विकासन्युज

मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढ्यो

ललितपुर । ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गरेका छन् । ग्वार्काेबाट महानगरपालिकाको पछाडि उत्तरी गेटसम्म मापन गरिएको १८७३ नम्बरप्लेटको दूरी हो । यसैगरी २९१ नम्बरप्लेट झम्सीखेल चोकबाट वडा नं ३ को वडा कार्यालयसम्म र ३५ नम्बरप्लेट भनीमण्डल चोकदेखि सेन्टमेरिज विद्यालयको गेटसम्मको दूरी रहेको महर्जनले जानकारी दिए । महानरपालिकाका घरघरमा नम्बरप्लेट राखेपछि एक स्थानबाट अर्काे स्थानमा सजिलै पुग्न सकिन्छ सकिने उनले बताए । वडा नं ३ मा पाँच हजार घरधुरी रहेका हुँदा हाललाई परियोजनाका रूपमा हामीले पहिला यहाँका एक हजार घरमा नम्बरप्लेट राखेकाे बताएका छन् ।  परियोजना अघि बढाउँदै जाँदा काम गर्न समस्या भएन भने यसैअनुरूप दोस्रो चरणको काम अघि बढाइने उनको भनाइ थियो । घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्टसिटीको परिकल्पना सकारात्मक बनाउन सहयोग गर्ने महर्जनको बुझाइ छ । महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर तथा नक्सा शाखा प्रमुख श्रीकुमार महर्जनले महानगरपालिकाले उक्त कामलाई दुई चरणमा अघि बढाउने जानकारी दिए । उनले भने, ‘हामीले जियो–नेष्ट–इन्डेको जेभी नामक तीन संस्थासँग सहकार्य गरेर पहिलो चरणमा घरको सङ्ख्या गणना गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, हरेक वडा, टोल, सडक र गल्लीमा नाम दिएका छाैं ।’ नगरपालिकामा रहेका अन्य ८७ घरलाई दोस्रो चरणको योजना बनाएर नम्बरप्लेट राखिने महर्जनले बताए । महानगरपालिकाका परामशर्दाता ईश्वरमान जोशीले महानगरपालिकामा रहेको हिलो र धुलोका कारण घर गन्ती गर्न निकै समस्या परेको उल्लेख गरे । उनले भने, ‘महानगरपालिकाभित्र कूल ८८ हजार घर छन् । यी घरमध्ये ५८ हजार ४२३ आवासीय घर र बाँकी अन्य करिब ३० हजार घर व्यापारिक महल आदि छन् ।’ नम्बरप्लेट राख्न इच्छुक व्यक्तिले घरजग्गाको कर तिरिसकेको हुनुपर्ने र प्रतिनम्बरप्लेट जडान गरेवापत एउटा घरले रु एक हजार तिर्नुपर्ने जनाइएको छ । कार्यक्रममा महानगरपालिकाभित्र वार्षिक दुई हजार घर थपिँदै गएको, पहिलो चरणको परियोजनामा रु चार करोड २१ लाख ३० हजार खर्च भइसकेको र दोस्रो चरणको काम अघि बढाउन बोलपत्र आह्वान गरिने र यसमा रु नौदेखि १० करोड खर्च लाग्ने जानकारी दिइयो ।रासस

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले उर्लाबारी उद्योग वाणिज्य संका अध्यक्ष प्रितम खड्गी, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जैसवाल, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार पोड्डार, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीसँग सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर एफएनसीसीआईकै नेतृत्वले समाधान दिन सक्ने प्रकारको हुनुपर्ने बताए । अबको नेतृत्व राजनीतिकभन्दा पनि व्यवसायीक बनेस् प्रितम खड्गी, अध्यक्ष, उर्लाबारी उद्योग वाणिज्य संघ  हालसम्मका नेतत्वहरु त्यति चलायमान भएका छैनन् । हाल महासंघ व्यक्तिगत स्वार्थमा चलिरहेको छ । नेपाल उद्योग वाणिज्य समहांघको अब आउने नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा समग्र उद्योगी व्यवसायीहरुको हक हितका लागि काम गर्नु पर्छ । प्रदेश एक पर्यटकीय रुपले प्रख्यात ठाउँ पनि महासंघले यहाँको पर्यटनको महत्व बुझी समग्र व्यवसायीहरुको पिरमर्का तथा समस्यालाई बुझ्ने खालको हुनु पर्छ । महासंघमा राजनीतिक भन्दा पनि व्यवसायीका पक्षमा काम गर्न जरुरी छ । ऐजेण्डासहितको नेतृत्व आउनु पर्छ पण्डित प्रसाद जैसवाल, अध्यक्ष, रौतहट उद्योग वाणिज्य संघ रौतहट अन्य जिल्लाको दाँजोमा सानो उद्योग वाणिज्य संघ हो । हाम्रा धेरै समस्याहरु छन् । ती समस्याहरु समाधान गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । अबको नेतृत्वले नगर जिल्लाका व्यवसायी उद्योगीहरुका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर उचित लक्ष्य लिएर आउन आवश्यक छ । सरकारले ल्याएको ऐन कानुनले व्यवसायीलाई समस्या भएको छ । यी ऐन कानुनमा रहेर उद्योगी व्यवसायीमैत्री कानुन बनाउन अबको नेतृत्वले द्धभूमिका खेल्न सक्नु पर्छ । यी विधि समस्यालाई हाम्रा सम्बन्धित निकायमा पुर्याउने नेतृत्व आजको आवश्यकता हो । उहाँहरु राजधानीमा बस्नुहुन्छ । हाम्रा समस्या बुझ्ने प्रयास गरेको छैन । हामीले तिरेको करको उचित सुविधा पाएका छैनौं । देश पनि सम्बृद्ध होस् र व्यवसायीलाई पनि काम गर्न सहज वातावरण सिर्जना गर्ने नेतृत्व हामीलाई आवश्यक हो । अब हामी उहाँहरुका प्रतिवद्धता हेर्छौं । त्यसपछि राम्रै नेतृ्रत्व छनोट गर्छौं । हाम्रो सही कुरा सही ठाउँमा पुगोस् भन्ने चाहना छ । अहिले सम्मका नेतृत्वले हामीलाई ध्यान नै दिएका छैनन् । व्यवसायीक मुद्धा बुझेको नेतृत्व आजको आवश्यकता हो प्रमोद कुमार पोड्डार, अध्यक्ष, सिराहा उद्योग वाणिज्य संघ हामीलाई व्यवसायीक मुद्धा र समस्यालाई समाधान गर्ने खालको नेतृव चाहिन्छ । माथिल्लो तह अर्थात सरकारसँग छलफल गर्दा उहाँहरु आफ्नै कुराहरु गर्ने खालको प्रवृति हावी छ । उनीहरु हामीसँग छलफल नगरी एकल ढंगले जानुहुन्छ । हाम्रा आवाज सुन्न सकेका छैनन् । सिराहा र राजधानीका ऐजेण्डाहरु फरक छन् । हामी भन्सार नजिककका व्यवसायी हौं । हामीले दैनिक रुपमा समस्याहरु खेप्नु परेको अवस्था छ । दैनिक रुपमा हाम्रो प्रशासन सँग विवाद हुन्छ । नेपालबाट आयात हुने वस्तु बर्डर नजिकै विक्रि वितरण गर्न दिदैन । खुल्ला बर्डरमा उपभोक्ता भारतमुखी हुने अवस्था छ । व्यापारीले भारतबाट सामान ल्याउँदा धेरै कर लिने अवस्था छ । यसले पनि नेपालका व्यापारी पलायन हुने अवस्था छ । अबको नेतृत्वले राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् राजु श्रेष्ठ, अध्यक्ष, चितवन उद्योग वाणिज्य संघ महासंघले समस्या समाधान गर्छ भन्ने विश्वास छैन । अहिलेसम्म जिल्ला नगरका व्यवसायीका लागि महासंघले केही पनि काम गर्न सकेको छैन । अस्ति भर्खर महासंघका प्रतिनिधीसहितको बैठक बसेको थियो । हामीले उहाँहरु सँग हाम्रा कुराहरु राख्यौं । उनीहरुले हामीले त अहिले सम्म केही पनि काम गरेका रहेनछौं भन्ने प्रतिक्रिया पनि दिए । हाम्रा समस्या धेरै छन् । तर, ती समस्या सुनाई हुनै सकेका छैनन् । समस्या समाधानका लागि महासंघ भन्दा पनि राजनीतिक दललाई गुहार्नु परेको अवस्था छ । व्यक्तिगत रुपमा लविङ गर्नु पर्ने अवस्था छ । हामीले अब नेपाल उद्योग