विकासन्युज

आफ्नै साथीको हत्या गरी फरार रहेका फिरोज मिया राईन चार वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका पर्साको विरगंज महानगरपनलिका वडा नं १५ का फिरोज मिया राईन बिहिबार पक्राउ परेका छन् । चार वर्ष अगाडि आपसी विवाद भई साथीको हत्या गर्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नं। ३ धोबिघाट स्थित जय प्रकाश अग्रवालको निर्माणाधिन घरमा घर कुर्नको निमित्त बसेका ३०वर्षका सुरेश कुमार साह कानुलाई उनले वि.स २०७१ माघमा २९ गते राती मादक पदार्थ सेवन गरी बिवाद हुँदा ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरेका थिए । त्यो समयदेखि नै उनी फरार रहि भारतमा लुकिछिपी बसेका थिए । हाल काठमाण्डौं आएको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको बिशेष टोलिले खोजतलास गर्दा बुधबार काठमाडौंको किर्तिपूर नगरपालिका वडा नं २ देबढोकाबाट नियन्त्रणमा लिएको हो । उनलाई बुधबार नै कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।

कामना सेवाले ल्यायो डबल डिपोजिट मुद्दती खाता, ७ वर्षमै दोब्बर रकम पाइने

काठमाडौं । कामना सेवा विकास बैंकले डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै माघ १४ गतेदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो । डबल डिपोजिट मुद्दती खाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन् । यस प्रकारको मुद्दती खाता खोल्नका लागि न्यूनतम १ लाख रुपैयाँ हुनुपर्नेछ । यसैगरी, बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने छ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । बैंकले हाल ११७ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

सांग्रिला बैंकको मुद्दती निक्षेप योजनाः रकम जम्मा गरेको दुई वर्षमै शतप्रतिशत कर्जाको ग्यारेन्टी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक गरेको छ । यो योजना ‘केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष’ अन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँबाट शुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा सुविधा पाउने छन् । साथै, दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा पाइने बैंकले जनाएकाे छ । यो योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । बैंकले हाल ९१ शाखा कार्यालयहरु र २६ एटीएम मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

बिओकेले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जाको अगुवाइ गर्ने

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जाको अगुवाइ गर्ने भएको छ । सो सम्बन्धी बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविद्युत विकास कम्पनीबीच माघ १५ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । अरुण भ्याली जलविद्युत विकास कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डूको अगुवाइ रहेकोे उक्त सहवित्तीयकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक रहेको छ । अरुण भ्याली जलविद्युत विकास कम्पनीले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डूले नै सहवित्तीयकरण कर्जाको अगुवाइ गरेको थियो । उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०६० असोज १ गतेदेखि नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तीयकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ । साथै, यस सहवित्तीयकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समय सिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएकाे छ । माघ १२ देखि १४ गतेसम्म भएकाे उक्त सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो। ‘प्रत्येक घरमा-एउटा जीवन बीमा’ नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँगाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन ‘प्रत्येक घरमा-एउटा जीवन बीमा’कार्यक्रम माथि छलफल गरिएको थियो । कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए। कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गरेका हुन् । २०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्षभन्दा कम अवधिमा ६० वटा शाखा/उपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६ हजार भन्दा बढी अभिकर्ता इजाजत स्वीकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा बढीको व्यवसाय गर्न सफल भएको छ । कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सम्मेलनमा घोषणा गरेको छ ।

ब्रिजस्टोनको पहिलो शोरुम काठमाडौंको ज्ञानेश्वरमा, टायरकाे सम्पूर्ण सेवा सुविधा पाइने

काठमाडौं । जापानी रबर कम्पनीद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रालिले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुम विस्तार गरेकाे छ । नेपालमै पहिलो पटक विस्तार गरिएको उक्त शोरुमको शुभारम्भ बुधबार(माघ १५ गते) बाट भएको हो । जहाँ एकै छाना मुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिफ्ट, व्हील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् । केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन, एसीमा ग्यास भर्ने सेवाहरु पनि दिनेछ । कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका बिक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने योजना बनाएको छ । एटिसि प्रालि वि.सं. २०१६ देखि नै ब्रिजस्टोन टायरको नेपालको लागि आधिकारीक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिंदै आएको कम्पनी हो । नेपालभर रहेका आफ्नो बिक्री वितरण सञ्जालमार्फत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य यात्रु कार हरुको टायर बिक्री गर्दै नेपाली बजारमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ । ब्रिजस्टोन सन् १९३१ मा जापानको टोकियोमा यसको कर्पोरेट कार्यालयको साथ स्थापित भएको थियो । यो ब्रान्ड टायर बिक्री र ग्राहक ब्रान्ड भ्यालु आधारमावर्ल्ड रबरद्वारा विश्वमा नम्बर १ घोषणा गरिएको ब्रान्ड हो । कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदान गर्दै आइरहेको छ । कम्पनीले आयोजना गरेको भेटघाट कार्यक्रममा कम्पनीका प्रबन्धक निर्देशक मनोज सेठियाले नेपालको सडकहरुको अवस्थालाई ध्यानमा राख्दै उक्त शाेरूम खाेलिएकाे हाे । साथै, गाडी चालकहरुले गाडीको समग्र प्रफर्मेन्समा टायरको भुमिका र महत्व धरै हुने भएकाले यस बारे बुझ्न आवश्यक रहेको उनले बताए । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको टायर बिक्री तथा सेवाहरु एकै छाना मुनि उपलब्ध भएको सेवा केन्द्रबाट गाडीधनी तथा चालकहरुले सेवा सुविधा लिई समय र पैसाको बचत गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

