बीमा क्षेत्रमा अर्काे तरंग ल्याउँदै नियामक, जोखिममा आधारित पुँजी लागू गरिँदै
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बजारमा ठूलो तरंग ल्याउन लागेको छ । अहिलेसम्म बीमा कम्पनीहरुको लागि गरिएको पुँजीको व्यवस्थामा व्यापक परिवर्तन हुन लागेको छ । समितिले तोकेअनुसारको पुँजी पुर्याए हुने अहिलेको व्यवस्था परिवर्तन गर्दै जोखिममा आधारित पुँजीको अवधारणा ल्याउन लागिएको हो । यसका लागि आवश्यक गृहकार्य भइरहेको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले जानकारी दिए । ‘अहिलेसम्म नियामकीय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको थियो, अहिले संसारभर जोखिममा आधारित पुँजीको अवधारणा कार्यान्वयनमा छ, त्यसैले अब हामी पनि जोखिममा आधारित पुँजीको व्यवस्था गर्न लागेका हौं,’ अध्यक्ष चापागाईंले भने । के हो जोखिममा आधारित पुँजी ? अहिलेसम्म जीवन बीमा कम्पनीको लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब रुपैयाँ पुँजी भए हुन्थ्यो । यति पुँजीको आधारमा बीमा कम्पनीहरुले भेटेजति बीमा गर्थे । यस्तो व्यवस्था परिवर्तन गर्न लागिएको छ । बीमा समितिले कार्यान्वयन गर्न लागेको जोखिममा आधारित पुँजी व्यवस्थामा विशेष गरेर ५ प्रकारका जोखिम पहिचान गरिएको छ । यस्तो जाेखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, संचालन जोखिम र बजार जोखिम छन् । यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने छ । यसमध्ये बीमा जोखिमलाई सल्भेन्सी मार्जिन अनुसार १ः१.५ तय भइसकेको छ । यो व्यवस्था अनुसार कुनै बीमा कम्पनीले १ अर्ब रुपैयाँको बीमा जोखिम लिने हो भने सो कम्पनीसँग १ अर्ब ५० करोड रुपैयाँ सम्पत्ति हुनुपर्नेछ । अन्य ४ प्रकारका जोखिममा पुँजीको आधार बीमा समितिले तोक्नेछ । कम्पनीले आफ्ना कर्मचारी वा अभिकर्तालाई दिएको ऋणको कारण उत्पन्न हुन सक्ने जोखिमलाई कर्जा जोखिम अन्तरगत राखिएको छ । यस्तै, तरलता अभावको कारण उत्पन्न हुन सक्ने जोखिमलाई तरलता जोखिम अन्तरगत राखिएको छ । कम्पनीको सुशासनको अवस्था कस्तो छ, व्यवस्थापन चुस्त ढंगले चलेको छ वा छैन भन्ने जस्ता विषयको अध्ययन गरेर समितिले संचालन जोखिम तय गर्नेछ । समितिले पहिचान गरेको अर्काे जोखिम बजार जोखिम हो । बजारमा उत्पन्न हुन सक्ने जोखिमको लागि थप पुँजीको व्यवस्था गर्न लागिएको छ । जोखिममा आधारित पुँजीको व्यवस्थापछि कम्पनीहरु थप बलियो हुने र बीमा क्षेत्रप्रति सर्वसाधारणको विश्वास बढेर बीमाको दायरा बृद्धि हुने समितिको भनाइ छ । याे व्यवस्था जीवन र निर्जीवन दुबै प्रकारकाे व्यवसाय गर्ने कम्पनीमा लागू हुनेछ ।
‘कारवाही नगरे खै गरेको भन्छन्, गर्यो किन गरेको भन्छन्’
काठमाडौं । राष्ट्रियसभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए । “भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उनले भने । उनले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र’ भन्दै प्रश्न गरेका छन् । उनले भने, “कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही गर्यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुपर्यो नि । दुई-तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।” सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने हुन नसक्ने बताए । अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उनको भनाइ थियो । सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिपर आतङ्क बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्छ भने । सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महङ्गीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस
तयारी पुरा नभई चीनबाट नागरिक ल्याउँदा ३ करोड जनता खतरामा: मन्त्री बास्कोटा
काठमाडौं । तयारी पुरा नभई चीनमा भएका नेपाली नागरिक ल्याउँदा ३ करोड जनताकाे स्वास्थ्यमा खतरा रहने सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले साे कुरा बताएका हुन् । अहिले नेपाल सररकाले १८० नेपालीलाइ चीनबाट ल्याउन तयारी गरिरहेको छ । यद्यपी सरकारकाे तयारी अझै पुरा गर्न सकेको छैन । मन्त्री बास्कोटाले चीनमा रहेका नेपालीहरु सुरक्षित रहेको र तयारी हुने बित्तिकै उनीहरुलाई ल्याईहाल्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बिहिबार बसेको बैठकले भने फर्काईने नागरिकहरुलाई ४ ठाउँमा निर्णय गरेको छ । बैंठकबाट शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल छनोट गरिएको छ । चीनमा फैलिएको कोरोना भाईरसको कारण बिहिबारसम्म ५ सय ६३ जनाको मृत्यु भएको छ भने २८ हजार भन्दा बढि संक्रमित भएका छन् ।
