विकासन्युज

सिद्धार्थ इन्स्योरेन्स र रोटरीबीच सहकार्य

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्धार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बिमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।  

१०३ वर्षअघि इन्जिनियर डिल्लीजङ्ग थापाले बनाएको एशिया कै पहिलो सुरुङमार्ग प्रयोगमा ल्याइँदै

काठमाडौं । काठमाडौंका लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउन १०३ वर्षअघि चन्द्रशमशेरको आदेशमा हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग बन्यो । इन्जिनियर ब्रिगेडिर डिल्लीजंग थापाले डिजाईन गरेको एशियाकै पहिलो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ । बागमती प्रदेश सरकारले हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा बनेकाे साेही सुरुङमार्ग पुनः प्रयाेगकाे गृहकार्य थालेको छ । सुरुङमार्ग पुनः प्रयाेग गरि पर्यटकका लागि पार्क निर्माण गर्ने प्रदेश सरकारकाे तयारी छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ चुरेमा रहेको सुरुङमार्गमा २०१६ सालसम्म गाडी आवतजावत हुने गरेको थियो । ६० वर्षपछि पुनः प्रयाेगकाे गृहकार्यमा प्रदेश सरकार लागेकाे हाे । समान ल्याउँन र मानिस आवतजावत गर्न प्रयोग भएको हटौंडा-अमलेखगञ्ज सडक सञ्चालले जाेड्न प्रयोग भएको सुरुङमार्ग अब पर्यटकीय प्रयाेजनमा प्रयोग हुन लागकाे छ । चुरेको सुरुङमार्ग प्रयोग गरेर पर्यटकहरुका लागि पार्क निर्माण गर्न लागिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले एशिया कै सबैभन्दा पुरानो सुरुङ मार्गको प्रयोग गरेर पिक्निक स्पट निर्माण गर्न लागिएकाे जानकारी दिए । सुरुङ मार्गको नै ५ कठ्ठा जग्गा रहेको र १५ कठ्ठा जग्गा बन कार्यलयसगँ मागिएको महतले बताए । त्रिभुवन राजपथ बन्न थालेपछि सो सुरुङमार्गमा गाडी गुड्न बन्द भएको थियो । २०५२ सालको माओवादी द्वन्द्व शुरू भएपछि मान्छे हिंड्न पनि रोकिएको थियो । साना र हलुका सवारी साधन गुडाउन मिल्ने उक्त मार्ग हुँदै राजदरबार तथा राणाहरूका लागि गाडी ल्याइएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाले १९७४ सालमा गरेका थिए । जङ्गबहादुरका छोरीतिरका पनाति थापाले भारतको थमसन् कलेज अफ इन्जिनियरिङ देहरादुनमा अध्ययन गरेका थिए । श्री ३ महाराज चन्द्र शमशेर राणाकाे आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेनाको प्रयोग गरिको थियो । थापा पनि नेपाली सेनाका इन्जिनियर थिए । तत्कालिन सरकारले विनियोजन गरेको बजेटभन्दा कम लागतमै सुरुङ बनेकाले बाँकी रकम सरकारी कोषमा नै फिर्ता भएको स्थानीय बताउँछन् । तर, लागत कति थियो भन्ने एकिन छैन । उक्त सुरुङमार्गको चौडाइ ९ फिट र उँचाइ १० फिट छ । लहरी, मालबाहक सवारी साधन छिर्ने आकारमा यसको निर्माण भएको हाे । काठमाडौंको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो । १९९० र २०७२ सालको भूकम्पबाट सुरुङलाई खासै क्षति भएन । त्रिभुवन राजपथ बनाउँदा सुरुङको बीचमा धसिएको एक ठाउँ बाहेक करीब ९० प्रतिशत भाग प्रयोग गर्न सकिने अवस्थामा छ । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले उक्त सुरुङलाई ऐतिहासिक महत्वस्थलका रूपमा संरक्षण गर्ने योजनाअनुसार विवाह मण्डप, पिकनिक स्पट, भ्यू टावर, बगैचा तथा पार्कको निर्माण गर्न लागिएको हो । त्यो युगमा बनेको सुरुङमार्गलाई नेपालको विकास प्रयासको स्वर्णद्वार मानेर अरू ठाउँमा पनि सुरुङ मार्ग निर्माण गर्न सकिएको भए आज देशका धेरै ठाउँमा यातायात सहज हुने थियो । सुरुङ मार्गमात्र नभई इन्जिनियर थापाले काठमाडौं—हेटौंडा रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौं डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वेलगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए । अहिले खानेपानी, सिंचाइ र विद्युत् परियोजनाका लागि सुरुङ बनाउने क्रम बढ्दो छ । मेलम्ची खानेपानी आयोजनाका लागि बनाइएको २७ किलोमिटरको सुरुङ सबैभन्दा लामो हो ।

पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । अन्तराष्ट्रिय बजारको भाउअनुसार प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले सोमबार रातीदेखि लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको हो । निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपीजी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

कर्पोरेट सुपर सिक्सेसः माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल प्रवेश

काठमाडौं । कीर्तिपूरमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्तर्गत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटर फाईनलमा प्रवेश गरेको हो । क्वाटरफाईनल प्रवेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको कीर्तिपूर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने छ । प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुनेछन् ।

खल्ती वालेट र भाटभटेनीबीच सम्झौता, एपबाटै पैसा ट्रान्सफर गर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । भाटभटेनी ग्रुपद्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले कान्तिपथ स्थित भाटभटेनी मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् । सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिनेछ । यस सम्झौतासँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ । उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् । यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । भाटभटेनी ग्रुप सँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, “यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा थालनी गर्न पाउँदा उत्साहित छौँ । यस सहकार्य सँगै नेपालमा नविनतम डिजिटल फाइनान्सियल सेवा मार्फत मानिसको जीवन सहज बनाउने हाम्रो लक्ष्य तर्फ एक कदम अगाडी बढेको भान भएको छ ।” त्यस्तै, भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्कीले भने, “प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको वालेट एपबाटै पैसा पठाउने र भाटभटेनी सुपरमार्केट तथा हाम्रा एजेन्ट मार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो। आन्तरिक मनी ट्रान्सफर सेवा सँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौँ ।”

बैंकरसँग ३ घण्टा अर्थमन्त्री, बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने आश्वासन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ क्षेत्रका समस्या समाधान गरिदिने आश्वासन दिएका छन् । मन्त्रालयमा २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको छलफलपछि मन्त्री खतिवडाले समस्या समाधान गर्न समिति नै बनाए । छलफलका क्रममा उठेका विषयहरुमा केन्द्रित भई थप सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रकृयामा लैजान अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले यथाशीघ्र छलफल गरी टुंगोमा पुर्याउन मन्त्री खतिवडाले निर्देशन दिए । देशको समसामयिक आर्थिक तथा वित्तीय अवस्था तथा वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले मन्त्री खतिवडाले बैंकर बोलाएका अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । छलफलमा वैंकिङ्ग क्षेत्रमा विशेष गरी तरलताको अवस्था, कर्जाको माग, असुली र व्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वतःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने लगायतका विषयमा छलफल भएको थियो । यस्तै, सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र माग बमोजिम परिचालन, नेपाल राष्ट्र वैंकको एकीकृत निर्देशनहरुको कार्यान्वयन र वित्तीय ग्राहक पहिचान (केवाईसी) को मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ्ग सुविधा, मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरूमा छलफल भएको थियो । छलफलमा मन्त्री खतिवडाले वैंक तथा वित्तीय संस्थामा रहेका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी सबै पक्ष तयार हुन आग्रह गरे । यस्तै, निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानीमैत्री र व्यवसायिक वातावरणको सुनिश्चित गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा बैंकर्स एशोसियसनलाई आग्रह गरे । छलफलमा अर्थसचिव शिशिर कुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद केसी, नेपाल राष्ट्र वैंकका डेपुटी गभर्नरहरू लगायत अन्य पदाधिकारीहरु, अर्थ मन्त्रालयका पदाधिकारीहरु सहित सवै वाणिज्य वैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति थियो ।

