विकासन्युज

कालीगण्डकी करिडोर बनेसँगै बढ्याे व्यवसाय, फेरियाे जीवनशैली

बलेवा । बागलुङको जैमिनी नगरपालिका–७ जैदीका बैकुण्ठ पौडेल अहिले गुल्मीको पुर्तिघाटमा व्यवसाय गरेर बस्छन् । पाँच वर्षअघिसम्म सामान्य काम पर्दा उनी बागलुङ र पर्वतको कुश्मा आउनुपथ्र्यो । खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको खरिद गर्न हिँडेर सदरमुकाम आउनुपथ्र्यो । दूरीले नजिक भए पनि पुर्तिघाट बजार अपायक पथ्र्यो । उक्त स्थानबाट मानिसहरु सामान्य किनमेलका लागि बागलुङ र कुश्मातर्फ आउँथे । अहिले कालीगण्डकी करिडोर निर्माण भएर नियमित बस सेवा चलेको छ । बुटबलदेखि दैनिक बस चल्न थालेकाले सदरमुकाम आउने समयमा पुर्तिघाटका मानिस पाल्पा पुगिसक्छन् । त्यसपछि डेढ घण्टामा बुटवल पुग्न सकिन्छ । “अब प्रशासनिक काम परे जाने हो, नत्र सदरमुकाम जानुपर्दैन”, पौडेलले भने, “पोखरा नपुग्दै बुटवल पुगिने भएपछि धेरै सहज भएको छ ।”, त्रिदेशीयमार्गको रुपमा कालीगण्डकी करिडोर ४१७ किमीमा चीन र भारत जोड्ने गरी निर्माण भएपछि दक्षिण बागलुङ र गुल्मीका मानिसको जीवनशैली फेरिएको छ । साथै पहिला एउटा पनि घर नभएका स्थानमा पसल र बजारको रुपमा घरैघर बन्न थालेको छ । होटल व्यवसाय गरेर बसेकी सरु सलामीले बस चल्न थालेपछि दक्षिण बागलुङ र गुल्मी खण्डको जीवनस्तरमै सुधार भएको बताइन् । उनले चार वर्षदेखि होटल चलाएर राम्रो कमाई गर्न थालेका छन् । यहाँ अहिले दैनिक दर्जन बस र जिप चल्न थालिसकेका छन् । बागलुङको कुश्मीसेरादेखि दक्षिणका अधिकांश मानिसले तराई झर्न करिडोरकै बाटो समात्छन् । कुश्मीसेरादेखि बुटवल ६ घण्टामा पुग्न सकिन्छ । यो सडक कालोपत्र भएपछि चार घण्टामा बुटवल पुग्न सकिने स्थानीयवासीले बताए । यसरी सडकले बुटवल जोडेपछि कृषि उत्पादन गर्नेले सहज बजार पाउने र खाद्यान्न ढुवानीमा सहज हुने भन्दै दक्षिण बागलुङबासी खुसी छन् । सडक छेउमा होटल र रेष्टुरेन्ट चलाएर बस्ने धेरै छन् । उनीहरुले सामान्य पेशाबाट जीवन चलाउन सकिने बताए । “होटल पनि राम्रो चलेको छ, कतै जानुपर्दा सहजै सवारी पाइन्छ”, स्थानीय तमसम रानाले भने, “करिडोरले हाम्रो दैनिकी फेरिदिएको छ ।” सदरमुकाम पुग्ने समस्या मात्र हटेको नभई घरमै फलाएका वस्तु सहजै बिक्री भएको उनले सुनाए । नेपाली सेनाले यो सडकमा काम गरेको छ । चालू वर्षभित्रै यो सडकको ८० किमी खण्ड सेनाले सरकारलाई बुझाउने तयारी गरेको छ । गत महिना यो सडकको ३० किमी खण्ड बुझाइसकेको छ । बजेट अभावले रोखिएको बागलुङको जैमिनी नगरको जैदी छिस्ती खण्ड, गुल्मीको खड्गकोट खण्डमा काम बाँकी छ । उक्त कामका लागि बजेटको जोहो भइरहेको प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए । सेनाले गरेको काममा गुणस्तर, खाल्डाखुल्डी पर्दा नियमित मर्मत र दोहोरो बस चल्ने बनेको छ । दैनिक बुटवलदेखि बागलुङको कुश्मीसेरा बस चलाएका चालक दिनेश थापाले सेनाको कामले यात्रा सहज भएको बताउँछन् । उनले बुटवलदेखि कुश्मीसेरा बस चलाउन थालेका छन् । यो सडकले गुल्मीको कालीगण्डकी, सत्यवती र रुरु गाउँपालिकाका सयौँले पाल्पा र बुटवल मात्र नभई आफ्नै सदरमुकाम पुग्ने सहजमार्ग पनि करिडोरबाटै पाएका छन् । “पहिले पैदल रिडी पुगेर मात्र तम्घास जानुपथ्र्यो, अहिले मोटर चढेर जान पाइयो”, स्थानीयवासी भागिरथ न्यौपानेले भने, “सामान बोकेर ल्याउने काम साह्रै कठिन थियो, अब सहज भयो ।” करिडोर बनेकाले पुर्तिघाट र हर्मीचौरदेखि शान्तिपुरतर्फ जाने सडक बनेका छन् । सेनाले हर्मीचौरदेखि रुद्रवेणीको विकल्पमा स्याङ्जातर्फ सडक बनाएको छ । करिडोरमा सेनाले पाँच बेलीब्रिज बनाएको छ ।रासस