वाणिज्य महासंङबाट हाम्रा समस्याहरु समाधान गर्छ भन्ने आशा पनि मारिसकेका छौं । सबै व्यवसायीलाई समान रुपले हेर्ने नेतृत्व आवश्यक छ रुद्र बहादुर खत्री अध्यक्ष, धादिङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । व्यवसायीको करले नै राष्ट्र चलेको अवस्था छ । तर, हामी व्यवसायीले तिरेको करले चलेको राष्ट्रमा तिनै व्यवसायीलाई काम गर्न सहज वातावरण छैन । यसमा आउने नेतृत्वले ध्यान दिनु पर्छ । सबैले मिलेर जानु पर्छ । उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्नका लागि अबको नेतृत्व सक्षम हुन जरुरी छ । सम्बन्धित सामग्री पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बीपी चोक शाखाको औपचारिक उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार बाँकेस्थित न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर सुश्री उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले गरेका हुन् । त्यस्तै, बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए । बैंकले न्यूरोड नेपालगञ्ज शाखा पुस १६ गते र बीपी चोक शाखा भदौ ९ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा दिंदै आएको छ ।

कोरोना भाइरसको कारण देखाउँदै चीनले बन्द गरायाे ओलाङचुङगोला नाका

ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताएका छन् । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको  र हाल आवतजावत पनि नभएको अध्यक्ष शेर्पाले बताए ।  नाका बन्द हुँदा एक/दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ । बर्खाको समयमा याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् । बर्खामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन् । अहिले सीमाक्षेत्रमा हिउँ परेकाले रिउ बजारमा ओहोरदोहोर पनि हुँदैन तर बर्खामा भने बाढीपहिरोका कारण सदरमुकामलगायत नजिकका नेपाली बजारमा आउन जान नसकिने हुनाले सो समयमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानका लागि रिउ बजारकै भर पर्नुपर्ने शेर्पाले बताएका छन् । उनका अनुसार विशेषगरी याङ्मा र थुदामका बासिन्दा बर्खाभर चिनियाँबजारकै भरमा रहने गरेका छन् । सीमावर्ती क्षेत्रका बासिन्दाले रिउ बजारबाट याक र चौँरीलाई बोकाएर सामान ढुवानी गर्ने गर्छन् । आफूले उत्पादन गरेका गलैँचालगायतका सामग्रीको मुख्य बजार रिउ नै रहेकाले र ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिने गरिएको बताइएको छ । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । यता याङ्मा, थुदाममा पुग्न भने त्यो भन्दा बढी समय लाग्छ । रासस

किशोरले जन्माएका विश्वका प्रसिद्ध ५ कम्पनी जसले संसारमा राज गरिरहेकाे छ

काठमाडौं । टिनएज अर्थात किशोर अवस्था । यो अवस्थालाई जीवनको रेखा वा भविष्यको दिशा निर्धारण गर्ने विशेष अवस्थाको रुपमा लिइन्छ । परिवारको उचित स्याहार, शिक्षक र अग्रजको सही मार्गनिर्देशनको अभाव भएमा वा आफूमा आउने नयाँ नयाँ जोश तथा आबेगलाई सम्भाल्न नसकेमा यो अवस्थामा जो कोही पनि जीवन वर्वादीतर्फ उन्मुख हुन पनि सक्दछन् । नविन सोच, श्रृजनशीलता, साहसको विकास तथा जोखिम लिन सक्ने समयको रुपमा पनि किशाेर अवस्थालाई