अटो एक्स्पो २०२०ः हिरोका तीन नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक
काठमाडाैं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले भारतमा आज बाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्ना तीन नयाँ इलेक्ट्रिक उत्पादनहरुलाई प्रदर्शन गरेको छ । एई-४७ नामक मोटरसाइकल, एई-२९ तथा एई-८ नामक स्कुटर र त्यसैगरी एई-३ ई-ट्राइक नामक ट्राइसाइकल प्रदर्शन गरेको हिरोले पहिलेनै इलेक्ट्रिक वाहनतर्फ आफ्नो उपस्थिती जनाइसकेको थियो । यी तीन उत्पादनहरुको मूल्य भारतीय बजारमा ८० हजारको हाराहारी पर्ने अनुमान गरिएको छ । एई-४७ एई-४७ बाइकमा रिमुभेवल ४८ भोल्टको लिथियम-आयन ब्याट्री समावेश छ जसले फुल चार्ज हुन ४ घण्टाको समय लिन्छ । त्यसैगरी यसमा ४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ८५ केएमपीएचको टपस्पिड प्रदान गर्न सक्दछ । इको र पावर गरी दुई राइडिङ्ग मोड दिइएको यस बाइकले इको मोडमा चाहिँ १६० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ । एई-४७ मा क्रउल एसिस्ट, क्रुज कन्ट्रोल र रिभर्स मोड लगायतका विशेषताहरु पनि समावेश छन् । यस बाइकको दुबै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ भने स्मार्टफोन कनेक्टिभिटी, रियल-टाइम ट्र्याकिङ्ग, जियो-फेन्सिङ्ग लगायतका फिचरहरु पनि दिइएका छन् । लञ्च पश्चात् यसले रिभोल्ट आरभी ४०० सँग प्रतिष्पर्धा गर्ने बताइएको छ । एई-२९ र एई-८ एई-२९ हाइ-स्पिड इलेक्ट्रिक स्कुटर सेग्मेन्ट अन्तर्गत् पर्दछ भने एई-८ चाहिँ लो-स्पिड सेग्मेन्ट अन्तर्गत पर्दछ । एई-२९ कम्फर्ट सिरिज अन्तर्गत्को स्कुटर हो भने एई-८ चाहिँ ट्रेन्ड सिरिज अन्तर्गत्को स्कुटर हो । यी दुवै स्कुटरहरुले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछन् । थोरै प्रिमियम वर्गमा पर्ने एई-२९ स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, एन्टी-थेफ्ट स्मार्ट लक, डिजिटल कन्सोल र मोवाइल चार्जर लगायतको विशेषता पनि समावेश गरिएको छ । एई-३ इ-ट्राइक हिरोले यस तीन चक्के वाहनलाई विजनेश टु विजनेश एप्लिकेशनको लागि लक्षित गरेर ल्याएको हो । एई-३ मा ३ किलोवाटआवरको लिथियम-आयन ब्याट्री दिइएको छ जसले फुल चार्जमा १०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ । त्यसैगरी यसमा २५० वाटको इलेक्ट्रिक मोटर समावेश गरिएको छ र यसले ८० केएमपीएचको टपस्पिड प्रदान गर्दछ । एई-३ इ-ट्राइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, मोवाइल चार्जर, वाक एसिस्ट, २६ केएमपीएचको स्पिड सहितको रिभर्स एसिस्ट र एप कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश गरिएको छ ।
चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने
बेइजिङ । चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने बेइजिङ, २३ माघ (रासस-एएफपी) – चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो । चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोध स्वरुप चीनले पनि गत वर्ष सेप्टेम्बरमा एक हजार ७०० भन्दा बढी किसिमका अमेरिकी वस्तुमा करवृद्धि गर्ने योजना सार्वजनिक गरेको थियो । यी करहरु ५ र १० प्रतिशत थिए । दश प्रतिशत करको दायरमा मुख्य रुपमा ताजा सामुद्रिक खाना, कुखुरा र सोयाबिन रहेका थिए । आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ र स्थिर राख्ने प्रयत्न स्वरुप कर कटौती गरिएको उल्लेख छ । कर कटौतीको यो प्रस्ताव आगामी फेब्रुअरी १४ देखि नै लागू हुने आयोगको भनाई छ । अमेरिकी प्रशासनले पनि करिब १२० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा थप कर नलिने घोषणा गर्ने अपेक्षा गरिएको छ । तथापी विगतमा घोषणा गरिएका कतिपय करवृद्धिका प्रस्तावहरु यथावत रहने दुबै पक्षले जनाएका छन् । अमेरिका र चीनले गत जनवरीमा व्यापार युद्धलाई मत्थर बनाउन र समझदारी विकास गर्न आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । सम्झौतामा आगामी दुई वर्षभित्र २०० अर्ब अमेरिकी डलरभन्दा बढीका अतिरिक्त सामान चीनले आयात गर्ने उल्लेख छ । पहिलो चरणको आंशिक सम्झौता अनुसार, अमेरिकाले १२० अर्ब डलर मूल्य बराबरका चिनियाँ सामानमा लगाइने करलाई आधा कटौती गरी ७.५ प्रतिशत कायम गर्नेछ । गत डिसेम्बरमा अमेरिकी राष्ट्रपतिले चिनियाँ सामानमा १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय चीनसँगको सम्बन्ध निकै प्रगाढ रहेको र निरन्तर सुधारतर्फ अग्रसर भएको बताउँदै आएका छन् । रासस