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्मानित

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । जेपी प्रतिष्ठानको रजत महोत्सवको उद्घाटन कार्यक्रममा उनी सम्मानित भएका हुन् । उनको व्यवस्थापकीय क्षमता, नेपाली उर्जा क्षेत्रमा गरेको योगदान र लोडसेडिङ्मुक्त गर्ने नायकका रुपमा उनलाई प्रतिष्ठानले सम्मान गरेको हो । उनी संगै समाजमा समाजिक कार्य गर्ने १ सय ८ जनालाई प्रतिष्ठानले सम्मान गरेको हो । उक्त उद्घाटन कार्यक्रकमा बोल्दै घिसिङले आफ्नो क्षेत्रमा जिम्मेवारी निर्वाह गरे अवश्यसफल हुन सक्ने धारणा राखे । विद्युत प्राधिकरण लोडसेडिङ गर्ने निकाय त होइन भन्ने नागरिकको भ्रमलाई हटाउन सफल भएको बताए । निर्देशक घिसिङले हाल देशमा लोडसेडिङ गर्ने अवस्था नभएको बताए । अहिले धेरै उर्जा स्टक भएकोले चाहिएको उर्जा खपत गर्न आग्रह गर्दै अब नेपाल छिट्टै उर्जामा आत्मनिर्भर हुने जानकारी दिए ।  

दुर्घटना न्यूनीकरण गर्न आजदेखि टाइमकार्ड शुरु

विराटनगर ।  दुर्घटना न्यूनीकरण गर्न मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट आजदेखि टाइमकार्ड शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड प्रदेश नं १ मा मोरङ, सुनसरी र झापाका १३ स्थानबाट शुरु भएको छ । टाइमकार्ड शुरु भएको स्थानबाट वितरण गरिएको टाइमकार्डअनुसार नचल्ने सवारी साधनलाई कारवाही गरिने र यसबट राजमार्गमा हुने सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिएका छन् ।

साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक लहानबाट पक्राउ

काठमाडाैं । आफ्नै साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं कोठामा सँगै बसेका बेला मदिराको बोतलले हानेर हत्या गरी फरार भएका उनलाई गएराति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उक्त घटना यही माघ ६ गते भएको थियो । घटना घटाएर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै पुनः नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । हत्या आरोपी मियाँ मृतक अहमदका भाइले सञ्चालन गरेको ओसन ट्राभल टुर्स प्रालिका व्यवस्थापक भएको खुल्न आएको छ । उनले होटलको कोठामै रहँदा शुरुमा बोतलले टाउकोमा प्रहार गरेको र त्यसपछि त्यही सिसाले घाँटीमा हानेर मारेको देखिएको परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । त्यसपछि उनले शवलाई सिरकले ओढाएर मानिस सुतेजस्तो बनाई छाडेर भागेका थिए । प्रहरीका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोका नियमित ग्राहक थिए । यसपाली उनीहरु यही माघ ६ गते पछिल्लोपटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को बी र सीमा बसेर उनीहरु आएको खुलेको छ । एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट ७ गते हत्या गरेको र प्रहरीलाई भने ८ गते मात्रै खबर आएको थियो । उनीहरु होटलमा दैनिक १५ सयमा भाडा तिर्नेगरी बसेका थिए । प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी चार दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् । रासस

बैंक अफ काठमाण्डूद्वारा साई विद्या मन्दिरलाई ५ लाख सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् । २०६८ साल बैशाख १ गतेदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिंदै आएको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

आकासियो सुनको मूल्य, प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । सुनको मूल्य एकै दिन प्रतितोला ७ सय रुपैयाँले बढेको छ । पछिल्लो समय निरन्तर सुनको मूल्य वृद्धि भएसँगै बिहीबार प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ७६ हजारमा बिक्री भइरहेको छ । बुधबार १० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

