चालु आर्थिक वर्षकाे ६ महिनामा सुदुरपश्चिम सरकारले गर्याे १० प्रतिशत खर्च
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १० प्रतिशत विकास बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको चालु र विकास बजेट २८ अर्ब १६ करोड रुपैयाँ छुट्याएको थियो । हालसम्म १ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको हो । कुल विकास बजेटको १०.३ प्रतिशत हुन्छ । प्रदेशकको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत वर्षको तुलनामा यस वर्ष खर्च विवरण बताए । गत वर्ष १.४१ प्रतिशत मात्रै पुँजीको बचेट खर्च भएको थियो । आर्थिक मामिला योजना मन्त्रालयको दुई दशमलब ४८ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५.६२ प्रतिशत छ । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ६.४९ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३.७१प्रतिशत र सामाजिक विकास मन्त्रालयको ४.९९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।
लगातारको हिउँदे वर्षाले किसान हर्षित
महाेत्तरी। लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन् । बिहीबारदेखि परेको पानीले जाडो बढाएर बाटोघाटो हिलाम्य भए पनि फसल (बाली) राम्रो हुने आशले सो ठाँउका किसानमा खुशी छाएको हो । “पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँड्डुल गर्न त सकस बढेको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारूले भने, “तर महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाउने आश छ ।” महोत्तरीसहित मध्यपूर्वी तराईमा मङ्सिर निगल्दोयता तीनपटक राम्रो वर्षा भएको छ । “गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर निगल्दो पानी पर्यो”, भङ्गाहा–४ कै रामनगर बस्तीका अर्का किसान बृदेबसिंह दनुवारले भने, “त्यसपछि पुस तेस्रो साता र तिलासक्रायत (माघ सङ्क्रान्ति) पर्वलगत्तै यसपालि हिउँदमा तीनपटक पानी परी सक्यो, हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि राम्रो उब्जने आश जागेको छ ।” यसपालि मङ्सिर निगल्दो, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन (अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली), उखु, गहुँ र फलपूmल (आँप, लिची, सपाटो, रूखकटहरसहित) लाई राम्रो चिस्यान भएको किसानको ठहर छ । अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्य झैं हुने किसान बताउँछन् । महोत्तरीमा करीब ७२ हजार हेक्टर खेतीपातीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र स्थायी सिँचाइ (कुलो, नहर लाग्ने) जग्गा छ । धेरैजसो जग्गामा आकासेपानीकै भरको खेती गर्नुपर्दा ठीक समयमा परेको पानी किसानलाई अमृत बर्सेजस्तै हुने गरेको गौशाला नगरपालिका–८ का बिल्टु सादामुसहरले बताए । मङ्सिर निगल्दो (अन्तिम साता) यता माघ पहिलो साताभित्र यसपालि ४० दिनभित्र तीनपटक माटो गालेर पानी परेको छ । पछिल्लो पटक शुक्रबार परेको पानीले त कैयौँ सडक हिलाम्य भएका छन् । यद्यपि जिल्लाका किसान भने सडक हिलाम्य वर्षाले नभई आफ्नै प्रतिनिधिको लापर्वाही र उदासीनताले भएको बताउँछन् । “वर्षा त हाम्रो जीवन हो, यो बिना जीवन चल्दैन”, औरही नगरपालिकाको चेप्कट बस्तीका पुराना राजनीतिक एंव सामाजिक कार्यकर्ता दुर्गाप्रसाद उपाध्यायले भने, “स्थानीय तहका जनप्रतिनिधि बाटोघाटो बनाउन, मर्मत गर्न र पानी बग्ने कुलेसा बनाउन लागेनन् भनेर पानी पर्न त छाड्नु भएन नि ।” रासस
गण्डकी प्रदेशलाई च्याउमा आत्मनिर्भर बनाउने कृषिमन्त्री थापाकाे अठोट
काठमाडौं । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको छ । गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषक सञ्जालद्वारा पोखरामा आयोजित ‘च्याउखेतीको अवसर तथा चुनौती’ विषयक सरोकारवालाबीच अन्तरक्रिया एवं च्याउ परिकार महोत्सवको उद्घाटन गर्दै कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकता बताए । मन्त्री थापाले गण्डकी प्रदेशलाई च्याउमा आत्मनिर्भर बनाउने योजनासहित आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउँदै कृषि क्षेत्रमा प्रदान गरिने अनुदान वास्तविक कृषकले पाउने विश्वास व्यक्त गरे । कम लगानीमा बढी उत्पादन गर्न स्रोत संरक्षण आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायिक कृषिमा लाग्न आग्रह गर्दै उहाँले स्रोत संरक्षण आधुनिक प्रविधि, भण्डारण र बजारीकणमा सरकारको सहयोग रहने छ । प्रदेशसभा सदस्य दीपक कोइरालाले कृषि क्षेत्रलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उन्नत जातका बीउ र बजार व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । पूर्वमन्त्री केशवलाल श्रेष्ठले नेपालमा च्याउखेती र यसको भविष्य विषयक कार्यपत्र प्रस्तुत गर्दै मुलुकका ४२ जिल्लामा व्यावसायिक च्याउखेती हुँदै आएको जानकारी दिए । च्याउ सेवनले दीर्घजीवन दिने बताउँदै उनले यसको विकास र विस्तारका लागि सरकारीस्तरबाट पहल गरिनुपर्ने आवश्यकता औल्याए । च्याउ विशेषज्ञ टीकाराम अर्यालले मुलुकको समृद्धिका लागि व्यावसायिक च्याउखेती आवश्यक रहेको बताउँदै दैनिक च्याउ सेवनले क्यान्सर, मुटुरोग, मिर्गौला, सुगरलगायत विभिन्न रोगसँग जुध्नेशक्ति प्रदान गर्ने बताए । महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका च्याउ उत्पादक कृषकद्वारा उत्पादित विभिन्न जातका च्याउको मम, सुप, अचार, सेकुवा, पकौडा, कुकिज, सुकुटीलगायत परिकारको आकर्षण रहेको छ । रासस
कर्णालीमा १ सय ५० सहयोगापेक्षी सडक मानवको उद्धार
काठमाडौं । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित प्रदेश बनाउन १ सय ५० जनाको उद्धार गरिएको छ । गाँस, बास र कपासको अभावमा सडकलगायतका सार्वजनिक स्थानमा जीवन बिताउँदै आएका उनीहरुको उद्धार गरिएको हो । सबै स्थानीय तह, सरोकारवाला र मानवसेवा आश्रमसँगको सहकार्यमा कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने कार्यक्रम छ । घोषणासँगै कर्णाली नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवरहित प्रदेश बन्नेछ । सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकले सडकमा मागेर खाने र सडकमै रात बिताउनेहरुको उद्धार गरी सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणाको तयारी गरिएको बताए । यही पुस ८ गतेको प्रदेशको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने निर्णय गरेको थियो । त्यस्तै, पुस ११ गते सम्पन्न प्रदेश समन्वय परिषद्को दोस्रो बैठकमा कर्णालीलाई सडक सहयोगापेक्षी मानवरहित प्रदेश बनाउने सङ्कल्प पारित गरिएको थियो । यसको कार्यान्वयनमा प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा अनुगमन तथा निगरानी समूह गठन गरेको छ । संविधानको मर्म र लोककल्याणकारी राज्यको अवधारणा सार्थक पार्न तथा सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यले सडक मानवरहित प्रदेश घोषणा गर्न लागिएको बताइएको छ । मानवसेवा आश्रम सुर्खेतमा हाल ५० जना आश्रित छन् । आश्रमका संयोजक सिर्जना ओलीका अनुसार एक वर्षको अवधिमा १ सय ५० जनालाई सडकबाट उद्धार गरेर ल्याइएकोमा अन्यलाई परिवारको जिम्मा लगाइएको छ । अव सडक सहयोगापेक्षी मानिस देख्न वित्तिकै प्रहरी, सम्बन्धित स्थानीय तहले मानवसेवा आश्रममा बुझाउनेछन् । रासस
बागलुङमा सुन्तलाको मूल्यका लागि सुरक्षित भण्डारण गर्दै किसान
काठमाडौं । राम्रो मूल्य पाउनका लागि सुन्तला सुरक्षित भण्डारण तर्फ बागलुङका किसान लागेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने किसानले राम्रो बजार नपाएको गुनासो आइरहेको बेला सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ अग्रसर भएका हुन् । सिगानामा हाल दुई परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् । तीन वर्षदेखि परम्परागत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आएका सिगानाका अगुवा स्थानिय कृषकको भनाई छ । गत वर्षदेखि सुन्तला भण्डारण गृह निर्माण गरेर बेमौसममा सुन्तला बिक्री गर्दै त्यहाँका किसान आएका छन् । सिगाना सुन्तलाका लागि प्रख्यात छ । सिगानालाई सुन्तला गाउँका रुपमा समेत चिनिँदै आइरहेको छ । वार्षिक दुई करोड बढीको सुन्तला उत्पादन हुँदै आएको भए पनि मौसममा तीव्र प्रतिस्पधाले सस्तो मूल्यमा किसानले सुन्तला बिक्री गर्न परेको भन्दै गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युत्बाट चल्ने सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरेपछि यहाँका अधिकांश कृषकले सुन्तला भण्डारण गर्न थालेका हुन् । गत वर्ष गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत ३० लाख रुपैयाँको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेपछि यहाँका कृषकले उत्पादन भएका सुन्तला भण्डारण गरेर बेमौसममा बिक्री गर्न थालेका हुन् । आधुनिक सुन्तला चिस्यान केन्द्रमा अहिले सात जान कृषकको १६ टन सुन्तला भण्डारण गरिएको सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए । “जसले एक वर्षमा रु दुई लाखभन्दा बढीका सुन्तला उत्पादन गर्छ, उसले उत्पादन गरेको केही सुन्तला मौसममा बजार पठाउछ”, खड्काले भने, “बाँकी सुन्तला सहकारीमार्फत चिस्यान केन्द्रमा राखेर चैत, वैशाखमा बिक्री गर्ने लक्ष्य राखेका छौं।” मौसममा किसानको बोटबाटै सुन्तला व्यापारीले प्रतिकेजी ५० देखि ६० मा बिक्री गर्दै आएकोमा सुरक्षित भण्डारण गर्नसकेमा चैत वैशाखमा प्रतिकेजी १५० रुपैयाँभन्दा बढी मूल्य पर्ने भएकाले कृषक सुन्तला भण्डारणतर्फ अग्रसर भएका हुन् । जिल्लाको बागलुङ नगरपालिका–८ का कृषक टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनले उत्पादन गरेका केही सुन्तला मौसममा नै बिक्री गर्नुहुन्छ भने केही सुन्तला बगैँचा नजिकै निर्माण गरिएको भण्डारणगृहमा राखेर चैत वैशाखमा महँगोमा बिक्री गर्दै आएका छन् । तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना (प्याक्ट) कार्यक्रमले प्रदान गरेको १० लाख रुपैयाँअनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारणगृहमा अहिले सुन्तला राखिएको खड्काले जानकारी दिए । यहाँका कृषकले सुन्तलाको ग्रेडिङसमेत गर्दै आएका छन् । सुन्तलालाई तीन श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महँगो हुने चिस्यान केन्द्रमा सुन्तला राख्ने गरेको जनाए । ग्रेडिङ गरेका सुन्तला पोखराको बजारमा खपत हुन्छ । परम्परागत चिस्यान केन्द्रमा माटो, बालुवा तथा गिट्टीको समिश्रणमा ढुङ्गाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारणगृहमा चार महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने छ । “अहिले जहाँतहीँ सुन्तला फल्ने भएका कारण सुन्तलाको मूल्य त्यति धेरै पर्दैन”, । धेरै मूल्य पार्नका लागि बागलुङ जिल्लाका अन्य किसानले आफ्नै घरमा पनि भण्डारणगृह बनाउन थालेका छन् ।स्थानियवासीको भनाई छ । रासस
बिहीबारदेखि प्रभावित मौसममा सुधार हुँदै
काठमाडाैं । बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताए । “भोलिबाट मौसम पूर्ण सुधार हुनेछ । तत्काललाई अब वर्षा हुने सम्भावना छैन”, मौसमविद् पोखरेलले भने । देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ । सोमबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
नाट्टाको अध्यक्षमा अच्युत गुरागाई निर्वाचित, कसको मत कति ?
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धी भीम प्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधिर कुमार उपाध्याय पाैडेल, सचिवमा जिस्वाँ तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् । निर्वाचनमा कुल ४ सय ५ मत खसेका थिए निर्वाचित अध्यक्ष गुरागाईले विकासन्यूजसँग कुरा गर्दैै निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने टिमले जित हासिल गरेको बताए । उनले अाफूले चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए । निर्वाचित पदाधिकारी तथा सदस्यहरू फरक समूहबाट निर्वाचित भए पनि उनीहरू व्यवसायिक रूपमा अाफ्ना जिक्रीहरू भएको उनले बताए ।
प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि फाष्ट ट्रयाकमा काम गर्दै राष्ट्रपति भण्डारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि प्रधानमन्त्री कार्यालयबाट काम ढिलासुस्त भएको भन्दै सरकारको आलोचना भईरहेको बेलामा राष्ट्रपति कार्यालयले फाष्ट ट्रयाकमा काम थालेको छ । राष्ट्रपति कार्यालयले ७ दिन पछि गर्ने काम ७ दिन अघि नै थालेको छ । सात दिन पछि हुने काम ७ दिन अघि नै सम्पन्न गर्न थालिएको राष्ट्रपति कार्यालय, शितल निवासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । राष्ट्रिपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रिपति विद्यादेवि भण्डारीले २०७६ माग १० गते शुक्रबार जापानका बैदेशिक मामिला सम्बन्धि संसदीय उपमन्त्रीसँग भेट गरेकी छिन् । उक्त भेट भएको विज्ञप्ती २०७६ साल माघ ३ गते शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो समाचार पढ्दा प्रधानमन्त्री केपी ओलीकै भाषामा मन र मुटु नभएको सम्पादकले समाचार छापेछ भन्ने लाग्ला । विश्वस्त हुन राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै प्रकाशित गरिएको छ । सरकारले तिब्र गतिमा काम गरेको प्रमाणित गर्न राष्ट्रपति कार्यालयले माघ १० गते भएको भेट सात दिन अगाडी नै विज्ञप्ती मार्फत जनतालाई सूसूचित गरेको बताइएकाे छ ।