विकासन्युज

हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विप्रेषण रकम भुक्तानी गर्ने सम्झौता

काठमाडौं । हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा हस्ताक्षर गरेका हुन् । साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका हुन् । हिमालयन बैंक र म्याक्स मनिले आउँदा दिनहरुमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।

साना उद्योगका निर्यातयोग्य वस्तुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा वौद्धिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भने – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकहरुमा समेत उत्पादन हुने गर्दछन् ।’ यसरी उत्पादित वस्तुहरु मुल रुपमा नेपालबाट उत्पादन सुरु भएपनि अन्य मुलुकहरुले यस्ता वस्तुहरुको प्रतिलिपी उतारगरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम नभइदिंदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनहरुलेउल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’ नेपालमै भएका कतिपय निर्यातयोग्य वस्तुहरुमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोडदिंदै उनले– ‘हालसम्म पेटेन्ट अधिकारको बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्घिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन, उनीहरुलाई ट्रेडमार्क र ब्राण्ड सम्बन्धी चेतना जगाउनुपर्छ ।’ उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौद्धिक सम्पत्ति के हाे ? भन्ने विषयमा भने – ‘उद्योगको कुरा गर्दा कुल जीडीपीको छ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ । साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित हुँदैन ।’ कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंकबहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिका अन्तराष्ट्रिय अभ्यास रहेकाे छ । कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र वौद्घिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुत गरे । एकदिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरुको सहभागिता रहेकको कार्यक्रमका सहजकर्ता रुपक सापकोटाले जानकारी दिए ।

पद्म ज्याेति र रूप ज्याेतिबीच अंशबण्डा, चुनावको मुखमा हिमालयन बैंककाे साढे २४ कराेडकाे सेयर बिक्री

काठमाडौं । निर्वाचनको मिति घोषणा भएकै दिन हिमालयन बैंकका प्रमोटरले प्रमोटर सेयर बेचेका छन् । २७ वर्ष लामो इतिहास भएको हिमालयन बैंकमा को सञ्चालक बन्ने भन्ने प्रतिस्पर्धामा पहिलो पटक प्रवर्द्धकबीच निर्वाचन हुँदैछ । बैंकले मंगलबार नै सूचना प्रकाशित गरि माघ २९ गते ५ जना सञ्चालक छनौटका लागि चुनाव हुने जानकारी गराएको छ । यसरी निर्वाचन सम्बन्धि सूचना आएकै दिन २४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार मंगलबार हिमालयन बैंकको ८ लाख ४३ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । क्रियटिभ सेक्युरिटीबाट ४ लाख २१ हजार ७५४ कित्ता सेयर बिक्री भएको छ भने साउथ एशिया बुलबाट ४ लाख २१ हजार ७५३ कित्ता सेयर बिक्री भएको छ । दुबै कम्पनीले मिलेर सेयर किनबेच गरेका छन् । क्रियटिभ सेक्युरिटी मार्फत बिक्री भएको सेयर साउथ एशिया बुल मार्फत खरिद भएको छ भने साउथ एशिया बुलबाट बिक्री भएको सेयर क्रियाटिभ सेक्युरिटीमार्फत खरिद भएको छ । सबै सेयर प्रतिकित्ता २९० रुपैयाँका दरले किनबेच भएको छ । स्राेतका अनुसार पद्म ज्याेति र रूप ज्याेतिबीच अंश बण्डाका कारण उक्त सेयर किनबेच भएकाे हाे । स्याकार ट्रेडिङ कम्पनीकाे नाममा भएकाे ८ लाख ४३ हजार ५०७ कित्ता सेयर भागबण्डा गर्नुपर्ने भएकाेले बराबर (४ लाख २१ हजार ७५३ र ४ लाख २१ हजार ७५४) कित्ता गरी दुई टुक्रा बनाइएकाे हाे ।  

