाएर लक्कीड्रमा परी बम्पर उपहारस्वरुप यादवले सो रकम प्राप्त गरेका हुन् । यस उपहार योजना अवधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९ सय जनाले रु २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगद र ३ जनाले रु १ लाख नगद प्राप्त गरिसकेका छन् र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधानअनुसार यादव विजयी भएका हुन् । सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
तीन दिनदेखि अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुला
डाेटी । तीन दिनदेखिको लगातारको वर्षात्का कारण पहिरो आउँदा अवरुद्ध भएको अछाम डोटी जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गको सिलगढीस्थित उडितोला नजिक बुधबार राति पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् । पहिरोले राजमार्ग अवरुद्ध हुँदा अछाम, बाजुराबाट तराई जान आएका एक दजर्न सवारी साधन बीच बाटोमै रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी, स्थानीयवासीको पहलमा उक्त राजमार्ग अहिले सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरीले जनाएको छ । राजमार्ग सञ्चालन भएपछि सवारी साधन तथा यात्रु अहिले आफ्नो गन्तव्यतिर लागेका छन् । त्यसैगरी हिमपातका कारण आज बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग पनि सञ्चालन भएको छ । बुधबार रातिदेखिको लगातार बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा बन्द भएको थियो भने सयौँ यात्रु अलपत्र परेका थिए । सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि यातायात सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रहरी प्रमुख कर्ण रौलेले जानकारी दिए । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी चौकी बुडर डोटीले जनाएको छ । भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँखर्क तथा डोटीको गैरा क्षेत्रमा बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिएका हुन् । रासस
भैरहवा सेज जङ्गलमा परिणत हुँदै, ५२ बिगाहमा ३ वटा मात्रै उद्योग सञ्चालन
काठमाडौं । पछिल्लाे समय भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) जंगलमा परिणत भइरहेकाे छ । ५२ विगाह क्षेत्रफलमा फैलिएकाे सेजमा हाल ३ वटामात्र उद्याेग सञ्चालित छन् । ५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा ६९ वटा प्लट रहेको मध्ये ५० वटा प्लटमा उद्योग स्थापनाका लागि अनुमति र ३ वटामा उद्याेग सञ्चालन भइसकेका छन् । बाँकी १९ वटा प्लटमा उद्योग स्थापना हुन बाँकी रहेको छ । भैरहवा सेजमा स्थापित स्टील, एलइडी लाइट र आल्मोनियम उद्योगकाे उत्पादन पनि शुरू भइसकेकाे छ । सेजमा स्थापित उद्योगहरूलाई सरकारले कर छुट सुविधा समेत दिएको छ । अर्थविद डा. शंकर शर्माले सरकारको सेज प्रतिको निती राम्रो नभएकाले औद्योगीक क्षेत्र जङ्गलमा परिर्णत हुँदै गएको बताए । ‘उद्योग स्थापना गर्छु भन्नेहरु नै सेज छाडेर गइसके, २२ वटा प्लट खाली छन्, ३ वटाभन्दा धेरै प्लट त जङ्गलमा परिर्णत भइसकेका छन्, सेज मर्मतका लागि गत वर्ष दिएको बजेट खर्छ भएन, बाटो नभएर ६ वटा उद्योग छाडेर गइसकेका छन् ।उनले भने ।’ विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशकको नियुक्ती हुन नसक्नुले पनि समस्या भएको उनकाे भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सेजले जसरी पनि गति लिने बताए । ‘अब पहिलेको जस्तो सुस्ताएर बस्दैन, कर्मचारी र सरकारलाई दोष लगायर मात्रै हुदैन, हामिले नयाँ औद्योगिक क्षेत्र पनि विस्तार गर्न लागेका छौ । उनले भने ।’ उद्योग राज्य मन्त्री मोतिलाल दुगडले निजि क्षेत्रका लगानीकर्ता किन निरुत्साहित भए भनेर बुझनु पर्ने बताए । सरकारकाे निजी क्षेत्रसगँ सहर्काय हुनु आवश्यतक रहेकाे उनकाे भनाइ छ । उद्याेगीहरू उद्योग सञ्चालन गर्नुभन्दा पनि उद्योगको फाइल बाकेर दैडिनु पर्ने अस्थाको यो सरकारले अन्त्य गर्नै पर्ने उनकाे भनाइ छ । उनले भने, ‘देश अझैँ पनि संकटमा छ ,रेमिटेन्सले मात्रै देश देश चलाएर हुदैन, देशमा रोजगारी, औद्योगिक वातावरण र देशको आर्थिक वृद्धि हासील गर्नु पर्नेछ ।’ उद्योग मन्त्रालयका सहसचिव दिनेस भट्टराईले सरकार-सरकार विचका निकायमा पनि समन्वय नभएको धारणा राखे ।पहिलो ७० प्रतिशत सेजमा उत्पादन गरेको वस्तु निर्यात गर्नु पर्ने प्रावधान थियो,अहिले त्यसलाई घटाए ६० प्रतिशतमा झारेकाे उनकाे भनाइ छ । सेजमा उद्योग आकर्षण हुन् भनेर नै घटाएका हौं, सेजले निर्यातजन्य उद्याेगको लागि प्राथमिकता दिएको छ । विद्युत, पानी र सडकमा सरकारले लगानी गरिदिएको छ, यो सरकारले निर्यात रोजगारमा वृद्धि होस् भनेको हो, सेज एउटा प्राधिकरण हो, प्राधिकरण पनि त चल्नु पर्छ ।’ उनले भने । यस्तै, विद्युत प्रधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हाल नेपालका विद्युत प्रयाप्त भएकाे बताउँदै अहिले पनि ४० प्रतिशत विद्युत उधोगलाई दिएको बताए। सेजका लागि सन् २००१ मा जग्गा अतिक्रमण गरेको थियो । २००८ मा सेजको पूर्वधार निर्माण भएको थियो ।
कालिका र जनसेवी लघुवित्तबीच एकिकृत कारोबार शुरु, चुक्ता पुँजी २५ करोड नाघ्यो
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच एकिकृत कारोबार शुरु भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई संस्थाबीच बुधबारदेखि एकिकृत कारोबार शुरु भएको हो । राष्ट्रिय स्तरको कालिका लघुवित्तसँग जनसेवी लघुवित्त गाभिए पश्चात स्याङ्जा स्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकिकृत कारोबारको शुरुवात भएको हो । गाभिएपश्चात बनेको नयाँ संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको आतिथ्यतामा एकिकृत कारोवार शुरु भएको संस्थाका प्रमुख कार्यकारी अधिकृतमिन बहादुर बोहराले बताए । मर्जर पश्चात बनेको संस्थाको चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार र अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तार सहित ५९ हजार सदस्यहरुलाई ३९२ जना कर्मचारीहरु मार्फत सेवा पुर्याइरहेको छ । गाभिएपश्चात बनेकाे नयाँ संस्थाले १ अर्ब ४७ लाख रुपैयाँ निक्षेप संकलन सहित सदस्यहरुलाई २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा सेवा दिइरहेको संस्थाका नायब कार्यकारी अधिकृत कमल बहादुर खत्रीले जानकारी दिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिन बहादुर बोहराले चालु आर्थिक वर्ष भित्रमा नै थप २० वटा नयाँ शाखाहरु विस्तार सहित शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल प्रदान गर्ने योजना रहेको बताए ।
तीन तहका सरकारबीच समन्वय नहुँदा बाँकेमा १८ आयोजनाको काम ठप्प
बाँके । मुलुक सङ्घीयतामा गएपछि विकास निर्माणका काम समयमै सम्पन्न होलान् र सरकारले उपलब्ध गराउने सेवा र सुविधा सेवाग्राहीले सहज रूपमा पाउलान् भन्ने धेरैले आशा गरेका थिए । तर, मुलुक सङ्घीयतामा गएपछि गठन भएका सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा विभिन्न योजनाका काम अलपत्र परेका छन् । मुलुक सङ्घीयतामा गएसँगै सरकारी कार्यालयको संरचनामा भएको फेरबदल र कर्मचारी समायोजनका कारण बाँके जिल्लामा मात्रै १८ विकास निर्माणका योजनाको काम रोकिएको निर्माण व्यवसायी सङ्घ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले बताएका छन् । संरचना परिवर्तन भएर अन्योल हुँदा धेरै ठेकेदारलाई भुक्तानीको समस्या भएको सङ्घका अध्यक्ष खड्काको भनाइ छ । तीन तहका सरकारबीच समन्वय नहुँदा नेपालगञ्जमा निर्माणाधीन अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालय र कृषि विकास कार्यालय भवन निर्माणको काम एक वर्षदेखि अलपत्र छ । साविकका जिल्ला शिक्षा कार्यालय खारेज भएर शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय गठन भयो । नयाँ कार्यालय गठन भएसँगै शिक्षा कार्यालयमा इञ्जिनीयर र सवइञ्जिनीयरहरु