साना संस्थासँगको मर्जर हाम्रो रणनीति नै थियो, अब विदेशमा शाखा खोल्छौंः सुनिल केसी

नेदरल्याण्डसको स्थापित इन्भेष्टमेन्ट कम्पनी एफएमओको समेत लगानी रहेको एनएमबी बैंकले यो वर्ष सेयरधनीलाई ३५ प्रतिशत लाभांश दियो । यो वर्ष बैंकहरुले दिएको लाभांशमा एनएमबीको नै उच्च थियो । फाइनान्स कम्पनीबाट सन् २००८ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको एनएमबी बैंक अहिले नेपालका सबैभन्दा राम्रा बैंकहरुमा गनिन्छ । एनएमबीले विकास बैंक र फाइनान्स कम्पनीसँग मात्रै मर्जर गरेर आफ्नो उपस्थिति नेपालभर बनाएको छ । यस्तै, एनएमबी बैंकले नै  सबैभन्दा पहिला नेपालमा विदेशबाट ऋण ल्याउने बैंकको पहिचान पनि बनाएको छ । एनएमबी बैंकको व्यवस्थापनको नेतृत्व प्रमुख कार्यकारी अधिकृतको रुपमा सुनिल केसीले संहालिरहेका छन् । नेपालको बैंकिङ क्षेत्रको अवस्था, एनएमबी बैंकको रणनीति, व्यवसायिक सफलताको कारण जस्ता विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीसँग विकासन्युजले गरेकाे कुराकानीः एनएमबी बैंकले यो वर्ष ३५ प्रतिशत लाभांश दिएको थियो, यो कसरी सम्भव भएको थियो ? बैंकका प्रमुख सरोकारवालामध्ये सेयरधनी पनि एक प्रमुख सरोकारवाला हुन् । सेयरधनीकै कारणले बैंक स्थापना भएको हुन्छ । त्यसैले बैंकप्रति उहाँहरुको साह्रै ठूलो योगदान हुन्छ र बैंकको उहाँहरुप्रति धेरै ठूलो दायित्व हुन्छ । हाम्रो बैंकको नीति नै स्थायित्व कायम हुने गरी सेयरधनीलाई प्रतिफल दिने भन्ने छ । यो बीचमा नयाँ कामहरु हामीले थुप्रै गर्यौं । जस्तो कि विदेशी साझेदार ल्याउँदा हामीले प्रिमियम मूल्यमा सेयर बेच्यौं । प्रिमियम मूल्यबाट प्राप्त भएको रकम पनि हामीसँग भयो । यस्तै विगत केही वर्षयता एनएमबी बैंकले राम्रै नाफा गरेको छ । तीन वर्षयता औसतमा २७ प्रतिशत जति लाभांश सेयरधनीलाई दिएका छौं । बजारमा कन्सोलिडेसन हुदै गर्दा, देशको आर्थिक विकासले गति लिइरहदा बैंकिङमा पनि हामीले थुप्रै अवसरहरु देखिरहेका छौं । त्यस्तो अवसर प्राप्त गर्न बैंकको व्यवसाय बृद्धि हुनुपर्छ । यसरी व्यवसाय बृद्धि गर्न बैंकको पुँजी पनि बढ्दै जानुपर्छ । राष्ट्रले तोकेअनुसार ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भए हुन्छ । हाम्रो बैंकको चुक्ता पुँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ । हामीसँग भएको रिजर्भको रकमलाई बोनस सेयर दिएर चुक्ता पुँजीमा परिणत गरिरहेका छौं । यसले पनि लाभांश धेरै दिन सहयोग पुगेको छ । यी सेयरधनीलाई बढीभन्दा बढी लाभांश कसरी दिन सकिन्छ भन्ने हिसावले यस्ता सबै कामहरु योजनाबद्ध ढंगले गरेका कारण हामीलाई सजिलो भएको हो । बैंकले विगत ३ वर्षमा २७ प्रतिशतको औसतमा लाभांश दिएको कुरा गर्नुभयो, आगामी दिनहरुमा पनि यति नै प्रतिफल दिन सकिएला ? अलि चुनौतिपूर्ण नै छ । चुनौति किन छ भने पुँजी बृद्धि निकै छोटो समयमा नै भयो । छोटो अवधिमा नै २ अर्ब रुपैयाँबाट चुक्ता पुँजी बढाएर १४ अर्ब रुपैयाँ बनायौं । अरु बैंकको अवस्था पनि यस्तै हो । छोटो समयमा