२२ दिनदेखि बन्द काठमाडौँ विश्वविद्यालयकाे ताला अझै खुलेन
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर (टीटीसी), प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र सो सभामा मागबारे सम्बोधन गर्ने जनाएपछि आन्दोलनरत केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै “हाल आन्दोलनका क्रममा निर्धारण भएका पूर्वनिर्धारित थप कार्यक्रम स्थगन गर्दै अन्य कार्य सञ्चालन गर्न सहजीकरणका लागि आवश्यक वातावरण सिर्जना गर्ने निर्णय गरेका छौँ” भनिएको छ । तालाबन्दी भने नखुलाइने कर्मचारी सङ्घका अध्यक्ष सुरेन्द्र केसीले बताए । “विशेषसभामा मागबारे सम्बोधन गरी निर्णय भएपछि मात्रै तालाबन्दी खोल्छौँ”, उनले भने । विशेषसभाका लागि अत्यावश्यक पर्ने सामग्री कार्यालयबाट झिक्न भने आफूहरुले सहजीकरण गर्ने केसीले बताए । गत पुस १६ गते पत्रकार सम्मेलन गरी दुवै सङ्घले “सम्झौता कार्यान्वयनका लागि उपकुलपति, डीन र रजिष्ट्रारलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेका कारण विश्वविद्यालयमा भएका बेथिति निस्तेज पार्न दबाबस्वरूप तालाबन्दीलगायत आन्दोलन गर्नुपरेको” जनाएका थिए । यसअघि पनि केयू प्रशासनले आन्दोलनरत पक्षलाई माग सम्बोधन गर्ने आश्वासन दिँदा २१ दिनपछि तालाबन्दी खुलाइएको थियो । दुई सङ्घ गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटकपटक आन्दोलनमा छन् । केयू प्रशासनसँग भएका विभिन्न वार्ता असफल भएपछि दुई सङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका हुन् । सङ्घले काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार/अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्नुपर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्नुपर्ने माग राख्दै तालाबन्दी गर्दै आएको थियो । अघिल्ला वार्तामा भएका केही मस्यौदा सिनेट बैठकमा लैजानुपर्ने भएकाले तालाबन्दी नखोली थप काम गर्न नसकिने स्कुल अफ साइन्सका डीन एवं काठमाडौँ विश्वविद्यालय परीक्षाका सुपरिटेन्डेन्ट प्रा. डा. कन्हैया झा बताउँछन् । उनले भने, “केही माग विशेषसभामा लैजानुपर्दछ, केही माग अप्राविधिक खालका छन्, दुवैतर्फ अविश्वास भएकाले वार्ता लम्बिएको मात्र हो ।” विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको प्राध्यापक सङ्घका सभापति डा. वेदमणि दाहालले बताए । “केयू प्रशासनले विशेषसभा बोलाएको र सो सभाका लागि प्रस्तुत गरिने प्रस्तावहरु कार्यकारी परिषदबाट निर्णय गरी सभासदस्यलाई उपलब्ध गराएकाले आन्दोलनका थप कार्यक्रम मात्रै स्थगन गरेका हौँ”, उनले भने । अघिल्ला वार्तामा विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. विजय केसी र सिनेटको शिक्षक प्रतिनिधि प्रा. डा. बालचन्द्र लुइँटेल तथा आन्दोलनरत पक्षबाट डा. दाहाल र केसीलगायत सहभागी थिए । रासस
एनआईसी एसिया बैंकले ‘इन्ड टू इन्ड सोलुसन’ प्रणाली खरिद गर्ने, भयाे त्रिपक्षीय सम्झौता
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसी एसिया बैंकले थप कदम चालेको छ । यस्तो कार्य प्रभावकारी बनाउन बैंकले भारतको इन्फ्रासफ्ट टेक्नोलोजी तथा नेपालको एम्निल टेक्नोलोजीसँग ‘इन्ड टू इन्ड सोलुसन’ नामक प्रणाली खरिद गरेको हो । एनआईसी एसिया बैंक तथा नेपाल र भारतका दुई कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे । सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र सो प्रणाली कार्यान्वयनमा ल्याएपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु फाइनान्सियल एक्सन टास्क फोर्स (एफटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) लगायतले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकको भनाइ छ । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले जनाएको छ । बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको बैंकको भनाई छ । नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको छ । यो प्रविधि मार्फत ग्राहक अनबोर्डिङ गर्दा अहिले कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल/सीएफटी (आतंकारी गतिविधिमा वित्तीय लगानी निवारण) र ग्राहक परिचान (केवाईसी) व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको छ । नियमनकारी निकायले तोकको व्यवस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको इ–केवाईसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । बैंकले सो इ–केवाईसी पोर्टल मार्फत आफ्नो विवरण अद्यावधिक गर्न पनि ग्राहकसँग अनुरोध गरेको छ । बैंकको देशभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय २६ एटिएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व सरकारलाई बुझाइ सकेको छ । साथै, वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
२०७७ सालका लागि १३ पात्रोले पाए आधिकारिक स्वीकृति
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’ रहेका छन् । त्यसैगरी, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढुङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशिधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा.रामचन्द्र गौतमले जानकारी दिएका छन् । समितिले स्वीकृति दिएका पात्रो माघ पहिलो सातादेखि नै बजारमा आउन थालेका छन् । चाड पर्वका सम्बन्धमा धर्मशास्त्रविद्बान शास्त्रीय आधारमा निर्णय गरिएकाले यिनै पात्रोको प्रयोग गर्न समितिले आम मानिसमा आह्वान गरेको छ । विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएको पात्रोका कारण तिथि, मिति, चाड पर्व नमिल्दा समस्या पर्ने गरेकाले आधिकारिक पात्रोको मात्र उपयोग गर्न पनि अध्यक्ष गौतमले अनुरोध गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको समितिको स्वीकृतिबिना प्रकाशन भएका पात्रोको प्रयोग गर्दा तिथि मिति, चाड पर्वलगायतका बारेमा कुनै भ्रम वा द्विविधाको अवस्था आएमा आफैँ जिम्मेवार हुनुपर्ने जनाइएको छ । समितिको स्वीकृति भएका पात्रोमात्र प्रयोगमा ल्याउँदा कुनै समस्या आएमा त्यसको समाधान सरकारले मनोनयन गरेका विद्वानकाे समूहले गर्ने उनले बताए । रासस
अज्ञात समूहद्वारा कार्यालय र गाडीमा आगजनी, नेकपा अध्यक्षको घरमा बम
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से१च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ । आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ । रासस
कानुनको उल्लंघन गर्दै गैरसरकारी संस्था, दर्ता नवीकरण गर्नेको सङ्ख्या न्यून
बाँके । बाँकेमा एक हजार ६२१ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यसवर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या १८५ अर्थात ११ दशमलव ४१ प्रतिशत मात्रै छ । यसले दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले कानून अटेरी गरिरहेको देखाउँछ । कानूनबमोजिम सञ्चालन इजाजत लिएपछि गैससले बर्षेनी नवीकरण नगरेर कानून अटेरी गरिरहेका छन् । सरकारी निकायको साझेदार र सहयोगीका रूपमा स्थापित हुने गैरसरकारी संस्थाहरुको मुख्य काम सामाजिक अभियानमार्फत नागरिकहरुलाई अधिकार र कर्तव्यको बारेमा बोध गराउने र समाजमा रहेका विभिन्न खाले समस्या समाधानका लागि सहकार्य गर्नु हो । सामाजिक कार्य गर्ने विभिन्न उद्देश्य राखेर जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्था दर्ता हुने गर्छन् । धेरै संस्थाहरु विभिन्न अपेक्षा राखेर दर्ता हुने र उद्देश्यअनुसारको कार्य गर्न नसक्ने, बीचैमा संस्था बन्द हुने, नियमित साधारणसभा नगर्ने, नवीकरण नगर्ने समस्या रहेको सहायक प्रजिअ उपाध्यायले बताए । आन्तरिक स्रोत, साधनको सदुपयोग गर्ने र स्रोतबिना पनि विभिन्न सामाजिक कार्य गर्नु गैससको कर्तव्य भएको पनि उनले बताए । सामाजिक अभियान सञ्चालन गरी समाज रूपान्तरण गर्ने र अभियानमार्फत नागरिक अधिकारका बारेमा बोध गराउने, नागरिक सशक्तीकरण गर्ने, जागरण ल्याउने उद्देश्यका साथ गैरसरकारी संस्था दर्ता हुने गर्छन् । सहायक प्रजिअ उपाध्यायले भने, “कतिपय संस्थाहरु परियोजना भएसम्म काम गर्ने र स्रोत तथा परियोजना सकिएपछि बन्द हुने गरेका छन्, कतिपय दर्ता भएदेखि एक पटक पनि नवीकरण नगर्ने संस्थाहरु पनि छन् ।” स्रोतको खोजी गरी काम गर्न नसक्दा र कतिपय गैससका व्यक्तिहरु नै जिल्ला बाहिर जानुले पनि नियमित नवीकरण हुन नसकेको उनको भनाइ छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका धेरै गैरसरकारी संस्थाहरु अहिले क्रियाशील छैनन् । प्रशासन कार्यालयमा दर्ता हुने, नवीकरण पनि नगर्ने र बन्द भएको तथ्याङ्क पनि नहुँदा दर्ता भएका गैससको सङ्ख्या बढी देखिने गरेको गैससकर्मीहरुको भनाइ छ । गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले पछिल्लो समय गैरसरकारी संस्थाहरुलाई काम गर्ने उचित वातावरण नभएका कारण धेरै गैससहरु पलायन तथा बन्द हुने अवस्थामा पुगेको बताउँछन्। मुलुकमा सङ्घीयता आएसँगै सरकारले गैससमैत्री वातारण बनाउन नसकेको र गैरसरकारी संस्थाहरुको भूमिकालाई कमजोर बनाउन खोजेको अध्यक्ष शाहको भनाइ छ । “गैरसरकारी संस्थाहरुलाई काम गर्ने वातावरण नहुँदा र काम गर्न स्रोत, साधन नहुँदा गैरसरकारी संस्थाहरुको नवीकरणको सङ्ख्या हरेक वर्ष घट्दै गएको हो,” अध्यक्ष शाहले भने । गैरसरकारी संस्था दर्ता ऐन २०३४ अनुसार गैसस, निजीक्षेत्र, उद्योग वाणिज्य सङ्घ, मठमन्दिर गुठी, उपभोक्ता समूहसमेत दर्ता हुने प्रावधानले पनि गैससको सङ्ख्या धेरै देखिने बताउँदै ऐनलाई सुधार गर्न जरुरी रहेको गैससकर्मीहरुको धारणा छ । सरकारी निकायहरुले गैससको क्षमता विकासका लागि कुनै पहल नगरेको, गैससमैत्री ऐन कानून तथा नीति तर्जुमामा ध्यान नदिएको गैससकर्मीहरु बताउँछन् । गैरसरकारी संस्थाहरुलाई गैरनाफामूलक, सामाजिक संस्था भन्ने गरिन्छ । बजेट भए पनि नभए पनि नियमित रूपमा सामाजिक कार्य गर्नु गैससको भूमिका हुन्छ । समाज र नागरिकहरुको समस्या, आवश्यकता, चासो र स्थानीय सरोकारका सवालमा सामाजिक अभियान चलाउनु पनि गैससको भूमिका हो । तर नेपालमा पछिल्लो समय गैससले ती भूमिका निर्वाह गरेको देखिँदैन । हरेक वर्ष गैससहरु जिल्ला प्रशासन कार्यालयमा नवीकरण हुनपर्ने, आन्तरिक राजश्व कार्यालयबाट करचुक्ताको प्रमाणपत्र लिनुपर्ने र सम्बन्धित स्थानीय तहमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था भए पनि धेरै गैससहरु नियमित नवीकरण हुँदैनन् । धेरै गैससहरुले मनोमानी ढङ्गले कानूनको अटेरी गरिरहेको देखाउँछ । सरकारी निकायको उदासीनताकै कारण गैससहरुको मनोमानी बढिरहेको छ । वार्षिक साधारणसभा, नियमित अधिवेशन र नियमित नवीकरण नगरेको तथ्याङ्कले बताए पनि नवीकरण नै नभएका कतिपय संस्थाहरुले काम गर्दै आएको देखिन्छ । स्रोत पाए काम गर्ने नवीकरण गर्ने र स्रोत नभएमा चुप लागेर बस्ने गरेको पनि कतिपय गैरसरकारी संस्थाहरुको कामले देखाउँछ । जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएका गैसस र नवीकरण भएका गैससहरुको सङ्ख्यालाई हेर्दा यिनीहरूको वैधानिकतामाथि प्रश्न चिह्न उठ्न सक्छ । सामाजिक कार्य गर्ने उद्देश्य बोकेर दर्ता भएका गैरसरकारी संस्थाहरुले कानून र विधिको पालना गर्ने र नियमन गर्ने निकायले नियमनकारी भूमिका निभाउन जरुरी रहेको गैससकर्मीहरुको भनाइ छ ।रासस