प्रदेश र स्थानीय तहमा समायोजन भएर गए । निर्माणाधीन कार्यालय भवनको अनुगमन गर्ने प्राविधिकहरु नहुँदा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयको भवन निर्माणको काम विसं २०७५ साउनदेखि रोकिएको छ । करिब रु दुई करोड ११ लाखमा निर्माणकार्य शुरु भएको कार्यालय भवनको झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी २० प्रतिशत काम पूरा गर्न गत आर्थिक वर्षमा विनियोजन भएर आएको रु ५० लाख फ्रिज भएर गएको छ । निर्माण व्यवसायीले पछिल्लो चरणमा गरेको कामको रकमसमेत भुक्तानी पाउन सकेका छैनन् । ठेक्काको समयावधि २०७५ चैतमा सकिएको भए पनि हालसम्म म्याद थपसम्म हुनसकेको छैन । चालू आवमा भवन निर्माणको काम सम्पन्न गर्नका लागि रु एक करोड विनियोजन भएर आए पनि हालसम्म ठेक्काको म्याद थप र अनुगमन गर्ने प्राविधिकको टुङ्गो लागेको छैन । शिक्षा कार्यालयको जस्तै कृषि ज्ञान केन्द्रको भवन निर्माण पनि एक वर्षदेखि अलपत्र छ । कृषि विकास कार्यालयको साढे दुईतले भवन निर्माणको काम तीन वर्ष पहिले रु दुई करोड ८७ लाखमा शुरु भएको थियो । निर्माणकार्य शुरु भई भवन निर्माणको काम एक चौथाइ हुँदै गर्दा कृषि विकास कार्यालय नै खारेज भयो । प्रदेश सरकार मातहतमा रहेको कृषि विकास कार्यालयको नै नाम परिवर्तन भएर कृषि ज्ञान केन्द्र बन्यो । सङ्घीय सरकारबाट प्रदेश सरकारमा गएका कारण निर्माणाधीन कार्यालयलाई आवश्यक पर्ने बजेटको व्यवस्था हुन नसक्दा विसं २०७५ असार मसान्तसम्म पूरा भई सक्नुपर्ने भवन निर्माणको काम हालसम्म अलपत्र अवस्थामै छ । निर्माणाधीन भवन कुन सरकारले कसरी बनाउने भन्ने अन्योलले एक वर्षदेखि भवन निर्माणको काम रोकिएको हो । केन्द्रको निरन्तर प्रयासपछि २०७६ कात्तिकमा आएर बल्ल निर्माणाधीन भवन प्रदेश सरकारले बनाउने निर्णय भयो । तर, हालसम्म बजेटको व्यवस्था हुन नसक्दा भवन निर्माणको काम अघि बढ्न सकेको छैन । भवन निर्माण सम्पन्न गर्न अझै करिब रु दुई करोड ३० लाख बजेट लाग्ने अनुमान गरेर कृषि ज्ञान केन्द्रले बजेट माग गरेर प्रदेश सरकारमा पठाएको छ । प्रदेश सरकारबाट बजेट विनियोजन गरेर पठाएपछि म्याद थप गरेर भवन निर्माणको कामलाई अघि बढाइने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । सङ्घले हेर्दा शहरी विकास भवन डिभिजन कार्यालयले रेखदेख गर्दथ्र्यो । अब प्रदेशमा अधिकार आएपछि सङ्घीय कार्यालयतिर अनुगमन/निरीक्षणको जिम्मा आएको छ । “संरचनाहरु परिवर्तन हुँदा बजेट कहाँ माग्ने भन्ने अन्योल देखिएको छ । पहिले नै ठेक्का शुरु गरेका ठेकेदार मारमा परेका छौँ । यसका लागि सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारको समन्वय जरुरी देखिन्छ”, सङ्घका अध्यक्ष खड्काले भने । रासस
आरएमडीसी लघुवित्तका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.५ प्रतिशत र १२.५ प्रतिशत बोनस पाउने भएका छन् । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा संचालन मुनाफा ४८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको यस वित्तीय संस्थाको चुक्ता पुँजी १२.५ प्रतिशत बोनस पश्चात ८९ कराेड ९२ लाख रूपैयाँ पुगेकाे छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा ३२ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने सो अवधिमा लगानीमा रहिरहेको बाँकी ऋण रकम ८ अर्ब २२ करोड रुपैयाँ रहेको बताएकाे छ ।
आज देशभर हल्का वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
काठमाडाैं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बुधबार काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । “पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ”, मौसमविद् बासीले भने । हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ । राति देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशका पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । रासस