एनएमबी बैंकले प्रोजेक्ट स्वरोजगार कार्यक्रम गर्दै, के हाे र कसरी हुने सहभागी ?
काठमाडौं । एनएमबी बैंकले सिराहामा ‘प्रोजेक्ट स्वरोजगार’ कार्यक्रम गर्ने भएको छ । बैंकले दीगो विकासको लागी दीर्घकालिन उद्देश्यको साथ अवसरहरुको सिर्जना तथा प्रवर्द्धन गर्न उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । बैंकले उक्त कार्यक्रम आगामी चैत ५ गतेदेखि ८ गतेसम्म ४ दिन गर्दै छ । सामाजिक उत्तरदायित्व अन्तर्गतको यस परियोजना नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिती तथा क्षमता विकास गर्न आयोजना गर्न लागिएको हो । सो परियोजनाको डिजाइन र व्यवस्थापन एनएमबि बैंक र ग्लोकल प्रा.लि.को साझेदारीमा गरिएको हो । यो परियोजना अन्तर्गत सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गरिन्छ । जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्दछ । तालिमको लागि उद्यमी संलग्नता, रुची र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ । ४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण प्रदान गरिने छ । यस तालिम निःशुल्क रुपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकहरूले फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनको लागि आवेदन आगामी फागुन २७ गतेसम्म फारम भर्न सकिन्छ । छनौट मापदण्ड क) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने (२०७६ चैत्र ८ गतेसम्म) । ख) सहभागी सिरहा जिल्ला निवासी हनपर्ने । ग) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने । घ) सहभागी २०७६ चैत ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने । सहभागीले के प्राप्त गर्न सक्छन् ? क) अनुभवी प्रशिक्षकहरुद्वारा उद्यमशीलता विकास तालिम निःशुल्क प्राप्त गरी व्यावसायिक ज्ञान वृद्धि गरी व्यापार विकासका लागि सहयोग प्राप्त गर्न सक्ने । ख) वित्तीय पहुँचका लागि सहजता। ग) बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने ।
नाडाले भन्सार र करका सम्बन्धमा प्रशिक्षण कार्यक्रम गर्दै, मन्त्रालयबाटै विज्ञ पठाउने
काठमाडौं । नाडाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले सो कुरा बताउँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन दिएका हुन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले आयोजना गरेको उक्त भेटमा अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले सो कुरा बताएका हुन् । नाडा प्रतिनिधि मण्डलले भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले हालै राजश्व सचिवबाट अर्थ सचिवमा पदोन्नती हुनु भएका शिशिर ढुङ्गानालाई बधाई तथा शुभकामना दिए । उक्त भेटघाटमा नाडाका उपाध्यक्ष करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका सम सामयिक समस्याहरु बारे आ-आफनो धारणा राखेका छन् । सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने बारे पनि आफनो धारणा राखे । सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
वर्षकै न्युन मूल्यमा आएको इन्भेष्टमेन्ट बैंकमा लगानी गर्नु कति उत्तम ? (समग्र विश्लेषण)