नै पुँजी धेरै बढेका कारण अबका दिनमा उच्च दरमा प्रतिफल दिन चुनौति छ भनेको हूँ । अर्काे कुरा पछिल्ला दिनहरुमा व्याज अन्तर (स्प्रेड) दरमा पनि कम गर्नुपर्ने भएको छ । यसले व्याजबाट प्राप्त हुने आम्दानी घट्छ । अरु प्रकारका कम्प्लायन्स खर्चहरु (एएमएल जस्ता) बढ्दै गएका छन् । त्यसैकारण उच्च दरमा लाभांश दिन अबका दिनहरुमा चुनौति देखिएको हो । तर, पनि बजारको प्रतिफल दरभन्दा उच्च दिने भन्ने हाम्रो प्रयास रहन्छ । यो भनेको बजारमा पाइने मुद्दति निक्षेपको व्याजदर वा अन्य दीर्घकालिन लगानीको प्रतिफलभन्दा बढी प्रतिफल दिने हाम्रो कोसिस छ । मुख्य कुरा भनेको पुँजी बृद्धिकै चरणमा भएको बेलामा र बजारमा व्यवसाय बृद्धिको राम्रो अवसर प्राप्त नभएको बेलामा प्रतिफलमा दबाब हुन्छ । त्यस्तो बेलामा रिटर्न अन इक्वीटी (आरओई) घटेर जान्छ । बैंकिङ क्षेत्रकै आरओई हेर्ने हो भने विगत ३ वर्षकोभन्दा अहिले कम भएर गएको छ । यसो भनेर तपाईले बैंकबाट प्राप्त हुने प्रतिफल केही घट्न सक्छ, त्यसका लागि मानसिक रुपमा तयार भएर बस्नुस् भन्ने सन्देश दिन खोज्नुभएको हो ? राम्रो गरेर धेरैभन्दा धेरै प्रतिफल दिने प्रयासमा हामी छदैछौं । राम्रो केही नयाँ गर्ने सोचमा हामी भइरहन्छौं, अहिले पनि छौं । तर, पनि अहिले पुँजी बढाएर एउटा तहमा पुर्याइसकेको अवस्थामा उच्च दरको प्रतिफलको अपेक्षा गर्नुभन्दा पनि स्थापित्व हुने प्रकारको प्रतिफलको अपेक्षा भयो भने अलि सजिलो हुन्थ्यो कि भन्ने कुरा हो । पछिल्लो समय बैंकिङ क्षेत्रमा चलेको मर्जर तथा एक्वीजीसनमा एनएमबी बैंकले साना बैंक वित्तीय संस्थासँग मात्रै मर्जर तथा एक्वीजीसन गर्यो, यो तपाईहरुको रणनीति नै थियो कि ठूलो संस्थासँग कुरा नमिलेर यस्तो भएको हो ? प्रत्येक बैंकको आफ्नै खाले रणनीति हुन्छ । सन् २००८ मा फाइनान्सबाट हामी पनि बैंकमा स्तरोन्नति भएका थियौं । त्यो बेला ३÷वटा संस्थालाई नै स्तरोन्नति भएर बैंक बन्न राष्ट्र बैंकले दिएको थियो । हामीसँगै त्यो बेला स्तरोन्नति भएका बैंकहरु अहिले अस्तित्वमा छैनन् । एनएमबी बैंक भने व्यवसायिक रुपमा सफल हुदै प्रतिस्पर्धी बैंकको रुपमा अग्रणी बैंक भएर स्थापित भएको छ । तपाईंले जुन मर्जरको कुरा गर्नुभयो, आजभन्दा ३/४ वर्षअघि हामीले ३/४ वटा विकास बैंक र फाइनान्स कम्पनीलाई हामीमा मर्ज गर्यौं । तीन महिना अगाडि राष्ट्रियस्तरको एउटा विकास बैंकलाई मर्ज गर्यौं । यो मर्जर हामीले हाम्रो रणनीति अनुसार नै गरेका थियौं । जस्तो कि नेपाल संघीय संरचनामा गयो । देश संघीय संरचनामा गएपछि नेपालको आर्थिक गतिविधि पनि विकेन्द्रीकृत भएर जान्छ भन्ने हामीलाई लागेको थियो । त्यो बेलासम्म हामी काठमाडौं तथा अन्य प्रमुख शहरी क्षेत्रमा केन्द्रीत भएर व्यवसाय गरिरहेका थियौं । आर्थिक गतिविधिहरु विकेन्द्रीकृत हुँदा त्यस्तो क्षेत्रमा पनि हाम्रो उपस्थिति जरुरी छ भन्ने हामीलाई लागेको थियो । साना, मझौला र मध्यमस्तरका उद्यम व्यवसायमा लगानी बढाउनु पर्छ भन्ने हामीलाई लागेको थियो । त्यस्ता उद्यम व्यवसाय नै बृद्धि भएर जाने हाम्रो विश्लेषण थियो । यस्तो अवस्थामा हामी आफैले शाखा विस्तार गर्नुभन्दा पनि हाम्रो उपस्थिति तुलनात्मक रुपमा कमजोर भएका स्थानमा रहेका बैंक वित्तीय संस्थासँगको मर्जरलाई हामीले प्राथमिकता