लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए सपथ
काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो । नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ ।
एमसीसी विवादकाे असर टीफामा, अमेरिकासँगको व्यापार तथा लगानी अनिश्चित हुदै
काठमाडौं । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे विवाद बढ्दै गएपछि अमेरिकासँगको ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टीफा) वार्ता अनिश्चित बनेको छ । नेपालमा हुने टीफा वार्ताको लागि अमेरिकाले चासो राख्न छाडेको हो । नेपालमा हुने द्विपक्षीय वार्तामा अमेरिकाले चासो नदिएपछि वार्ता नै अनिश्चित बन्दै गएको छ । सन् २०१९ मा नै हुनुपर्ने टीफा वार्ता नेपालमा एमसीसीबारेको विवाद चर्कंदै गएपछि अनिश्चित बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँन थालेका छन् । ‘सन् २०१९ को नाभेम्बरमा सम्पन्न गर्ने भनिएको बैठक सरेर डिसेम्बरमा पुग्याे तर, भनेको समयमा वार्ता भएन र फेरि सारेर फेब्रुअरीमा पुगेको बैठक अब अनिश्चित बनेको छ,’ मन्त्रालयका एक अधिकारीले भने । व्यापार विस्तार गर्ने र लगानी प्रबद्र्धन गर्ने लक्ष्यसहित अमेरिकासँग भएको सहमतिबाट नेपालले खासै लाभ लिन नसकेको उनकाे भनाइ छ । एमसीसीको विवाद चर्कनुभन्दा अघि अमेरिका टीफा वार्ता समयमै सम्पन्न गर्न तयार थियो । अमेरिकी प्रतिनिधिहरुले मन्त्रालयमै आएर अमेरिका वार्ताका लागि तयार रहेको बताउने गरेका थिए । अमेरिकाबाट ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टमा आउने प्रतिनिधिले नेपालका मुख्य सहरहरु समेत घुम्ने योजनासमेत सुनाएका थिए । वार्ताको मिति सरेपछि बैठक गर्ने विषयमा अमेरिकी प्रतिनिधिहरुले कुनै चासो देखाएका छैन्न । मन्त्रालयका अधिकारीहरू अमेरिकाले केही नभने पनि एमसीसी विवाद बढ्दै जाँदा वार्ताको प्रभाव घट्दै गएको बताउन थालेका छन् । सन् २०१९ को नाभेम्बरमा गर्ने भनिएको टीफाको पाँचौ बैठक २०२० को फेब्रुअरीमा आएर पनि अनिश्चित बनेको हो । सन् २०१८ मा अमेरिकाको वासिङटनमा सम्पन्न भएको चौथो बैठकपछि २०१९ मा पाँचौ बैठक नेपालमा गर्न अमेरिका र नेपाल सहमत भएका थिए । नेपाल र अमेरिकाबीच पहिलो वार्तामा व्यापार विस्तार र लगानी प्रबर्द्धन गर्ने लक्ष्यसहित टीफामा हस्ताक्षर भएको थियो । हरेक वर्ष पालैपालो यसको टीफा बैठक आयोजना गर्न दुवै देशबीच सहमति भएको थियो । पहिलो बैठकपछि दोस्रो बैठक सन् २०१५ मा बसेको थियो । तेस्रो बैठक २०१७ र चौथो बैठक २०१८ मा सम्पन्न भएको थियो । टीफाबाट नेपालले अमेरिकासँग खासै लाभ लिन सकेको छैन । भूकम्पपछि अमेरिकाले नेपालका ७७ वस्तुलाई शून्य भन्सार दरको सुविधा दिएको थियो । यो सुविधा नेपालले २०२५ सम्म उपयोग गर्न पाउँछ । तर, अमेरिकाले दिएको उक्त सुविधा नेपालले सदुपयोग गर्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले अमेरिकासँग निकट भविष्यमै वार्ता हुने बताए । ‘मन्त्रालयले अमेरिकासँगको टीफा वार्ताका लागि आवश्यक तयारी तथा पहल गरिरहेको छ,’ ढकालले भने ।
चैत ६ गतेदेखि ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुँदै
काठमाडौं । आगामी चैत ६ गतेदेखि १० गतेसम्म भुकृटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । ४ दिन हुने उक्त मेला अन्तर्राष्ट्रिय व्यापार मेला, नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह–आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा आयोजना हुनेछ । ३ सयभन्दा बढी स्टल रहने उक्त मेलामा ५ देशले स्टल बुकिङ्गका लागि पत्राचार गरिसकेका छन् । उक्त मेलामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरु, एनटीआइएस प्रोडक्टहरु रहने छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको प्रचार प्रसार तथा छलफल कार्यक्रम गर्ने मेला आयोजकले जनाएका छन् । १ लाखले उक्त मेलाको अवलोकनकर्ताहरुको अवलोकन गर्ने लक्ष्य रहेको छ । यस वर्ष मेलाको टिकट दर ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थीको ३० रुपैयाँ छ । त्यस्तै अपाङ्ग तथा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको मेला संयोजक दिपसुन्दर श्रेष्ठले बताए । गत वर्षको अन्तर्राष्ट्रिय व्यापार मेला २०१९ मा एक लाखभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकले मेला अवलोकन गरेका थिए ।
धितोपत्र ऐन संशोधनः बोर्डको आदेश नमान्नेको लाइसेन्स निलम्बनदेखि १५ लाख जरिबानासम्म
काठमाडौं । सरकारले धितोपत्र ऐन २०६३ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । संसदमा दर्ता भएको विधेयकमा कारबाहीको व्यवस्था कडा पारिएको छ भने बोर्ड संचालक समितिबाट निजी क्षेत्रको प्रतिनिधित्व हटाइएको छ । अर्थमन्त्रालयको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको विधेयकमा नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व हुने व्यवस्था हटाइएको छ । अहिलेसम्म महासंघको तर्फबाट एक जना सदस्य बोर्ड संचलक हुने व्यवस्था छ । यस्तै, लेखापरीक्षकहरुको नियमनकारी निकाय नेपाल चार्डर्ड एकाउन्टेन्ट संस्थाको प्रतिनिधित्व पनि हटाइएको छ । अहिलेसम्म संस्थाबाट एक जना संचालक रहने व्यवस्था छ । महासंघ र संस्थाबाट प्रतिनिधित्व हटाएपछि धितोपत्र बोर्डमा ५ सदस्यीय संचालक समिति रहनेछ । अहिलेसम्म सरकारले नियुक्त गरेको अध्यक्ष्य, अर्थमन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट एक÷एक जना तथा सरकारले तोकेको एक जना विज्ञ संचालक गरी ७ सदस्यी संचालक समिति रहने व्यवस्था छ । यस्तै, अहिलेसम्म बोर्ड संचालक हुन तोकिएका क्षेत्रको कम्तिमा ७ वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ । विधेयकमा अनुभवलाई ३ वर्ष बढाएर कम्तिमा १० वर्ष बनाइएको छ । अनुमतिपत्र नविकरण गर्ने म्याद घट्यो विधेयकमा संगठित संस्थाले अनुमतिपत्र नविकरण गर्ने म्याद पनि घटाइएको छ । अहिलेको ऐनको दफा ४२ मा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्रमा अनुमतिपत्र नविकरण गरिसक्नु पर्ने व्यवस्था छ । संसदमा दर्ता भएको विधेयकमा आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुदै अनुमतिपत्र नविकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । यस्तै, अनुमतिपत्र नविकरण गर्ने म्याद सकिएको ३ महिनाभित्र २५ प्रतिशत जरिवाना तिरेर अनुमतिपत्र नविकरण गर्न सकिने व्यवस्था अहिलेको ऐनमा छ । संसदमा दर्ता भएको विधेयकमा सो व्यवस्थामा परिवर्तन गर्दै नविकरण गर्नुपर्ने म्याद सकिएको ७ दिनभित्रमा २५ प्रतिशत जरिबाना तिरेर नविकरण गर्न सकिने व्यवस्था गरिएको छ । बैंकिङ कारोबारको विवरण बोर्डले लिन सक्ने विधेयकको दफा ८६ (क) थपिएको छ । थपिएको नयाँ व्यवस्थामा धितोपत्र कारोबारको बैंकिङ विवरण बोर्डले लिन पाउने व्यवस्था गरिएको छ । यस्तो विवरण भने नेपाल राष्ट्र बैंकमार्फत माग्नुपर्ने व्यवस्था विधेयकमा छ । ‘कुनै व्यक्ति, कम्पनी वा संगठिन संस्थाले गरेको धितोपत्रसँग सम्बन्धित बैंकिङ कारोबारको सम्बन्धमा कुनै जाँचबुझ गर्नु परेमा बोर्डले त्यस्तो कारोबार सम्बन्धी अभिलेख सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट उपलब्ध गराई दिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्न सक्नेछ,’ विधेयकमा थप गरिएको दफा ८६ (क) मा उल्लेख छ । बोर्डले यसरी विवरण मागेमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंक वा वित्तीय संस्थासँग कारोबारको विवरण मागेर बोर्डलाई दिनुपर्ने व्यवस्था गरिएको छ । दण्ड जरिबानाकाे मात्रा बढ्याे विधेयकमा दण्ड र जरिबानाको मात्रा निकै बढाइएको छ । ऐनको दफा १०१ मा भएको दण्ड र जरिबानाको व्यवस्थामा व्यापक संशोधन गरिएको छ । अहिलेको ऐनमा भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने भन्ने व्यवस्था छ । विधेयकमा सो व्यवस्थाको संशोधन गरी बिगो खुलेमा बिगो बराबर जरिबाना भराई ३ बर्षसम्म जेल वा दुबै सजाय र बिगो नखुलेमा १० लाख रुपैयाँसम्म जरिबाना वा ३ बर्षसम्म जेल वा दुबै सजाय हुने भनिएको छ । यस्तै, अहिलेको एनेमा ऐनको दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ भन्ने व्यवस्था छ । विधेयकमा सो व्यवस्थामा परिवर्तन गरी ‘बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ३ वर्षसम्म कैद वा दुबै सजाय र बिगो नखुलेकोमा १ लाख ५० हजार रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा ३ बर्षसम्म कैद वा दुबै सजाय हुने’ व्यवस्था गरिएको छ । साविकको ऐनको ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिबाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने तथा त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्ने भन्ने व्यवस्था छ । विधेयकमा सो व्यवस्था संशोधन गरी बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ६ वर्षसम्म कैद वा दुबै सजाय र बिगो नखुलेकोमा ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना वा ६ वर्षसम्म कैद वा दुबै सयाज हुने व्यवस्था गरिएको छ । ऐनको दफा १०१ को (४) मा ‘कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ’ भन्ने प्रावधान छ । विधेयकमा सो व्यवस्था संशोधन गर्दै आर्थिक जरिबानालाई १ लाख ५० हजार रुपैयाँदेखि ६ लाख ५० हजार रुपैयाँसम्म बनाइएको छ । ऐनको दफा १०१ को (५) मा ‘कसैले जानीजानी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐन अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको बर्खिलाप काम गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानि नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई कुनै हानि नोक्सानी पुग्न गएको भए सो बापत बोर्डले वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति समेत भराई दिन सक्नेछ’ भन्ने व्यवस्था छ । विधेयकमा यस्तो जरिबाना रकम बढाएर ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म बनाइएको छ । ऐनको दफा १०१ मा एउटा उपदफा थप गरिएको छ । थप गरिएको उपदफामा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना नगर्ने यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त संस्था वा त्यसको संचालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले तोकिएका एक वा एकभन्दा बढी कारबाही गर्न सक्ने’ भन्ने व्यवस्था छ । कारबाहीका यस्ता विकल्पहरुमा सचेत गराउने वा लिखित चेनावनी दिने, त्यस्तो संगठिन संस्थाको कारोबारमा आंशिक वा पूर्ण रुपमा प्रतिबन्ध लगाउने, बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने, अनुमतिपत्र