फागुन १६ गते देखि चितवनमा ‘नेपाल पोल्ट्री अन्तर्राट्रिय प्रर्दशनी’ हुने

काठमाडौं । नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२० हुन भएको छ । फागुन १६ देखि १८ गतेसम्म चितवनको भरतपुरमा प्रर्दशनी हुने भएको हो । नेपाली पोल्टी क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक विकास गर्ने उद्देश्यले नेपालकै सबैभन्दा ‘ठूलो नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२०’ हुन लागेको नेपाल पोल्ट्री महासंघले जानकारी दिएको छ । नेपालमै अत्याधुनिक एवं प्रविधियुक्त नवनिर्मित चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनी मार्गमा सो प्रर्दशनी हुने भएको हो । अन्तराष्ट्रिय प्रर्दशनी नेपाल पोल्टी महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रा.ली. तथा फ्यूचरेक्स ट्रेड एण्ड ईभेण्ट प्रा. लि. को सहकार्यमा अन्तराष्ट्रिय प्रर्दशनी हुन लागेको हो । नेपाली पोल्टी क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्रहरु समेटिने छन् । उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठुलो अन्तर्रा्ष्ट्रिय प्रर्दशनीको आयोजना गर्न लागेको हो । नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान वर्ग लगायतका प्रत्यक्ष संलग्नतामा रहने २ सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नविनतम प्रविधिहरुका प्रदर्शनी रहने छ । यस पोल्ट्री महासंघ अन्तरगतका विभिन्न संघसंस्थाहरुका प्रत्यक्ष सहभागिता रहने छ । पोल्ट्री सम्बन्धि गोष्ठी, बैठक, अन्तरकिया आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको आयोजना रहने कार्यक्रम हुने छ । उक्त प्रर्दशनीमा नेपाली कृषकहरु नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द, नेपाल उद्योग वाणिज्य महासंघ, लगायत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, इटली, इजराइल, बांग्लादेश, लगायत अन्य देशहरुका पोल्ट्री कम्पनीहरुको सहभागीता रहने छ । उक्त प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकहरुद्धारा उत्पादित वस्तुहरुको कम लागतमा अन्तर्राष्ट्रियस्तरका उत्पादन भई उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादनहरु सहयोग मिल्ने छ ।