दियौं । आर्थिक गतिविधि बढ्ने अनुमान गरिएका प्रदेश–१, प्रदेश–५ र प्रदेश–४ मा हाम्रो बलियो उपस्थिति चाहिन्छ भन्ने हामीलाई लागेको थियो । प्रदेश–३ मा हामी आफै थियौं । यही रणनीति अनुसार सो प्रदेशलाई कार्यक्षेत्र बनाएर वा त्यस्ता प्रदेशमा बलियो उपस्थिति भएका बैंक वित्तीय संस्थालाई हामीसँग मर्ज गरायौं । भौगोलिक हिसावले बजार पहुँच विस्तारका लागि हामीले मर्जर गरेका थियौं । हाम्रो बैंकको प्राथमिकताको क्षेत्र कृषि, उर्जा, पर्यटन जस्ता सरकारले उच्च प्राथमिकता दिएका क्षेत्र नै हुन् । सरकारको लगानी हुने र सरकारले विशेष ध्यान दिएको क्षेत्रमा हाम्रो पनि बलियो उपस्थिति चाहिन्छ भन्ने हामीलाई लागेको थियो । यस्तै, साना तथा मझौला उद्यम व्यवसायमा पनि हाम्रो बलियो पकड चाहिन्छ भन्ने हाम्रो रणनीति थियो । यस्ता क्षेत्रमा राम्रो काम गरेका वा राम्रो पडक भएका बैंक वित्तीय संस्थासँग हामीले मर्जर गर्यौं । त्यसैकारण हामीले विगतमा रणनीतिक रुपमा मर्जरलाई उपयोग गरेका थियौं । यसका लागि बिग मर्जर नै आवश्यक छ भन्ने भएन । हाम्रो आवश्यकता अनुसार हामीले रणनीति बनाएर कार्यान्वयन गर्दै गएका हौ । बैंक वित्तीय संस्थाहरुको पुँजी छोटो समयमा नै धेरै बढ्यो । यसको तुलनामा उद्योग प्रतिष्ठानहरुको विकास र स्थापनाको संख्या कम छ । यस्तो हुँदा बैंक ठूलो हुने तर व्यवसाय नपाउने भन्ने समस्या हुन सक्दैन ? बैंकिङ व्यवसाय आफैमा जोखिमपूर्ण व्यवसाय नै हो । तर, बैंकको पुँजी जुन अनुपातमा बढेको छ, त्यसको तुलनामा अन्य क्षेत्रको विकास वा आर्थिक गतिविधिमा बृद्धि भएको छैन । तर, हाम्रो बुझाई के हो भने देश संघीय प्रणालीमा गएपछि आर्थिक गतिविधि बढेका छन् । केही वर्ष अगाडिसम्म काठमाडौं सहित ३÷४ वटा प्रमुख शहरमा मात्रै धेरै आर्थिक गतिविधि हुन्थ्यो । अहिले यस्तो गतिविधि देशभर फैलिएको छ । अझै फैलदैछ । विगत ३ वर्षदेखि देशको आर्थिक बृद्धिदर लगातार ६ प्रतिशतभन्दा माथि छ । यहाँ पनि बैंकले अवसर देखिरहेको हुन्छ । यही अवसर प्राप्त गर्न पनि बैंकको पुँजी बृद्धिले सहयोग गर्छ । अर्काे कुरा, नेपालमा अझै पनि बैंकिङ पहुँच बाहिरको जनसंख्या ठूलो छ । पहुँचमा भएकोमध्ये ठूलो संख्या अझै पनि ‘अण्डर सर्भ’मा छ । केही बैंकिङ गतिविधि अनौपचारिक माध्यमबाट पनि भएको देखिन्छ । बैंक आफैपनि व्यवसायको ढोका खोल्दै जानुपर्ने हुन्छ । त्यसका लागि आफैले केही इनोभेसन गर्ने र नयाँ तथा सम्भावना धेरै भएका क्षेत्रमा लगानी बृद्धि गर्ने हो । जस्तो कि हामीले उर्जा र पर्यटनमा बढी जोड दिइरहेका छौं । स्तरीय होटलको संख्या बढ्यो भने पर्यटकको बसाई लम्बिन्छ । यसले साना तथा मझौला उद्यम व्यवसायलाई सहयोग गर्छ । पर्यटकको बसाई लामो भएपछि साना साना क्याफे, बेकरी, पोल्टी जस्ता भ्यालु चेनमा संलग्न व्यवसाय बृद्धि हुन्छ । यस्तै, उर्जा क्षेत्रमा लगानी बढाएका छौं । उर्जाको उत्पादन बृद्धि भएपछि उद्योगहरुको उत्पादन क्षमता बढ्यो । प्रतिस्पर्धी क्षमता बृद्धि भयो । र, सँगै यसले नेपालमा प्रत्येक्ष विदेशी लगानी तथा नयाँ लगानी भित्र्याउन सहयोग पुग्यो । बैंकिङ क्षेत्रले यसरी हेर्नुपर्छ भन्ने लाग्छ । अहिले प्राप्त भएको बृद्धिलाई सहयोग पुर्याउन बैंकिङले क्याटलिष्टको भूमिका निर्वाह गर्नुपर्छ । त्यसरी विकास