कर्णाली एक्स्पो फागुन ६ गतेदेखि, पाँच करोडको कारोबार हुने अपेक्षा

सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो । सङ्घका अध्यक्ष धनबहादुर रावतले महोत्सवमा कृषिलाई विशेष ग्राहयता दिनुका साथै कर्णालीको पहिचान एवं पर्यटन प्रवद्र्धनलाई मुख्य आधार बनाइने जानकारी दिए । उनका अनुसार प्राङ्गारिक कृषिसँग सम्बन्धित मात्रै १०० प्रदर्शनी कक्ष रहने छ । बेलायतको लण्डन ब्रिजको संरचनाअनुसारको मूल गेट, दुबईको बुर्ज खलिफा र मलेसियाको ट्विन टावरस्वरुपका संरचना बनाई सेल्फी जोन निर्माण गरिनेछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले एक्स्पोमा कृषि सम्मेलनको पनि आयोजना गर्ने बताए । प्राङ्गारिक कृषि, जैविक विविधताको संरक्षण, जैविक विषादी, जैविक मल, रैथाने बाली संरक्षणका लागि विज्ञसहित सरोकारवालाको सहभागिता रहने गरी टक सो कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । कर्णालीका १० वटै जिल्लाबाट प्राङ्गारिक कृषि तथा जडीबुटी उत्पादन, लघु उद्यमीका उत्पादन प्रदर्शनी कक्ष रहने छन् । महोत्सवमा करिब ५०० व्यावसायिक प्रदर्शनी कक्ष , करिब रु पाँच करोडको व्यावसायिक कारोवार हुने र तीन लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सङ्घले हरेक तीन वर्षमा एकपटक महोत्सव सञ्चालन गर्दै आएको छ । सङ्घले एक्स्पोबाट प्राप्त आम्दानीको रु ५० लाखको अक्षयकोष बनाई प्रकोप पीडितलाई राहत दिने लक्ष्य लिएको छ ।रासस

निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

काठमाडौं । सार्वजनिक–निजी साझेदारी (पीपीपी) को अवधारणामा निजी क्षेत्रले नेपालको पहिलो सुरुङमार्गको रुपमा काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने घोषणा गर्यो । यसैका लागि २०६८ भदौमा १ सय ५९ जना सेयरधनी रहेको नेपाल पूर्वाधार विकास कम्पनी स्थापना पनि भयो । सुरुङमार्ग निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन निवर्तमान अध्यक्ष कुशकुमार जोशीले गरेका थिए । जोशीलाई नै अध्यक्ष बनाएर कम्पनी दर्ता भयो पनि । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । काम सुरु भएकै छैन । पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपती र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यस अनुसार जनताबाट ३१ करोड ७६ लाख रकम उठाइसकेको थियो । निर्माण उपकरण तथा सामग्री राख्नको लागि कम्पनीले सम्याएको ठाउँ । यो कम्पनीले सुरुङ मार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । अहिलेसम्म कम्पनीले सुरुङ निर्माणका लागि खोस्रने काम समेत गरेन । तर, निर्माण कार्य सक्नु पर्ने म्यादसम्म पनि आर्थिक प्रतिवेदन बुझाइएको छैन । सुरुग मार्गको शिलान्यास भने भइसकेको छ । सडक बनाउनको लागि अधिग्रहण गरिने क्षेत्र, जहाँ मानव निर्मित संरचनाहरु थपिदैछन् । कम्पनीको अध्यक्ष ४ पटक फेरिए । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । कम्पनीले सुरुङ मार्गको डीपीआर बनाएर सरकारलाई बुझाइसकेको छ । फुल ब्राइट कन्सल्ट्यान्टले डीपीआर तयार पारेको हो । सुरुङ मार्ग बनाउन गएको डोजर, आफै अलपत्र अवस्थामा भेटियो । पूर्वाधार विकास कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो । लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो । तर, निर्माण कार्य सक्नु पर्ने म्यादसम्म पनि कम्पनीले आर्थिक प्रतिवेदन बुझाइएको छैन । कम्पनीमा सर्वसाधारण सेयर लगानी छ । आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाडौं –हेटौंडा सुरुङमार्गको सेयरमा लगानी गरेका सर्वसाधारणको लगानी के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका छन् । कुलेखानीका करिब १ सय १ जना र भेमफेदीका करिब ९७ जना सामान्य कृषकसमेतले कम्पनीमा लगानी गरेका छन् । काठमाडौँबाट हेटौडा पुग्न मुग्लिङ हुँदै जाँदा २ सय २६ किलोमिटर यात्रा छिचोल्न सात/आठ घण्टा लाग्छ । त्रिभुवन राजपथको घुमाउरो बाटो हुदै जाने हो भने १ सय ३३ किलोमिटर दुरी पार गर्नुपर्छ । प्रस्तावित सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै भनेर कम्पनीले जानकारी दिएको थियो । काठमाडौं–हेटौडा सुरुङ मार्गको परिचित सो सडकमा जम्मा ३ किलोमिटरको मात्रै सुरुङ हुने भनिएको थियो ।