समस्याको भुमरीमा द्रुत मार्ग, चार वर्षमै निर्माण सम्पन्न हुनेमा शंका

काठमाडौं । काठमाडौं तराई मधेश द्रुत मार्गको निमार्ण कार्यमा विभिन्न समस्याहरु देखिन थालेका छन् । वि.स २०८१ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सनोले निर्माण गरिरहेको द्रुत मार्गमा अहिले विभिन्न समस्याहरु देखिन थालेका हुन् । राष्ट्रिय गौरवको आयेजनाका रुपमा लिइएको यो आयोजना अन्य आयोजनाभन्दा द्रुत रुपमा निर्माण कार्य भइरहेको भएपनि समस्याहरु भने दैनिक थपिन थालेका छन् । हाल आयोजना निर्माणका लागि विभिन्न समस्याहरु आइपरहेको आयोजना निर्देशक शरद गिरीले बताए । हाल आयोजना निर्माणको क्रममा जग्गा अधिग्रहण, रुख कटान र झोलुङ्गे पुल विस्थापनलगायतका समस्याहरु देखा परेको उनको भनाइ छ । द्रुत मार्गको निर्माण कार्यको अर्को कठिनाई भनेको री वाल हो । री वाल नेपालमा नयाँ प्रविधि भएको र यसको निर्माण कार्य क्रमिक गर्नु भएकोले यसमा समय लाग्ने आयोजनाले जनाएको छ । यसको निर्माणको लागि समग्र आयोजना निर्माणको गतिलाई समस्या हुने देखिएको छ । रिवालको खण्डमा कल्र्भट पनि सँसगै निर्माण गर्नु पर्ने हुनाले समय लाग्ने जनाइएको छ । यसको निर्माणको गतिले समग्र आयोजनाको समय नै पछाडि धकिलने समस्या देखिएको छ । आयोजनाका लाििग अर्को मुख्य समस्या तथा कठिनाई खोकनाको जग्गा अधिग्रहण रहेको छ । यसको लागि पनि समय लाग्ने गिरीले बताए । बाखेल कुमारी विद्यालय र झोलुङ्गे पुल विस्थापन गर्न पनि समय लाग्ने भएकोले आयोजना पछमडि धकिलिने समस्या देखिको छ । यस्तै, यो आयोजनाको अर्को मूख्य समस्या भनेको अदालतमा मुद्धा परेको छ । ललतिपुर महानगरपालका वडा न. २२ का मच्छे नारायण श्रेष्ठ र सोही वडाका दिलिप पूतवारले काठमाडौं –तारई मधेश द्रुत मार्ग सडक आयोजनालाई विपक्षी बनाई नेपालको संविधानको धारा १३३(२) (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्त आदेश वा पुर्जी जारीगरी पाउँ भनि सर्वोच्च अदालतमा निवेदन पेश गरेका छन् । यो समस्या पनि आयोजनाका लागि ठूलो अवरोधका रुपमा देखा परेको छ । निर्माणको गतिले द्रुत रुपमा भइरहेको भएपनि यी विभिन्न कारणले द्रुत मार्गको निर्माण कार्य समयमै सम्पन्न हुन्छ भन्ने कुरामा भने आशंका पैदा भएको छ । हाल सम्म के-के काम भयो ? हाल सम्म धेरै काम सम्पन्न गरिसकेको सेनाले दावी गरेको छ । काठमाडौ(तराई मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई ठेक्कापट्टाको प्रारम्भिक कार्य भइरहेको छ। हालसम्म ९७ प्रतिशत रूख कटान कार्य भएको, ९७ प्रतिशत जग्गा अधिग्रहण कार्य र ८७ प्रतिशत माटो कटानको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । यो द्रतमार्गको ५४ किमि अर्थवर्क कटिङ्ग कार्य भइरहेको ८ वटा बेशक्याम्प निर्माण भएको छ । कुल १८ हजार ४ सय ७० रुखहरु काट्नु पर्नेमा हालसम्म १७ हजार ४ सय ९९ रुख कटान गरिसकेको आयोजना निर्देशक गिरीले बताए । काम बढी खर्च कम तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा उल्लेख्य प्रगति भएको आयोजनाले जनाएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ। चालु आर्थिक वर्ष २०७६/७७ मा यो आयोजनाको लागि १५ अर्ब ७२ लाख विनियेजन भएकेमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन स्वीकृतिमा ढिलाइ भएको कारणले समेत हालसम्म ५३ करोड रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा ६ महनाके अवधिमा १०.