विकासन्युज

नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच सम्झौता

काठमाडौं । नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । आइतबार सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी हाललाई पोष्टपेड तथा प्रिपेड रिचार्च टपअप गर्न सक्ने छन् । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने छ । कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा मार्फत संसारको कुनै पनि कुनाबाट भिसा तथा मास्टरकार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिईएको जानकारी गराए । हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ । त्यस्तै, नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरुलाई थप जिम्मेवार बनाएको जानकारी गराएका छन् । नेपालमा दुरसंचार सेवा प्रदान गरेको १०० वर्ष भन्दा बढी अनुभव बनाई सकेको नेपाल टेलिकमले मोबाइल सेवाको संचालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि संचालनमा ल्याएको हो । यस नबिल बैंकको १ सय १२ शाखा १६० एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६६ करोड, गत वर्षकोभन्दा ३१ करोड कम

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ९४ लाख रुपैयाँ नाफा घटेको छ । गत पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ३२ अर्ब ६० करोड ३८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब २२ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकमा सर्वसाधारणको निक्षेप भने सामान्य अंकले मात्रै बढेको छ । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ४९ अर्ब ९५ करोड २७ लाख रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ४९ अर्ब ३९ करोड २२ लाख रुपैयाँ निक्षेप थियो । गत वर्षको तुलनामा बैंकको खुद व्याज आम्दानी घटेको छ । गत आवको पुस मसान्तसम्ममा ३ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६ करोड ३३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष बैंकको खुद व्याज आम्दानी करिब २५ करोड रुपैयाँले घटेको छ । व्याज खर्च बढेका कारण बैंकको खुद व्याज आम्दानी कम भएको हो । गत आर्थिक वर्षको ६ महिनामा इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ व्याज आम्दानी र ४ अर्ब २९ करोड ४६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको ६ महिनामा बैंकले ७ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ व्याज आम्दानी र ४ अर्ब ६७ करोड १२ लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खराब कर्जा अनुपात केही केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात २.०४ प्रतिशत थियो भने चालु आवको सोही अवधिमा २.९ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तसम्ममा ६.५९ रहेको बैंकको कष्ट अफ फण्ड चालु आवको सोही अवधिमा ६.३७ प्रतिशतमा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७५.३९ प्रतिशत छ । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । गत आवको पुस मसान्तसम्ममा ८.९६ प्रतिशत रहेको बैंकको आधार दर चालु आवको सोही अवधिमा ८.५३ प्रतिशतमा झरेको छ । आधार दर कम हुनु भनेको कर्जाको व्याज सस्तो हुनु पनि हो । बैंकको व्याज अन्तर ४.४१ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा व्याज अन्तर ४.२४ प्रतिशत थियो ।

उद्यमी युवालाई आर्थिक अभाव नहुने

इटहरी । राष्ट्रिय युवा नीति पुनरावलोकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेको छ । युवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार यहाँ आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताएका छन् । प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिएका छन् । सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने बताए । युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने जानकारी दिएका छन् । रासस

अटो एक्स्पो २०२० को मुख्य आकर्षणमा मारुती सुजुकीको ‘फ्युचरो-ई कन्सेप्ट’, के के छन् विशेषता ?