चालक अनुमति पत्र बनाइदिन्छु भनी पैसा लिने दुई गिरोह पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र बनाईदिन्छु भनि पैसा लिने दुई व्यक्तिलाई पक्राउ गरेको छ । बाजुरा घर भइ हाल ठूलोभर्याङ बस्ने मान बहादुर रोकाया र धादिङ घर हाल स्वयम्भु बस्ने गणेश गुरुङलाई महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय स्वयम्भुबाट पक्राउ गरेको हो । सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराईदिने भनि २ हजार लिने ती व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा बुझाईएको छ ।
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो । सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो । एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ ।
केटिएमको ‘३९० एड्भेन्चर’ सार्वजनिक, नेपालमा आइपुग्दा १० लाखसम्म पर्ने अनुमान, यस्ता छन् विशेषता
काठमाडाैं । अष्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटिएमले आफ्नो नयाँ उत्पादन ३९० एड्भेन्चरलाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा २ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसलाई लामो दुरीको यात्रामा सहजै गुड्न सक्ने विशेषताका साथ बजारमा ल्याइएको छ । यस्ता छन् विशेषता ३९० एड्भेन्चरको अफरोड एवं अनरोड दुवै क्षमता गज्जबको रहेको छ । यस बाइकमा मेट्जेलर टोरेन्स टायर दिइएको छ जसलाई अनरोड तथा अफरोड दुवैका लागि राम्रो मानिन्छ । त्यसैगरी बाइकको अगाडिको चक्का १९ इञ्चको रहेको छ भने पछाडिको चक्का चाहिँ १७ इञ्चको रहेको छ । अगाडिको चक्का ठुलो हुनाले बाइकले अफरोडिङ्गको वेलामा सानातिना ढुङ्गा एवं खाल्डाखुल्डिलाई सजिलै पार गर्न सक्छ । केटिएमले यस बाइकमा अगाडि पट्टि ४३ मिलिमिटर अपसाइड डाउन फर्क र पछाडि चाहिँ प्रिलोड एड्जस्टेवल मोनोशक प्रयोग गरेको छ । अगाडि १७० मिलिमिटरको र पछाडि चाहिँ १७७ मिलिमिटरको सस्पेन्सन ट्राभल रहेको हुनाले यी सस्पेन्सनहरुले राम्ररी शक एब्जर्ब गर्न सक्दछन् । केटिएमले यस बाइकमा स्विचेवल ट्र्याक्सन कन्ट्रोल र बाइ-डाइरेक्सनल क्विक सिफ्टर समावेश गरेको छ । एक्कासी थ्रोटल लिँदा पछाडिको चक्काको गति अगाडिको चक्काको भन्दा बढि हुन गयो भने बाइक ड्रिफ्ट भएर चिप्लिने सम्भावना हुन्छ । ट्र्याक्सन कन्ट्रोलले पछाडिको चक्काको गतिलाई कन्ट्रोल गर्दै बाइकलाई ड्रिफ्ट हुनबाट बचाउँछ । बाइ-डाइरेक्सनल क्विक सिफ्टरको खासियत भनेको चाहिँ राइडरले बाइक चलाइरहेको वेलामा क्लच र थ्रोटलको आवश्यकता विना नै गियर अप अथवा डाउन गर्न सक्दछन् । यस मोटरसाइकलमा ३९० ड्युकमा समावेश भएकै ३७३.२ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन जडान गरिएको छ जसले ४४ एचपीको पावर र ३७ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीले जनाए अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन हो । नेपालमा कहिले आउला ? केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले विकासन्युजलाई बताए अनुसार नेपालमा ३९० एड्भेन्चरलाई भित्र्याउने तयारी चलिरहेको तर यति समय भित्र ल्याइसक्ने भनेर किटान चाहिँ गरिसकिएको छैन । कम्पनीले सो मोटरसाइकलको नेपाली बजार मूल्य बारे पनि केहि बताएको छैन । भारतिय बजारमा यो मोटरसाइकल ३९० ड्युक भन्दा ५१ हजार रुपैयाँले महँगो रहेको छ । त्यसैगरी नेपालमा हाल ३९० ड्युकको मूल्य ८ लाख ३० हजार रुपैयाँ तोकिएको छ । यी दुवै तथ्यलाई आधार मान्ने हो भने ३९० एड्भेन्चर नेपाली बजारमा आइपुग्दा यसको मूल्य ९ लाख रुपैयाँ देखि लिएर १० लाख रुपैयाँसम्म पर्न जाने देखिन्छ ।