९०० मेगावाटको अरुण तेस्रोमा २ नेपाली बैंकको १५ अर्ब लगानी
काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा २ नेपाली बैंकले १५ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । एसजेभीएन लिमिटेडले बनाउन लागेको सो आयोजनामा नविल बैंकले ५ अर्ब १२ करोड तथा एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । लगानी बोर्डले हिजो (२२ माघ) वित्तीय व्यवस्थापनको स्वीकृति दिएलगत्तै कम्पनीले ऋण लगानी सम्बन्धि सम्झौता गरेको हो । सो आयोजनाको लागि भारतको एसबीआई बैंक, कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इण्डिया र युनियन बैंकले गरी ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ । आयोजना निर्माणको काम हालसम्म ३० प्रतिशत सकिएको कम्पनीका अध्यक्ष एनएल शर्माले जानकारी दिए । आयोजना सन् २०२४ सम्ममा सम्पन्न भएर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भएपनि आयोजनासँग अनुभबी टीम रहेकोले लक्ष्यभन्दा अगाडि नै काम सक्ने अध्यक्ष शर्माले दाबी गरे । आयोजना निर्माता कम्पनी एसजेभीएन भारतमा जलविद्युत उत्पादनमा ३० बर्षभन्दा बढी अनुभव हासिल गरेको कम्पनी हो । तर, सो कम्पनीले नेपालमा भने अहिलेसम्म कुनै आयोजना बनाएको छैन । पूर्वी नेपालमा पर्ने अरुण नदीबाट नदी प्रवाहमा आधारित विद्युत उत्पादन गर्न लागिएको हो । आयोजनाले ७० मिटर अग्लो बाँध बनाएर करिब १२ किलोमिटरको हेडरेस टनेलबाट पानी झार्नेछ । यसरी पानी झार्दा ९ सय मेगावाट विद्युत उत्पादन हुने कम्पनीको भनाइ छ । आयोजनाले नेपाललाई करिब २२ प्रतिशत विजुली निःशुल्क दिनेछ भने विद्युत उत्पादन सुरु भएको २५ वर्षपछि सो आयोजना नेपाल सरकारको हुनेछ । यस्तै, आयोजना अवधिमै नेपालले रोयल्टीलगायतका शिर्षकबाट ३ खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरै प्राप्त गर्ने आयोजनाको दाबी छ । नेपाल सरकारले ग्लोबल टेण्डरबाट सो आयोजना एसजेभीएनलाई दिएको थियो । सन् २०१४ मा लगानी बोर्डसँग आयोजना विकास सम्बन्धी सम्झौता भएको थियो । आयोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वर्ष शिलान्यास गरेका थिए । सो आयोजनाको लागि भारतीय बैंकले वार्षिक ८.२ प्रतिशत र नेपाली बैंकले ८.८ प्रतिशत व्याजमा ऋण दिनेछन् ।
बजार घट्दा तीन कम्पनीको मूल्यमा लाग्याे सर्किट ब्रेक
काठमाडौं । बिहीबारको सेयर बजार ८.६७ अंकले घटेर १३३३.६९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले घटेर २८४.०५ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार दिनभरको बजारमा १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता सेयर किनबेच भएको छ । बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बिहीबार जीवन बीमा र उत्पादनमूलक दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । निर्जीवन बीमा समूह ८८, होटल २५, माइक्रोफाइनान्स १७, विकास बैंक ११ र बाँकी समूह सामान्य अंकले घटेका छन् । जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः २३.८७ र १.६७ अंकले उकालो लागेका छन् । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकका र सम्वृद्धि फाइनान्स दुबै संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत अर्थात ९.९७ प्रतिशत कमाएका छन् ।
साढे ३ अर्बकाे ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्शियल बैंक, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त
काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएकाे छ । त्यसका लागि बैंकले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । बैंकले साढे दश प्रतिशत ब्याजदरको आठ वर्षको समयावधिमा फिर्ता भुक्तानी गर्ने गरी रू एक हजार अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।