हाल भारतमा भइरहेकाे ‘अटो एक्स्पो २०२०’ मा विभिन्न अटो ब्राण्डहरुले आ-आफ्ना नयाँ उत्पादनहरुलाई प्रदर्शनमा राखेका छन् । माघ २२ गते (६ फेब्रुअरी) बाट सुरु भएकाे उक्त एक्स्पाेकाे मुख्य आकर्षणमा मारुती सुजुकीले प्रदर्शन गरेको फ्युचरो-ई रहेकाे छ । यो कारले भविष्यमा मारुती सुजुकीका मोडेलहरुमा पाइन सक्ने स्टाइलिङ्गलाई पनि झल्काएको छ । मारुतीका कारहरुको पारम्परिक डिजाइनभन्दा भिन्न रहेको यस कारलाई एसयूभी-कुपको शेपमा पेस गरिएको छ । यसको इन्टेरियर पनि एकदमै आधुनिक रहेको छ । यस कारमा चौडा स्क्रिन सहितको ड्यासबोर्ड, फ्युचरिस्टिक स्टेयरिङ्ग, इलेक्ट्रिकली कन्ट्रोल गर्न मिल्ने इन्टेरियर, एम्बियन्ट लाइटिङ्ग लगायतका विशेषताहरु समावेश गरिएको छ । मारुतीका अनुसार हाल यो एउटा इलेक्ट्रिक कारको रुपमा रहेको भएतापनि प्रोडक्सन भएर बजारमा आउँदा चाहिँ पेट्रोल र डिजेल इञ्जिन अप्शनका साथमा पनि उपलब्ध हुनेछ । फ्युचरो-ई कन्सेप्ट प्रोडक्सन भएर मिडसाइज एसयूभीको रुपमा बजार प्रवेश गर्नेछ । मारुतीले फ्युचरो-ई कन्सेप्टलाई कहिले प्रोडक्सनमा उतार्छ भन्ने वारे चाहिँ केहिपनि खुलाएको छैन । लञ्चपश्चात भने यस कारले धेरै प्रतिष्पर्धीहरुसँग सामना गर्नु पर्नेछ । अहिले कियाले मिडसाइज एसयूभी सेग्मेन्टमा राम्रो पकड जमाइसकेको अवस्था छ भने हुण्डाईले पनि आफ्नो सर्वाधिक चर्चित एसयूभी क्रेटाको सेकेण्ड-जेनेरेशनलाई छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । फ्युचरो-ई कन्सेप्टको लुक्सलाई ग्राहकमाझ चर्चा कमाउन सक्ने कारणको रुपमा आँकलन गरिएको छ । तर यो कुरा भने कन्सेप्ट मोडेलमै भएको स्टाइललाई प्रोडक्शन मोडेलमा कति हदसम्म यथावत राखिन्छ भन्ने कुराले नै निर्धारण गर्नेछ । यदि प्रोडक्शन मोडेलमा पनि कन्सेप्टको जस्तै शार्प स्टाइलिङ्ग समावेस गर्ने हो भने मारुतीले मिड-साइज्ड एसयूभी सेग्मेन्टमा राम्रै छाप छोड्ने चाहिँ पक्का छ ।

एनआईसी एशियाले सार्वजनिक गर्याे नयाँ वेबसाइट, घरबाटै खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमैत्री नयाँ वेबसाइट सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यका साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै उक्त वेबसाइज सञ्चालनमा ल्याएको हो । नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ । गूगल म्याप लाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ । साथै, वेबसाईट बाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा साथी च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ । वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना अलर्ट मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ । साथै, आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी व्यवस्था मिलाईएको बैंकले जनाएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे भने विशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ्र बैंकले जानकारी दिएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ ।

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, ७ सय मिनेटको भ्वाइस प्याक

काठमाडौं । एनसेलले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । जसमार्फत एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । यो अफरमा ग्राहकले मात्र १ सय रुपैयाँ (कर सहितमात्र १२७.६९) मा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् । यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिनासम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स२एस्ट्रिक्स३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् । यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

सरकारले ३ सय शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने

काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए। नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ। टेकु अस्पताल जम्मा ६० शैय्याको छ। छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको बाँस्कोटाले बताए। प्रवक्ता बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको उल्लेख गरे। प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताए। ‘नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका प्रवक्ता बाँस्कोटाले बताए। चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे। ‘हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उनले भने, ‘जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ। चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ।’ वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले यसमा नआत्तिन अभिभावकलाई आग्रह गरे। कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो। पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उनले जानकारी दिए।

त्रिभुवन विमानस्थलमा जडान गरिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो

काठमाडौं । कोरोना भाइरसको न्यूनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएकाे   थर्मल मेसिन बिग्रिएको छ । मेसिन राखिएको १० दिनमै एउटा थर्मल स्क्यानर बिग्रिएको हो । विमानस्थलमा राखिएका दुईटा मेसिन मध्ये एक मेसिन बिग्रिएकाे छ । एउटा थर्मल स्क्यानर बिग्रिएपछि यात्रुहरुलाई एउटै स्क्यानरले नै जाँच भईरहेको विमानस्थल स्रोतले बताएको छ । स्क्यानर साेमबार नै बिग्रिएको हाे । काेराेना भाइरस प्रति सर्तकता अपनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयरपाेर्टमा हेल्थ डेस्क खडा गरेकाे छ ।  हेल्थ डेस्कमा हाल ७ जना डाक्टर, ३ जना नर्स, र ३ जना प्यारामेडिक्स कार्यरत छन् । यस्तै केही एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ ।