कृषि विकास बैंकको वार्षिकोत्सवमा अभिनन्दित भएका यी आठ कर्मचारी, जसले बैंकलाई यो अवस्थासम्म पुर्याए
काठमाडौं । संस्थाको भौतिक विकासका लागि कर्मचारी भूमिका अतुलनीय हुन्छ । यस्तै अतुलनीय योगदान गरेवापत आफ्ना पुराना कर्मचारीहरुलाई मंगलबार कृषि विकास बैंकले आठ जना पूर्व कर्मचारीलाई अभिनन्दन गर्यो । स्थापना कालदेखि काम गरेका ती कर्मचारीहरुलाई बैंकले आफ्नो ५३औं वार्षिकोत्सव कार्यक्रममा अभिनन्दन गरेको हो । ती कर्मचारीहरुले कृषि विकास बैंकको स्थापनाकालदेखि योगदान पुर्याएवापत वार्षिकोत्सव कार्यक्रममा अभिनन्दित भए । कार्यक्रममा अभिनन्दित भएका कर्मचारीहरुमा बैंकका पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रवन्धक श्रीकृष्ण उपाध्याय, पूर्व उपमहाप्रबन्धक शंकरमान श्रेष्ठ, पूर्व उपमहाप्रबन्धक पशुपति मिश्र रहेका छन् । यस्तै, बैंकका पूर्व विभागीय प्रमुख चन्द्रमान प्रधान, मुकुन्द बहादुर बिष्ट, नरेन्द्र केसी, पूर्व शाखा प्रमुख गीता मिश्र र विजय मल्ल रहेका छन् । उनीहरु उमेरले वृद्ध भएपनि लौरो टेक्दै कार्यक्रममा उपस्थित थिए । सम्मानित हुने बैंकका पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्यायले वि.स २०२१ सालमा प्रवेश गरेको बताउँदै त्यो अवस्थाबाट बैंक अहिले धेरै माथि पुगिसकेको बताए । बैंकको ऐन बनाउनेदेखि आफू सक्रिय रुपमा अघि बढेको बताउँदै कृषि विकास बैंकले सदैव नागरिकको हितका लागि काम गर्ने बताए । बैंकले वार्षिकाेत्सवमा २५ र २० वर्ष काम गर्ने कर्मचारीलाई पनि सम्मान गरेकाे थियाे ।
हेटाैंडाकाे पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु
हेटाैंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिएका छन् । पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
इजाजत पाएको १० वर्षपछि पनि चौकुने सिमेन्ट आयोजना अन्यौलमा
वीरेन्द्रनगर । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको थियो । गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी कम्पनीले ०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा उत्खनन समेत शुरुआत गरेको थियो । पछिल्लो समय कम्पनीले काम अघि नबढाइ पटक–पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयवासी आक्रोसित बनेका छन् । कम्पनीले यसअघि सशस्त्र द्वन्द्वलगायत विभिन्न समस्या देखाउँदै उद्योग सञ्चालनमा बेवास्ता गर्दै आएको थियो । खानी क्षेत्र चौकुने गाउँपालिकाअन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । खानी विभागले ०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखानाका सञ्चालन लागि करिब रु आठ अर्ब लागत लाग्ने अनुमान छ । कम्पनीले एक हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । निर्माण शुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ । कम्पनीले पछिल्लो समय विद्युतकाे समस्या देखाउँदै आयोजना सञ्चालन गर्न नसकेको जनाएको छ । सिमेन्ट कारखाना सञ्चालन गर्न करिब १४ मेगावाट विद्युत आवश्यक पर्ने जनाइएको छ । सम्झौतामा आयोजनाका लागि आवश्यक शान्ति सुरक्षा, खानी क्षेत्रसम्म विद्युत सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ । चुनढुङ्गा उत्खनन कार्य शुरु नहुँदा त्यस क्षेत्रका बासिन्दा कम्पनीले ‘खानी होल्ड’ गरेको आरोप लगाउँछन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरिद–बिक्री रोकेको बताउँछन्। अधिग्रहण हुने भएपछि जग्गा किनबेच रोकेका छौँ ,कारखाना सञ्चालन होला भन्ने आशा मरिसकेको उनले बताए । विभिन्न कारण देखाउँदै कम्पनीले सिङ्गो खानी क्षेत्र कब्जा गरेको जनाइएको छ । उनले भने, “आयोजना सञ्चालन गर्नमा स्थानीयवासीको पूर्ण समर्थन छ । वर्षौंदेखि अनुमतिपत्र होल्ड गर्ने तर काम अघि नबाउँदा अन्यौलता बढेपछि कामै अघि बढ्ला भन्ने आशा मरिसक्यौँ ।” भदौदेखि काम अघि बढाइने विसं ०७७ भदौदेखि लान्ट स्थापना गरेर काम अघि बढाइने कम्पनीका परियोजना संयोजक लोकबहादुर अधिकारीले जानकारी दिए । उनले ‘खानी होल्ड’ मै राख्ने कुनै मनसाय नभएको जनाउँदै खानीसम्मै पहुँच मार्ग बनिसकेकाले बाँकी काम द्रुत गतिमा अघि बढाउने बताए । झण्डै १२ किलोमिटर सडकको काम सम्पन्न भए पनि गुटुसम्म विद्युत् विस्तार नहुँदा बाँकी काम रोकिएको संयोजक अधिकारीले बताएका छन् । “सरकार र स्थानीयवासीले काम गरेनन् भन्ने आरोप लागेकाले चालु आर्थिक वर्षमा प्लान्ट राख्न जग्गा अधिकरणको काम सम्पन्न गर्दैछौँ”, उनले भने, “यहीँ वर्ष प्लान्टको काम र कारखानाको सामग्री खरिद गर्ने प्रक्रिया शुरु गर्छौं ।” प्रदेश सरकारले यथाशीघ्र चाँडो विद्युत विस्तार गर्ने आश्वासन दिएकाले कम्पनीले पहिलो चरणका काम अघि बढाउने तयारी समेत गरेको जनाइएको छ । चौकुनेबाट उत्पादित सिमेन्ट घाटगाउँ हुँदै कर्णाली चिसापानी भएर बाहिर पठाइने छ । रासस