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अवको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न प्रदेश–१ अध्यक्ष नरेन्द्रकुमार खड्का, प्रदेश–५ का अध्यक्ष गुणनिधि तिवारी र सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकरबहादुर बोगटीसँग राखेका छौं । उनीहरुले समग्रमा साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) प्रबद्र्धन गर्ने सोच र योजना भएको नेतृत्व अहिलेको आवश्यकता हो भनेका छन् । सरकारसँग समन्वय गर्न सक्ने नेतृत्व चाहिन्छ, नरेन्द्रकुमार खड्का, अध्यक्ष, प्रदेश–१ निजी क्षेत्रलाई मर्यादित र सम्मानित बनाउने खालको नेतृत्व हामीलाई चाहिँन्छ । महासंघले उद्योग सञ्चालन गर्ने आधार खडा गर्नुपर्छ । समस्या सबै व्यवसाय र उद्योगहरुमा छन् । ती समस्यालाई सरकारसँग सम्वादबाट समाधान गर्नु मूख्य कुरा हो । व्यवसायी र उद्योगहरुका समस्या सरकारले बुझ्ने प्रयास गरिहेको छैन । यसको कारण साना तथा मझौला व्यवसायीहरु पलायन हुने अवस्थामा पनि छन् । देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्र र सरकारबीच समन्वयको वातावरण सिर्जना गर्न सक्नुपर्छ । यस्तो खालको नेतृत्व हामीलाई चाहिएको हो । निजी क्षेत्र बुझेको, महासंघ बुझेको नेतृत्व हामीलाई चाहिन्छ । सरकारका हरेक गतिविधि र क्रियाकलापसँग जानकार नेतृत्व हामीलाई चाहिन्छ । त्यो नेतृत्वले हामी सबै तहतप्कामा रहेकाहरुलाई काम गर्र्न सहज वातावरण सिर्जना गर्न सक्नुपर्छ । प्रदेश–५ लाई उच्च महत्व दिने नेतृत्व चाहियो, गुणनिधि तिवारी, अध्यक्ष, प्रदेश– ५ आगामी अध्यक्ष शेखर गोल्छाजी हुनुुहुन्छ । वरिष्ठ उपाध्यक्षका लागि पनि हामी सर्वसम्ममत रुपमा अगाडि बढ्ने प्रयासमा छौं । सबैलाई मिलाएर लैजान सक्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । अबको नेतृत्वले निजी क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने भूमिका रहन्छ । सातै प्रदेशमध्येमा प्रदेश–५ सबैभन्दा राम्रो प्रदेश हो । यो प्रदेश एउटा भर्जिन ल्याण्ड पनि हो । यसमा सम्भावना धेरै छन् । विगतमा धेरै बन्द हड्ताल हुँदा पनि प्रदेश पाँचमा कुनै असर परेन । यहाँका सम्पूर्ण नागरिक र राजनीतिक दलले सहयोग गरे । अहिले स्थानीय र प्रदेश सरकार पनि छ । यसबाट पनि प्रदेशको विकास गर्न सघाउ पुग्छ । आउने नेतृत्वले विशेष गरेर यो प्रदेशको कृषिमा बढी फोकस गर्नु पर्ने देखिन्छ । यी सबै पक्षहरुलाई अगाडि लिई सरकारसँग समन्वय गर्नु हाम्रो उत्तरदायित्व रहन्छ । यो प्रदेश कृषि र पर्यटनको विविधता भएको प्रदेश हो । यो एउटा मिनी नेपालको संरचनामा छ । यसलाई सपोर्ट गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । हाम्रो प्रदेश गौतमबुद्ध जन्मेको प्रदेश हो । भारतसँग जोडिएका भन्सार नाकाहरु सबैभन्दा धेरै यही प्रदेशमा छन् । यो प्रदेश भारतबाट पनि नजिक भएकोले अबको नेतृत्वले प्रदेश–५ लाई लक्षित गरेर अगाडि बढ्ने हो भने समग्र देशको विकासमा टेवा पुग्छ । पूर्वदेखि पश्चिमसम्मका लागि यो प्रदेश भौगोलिक रुपमा केन्द्रमा पर्छ । हालसम्मको नेतृत्वले पनि प्रदेश–५ लाई धेरै महत्व दिएका छन् । अबको नेतृत्वबाट पनि यही अपेक्षा हो । यसपालि मेरो पनि जिल्ला नगर क्षेत्रबाट उपाध्यक्षको उम्मेदवारी रहन्छ । यसमा टिमवर्कको आवश्यकता छ । एसएमईका समस्या सम्बोधन गर्ने नेतृत्व चाहियो शंकरबहादुर बोगटी, अध्यक्ष, सुदूरपश्चिम प्रदेश नेपाल उद्योग वाणिज्य महासंघको मूख्य उद्देश्य नै उद्योगी व्यवसायीको हक हितका लागि काम गर्नु हो । तर, पछिल्लो समय महासंघ नै कमजोर भएको अवस्था छ । मूख्य गर्नु पर्ने काम पनि गर्न नसकेको अवस्था छ । हामी सुदूरपश्चिमका सबै क्षेत्रका उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु छन् । यी कुराहरुमा अबको नेतृत्व आइसकेपछि पैरवी गर्नेछ भन्ने आशा छ । नेपाल सरकारले समय–समयमा साना तथा मझौला व्यवसाय (एसएमई) का लागि विभिन्न कानुनहरु ल्याउँछ । यसको बारेमा छलफल तथा वार्ता गर्नेखालको नेतृत्व हामीलाई चाहिन्छ । व्यवसायीको हकहितमा काम गर्ने खालको नेतृत्व आओस् भन्ने हो । अहिलेसम्म प्रयास त नभएको होइन । तर, नीति निर्माण गर्ने तहमा सबै कुराहरु छलफल गरेर अझ बढी फोकस गर्नु पर्छ भन्ने हो । प्रदेश महासंलाई अझ बलियो बनाउनु पर्ने आवश्यकता छ । नेपाल सरकारले नयाँ नयाँँ कानुन ल्याएको छ, केही कानुनी व्यवस्थाले निजी क्षेत्रलाई अप्ठेरो पारेको पनि छ । यस्ता विषयमा महासंघले समन्वय गर्न सक्नुपर्छ । पदका लागि मात्र नभई व्यवसायीको साझा हकहितका लागि काम गर्ने नेतृत्व आउनु पर्छ ।

आगामी माघ ९ र १० गते ‘विद्यालय शिक्षा’ सम्मेलन गर्दै प्याब्सन

काठमाडौं । आगामी माघ ९ र १० गते प्याब्सनको आयोजनामा ‘विद्यालय शिक्षा’ राष्ट्रिय सम्मेलन हुने भएको छ । काठमाडौंस्थित होटल हायत हुने उक्त सम्मेलनमा देशभरीका निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था निजी तथा आवासीय विद्यालयको संगठन नेपाल (प्याब्सन) को आयोजना र सीटीएफ नेपालको सह आयोजनामा सम्मेलन हुनेतय भएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले आगामी माघ ९ गते विहान १० बजे गर्नेछन् । उक्त सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको पनि उपस्थित रहनेछ । कार्यक्रममा देश र देश बाहिरका शिक्षा क्षेत्रमा लागेका प्रधानध्यापक, अध्यापक तथा नेतृत्वमा रहेका व्यवस्थापकबीच व्यवस्थापकिय उन्नयनका सत्रको संचालन हुनेछ । कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यत्यमिक मूल्यमान्यता, प्रा.डा.वालचन्द्र लईटेल स्टिम एजुकेशन, डा.सुशिल कँडेल विद्यालयका मनोविज्ञान मेदिन लामिछाने, डा.विष्णु कार्की, हेमन्त दाहाल, डा. राजेश टायल, सुशिल उप्रेती, डा. टम रवरसन, डा. लक्ष्मण ज्ञावाली, डा.वटरअर्थ,  डा.हरी लम्साल, पवित्रा लिम्बु र नरबहादुर कार्कीको लगायतको विषयगच प्रस्तुती रहनेछ । ३ सय जनाको सहभागिता रहने उक्त ‘विद्यालय शिक्षा’ सम्मेलनमा सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रिन्सिपल, संचालक, सामुदायिक विद्यालयका प्रधानध्यापक, शिक्षक, शिक्षा नितिमा निर्माण गर्ने कानुन विद्देखि शिक्षा पत्रकारको उपस्थिति रहनेछ ।

