विकासन्युज

सनराइज बैंकको नाफा ९४ करोड

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकमा सर्वसाधारणको निक्षेप ८२ अर्ब १५ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको पुस मसान्तमा यस्तो निक्षेप ७५ अर्ब ४३ करोड २१ लाख रुपैयाँ थियो । सनराइजले गत पुस मसान्तसम्ममा ७५ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६८ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकले ४ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ व्याज आम्दानी र २ अर्ब ९१ करोड ८० लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खुद व्याज आम्दानी २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ छ । गत वर्ष बैंकको खुद व्याज आम्दानी १ अर्ब ७२ करोड १४ लाख रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात १.६९ प्रतिशत छ । गत वर्ष यस्तो अनुपात १.२६ प्रतिशत थियो । कष्ट अफ फण्ड ७.१४ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ७.५५ प्रतिशत थियो । आधार दर ९.९९ प्रतिशत छ । गत वर्ष आधार दर १०.६३ प्रतिशत थियो । बैंकको व्याज अन्तर ५.१४ प्रतिशत छ । गत वर्ष यस्तो अन्तर ४.३१ प्रतिशत थियो ।

एभरेष्ट बैंकको नाफा डेढ अर्ब, कर्जा र निक्षेप दुबै बढ्यो

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणका अनुसार गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब ८ करोड रुपैयाँ नाफा बढाएको छ । एभरेष्टमा सर्वसाधारणको निक्षेप १ खर्ब ४१ अर्ब १९ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको निक्षेप १ खर्ब २९ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ थियो । बैंकमा निक्षेप ११ अर्ब ६२ करोड रुपैयाँले बढेको हो । यस्तै, कर्जा तथा लगानी १ खर्ब १४ अर्ब ४३ करोड ३० लाख रुपैयाँ छ । गत वर्ष कर्जा तथा लगानी १ खर्ब ४ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ थियो । एक वर्षको बीचमा बैंकको कर्जा तथा लगानी ९ अर्ब ६८ करोड रुपैयााले बढेको छ । बैंकको रिजर्भमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ छ । व्याज आम्दानी ७ अर्ब १७ करोड २० लाख रुपैयाँ छ भने व्याज खर्च ४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ छ । बैंकले खुद व्याज आम्दानी २ अर्ब ९० करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको ६ महिनामा बैंकले २ अर्ब ६७ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । एभरेष्टको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । गत वर्षको पुसमा ०.१९ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि बैंकले ७०७ प्रतिशत रकम राखेको छ । बैंकको कष्ट अफ फण्ड ६.४४ प्रतिशत छ । गत वर्ष ६.२३ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ । आधार दर ८.४६ प्रतिशत छ । ग वर्ष आधार दर ८.२२ प्रतिशत थियो । बैंकले व्याज दर बढाएको छ । गत वर्ष ४.३८ प्रतिशत रहेको व्याज अन्तर यो वर्ष ५.३३ प्रतिशत पुगेको छ ।

कोरोना भाइरस फैलिन नदिन तातोपानी नाकामा हेल्थ डेस्क स्थापना

चाैतारा । चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्ष्यण देखिएमा बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताएका छन् । तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिए । अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ । विसं २०७२ को भूकम्पबाट बन्द रहेको नाका गत जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो । एक दिने पासको व्यवस्था भए पनि नेपाली कामदालाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ । त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे पुनः फर्कनुपर्ने बाध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

आफ्नै साथीको हत्या गर्ने फरार आरोपी पक्राउ

काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका आरोपी पर्सा वीरगंज महानगरपालिका १६ मुरली पोखरी ठेगाना भएका ३५ वर्षीय मो. फिरोज मिया राईनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०७२ माघ २९ गते ललितपुर उपमहानगरपालिका ३ धोबिघाटस्थित निर्माणाधिन घर कुर्नका लागि बसेका आफ्नै साथी ३० वर्षीय सुरेश कुमार साह कानुलाई मादक पदार्थ सेवन गरी राईनले ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरी फरार रहेका थिए । घटनापश्चात फरार रहेका राईनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका २ देबढोकाबाट पक्राउ गरेको हो । राईनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

आज श्रीपञ्चमीः देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ । आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ । यस अवसरमा धार्मिक नगरी जनकपुरका विभिन्न शिक्षण संस्थाका साथै जनकपुरका टोलटोलमा देवी सरस्वतीको कलात्मक मूर्ति स्थापित गरी उल्लासमय वातावरणमा पूजापाठ भइरहेको छ । विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् । सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।