लिइन्छ । संसारभरीका अधिकांश किशोर यो अवस्थामा आफूलाई शिक्षादिक्षा एवं विविध शीपको आर्जनद्धारा बाँकी भविष्यको लागि तैयार राख्न संघर्षरत छन् । तर, हुने बिरुवाको चिल्लो पात भने झै संसारमा केही यस्ता मानिस पनि छन्, जसले टिजएजमै सुरु गरेको नविन कार्यले उनीहरुलाई सफलताको शिखरमा त पु¥यायो पु¥यायो, उनीहरुले पाएको सफलताले संसारलाई समेत चकित तुल्याएको छ । साहेद उनीहरुले सोचेका पनि थिएनन् होला कि गाडी बनाउने ग्यारेज वा विश्वविद्यालयको डर्मेटरीमा बसेर बुनेको व्यापारको उपायले संसारभरका मानिसको मन जित्छ भनेर । चाहे सबैले रुचाएको सामाजिक संजाल एप फेसबुक भनांै वा सबवे रेष्टुँरा, यी प्रख्यात व्यवसायहरु टिनएजरले नै सुरु गरेको थिए । हामीले एजेन्सीहरुको सहयोगमा सानै उमेरमा सुरु गरेर विश्वव्यापी चर्चित केही कम्पनी तथा ती कम्पनीका मालिकहरुको संक्षिप्त चिनारी प्रस्तत गरेका छौं । १. मार्क जुकरबर्ग, सिइओ, फेसबुक हाबार्ड विश्वविद्यालयको डर्मेटरीबाट फेसबुकको विकास गर्दा मार्क जुकरबर्ग मात्र १९ वर्षका थिए । सन् २००३ मा हाबर्ड प्रवेश गरेकै वर्ष जुकरबर्गले फेसमास नामक वेबसाइटको विकास गरेका थिए । यो साइटमा विद्यार्थीहरुले आफ्नो फोटो पोष्टेर सबैभन्दा ‘हट’ कसलाई देखिएको छ भनेर तुलना गर्ने गर्दथे । यही साइटको कारण जुकरबर्गले हाबार्ड प्रशासनबाट सजाँय भोग्नुप¥यो, जुन लगभग कलेजबाट निकालिनु पर्ने अवस्थाभन्दा थोरै कम मात्र थियो । तथापि, यही फेसमास हाल विश्वभरी करोडांैले रुचाएको फेसबुकको खाका वा आधार तयार ग¥यो । फेबु्रअरी ४, २००४ मा कलेजकै अन्य केही विद्यार्थी साथीसँग मिलेर जुकरबर्गले फेसबुकको दोश्रो संस्करण तयार गरे, जसलाई द फेसबुक डट कमको नाम दिइयो । यो साइटले हाबार्डका विद्यार्थीहरुलाई एकअर्कासँग अनलाइन सम्पर्क वा संवाद गर्ने अवसर दियो, जुन सो समयमा एक चमत्कार नै थियो । छोटो समयमै द फेसबुक साइट अत्याधिक चर्चित हुन पुग्यो, जसको कारण यसलाई हाबार्डभित्र मात्र नभएर स्टानफोर्ड, याले र कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुका लागि पनि उपलब्ध गराइयो । सन् २००५ मा द फेसबुकलाई मात्र फेसबुकमा परिणत गरियो र सेप्टेम्बर २६, २००६ देखि १३ वर्ष पार गरेका र आधिकारीक इमेल ठेगाना भएका संसारभरीका जोकोहीले पनि फेसबुकमा खाता खोल्न सक्ने भए । तत्पश्चात जसरी संसारभरी फेसबुकका प्रयोगकर्ताहरु नाटकीय ढंगले बढ्दै गए, त्यसरी नै बढ्दै गयो यो सामाजिक संजालका लागि काम गर्ने कर्मचारी तथा कार्यकारीहरुको संख्या पनि । आज ब्राण्ड क्षमता र प्रयोगकर्ता संख्या दुबै हिसाबले फेसबुक इन्टरनेट जगतको सबैभन्दा ठूलो सामाजिक माध्यम बनेको छ । स्टाटिस्टाकाका अनुसार सन् २०१९ सम्म फेसबुकको प्रयोगकर्ता संख्या करिब २ अर्ब ५० करोड पुगेको छ । दशाैं करोड मानिस तथा कम्पनीहरुले यसलाई विज्ञापनका लागि प्रयोग गरिरहेका छन् । बजार भाउको हिसाबले पनि फेसबुक संसारभरीकै ठूला कम्पनीमध्येको एक हो । सन् २०१८ सम्म यसको बजार मूल्य करिब ५४१.५ अर्ब अमेरिकी डलर बराबरको थियो । स्टास्टीकाले सन् २०१३ मा ७.८७ अर्ब अमेरिकी डलर बार्षिक कमाई गरेको फेसबुकको बार्षिक कमाइ सन् २०१७ सम्म आइपुग्दा ४०.