काठमाडौं । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक चर्चामा छ । भेट्रान बैंकर पृथ्वीबहादुर पाँडेले कार्यकारी अध्यक्ष भएर लामो समय संचालन गरेका बैंकमा अहिले पाँडे बैंक संचालक समिति अध्यक्ष छन् । बैंकको लगानी फसेको, नाफा घटेको जस्ता कारणले नेपाल इन्भेष्टमेन्ट बैंक पछिल्लो समय चर्चामा रहेको हो । यही परिवेशमा बैंकको अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमि के कस्तो छ, सेयर मूल्य किन घटिरहेको छ, बैंकको सेयर किन्दा कस्तो होला भन्ने जस्ता विषयमा बैंकको सेयरको प्राविधिकसहित समग्र विश्लेषण गर्ने प्रयास गरिएको छ । परिचय नेपाल इन्डोसेज बैंकको नामबाट २६ फागुन २०४२ मा नेपाल इन्भेष्टमेन्ट बैंक सञ्चालनमा आएको हो । फ्रेन्च कम्पनी क्रेडिट एग्रीकोल इन्डोसेजको स्वामित्वमा रहेको ५० प्रतिशत सेयर २०५९ मा नेपाली व्यवसायीहरुले खरीद गरेपछि नाम परिवर्तन गरिएको हो । १ हजार ४ सय ८ जना कर्मचारी रहेको बैंकको ८२ वटा शाखा सञ्चालनमा छन् । १६ वटा एक्सटेन्सन काउन्टर, १ सय १७ भन्दा बढि एटिएम काउन्टरमार्फत बैंकले सेवा दिइरहेको छ । –वर्षकै न्युन विन्दु, प्रवृत्ति वियरिश नै –पाँच वर्षमा सबैभन्दा कम लाभांश –पाँडे परिवारको बाहुल्यता केटाकेटी बचत, सुरक्षा बचत, लोटस सेभिङ, आफ्नै बचत खाता जस्ता निक्षेप खाता सञ्चालनमा छन् । बैंकले निक्षेपमा ३.५० प्रतिशतदेखि ९.२५ प्रतिशत व्याज दिइरहेको छ । कर्जामा बेस रेट ८.५३ मा १.५० देखि ६.५० प्रतिशत व्याज लिइरहेको छ । बैंकलेसँगै भिसा डोमेस्टिक कार्ड मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्यक अफरसमेत छ । बैंकले देशभित्र २ हजारभन्दा बढी ऐजन्ट मार्फत् रेमिट्यान्स भित्र्याउन काम गरिरहेको छ । उपाधी बैंकले हालै एशियामनी २०१९ अन्तरगत बेस्ट कर्पोरेट एण्ड इन्भेष्टमेन्ट बैंकको उपाधी पाएको छ । बैंकले २०१८ को युरोमनि एक्सेलेन्स बेस्ट बैंकको ‘नेपाल बेस्ट बैंक’ उपाधी समेत पाएको थियो । बैंकले सन् २०१६ सम्ममा पाँचौं पटक फाइनान्सियल टाइम्स बैंक अफ एयर इन्टरनेशनल अवार्ड पाएको थियो । बैंकले गत वर्ष इक्रा नेपालबाट ए प्लस रेटिङ पाएकोमा यस वर्षभने ए रेटिङ मात्र पाएको छ । सेयर स्वामित्व शुरुदेखि नै बैंकमा अध्यक्ष पृथ्वीबहादुर पाँडेलगायतका व्यक्तिहरुले बैंकमा लगानी गरेका थिए । हाल पाँडेको स्वामित्व रहेको महालक्ष्मी इन्भेष्टमेन्ट, छाँया इन्भेष्टमेन्ट, केयुपी इन्भेष्टमेन्ट र सोफिया इन्भेष्टमेन्टमार्फत् बैंकमा लगानी छ । पाँडे अन्तरगतका कम्पनीहरुको नै बैंकमा २६.१४ प्रतिशत बराबर लगानी छ । हाल पाँडे बैंकमा अध्यक्ष छन् भने ज्योतिप्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत छन् । अन्य लगानी बैंकले गत वर्ष मात्रै सुन्धारामा १४ करोड ७७ लाखमा जमिन खरिद गरेर भवन बनाउन लागिरहेको छ । त्यहाँ शाखा सञ्चालन गर्ने बैंकको योजना छ । बैंकको सहायक कम्पनी एनआइबीएल क्यापिटल रहेको छ । बैंकले मोबाइल बैंकिङ र कार्ड विस्तारको लागि फेक्जिटर्म र एमनेपालमा समेत ८७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको नेशनल माइक्रोफाइनान्स कम्पनीमा पनि २ करोड ५१ लाख रुपैयाँ सेयर लगानी गरेको छ । लाभांश ५ वर्षमा औसत करीब ३४.