सचिव केदार बहादुर अधिकारी वायुसेवा निगमको अध्यक्ष हुने पक्का

काठमाडाैं । नेपाल वायु सेवा निगमको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी नियुक्त हुने भएका छन् । सरकारले सचिव अधिकारीलाई निगमकाे अध्यक्ष बनाउने निर्णय गरेकाे जनाइएकाे छ । मन्त्रिपरिषद् विशेष स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पर्यटन सचिव अधिकारीलाई अध्यक्ष तोक्ने निर्णय गरेको छ ।  तत्कालीन नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएसँगै रिक्त रहेको अध्यक्ष पदमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई बनाउने निर्णय गरेको हो । महाप्रबन्धक भन्दा माथि नयाँ पद सिर्जना गरी ल्याइएको खरेलले पहिलो कार्यकालमा एक वर्ष नपुग्दै राजीनामा दिएपछि २०७५ भदौमा पुनः नियुक्त भएका उनले १४ महिना पनि नपुग्दै राजीनामा दिएका थिए । सरकारले पुनः सचिवलाई नै तोक्ने व्यवस्थामा फर्किनुको कारण चरम अव्यवस्था नै भएको स्रोतको ठम्याई छ । सचिवलाई अध्यक्ष बनाउनु संस्थागत हिसाबले एकदमै उपयुक्त कदम भएको मन्त्रालयको भनाई छ । २०७५ भदौमा मदन खरेललाई वायुसेवा निगममा नियुक्त गर्नु पूर्व पर्यटन सचिव नै सञ्चालक समितिका अध्यक्ष रहेको भए पनि २०६९ मा खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर २९ महिनामै राजीनामा दिएका खरेललाई दोस्रो पटक २०७५ भदौमा निगमको कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई अध्यक्षबाट हटाएको थियो ।  

लामो अनुसन्धानपछि बीबीसीकाे अप्रिय निर्णय, ४५० जना पत्रकारकाे जागिर चट

काडमाडाैं । बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ । खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ । बीबीसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो । “बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,” बीबीसीका समाचार तथा समसामयीक मामिला प्रमुख फ्रान अनस्वार्थले भने । रासस

यस्तो हुनेछ केटिएम २०० ड्युकको नयाँ संस्करण, सार्वजनिक हुनु अगावै लिक भयो फोटो

काठमाडाैं । केटिएम २०० ड्युकको नयाँ संस्करण चाँडै सार्वजनिक हुने क्रममा छ । तर सार्वजनिक हुनु अगावै सो मोडेलका केहि फोटोहरु भने लिक भएका छन् । लिक भएका फोटोहरु हेर्दा २०० ड्युक आफ्नो इल्डर सिब्लिङ्ग २५० ड्युकको डिजाइनमै आधारित भएको देख्न सकिन्छ । नयाँ २०० ड्युकमा एङ्गुलर हेडल्याम्प र एलईडी डीआरएल जडान गरिएको छ । ट्याङ्क पहिले भन्दा मस्कुलर र शार्प रहेको छ भने ट्याङ्कमा ग्राफिक्स पनि बेग्लै देख्न सकिन्छ । त्यसैगरी सो बाइकमा स्प्लीट सिट पनि २५० ड्युकमा भएजस्तै समावेश छ र ग्र्याब रेल चाहिँ पहिले भन्दा ठुलो दिइएको छ । इञ्जिन तर्फ भने नयाँ २०० ड्युकले पहिलेकै १९९ सीसी सिङ्गल–सिलिण्डर फ्युल–इन्जेक्टेड इञ्जिन प्रयोग गरेको छ । भारतमा आउँदो अप्रिल महिनाबाट लागु हुने प्रदुषण मापदण्डको नियमलाई मध्यनजर गरेर केटिएमले सो इञ्जिनलाई बीएस६ मापदण्डको बनाएको छ । सो इञ्जिनले २५.८३ पीएसको पावर र १९.५ एनएमको टर्क उत्पादन गर्दछ । लिक भएका फोटो अनुसार बाइकमा पहिलेकै ब्रेकिङ्ग प्रविधि, पहिलेकै सस्पेन्सन सेटअप र त्यसैगरी पहिलेकै डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर समावेश गरिएका छन् । केटिएमले २५० ड्युक र ३९० ड्युकको पनि अपडेटेड भर्जनलाई आउँदो फेब्रुअरी महिनामा बजारमा ल्याउने तयारी गरिरहेको छ । केटिएमले २०० ड्युकलाई चाहिँ यी दुवै मोडेलहरुको लञ्च पश्चात् मात्र बजार भित्र्याउने छ । सो बाइकमा धेरै स्टाइलिङ्ग अपडेट गरिएको हुनाले लञ्च पश्चात् सो बाइकको मूल्य पहिले भन्दा ७ देखि ८ हजार रुपैयाँ सम्म महँगो पर्ने अनुमान गरिएको छ । तस्विर सौजन्य : रसलेन डट कम