७ अर्ब अमेरिकी डलर पुगेको बताएको छ । २. माइकल डेल, सिइओ, डेल इन्क सन् १९८४ देखि ८८ सम्म पीसीज लिमिटेड र १९८८ देखि २००३ सम्म डेल कम्प्युटर कर्पोरेसन नामले चिनिने डेल इन्क ब्यक्तिगत कम्प्युटरको डिजाइन, विकास र उत्पादन गर्ने विश्वब्यापी कम्पनी हो । राउण्ड रक, टेक्सासमा मुख्यालय रहेको डेल इन्क ब्यक्तिगत कम्प्युटर उत्पादन गर्ने संसारभरीकै सबैभन्दा ठुलो कम्पनीमध्येको एक हो । यो कम्पनीको स्थापना गर्ने ब्यक्ति माइकल डेल हुन् । उनकै थरबाट हाल यो कम्पनी विश्वभरी चिनिएको छ । यस कम्पनीको बिजारोपण सन् १९८४ मा भएको हो, जतिबेल डेल १९ वर्षे टिनएजरको रुपमा टेक्सास विश्वविद्यायमा अध्ययनरत थिए । विद्यार्थीका रुपमा उनले कलेजको डर्मेटरीबाट मानिसहरुको ब्यक्तिगत कम्प्युटरमा उनीहरुको रुचिअनुसारको ‘कस्टमाइज्ड अपग्रेडेसन’ (स्तरोन्नति) को सेवा प्रदान गर्ने गर्दथे । यो कामबाट राम्रो आम्दानी हुने देखेर आफूले सो समयसम्म कमाएको करिब ८० हजार अमेरिकी डलर लिएर उनीले कलेज ड्रप आउट गरे । सोको एक वर्ष पश्चात सन् १९८५ मा उनले आफैले डिजाइन गरेको पहिलो पर्सनल (पिसी) कम्प्युटर टर्बो पिसी सार्वजनिक गरे । उपभोक्ता सेवा वा बिक्रीपश्चातको सेवा (आफ्टर सेल्स) लाई आफ्नो मूल व्यापार रणनीति बनाएका डेललाई यसै रणनीतिले सफलताको शिखरमा पु¥यायो । र, नयाँ–नयाँ अन्तराष्ट्रिय बजारमा उनको उत्पादनको उपस्थिति तथा स्विकार्यता बढ्न थाल्यो । व्यक्तिगत कम्प्युटरको क्षेत्रमा बजार अगुवाइ गरेको डेल इन्कको आजको बजार मूल्य ४५.२ अर्ब अमेरिकी डलर बराबर छ भने हालसम्म पनि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका माइकल डेलको कुल व्यक्तिगत सम्पत्ति ३१ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ । ३. फ्रेड डिलुसा, संस्थापक, सबवे फाष्टफुड चेन सन् १९६५ मा १७ वर्षे फ्रेड डिलुसालाई आफ्नो कलेजको शूल्क तिर्न केही अतिरिक्त रकमको आवश्यकता परेको थियो । सो आवश्यकता पूर्तीका लागि उनले आणविक भौतिकशास्त्री तथा उनको पारिवारिक साथी पिटर बकलाई आग्रह गरे । पिटरले उनलाई सापटीको रुपमा दिएको एक हजार अमेरिकी डलरको प्रारम्भिक लगानीसहित डिलुसाले कनेक्टिक्याटमा पिट्स सुपर सबम्यारिन नामक फाष्ट फुड रेष्टुँराको स्थापना गरे । रेष्टुँराले छोटै समयमा पाएको सफलताबाट हौसिएर डिलुसाले सन् १९६६ मा आफ्नो दोश्रो शाखा बिस्तार गरे । र, सोको दुई वर्षपश्चात रोष्टुँरालाई सबवेको नामले ब्राण्डि¨ गरे । तीब्र बेगमा चर्चा बटुल्दै अमेरिकाको विभिन्न शहरहरुमा १६आंै आउटलेट संचालनमा ल्याएपश्चात सन् १९७४ मा सबवेको पहिलो फ्रेञ्चाइजीको स्थापना हुन पुग्यो भने सन् २००२ सम्म आइपुग्दा यो अमेरिकाको सबैभन्दा ठूलो चेन रेष्टुराँ कम्पनी भइसकेको थियो । सन् १९८४ मा अमेरिका बाहिर बहराइनमा पहिलो फ्रेञ्चाइजी शाखा स्थापना गरेको सबवेले २१आंै शताब्दीको दोश्रो दशकसम्म सबैभन्दा छिटो बिस्तार भएको चेनको रुपमा विश्वभरका सयभन्दा बढी देशहरुमा ४० हजारभन्दा बढी शाखा बिस्तार गरिसकेको छ । यी सबै शाखाहरु फ्रेञ्चाइजी मोडलमा संचालित छन् । सन् २०१५ मा डिलुसाको मृत्युपश्चात सबवेलाई उनको बहिनी सुजान गे्रसाले नेतृत्व प्रदान गरिहेकी छिन् । ४. म्याट मुलेनवेग, संस्थापक, वर्डप्रेस सन् २००१ मा माइकेल भलरिचीले बिटु क्यापलग नामक सामान्य कन्टेन्ट म्यानेजमेन्ट प्रणालीको विकास गरे । सोही प्रणालीमा आफ्नो ब्लग होष्ट गर्न खोज्दा म्याट मुलेनवेगले धेरै प्राविधिक समस्या झेल्नुप¥यो, जसको प्रतिक्रिया स्वरुप उनले नयाँ संस्करणको बिटु क्यापलगको विकास गरे । यो क्यापलग नै अहिले विश्वभरी नै वर्डप्रेसको नामले चिनिन्छ । यो सुदृढ प्रणालीको निर्माण गर्दा मुलेनवेग मात्र १९ वर्षका थिए । वर्डप्रेसको जन्म एक सुन्दर, लचिलो र सुसंगठित ब्यक्तिगत प्रकाशन प्रणालीको विकासको चाहनाको परिणाम थियो, जसलाई टिनएजर मुलेनवेगको श्रृजनशीलताको कारण आज सारा विश्वले सहर्ष स्विकारेको छ । सन् २००३ मे महिनामा सार्वजनिक भएको वर्डप्रेस सुरुमा ब्लग छाप्ने प्रणालीको रुपमा निर्मित भए तापनि अन्य वेभमा आधारित सामाग्री जस्तै मिडिया ग्यालरी, मेम्बरसीप साइटहरु, शिकाइ ब्यवस्थापन प्रणाली तथा ब्यवसायिक वेबसाइट लगायतलाई सपोर्ट गर्ने प्लेटफर्मको रुपमा यसको विकास, परिमार्जन र बिस्तारभएको छ । सन् २०१९ को अफ्रिलसम्म विश्वका उत्कृष्ट १ करोड वेभसाइट सहित करिब ६ करोड वेबसाइटहरु यस प्लेटफर्ममा निर्भर रहेका छन् । यो हालसम्मकै सबैभन्दा चर्चित कन्टेन्ट म्यानेजमेन्ट प्रणाली वा समाधानको रुपमा स्थापित भएको छ । समग्रमा आज वर्डप्रेस प्रणालीभित्र २० अर्बभन्दा बढी वेबपेजहरु समाहित छन् जसलाई हरेक महिना चार करोड ९० लाखभन्दा बढी मानिसहरुले भिजिट गर्दछन् । ५. माइक किट्रेज, निर्माता, याङ्की क्याण्डल आज विश्वले याङ्की क्याण्डलको रुपमा चिन्ने प्रसिद्ध बैनबत्ति कम्पनीको जन्म त्यतिबेला भयो, जतिबेला यसको निर्माता माइक किट्रेजले सन् १९६७ को क्रिसमसमा आफ्नी आमालाई उपहार स्वरुप दिनको लागि क्रेयन (रंग पेन्सिल) लाई पगालेर पहिलो बासनादार मैनबत्तिको श्रृजना गरे । एउटा १६ वर्षे ठिटोले बनाएको यस अचम्मको बस्तु देखेर जब किट्रेजका छिमेकीहरुले सकारात्मक चासो देखाए र उक्त सामाग्री आफूहरुका लागि पनि बनाइदिन हौस्याए, तब उनलाई थाहा थिएन कि उनी नजानिँदो ढंगले आज विश्वले याङ्की क्याण्डलको रुपमा चिन्ने कम्पनीको लागि जग हालिरहेका थिए । सन् १९६९ ताका दुई अमेरिकी डलरमा आफ्ना छिमेकीहरुलाई बासनादार मैनबत्ति बेच्ने किट्रेजले बढ्दो मागलाई धान्नकै लागि उद्योगको स्थापना गरेर आफ्नो उत्पादनलाई दिगो र बृहत बनाउनु पर्ने अवस्थामा पुगे । सन् १९९८ मा क्यान्सर रोगको शिकार भएपश्चात किट्रेजले आफ्नो कम्पनी ५० करोड अमेरिकी डलरमा बेचेका थिए । यसरी एउटा युवाले अञ्जानमै बनाएर चर्चा कमाएको याङ्की क्याण्डलको आज संसारभरी ५ सयभन्दा बढी स्टोर र १९ हजारभन्दा बढी रिटेलरहरु फैलिएर रहेका छन् ।

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुन, ७५ हजार २ सयमा काराेबार

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै मंगलबार अर्थात साताको तेस्रो दिन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कारोबार भएको तेजावी बुधबार ७४ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ । भने चाँदी मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