८९ प्रतिशतको लाभांश बाडेको नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १९ प्रतिशत लाभांश दिएको छ । बैंकले चालु आवमा नाफाको आधारमा लगानीकर्तालाई ८६ करोड रुपैयाँ वितरण गर्न सक्ने उल्लेख गरेको छ । बैंकमा ३ करोड २५ लाख रुपैयाँ सेयर प्रिमियमको रुपमा रहेकोले सो समेत कुल लाभांश ६ प्रतिशत बराबर पुगेको हो । आव अन्त्यमा भने यो लाभांश क्षमता दरमा परिवर्तन हुन्छ नै । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १५.६६ प्रतिशतले घटेको हो । बैंक नाफा रकमको आधारमा भने छैठौं स्थानमा छ । बैंकको खुद व्याज आम्दानी ७ प्रतिशतले घटको छ । सञ्चालन नाफा भने १६ प्रतिशतले घटेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.३७ प्रतिशत रहेकोले हालको नियामकीय प्रावधान (११ प्रतिशत) भन्दा सहज छ । बैंकको निक्षेप र कर्जाको अनुपात ७५.३९ प्रतिशत छ । बैंकले थप कर्जा लागनी गर्न सक्ने अवस्था सहज नै छ । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । बैंकले पूँजी थप्न ऋणपत्र जारी गर्ने समेत भएको छ । बैंकको सञ्चित तथा जगेडा कोषमा ११ अर्ब ९१ करोड रुपैयाँ रकम छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ६.३७ मा भएको छ । यद्यपि ७ अर्ब ७३ करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च ४ अर्ब छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय २१ प्रतिशत रकम राखेको छ । बैकले प्रावधान रकम ५५ करोड ९० लाख छ । बैंकको प्रतिसेयर आम्दानी २३.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.२८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ छ । बैंक प्रतिसेयर आम्दानीको आधारमा १३ स्थानमा छ । इक्रा नेपालले केही दिन अघि मात्र बैंकलाई दिदै आएको रेटिङलाई घटाएर निगरानीबाट हटाएको छ । हाल बैंकलाई ए रेटिङ दिएको छ । इक्राले उल्लेख गरेका मुख्य विषयः –खराब कर्जा २.८४ प्रतिशत पुगेको –भाका नाघेको कर्जा भने १४ प्रतिशतबाट २२ प्रतिशत पुगेको –निक्षेप र कर्जाको आधार बलियो (समग्र बैंकिङ क्षेत्रमा बैंकको निक्षेप र कर्जा हिस्सा ५ प्रतिशत बढी) –कर्जामा केन्द्रीकरण (प्रमुख २० मा ३५ प्रतिशत कर्जा लगानी) –खुद व्याज मार्जिन ३.४५ बाट घटेर ३.२८ सन्तुलित क्षेत्रमा सेयर कारोबार बैंकको सेयर कारोबार सन्तुलित क्षेत्रमा आएको छ । बैंकको मूल्य १४ दिने आरएसआई स्केलको ४५.८३ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । सिम्पल मुभिङ एभरेज रेखामा केही समयअघि क्रमओभर भएको छ । २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि रहेकोले मूल्य वियरिश प्रवृत्तिमा छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ४ सय ६ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ३ सय ६८ मा पहिलो टेवा पाउने देखाउँछ । बढ्दो क्रममा रहेको बैंकको सेयर मूल्य वृद्धिमा ब्रेक लाग्ने संकेत देखिएको छ । अन्तिम दिन बनेको कालो मैनवत्तिले यही संकेत गरिरहेको छ । बैंकको सेयर मूल्य भने वर्षकै न्युन विन्दुमा पुगेकोले बढ्ने सम्भावना भने छ । मूल्यले हालै वर्षकै न्युन विन्दु ३ सय ७३ बाट उकालो लाग्ने प्रयामा छ । तर, बुलिश प्रवृत्ति देखिइनसकेकोले आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।
राजिनामा गरेर हुँदैन बास्कोटालाई कारवाही गर्नुपर्छः डा. सुन्दरमणी दीक्षित