निलम्बन गर्ने वा निलम्बन गर्न आदेश दिने, सम्बन्धित अनुमतिपत्र प्राप्त संगठित संस्थाको संचालक समितिलाई तलब भत्ता लगायतका सुविधा उपलब्ध नगराउन आदेश दिने, संचालक समितिलाई पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकाश दिन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको संचालक समितिलाई आदेश दिने भनिएको छ । संस्थाहरुलाई गरिने आर्थिक जरिबानाको मात्रा पनि बढाइएको छ । ऐनको दफा १०१ को (७) मा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका आदेश बमोजिम तयार गर्नुपर्ने विवरण वा प्रतिवेदन वा कागजात तयार नगर्ने, दिनुपर्ने जानकारी नदिने वा पेश गर्नुपर्ने काजगात तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने वा यिमन, निरीक्षण वा अनुगमन गर्दा बोर्ड वा सो कार्यका लागि बोर्डबाट खटिएको कुनै अधिकारीले माग गरेको कागजपत्र, विवरण तथ्यांक वा अभिलेख तोकिएको अवधिभित्र उपलब्ध नगराउने धितोपत्र दर्ता गराउने संगठित संस्था वा बोर्डबाट अनुमति प्राप्त संस्थालाई बोर्डले अन्य सजायको अतिरिक्त देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ’ भनिएको छ । देहाय बमोजिमको जरिबाना भनेर म्याद नाघेको ७ दिनसम्मको लागि दैनिक १० हजार रुपैयाँ, म्याद नाघेको ८ दिनदेखि १५ दिनसम्मका लागि दैनिक २५ हजार रुपैयाँ तथा म्याद नाघेको १६ दिनदेखि दैनिक ५० हजार रुपैयाँ जरिबाना लाग्ने भनिएको छ ।
होण्डाको नयाँ शोरुम हेटौंडामा
काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनीले बुधबार हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप “टाइमस् अटोहब प्रा.लि” को उद्घाटन गरेको छ । मकवानपुरमा अवस्थित होण्डाको उक्त शोरुमलाई मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइमस् अटोहब प्रतिबद्ध रहेको छ । होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९.९९% को ब्याजदरमा सरल र सहज हिसाबले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा प्रबन्धक निर्देशक शिवराम श्रेष्ठले टाइमस् अटोहब, ग्राहकहरुको अपेक्षा पूरा गर्न हरेक पल तत्पर रहेको जानकारी गराए ।
सिभिल बैंकको कारोबार रकम र सेयर मूल्य दुबैमा वृद्धि, यस्तो छ कारण
काठमाडौं । बुधबारको बजारमा सिभिल बैंकको सबैभन्दा बढी करोबार भएको छ । बैंकको एकैदिन १३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमसँगै बढी कमाउनेको अग्रस्थानमा पनि बैंक दोश्रो स्थानमा रहेको छ । दिनभरको बजारमा बैंकको सेयर मूल्य ८.७८ प्रतिशतले बढेर प्रतिकित्ता १६१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँ बढी हाे । बुधबारको बजारमा बैंकको सेयर प्रतिकित्ता न्यूनतम १४८ रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँमा किनबेच भएको छ । दोश्रो त्रैमासको वित्तीय विवरणका अनुसार बैंकले अधिकांश सूचकमा सुधार गरेको छ । त्यसको सकारात्मक प्रभाव बुधबारकाे सेयर बजारमा परेकाे काराेबार रकम र सेयर मूल्य बढ्नुले संकेत गरेकाे छ । ‘६ महिनामा वाणिज्य बैंकहरुले गरेको ग्रोथ रेटको आधारमा सिभिल बैंक आठौं स्थानमा पर्न सफल भएको छ । जसको प्रभाव आजको बजारमा परेको हो ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले विकासन्युजसँग भने- ‘साथै, हामीले आगामी असारसम्ममा एनपीएल घटाएर २ प्रतिशतसम्ममा झार्ने लक्ष्य राखेका छाैं ।’ बैंकका सीईओ गुरुङका अनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको पुस मसान्तमा बैंकको निष्कृय कर्जा (एनपीएल) घटेको छ । पुस मसान्तसम्ममा बैंकको एनपीएल घटेर २.