भएपछि त्यसको फाइदा बैंकले पनि पाउँछन् । बैंकले आफ्नो प्रणालीभित्र नै अवसर सिर्जना गर्ने र त्यसबाट फाइदा लिदैजाने हो । तरलता अभावको समयमा एनएमबी बैंकले विदेशबाट पहिलो पटक ऋण ल्याएर लगानी गर्यो, त्यसरी गरिएको लगानी व्यवसायिक रुपमा कत्तिको उपयुक्त देखियो ? एनएमबी बैंकले पहिलोपटक विदेशबाट ऋण लिएको थियो । सुरुको समय भएकोले नियम कानुनहरु बनिनसकेको र अनुभव पनि नभएका कारण हामीलाई केही अप्ठेरो महसुस भयो । धैरै कुरामा अस्पष्टता पनि थियो । तर, नेपालको लागि आवश्यक छ भन्ने महसुस भएर सरकार तथा नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्दै जानुभयो । सरकारी निकायबाट हामीले सहयोग पाएकै हौं । नेपाली बैंक पहिलो पटक अन्तराष्ट्रिय बजारमा गएर स्रोत जुटाउँदै थियो । त्यसैकारण थुप्रै प्रकारका अप्ठेराहरुको सामना गर्यौं । नेपालको आफ्नै रेटिङ भएको थिएन । नेपालका बैंकहरुको अन्तराष्ट्रिय मान्यताप्राप्त स्थापित संस्थाबाट रेटिङ भएको थिएन । त्यसैले सबैका लागि नयाँ प्रकारको काम थियो । तर, जे जस्तो अप्ठेरो सामना गरेर भएपनि हामीले पहिलोपटक विदेशबाट पैसा ल्याएका थियौं । त्यसरी पैसा आएपछि सकारात्मक सन्देश प्रवाह भयो । पहिलो कुरा त विदेशबाट ल्याएको रकम नियामकको निर्देशन अनुसार उत्पादनशील क्षेत्रमा नै लगानी गर्न सक्यौं । दोस्रो कुरा, आम सर्वसाधारणमा हाम्रो बैंकप्रति विश्वास अझ बढ्यो । यो बैंकलाई विदेशीले पनि पत्याउँदा रहेछन्, विदेशबाट पैसा ल्याउने हैसियत पनि राख्दो रहेछ भन्ने सन्देश प्रवाह भयो । त्यस्तो सन्देश प्रवाहले अन्य प्रकारका व्यवसाय विस्तारको लागि हामीले अवसर पायौं । हामीले ल्याएको ऋणको किस्ता भुक्तानी गर्न थालिसकेका छौं । यसले नेपालका बैंकलाई दिएको ऋणको भुक्तानी सहज छ भन्ने सन्देश अन्तराष्ट्रिय बजारमा प्रवाह भयो । यही नजिरका कारण अरु बैंकलाई पनि विदेशबाट ऋण ल्याउन सहज भयो । ३० खर्ब रुपैयाँ निक्षेप भएको बजारमा ४/५ अर्ब रुपैयाँ विदेशबाट ल्याउँदैमा खासै अर्थ राख्दैन होला । तर, नजिर स्थापना र सन्देश प्रभावहको हिसावले महत्वपूर्ण काम भयो । हामीले विदेशबाट ऋण ल्याउने बेलामा हाम्रो बैंकको डीडीए भयो । अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त कम्पनीसँग डीडीएमा बस्दा विश्व बैंकिङ अभ्यास र यसको कार्यान्वयनका नयाँ कुराहरु धेरै सिक्ने अवसर पायौं । त्यसैकारण एनएमबी बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलो पटक विदेशबाट ऋण ल्याउँदा त्यो घटना कोषेढुंगा सावित भएको थियो । व्यवसायिक रुपमा पनि हामीलाई नोक्सानी भएन । एनएमबी बैंकमा पनि विदेशी साझेदार छ, विदेशी साझेदार हुँदा बैंकहरुलाई पुँजीको साथै प्रविधि, दक्षता, अनुभव जस्ता कुरामा सहयोग कत्तिको प्राप्त भएको छ ? पुँजी मात्रै आउनु त्यति ठूलो कुरा होइन । एनएमबी बैंककै कुरा गर्दा १४ अर्ब रुपैयाँ पुँजी छ । यसको १५/२० प्रतिशत पुँजी भनेको त्यति ठूलो रकम होइन । एनएमबी बैंकमा नेदरल्याण्डको सरकारी स्वामित्वको एफएमओ बैंकको सेयर लगानी छ । यो बैंकको उच्चतहको अधिकारी एनएमबी बैंकको संचालक समितिमा आउने गर्नुहुन्छ । एफएमओबाट एनएमबी बैंकको संचालक समितिमा आउने व्यक्तिसँग संसारभरको धेरै ठाउँमा काम गरेको बैंकिङ अनुभव हुने गर्छ । त्यस्तो