१ प्रतिशत खर्च भएकोमा हालसम्ममा २ प्रतिशत खर्च भएको छ । यो आयोजनाको प्रारम्भिक अनुमानित कुल लागत १ खर्ब ११ अर्ब रहेकोमा संशोधित अनुमान खर्ब ७५ अर्ब रहेको छ । यो आयोजनाका लागि आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ३५ करोड, २०७४/०७५ मा १० अर्ब १३ करोड, आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब ३९ करोड रुपैयाँ विनियोजन भएको थियोे । तर, बजेट विनियोजन भएको अनुसार खर्च भएको देखिँदैन । काम भने द्रुत गतिमै बढेको देखिन्छ । आयोजनाका लागि हाल खर्च भएको रकम क्रमशः १ अर्ब ३४ करोड, ७ अर्ब ६३ करोड, ५ अर्ब ७३ करोड र चालु आवमा ५३ करोड रुपैयाँ खर्च भएको बताइएको छ । राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको यस द्रत मार्ग निर्माण कार्य चार वर्षमा सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुत मार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत गरेको छ। निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालु आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न हुनेछ। कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ। सडक निर्माणको काम अन्तिम चरणमा पुग्ने क्रममा रहेसँगै सेनाले सुरुङ र पुल निर्माणका लागिसमेत प्रक्रिया शुरु गरिसकेको छ। द्र्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ। आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यस्तै, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ। सुरुङ मार्ग निर्माणका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भइसकेको छ। त्यसका लागि अन्तर्राष्ट्रियस्तरका कूल ५ वटा संस्थाले आशयपत्र पेश गरेका छन्। परामर्शदाता छनोटसँगै सुरुङ र पुल निर्माणको प्राविधिक तयारीले पूर्णता पाउनेछ। अब एक हप्ता भित्रै सो कार्य सम्पन्न गरी पुल र सुरुङका लागि निर्माण व्यवसायी छनोट गर्ने प्रक्रिया अगाडि बढ्नेछ। कालोपत्र गर्ने तहको सडक निर्माण सम्पन्न भएसँगै सुरुङ र पुल निर्माणका लागि निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य सेनाले राखेको छ। कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा ८६ पुल निर्माण हुने छन् । चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ। आयोजनामा तीनवटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । आयोजनामा पुल र सुरुङ बाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ। त्यसमध्ये कूल ३१ किलोमिटरको काम करीब सम्पन्न भएको छ। हाल सडकका लागि खन्ने, सम्याउने काम भइरहेको छ। यस्तै कतिपय स्थानमा सेना आफैँले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गरी ‘ब्लास्टिङ’ गर्ने, पर्खाल लगाउने लगायत काम पनि भइरहेको छ। सेनाले राष्ट्रिय निर्माण व्यवसायीलाई जिम्मा दिएको खण्डमध्ये अधिकांश स्थानमा दिनरात नभनी काम भइरहेको छ। डोजर र एक्साभेटरले दिनरात सडक खन्ने, सम्याउने, काट्ने काम गरिरहेका छन्। दिनमा हुने काम दिनमा र रातको समयमा समेत गर्न मिल्ने काम राति भइरहेको जनाइएको छ । कठिन पहाडमा सडकको ‘एलाइनमेन्ट’ मिलाउनका लागि ‘ब्लास्टिङ’ गरिएको छ। सेनाको आफ्नै उत्पादनमा तयार पारेको विस्फोटक पदार्थ प्रयोग गरिएको छ । अदालत विकासमैत्री भएन : सभापति खड्का विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले अदालत विकासमैत्री नभएको बताएकी छन् । सोमबार द्रुत मार्गका प्रतिनीधिहरुसँग छलफल कार्यक्रममा साे कुरा बताएकी हुन् । सभापति खड्काले विकासका काममा अदालतले रोक्ने प्रवृति राम्रो नभएको बताएकी हुन् । उत्साहका साथ काम भइरहेकाे भएपनि केही कारणले अदालतमा मुद्दा पर्ने र अदालतले त्यसलाई रोक्न आदेश दिने र यसले विकासका काममा अवरोध आउने उनको भनाइ छ । ‘कानुन सहज नबनाइ दिने तर विकासका काम चाँडो गर् भनेर निर्देशन दिने प्रवृति व्यवहारिक होइन, विकास निर्माणका काम गर्नका लागि सहज वातावरण सिर्जना गरिदिनु पर्छ,’ उनले भनिन् । छलफल कार्यक्रममा सासंदहरुले चार वर्षमै सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन् । बजेट विनियोजन गर्ने तर विनियोजन गरे अनुसारको रकम खर्च नहुनु उचित नभएको धारणा राखेका छन् ।