बैंकिङ क्षेत्रलाई पुराना कर्मचारीको अखडा नबनाउन अर्थमन्त्री खतिवडाको चेतावनी
काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन चेतावनी दिएका छन् । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु पुरानै कर्मचारीहरुको हाली–मुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गरेका हुन् । ‘नयाँ कर्मचारी आउन नदिने, यसले गर्दा संस्थामा कुपोषण हुन्छ, ज्ञान सीप भएका कर्मचारी नल्याए संस्थाको अवस्था के हुन्छ,’ उनले भने । पुराना कर्मचारीहरु स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य भएको उनको भनाइ छ । प्रविधि सम्बन्धि ज्ञान सीप भएका युवाहरुलाई अवसर दिनु पर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय नेपाली वित्तीय बैंकिङ प्रणाली सुधार हुँदै गएको बताउँदै उनले अर्थतन्त्र उकालो लागेको समयमा स्वाँ स्वाँ गर्ने र ओरालो लागेको समयमा लडिन्छ कि भन्ने चिन्ता नमान्नु पर्ने बताए । उनले नेपालको वित्तीय क्षेत्र एशियामा नै राम्रो भएको दावीसमेत गरे । सहुलियत कर्जामा गम्भिर हुन डेपुटी गभर्नर सिवाकोटीको आग्रह राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सम्पूर्ण वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जामा गम्भिर हुन आग्रह गरेका छन् । उनले उक्त कार्यक्रममा बोल्दै पछिल्लो समय बैंकहरुले सोचेअनुरुपको सहुलियत कर्जा वितरण गरेको नदेखिएकोले यसमा गम्भिर हुन आग्रह गरेका हुन् । ‘सहुलियतपूर्ण कर्जा नेपाल सरकारले सुरक्षण गरेको अवस्था छ, सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि गरेको छ, कर्जा वितरण गर्न वाणिज्य बैंकलाई कन्जुस्याईँ किन,’ उनले भने । सहुलियतपूर्ण कर्जा वितरणको अवस्था दयनीय भएको उनको भनाइ छ । कृषि विकास बैंकले वितरण गरेको सहुलियतपूर्ण कर्जाको संख्या उल्लेख गर्दै उनले त्यो कृषि विकास बैंक जस्तो सरकारी बैंकको लागि न्युन भएको बताए । कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जाहरुमा आउने असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकले ५ सय जनालाई कर्जा वितरण गरेको हुनुपर्ने उनको भनाइ छ । यसलाई कार्यान्वयन नगरे आर्थिक जरिवाना गर्ने उनको भनाइ छ । कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि बैंकले देशकाे गरिबी निवारण, सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेकाे बताए । नेपालकाे बैंकिङ क्षेत्रलाई कम्प्युटर प्रणालीमा लिनका लागि कृषि विकास बैंककाे ठूलाे याेगदान भएकाे बताउँदै अझै गाउँगाउँमा र दुरदराजमा गएर काम गर्ने प्रतिवद्धता जनाए।
दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हुँदै
तुलसीपुर । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र प्रहरी बल शिविर स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । चालु आर्थिक वर्षभित्रै राजपुर गाउँपालिकाको वडा नं ६ को खङ्ग्रानाका, ७ को भौवानाका, भैसाही, दगमारा, खाङ्ग्रा, पटौली, सिरिया र गढवा गाउँपालिकाको वडा नं ८ मुसिनाको भौरीसालमा शिविर स्थापनाको तयारी भएको उनको भनाइ छ । “दाङका नाकामा प्रहरी चौकी नहुँदा त्यहाँका नागरिकले सुरक्षाको अनुभूति गर्न पाउनुभएकाे छैन”, उनले भने, “यसैलाई मध्यनजर गरी यो वर्ष आठ नाकामा प्रहरी शिविर स्थापना गर्न लागेका छौँ ।” प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको दरबन्दी रहने गरी आठ स्थानमा शिविर स्थापना हुन लागेको रिजालले बताए । त्यस्तै यही वर्ष राजपुर गाउँपालिका र गढवा गाउँपालिकासँग समन्वय गरेर अन्य नाकामा पनि शिविर खडा गर्नका लागि प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । अबको केही समयमा राजपुर गाउँपलिकाको वडा नं ६ खाङ्ग्रानाकामा शिविर स्थापना हुन लागेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए । अहिले दाङका ३१ नाकामध्ये दुई नाकामा मात्रै सुरक्षा शिविर थिए । यसबाट नाकावासीले सुरक्षाको अनुभूति गर्न पाएका थिएनन् । यसअघि कोइलावास प्रहरी चौकी र खाङ्ग्रा प्रहरी चौकी छन् । त्यसैगरी यसअघि गढवा गाउँपालिका–८ कोइलावासमा एक सशस्त्र शिविर, राजपुर गाउँपालिका–७ सुनपथरी नाकामा शिविर भए पनि प्रभावकारी हुनसकेको छैन । भारतीय सीमा सुरक्षा बलले भने प्रत्येक नाकामा शिविर खडा गरेको छ । विसं २०२० मा राजा महेन्द्र र रोल्पाका सांसद बालारम घर्तीबीच भारतीय अवकाशप्राप्त गोर्खा आर्मीलाई बासस्थान दिने सहमति भएको थियो तर पछि रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङको पूर्वी भागबाट नाका क्षेत्रमा बसोबास गरेको स्थानीयवासी चक्रबहादुर खड्काले बताए । त्यहाँ बस्ती बसेपछि भारतीय सेनाबाहेक अन्य नागरिकलाई हटाउन सरकारले पहल गरे पनि त्यो सफल हुन सकेन । रासस