व्यक्तिसँग संचालक समितिमा बस्दा हामीले केही नयाँ कुरा सिक्ने अवसर पाइरहेका हुन्छौं । नयाँ अभ्यासहरु नेपालमा भित्र्याउने, हामीले गरेका केही अभ्यासहरु ठीक छैनन् भने मिलाउने जस्ता काममा सहयोग प्राप्त हुन्छ । किनभने नेपाली बैंकिङ क्षेत्र आफैमा धेरै नै कलिलो क्षेत्र हो । विदेशी साझेदारले संस्थागत सुशासनमा बढी जोड दिने गरेका छन् । विदेशका सफल बैंकहरुले जस्तो अभ्यास गरेर सफलता पाएका छन्, त्यस्ता अभ्यासहरु नेपाल ल्याउन हामीलाई सहयोग प्राप्त भएको छ । यो कुरा हाम्रा लागि धेरै नै महत्वपूर्ण हो । हामी छिटै नै अलि फरक किसिमले अगाडि बढ्न सक्नुका पछाडि यही संस्थागत सुशासनको असल र सफल अभ्यास लागू गरेका कारण पनि हो । यस्तै, हाम्रो विदेशी साझेदारले प्राविधिक सहयोग भनेर हामीलाई आर्थिक सहयोग नै दिएर केही परियोजना संचालन गर्न पनि सकेका छौं । जस्तो कि गत वर्ष हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रबद्र्धनको काम गर्यौं । बैंकको आधुनिकीकरणमा काम गर्यौं । बैंकको डिजिटाइजेसनमा काम गर्यौं । अब नेपालमा इन्भारोमेन्टर सोसल रिस्क म्यानेजमेन्ट ल्याउने योजनामा छौं । यस्ता नीतिगत तहका फाइदाहरु, आर्थिक फाइदा, रणनीतिक योजना बनाउन प्राप्त हुने जानकारी जस्ता विषयले हामीलाई धेरै फाइदा भएको छ । यस्तै, विदेशको राम्रो संस्थासँगको साझेदारी भन्ने वित्तिकै त्यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा जाने सन्देश पनि राम्रो हुन्छ । नेपालमा पनि बहुराष्ट्रिय बैंक वा विश्व बजारमा ख्याति प्राप्त गरेका राम्रा बैंकको उपस्थिति बढे हुन्थ्यो भन्ने अपेक्षा सरकारी निकायको छ, यसमा बैंकहरु आफैले पहल गर्न सक्दैनन् ? नेपालको अन्तराष्ट्रिय व्यापारको लागि बहुराष्ट्रिय बैंकमार्फत नै जानुपर्ने हुन्छ । किनभने नेपाली बैंकहरुले विदेशमा त्यस्तो धेरै शाखा संजाल छैन । नेपाली बैंकहरुको व्यवसाय खासगरी नेपालभित्र मात्रै केन्द्रीत छ । नेपालको अन्तराष्ट्रिय व्यापारको लागि नेपाली बैंकहरु बहुराष्ट्रिय बैंकसँग नै निर्भर छन् । नेपाली बैंकिङलाई अर्काे स्तरमा लाने हो, नेपालको निर्यात तथा आयात व्यापारलाई अझै सहजीकरण गर्ने हो भने नेपालका बैंकहरुले विदेशका महत्वपूर्ण र व्यापारिक हिसावले रणनीतिक महत्वका बजारमा उपस्थिति जनाउन आवश्यक छ । यसले बहुराष्ट्रिय बैंकसँगको हाम्रो निर्भरता घट्छ । तर, अहिले पनि नेपालमा नभएका अरु विदेशी बैंकहरुले पनि यस्तो सुविधा दिइरहेका छन् । विदेशका ठूला बैंकहरु करेस्पोन्ण्डेन्ट बैंकिङको लागि नेपालमा आइरहेका छन् । नेपाली बैंक आफै सिंगापूर, हङकङ, दुबै जस्ता स्थानहरुमा शाखा विस्तार गर्न जाने हो भने अन्तराष्ट्रिय व्यापारको फाइदा लिन सकिन्छ । विदेशमा शाखा विस्तार गरेर अन्तराष्ट्रिय व्यापारको फाइदा लिनको लागि एनएमबी बैंकले पनि सोचिरहेको छ ।

पाँच वर्षसम्म पुल निर्माण अधुरै, स्थानीय भन्छन्- अब छिट्टै मुआब्जा नपाए सडक बन्द गर्छाैं