राजविराज । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी साविक जमुनिमधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ का २५ वर्षीय शत्रुधन साह र साहकी कान्छी श्रीमती २० वर्षीया सजनीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपनी गाउँपालिका–४ का ३० वर्षीया प्रमिलाकुमारी साहले दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दाका फरार अरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विद्युत् चोरीको आरोपमा २४ पक्राउ सप्तरीमा विद्युत् चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । टोलीले जिल्लाको बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत् चोरीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका २४ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।

एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

कास्की ।  माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए। दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक/दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन् । गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत उत्पादन बढिरहेको  शाखा प्रमुख पौडेलले बताए । उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले सङ्कलन गरेर बजार पुर्याउँछन् भने कही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन् । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो । जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ । शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि अन्य स्थानीयवासीसमेत उनको सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए । गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । वडा नं ३ को घाचोकबाट समेत दैनिक तीन हजार ५०० लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्याउँदै आएका छन् । गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार ५०० लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्याङ्क छ । नौ वडा रहेको गाउँपालिकाको वडा नं ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ । त्यसैगरी रिभान, माछापुच्छ्रे र सार्दीखोलबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको तथ्याङ्क छ । गाईको दूध प्रतिलिटर रु ५५ तथा भैँसीको रु ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर रु ७० मूल्य पर्ने गरेको छ । दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा बर्सेनि मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताउँछन् । दाना, घाँस तथा परालको बर्षेनी मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसबाट  पीडित भएकाे उनले सुनाए। ‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार, समृद्ध माछापुच्छ्रे मूल आधार’ को लक्ष्यसहित गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउँछन् । चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि रु ६२ लाख ५० हजार बजेट विनियोजन गरी काम भइरहेको उनले जानकारी दिए । गाउँपालिकामा स्थानीय गाई, भैँसी, उन्नत भैँसी, गाई, बाख्रा, भेडा, चौँरी तथा घोडा गरी २५ हजार ३६७ सङ्ख्यामा पशु रहेको बताइन्छ ।रासस