५० करोड सङ्कलन गर्न रङ्गशाला निर्माणस्थलमा महायज्ञ लगाइँदै
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ । रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । महायज्ञ मूल समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग सङ्कलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए । स्थानीयस्तर, सङ्घसंस्था, गैरआवासीय नेपाली, पालिकाहरु, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकूद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरुबाट रकम सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिनुभयो । कम खर्चमा ठूलो मात्रामा रकम सङ्कलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि रु ५० करोड बचाउने योजना बनाइएको चुकेले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुख, स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानून व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १ सय ११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २ सय १ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ । भरतपुर महानगरपालिकाको रामपुरमा रु दुई अर्ब ५० करोड खर्च गरेर रङ्गशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणको नेतृत्व लिएको छ ।रासस
ह्यून्डाई कोना ईलेक्ट्रीक कार ५७३१ मिटर अग्लाे हिमाल उक्लियाे, गिनिज वर्ल्ड बुकमा नयाँ रेकर्ड
काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५ हजार ७ सय १५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रेकर्ड तोडेबापत सो उपाधि हासिल गरेको हो । कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फमेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ । गिनिज वल्र्ड रेकर्डका एड्जुडिकेटर ऋषी नाथले सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई बधाई दिएका छन् यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै कीर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ । यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभि सरह प्रदर्शन गरेको थियो । कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फमेन्स बेजोड समिश्रण रहेको यो ग्रीन कार सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो । यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फमेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो । यस सफलताले कोना इभिको पावरफुल प्रदर्शन गरेको र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फमेन्स दिने सुनिश्चितता प्रदान गरेको छ ।
धेरै शाखा संजाल भएको एनआईसी एसिया बैंकलाई एसएमईको साथ, दोस्रो त्रैमासमा खुद नाफा ३३ प्रतिशतले बढायो
काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु चालु आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । खुद नाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (५० करोड रुपैयाँ) को वृद्धि गरी २ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधीको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्ब रुपैयाँले वृद्धि गरी १ खर्ब ६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १ खर्ब ८६ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रुपले पालना गरेको जनाएको छ । विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ । निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो । बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ । निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । बैंकका चल्ती तथा वचत निक्षेप हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी ४१.६१ रुपैयाँ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पु¥याएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो । बैंकको देशभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय २६ एटिएम, १ सय ३ वटा एक्सटेन्सन काउण्टर तथा ४५ वटा शाखारहित बैंकिङ्ग संजाल संचालनमा छन् । बैंकको २१ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जानकारी दिएको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आवमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाईसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।