काठमाडाैं । महाकाली लोकमार्गअन्तर्गत खलङ्गाको धौलीगाड खोलामा निर्माणाधीन मोटरेबल पुल पाँच वर्षसम्म पनि अधुरै छ । स्थानीयवासीसँग मुआब्जा विवादका कारण रोकिएको पुल निर्माण कार्य अधुरै रहेको हो । २०७१ असार ३० गते पुल निर्माणका लागि आशिस कन्ट्रक्शन धनगढीसँग कूल दुई करोड ३२ लाख सात हजार रूपैयाँ लागतमा निर्माण सम्झौता भएको थियो तर पुल निर्माणको एकापट्टि आधा पिलर बनेपछि मुआब्जा विवाद भएको थियो । पुल निर्माणस्थलको एकापट्टि स्थानीयवासीको पाँच आना जमिन परेको छ । पुल बन्ने ठाउँमा परेको जमिनको उचित मुआब्जा नदिँदा स्थानीयवासीले काममा अवरोध गरेका थिए तर अहिलेसम्म पुल निर्माण गर्न र मुआब्जा विवाद समाधानतर्फ सरोकारवाला निकायले चासो नदिएको जग्गाधनी हर्कबहादुर ठगुन्नाले बताए । विसं २०७० को महाकाली बाढीपछि सोही क्षेत्रका स्थानीयवासीले मुआब्जा दर झण्डै रु ४६ लाख पाएका थिए । पछिल्लो समय पुल निर्माणको क्रममा मुआब्जा आधा कम गर्दा स्थानीयवासीले मुआब्जा लिन अस्वीकार गर्दै पुल निर्माणमा अवरोध गरेका हुन् । उचित मुआब्जा नपाएको भन्दै जग्गाधनी स्थानीय हर्कबहादुर ठगुन्ना र विष्णुराम हुम्लीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले ०७३ माघ ५ गते जग्गाको पुनःमूल्याङ्कन गरेर मुआब्जा दिन फैसला सुनायो तर सर्र्वोच्चले दिएको फैसलाअनुसार हालसम्म सरकारले मुआब्जा दिन तयार नभएको जग्गाधनी ठगुन्नाको आरोप छ । उनले भने, “हामी मुआब्जाकै लागि जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वोच्च पुगेका हौँ, तर सम्मानित अदालतले गरेको फैसलाअनुसार हालसम्म कार्यान्वयन भएको छैन । जग्गाको पुनः मूल्याङ्कन समयसापेक्ष हुनुपर्छ ।” पच्चीस मिटर लम्बाइमा निर्माण गरिने पुल निर्माण नहुँदा अहिले पनि उक्त क्षेत्रमा खोलाबाटै गाडी आवतजावत हुँदै आएको छ । जग्गाको उचित मुआब्जा दिन माग गर्दै स्थानीयवासीले पटकपटक सरोकारवाला निकायमा धाउँदै आएका छन् । “पाँच वर्षसम्म पनि सरकारले हेर्दैन”, ठगुन्नाले भने, अब चाँडो मुआब्जा नपाए सडक बन्द गर्नुको विकल्प छैन । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल सर्वोच्चको आदेशानुसार जग्गाको मूल्य पुनःनिर्धारण गर्ने सम्बन्धमा सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुखसँग छलफल भइरहेको बताए । पहिलेका कार्यालय प्रमुखको सरुवा भएको रहेछ । अहिले नयाँ कार्यालय प्रमुख काठमाडौँमा भएको कारण केही ढिलाइ भएको हो । एक साताभित्र डिभिजनल प्रमुखलाई जिल्ला बोलाएर छलफल गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सम्भव भएसम्म शुक्रबारसम्म बैठक बसेर टुङ्ग्याउँछौँ, उनले भने । सडक डिभिजन पाटन बैतडीका प्रमुख रमेश चौधरी पुलको बारेमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर निकास निकालिने बताए । विगतदेखि काम रोकिएको रहेछ, यो विषयमा जिल्ला पुगेर छलफल गर्छौं । जिल्ला दररेट निर्धारण समितिले पुनःमूल्याङ्कन गरेर सिफारिस पठाए हामी मुआब्जा दिएर रोकिएको पुल निर्माण कार्य अघि बढाउँछौँ, उनले भने । मुआब्जा विवादका कारण रोकिएको पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदारसमेत आफ्नो काममा ढिलाइ भएको भन्दै पटकपटक समाधान गर्न आग्रह गर्दै आएको छ । दार्चुला सदरमुकाम खलङ्गा नजिकै पुल निर्माण नहुँदा बर्खायाममा सर्वसाधारण र सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । ०७० पछि बाढीले बगाएको सबै क्षेत्रमा तटबन्ध निर्माण भइसक्दा पनि त्यो क्षेत्रमा पुल निर्माणमा भइरहेको ढिलाइले स्थानीयवासीलाई समस्या परेको छ । रासस