६५ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको एनपीएल २.९३ प्रतिशत थियो । गतअसार मसान्तसम्ममा ४६ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तसम्ममा ५२ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन ४४ अर्बबाट बढेर ५० अर्ब पुगेको छ । पुस मसान्तसम्ममा बैंकले ३१ करोड ६७ लाख रुपैयाँ नाफा गरेकाे छ । समग्रमा बुधबारको बजार सामान्य ५.३१ अंकले बढेर १३४२.३६ अंकमा पुगेको छ । दिनभरको बजारमा १७७ कम्पनीको कूल एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समूह अन्तर्गत सबैभन्दा बढी जीवन बीमा ३८.२६ अंकले बढेको छ । उत्पादन मूलक समूह सबैभन्दा बढी अर्थात ११ अंकले ओरालो लागेको छ । बजारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशत कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ६.२५ प्रतिशत गुमाएका छन् ।
विरोध गर्ने कर्मचारीप्रति मन्त्री बास्कोटाको आक्रोश: बेलुका भोज खान त आउनुहुन्छ हाेला नि ! उतै हेरौंला
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कर्मचारीप्रति आक्रोश पोखेका छन् । नेपाल टेलिकमको १६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले टेलिकमको फोरजी विस्तार गर्ने समयमा कर्मचारीहरुले यो असम्भव भएको र हावा गफ भएको भन्दै विरोध जनाएका कारण उनी कर्मचारीप्रति आक्रोशित बनेका हुन् । ‘मैले फोरजीको कुरा गर्दा मन्त्रीले फोस्रो कुरा गर्यो भन्थे, तर अहिले करिब फोरजीको काम सकिएको छ, सबै दंग छन,’उनले भने । उनले विरोध गरिरहेका कर्मचारीलाई व्यङ्य गर्दै बेलुकामा भोजमा आउनु हुन्छ, उतै हेरौंला भन्ने कटाक्ष गरे । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै उनले रचनात्मक सुझावहरु ग्रहण गरिने तर राजनीतिका लागि राजनीति सह्य हुन नसक्ने सुनाए । कर्मचारीप्रति आक्रोशित हुँदै उनले सबैलाई अनुशासित हुन सुझाव दिए । अनुशासन र नियममा रहनुस्, अन्यथा यसको हिसाब किताब राखिनेछ, चुनौती सम्झिए चुनौती सम्झिनुस् म पराजित गर्छु’, उनले भने । असन्तुष्ट कर्मचारीलाई उनले के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो भन्ने प्रश्न गरे । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृद्धि विकासलाई प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमै आफ्ना मागसहितको प्ले कार्ड देखाएर विरोध जनाएका छन् । यस्तै कार्यक्रममा उनले टेलिकमलाई गोरखकाली टायर र टिम्बर कर्पाेरेसन जस्तो घाटामा जान नदिने बताएका छन् । ‘सरकारले हात हालेको सबै क्षेत्र घाटामा नै जान्छ भन्ने हुँदैन, सरकारले टेलिकमलाई कान्छो छोराछोरी सरह माया गरेको छ, यतिखेर यसको नाफा हुन्छ,’ उनले भने । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको बताए । कार्यक्रममा विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने
काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८ ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् । प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका निशान बुडुजा,पोखराकै मुसकान रानाभाट,हेटौडाकी मिग्मा लामा,काठमाडोकी मेघा श्रेष्ठ,पोखराकी ममता गुरूङ, बर्दिवासका किरण कुमार भुजेल,चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिश्पर्धा गरिरहेका छन् । नेपालका चर्चित रियालिटी शो नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।