माघ १० गतेदेखि दाङमा हुने कृषि औद्योगिक महोत्सवकाे समिति गठन

काठमाडौं । दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ आयोजना हुने भएको छ । उक्त महोत्सव सफल बनाउन सचिवालय, प्रचारप्रसार समिति र सुरक्षा उपसमिति गठन गरिएको छ । महासचिव टिकादत्त खनाल ‘सागर’ को संयोजकत्वमा रहेको सचिवालयमा दीपक पाण्डे, सुदन केसी, पाण्डव शर्मा, आरके शितल, जंग रोका, देवबहादुर वली र तिलक रावतलाई चयन गरिएको छ । त्यसैगरी, सचिव कुमारराज श्रेष्ठको संयोजकत्वमा रहेको प्रचारप्रसार उपसमितिमा सदस्य सचिवको रुपमा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितललाई जिम्मेवारी दिइएको छ । उपसमितिको सदस्यहरुमा पाण्डव शर्मा, देवेन्द्र बस्नेत, प्रेम राम्जा, केशरमान विसी, जनक नेपाली, दशरथ घिमिरे, गिरिराज नेपाली, नविन अभिलाशि, लिलाधर वली, रिता लामा, छवि पुरी, निशानदाजु भट्टराई, सपना बोहोरा, दीपक जिएम, सुशिला वली, आभाष बुढाथोकी, देव यादव, देवी भण्डारी, सविता चौधरी, दीपक वली र दामोदर बस्नेत ‘राकेश’ रहेका छन् । सचिव श्रेष्ठकै संयोजकत्वमा रहेको शान्ति सुरक्षा उप–समितिमा सह–संयोजकको जिम्मेवारी विष्णुप्रसाद पुनलाई दिइएको छ । सुरक्षा उपसमितिको सदस्यहरुमा शरद अधिकारी, पाण्डव शर्मा र आरके शितल छन् । महोत्सवमा सञ्चारकर्मीहरुले सम्बन्धित सञ्चारगृहको परिचयपत्रकै आधारमा महोत्सव स्थलमा प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवलाई मिडियामैत्री बनाउन र सञ्चारकर्मीहरुलाई सहज ढंगले रिपोर्टिङ गर्न सजिलो होस् भनेर सञ्चारगृहको परिचयपत्रकै आधारमा प्रवेशको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिएका छन् । उपाध्यक्ष घनश्याम अधिकारीको संयोजकत्वमा रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन समितिमा पुरुषोत्तम खनाल र केएल पीडित र लक्ष्मी अधिकारीको संयोजकत्वमा रहेको शोभायात्रा तथा झाँकी जुलुश उपसमितिमा प्रकाशसिंह पुन देवा पाण्डेयलाई थप गरिएको छ । विनोदकुमार पाण्डेको संयोजकत्वमा रहेको अतिथि सत्कार उप समितिमा घनश्याम घिमिरे छन् । महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँ, द्धितीय हुनेलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राषि व्यवस्था गरिएको छ । प्रतियोगितामा एक समुहमा एक पुरुष र एक महिला मात्रै रहने व्यवस्था गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ । बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

यामाहा सलुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी

काठमाडाैं । विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना ल्याएकाे छ । ‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शीर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तीहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा उक्त इन्टरप्राइजेजले लिएको छ । यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी २।० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनेछन् । उक्त याेजनाले नवविवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरुलाइ उल्लासमय बनाउने  यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले बताए ।  साथै, यस याेजनाअनुसार सलुटो वा एसजी आरआर किन्दा उपहारमा टिभी पाउने छन् । यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागु गरिएको छ ।