काठमाडौं । नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणी दीक्षितले कमिसन खेलमा मुछिएका निवर्तमान मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनले कारवाहीको माग गरेका छन् । संवाद डबलीले विहीबार गरेको कार्यक्रममा बोल्दै लड्नु पहिले मानिस निकै घमण्डी हुने बताउँदै बास्कोटा पनि त्यति गति भएको बताए । मंचबाट कसैलाई पनि बाँकी नराख्ने बास्कोटा आफै नरहेको भन्दै डा दीक्षितले भने, ‘गोकुल बास्कोटाले सँधै मंचबाट मनलाग्दी बोलेर कसैलाई पनि बाँकी राख्नु हुन्नथ्यो । बास्कोटाजीले सबै मानिसहरु खराब, आफूमात्रै असल भनेर जुन देखाउनु हुन्थ्यो तर आज अडियो सुन्दा सबैभन्दा खराब त उहाँनै रैछ ।’ उनले यो भन्दा पहिलो ५० करोडसम्मको कमिसनको कुरा सार्वजनिक भएको बताउँदै ७४ करोडमा पुगेर बास्कोटाले रेकर्ड तोडेको बताए । कार्यक्रममा बोल्दै डा. दीक्षितले राजिनामा दिन लगाएर छुट दिन नहुने भन्दै कडा कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । उनले प्रधानमन्त्री ओली अग्नी परीक्षामा रहेको समेत बताए । ‘प्रधानमन्त्रीजीले ‘आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि छोड्दिन’ भन्दै आउँनुभएको छ, अब थाहा हुन्छ, बास्कोटालाई छुट दिनुहुन्छकी कारवाही गर्नुहुन्छ ? ओलीजी अग्नी परीक्षामा हुनुहुन्छ ।’ उनले प्रधानमन्त्री ओलीले बास्कोटालाई कारवाही नगरे आफ्नो नजरबाट गिर्ने समेत बताए । “बास्कोटा ओलीजीको धेरै नजिकका व्यक्ति हुन्, राजिनामा दिएपछि छुट दिन्छन् वा एक्सन लिन्छन् हेर्न बाँकी छन् । यदि छुट दिएभ ने मेरो नजरबाट गिर्नुहुन्छ । ओली अग्नी परीक्षामा हुनुहुन्छ” डा. दीक्षितले भने । उनले प्रधानमन्त्री फेल वा पास हुन्छन् हेर्न बाँकी रहेको बताए ।
सञ्चित कोषमा तीन अर्ब राजश्व सङ्कलन गर्ने प्रदेश सरकारकाे लक्ष्य
काभ्रेपलाञ्चोक । नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा रु तीन अर्ब राजश्व सङ्कलनको लक्ष्य लिइएको छ । उक्त कोषमा गत आवमा रु एक अर्ब पाँच करोड राजश्व सङ्कलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जनाएको छ । चालू आवमा नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत रु तीन अर्बको राजश्व सङ्कलनको लक्ष्य लिएको समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले बताए । प्रदेशका सबै स्थानीय तहमा नदीजन्य पदार्थको राजश्व बाँडफाँट एवं प्रक्रियाबारे सचेत भइसकेका कारण यस वर्ष उल्लेख्य प्रगति हुने उनले जानकारी दिएका छन् । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा)को बोलपत्रमार्फत बिक्रीको आम्दानीको ४० प्रतिशत राजश्व प्रदेशको सञ्चित खातामा जम्मा गर्नुपर्ने नीति छ । प्रदेशमा ११९ स्थानीय तह छन् । स्थानीय तहमार्फत प्रदेश सञ्चित कोषमा चालू आवमा राजश्व रकम जम्मा भइरहेको श्रेष्ठले बताए । “सञ्चित कोषमा रकम जम्मा गर्नुपर्ने नीति र प्रक्रियाबारे स्थानीय तहमा पूर्ण जानकारी भएपछि चालू आवमा रकम जम्मा भइरहेको छ”, उनले भने । गत आव २०७५/७६ मा समितिले उपसमिति बनाई प्रदेशका सबै स्थानीय तहमा नदीजन्य पदार्थको राजश्व बाँडफाँटबारे अनुगमन/सचेतना गराइएको थियो । गत वर्ष काभ्रेपलाञ्चोकस्थित वाग्मती प्रदेश सदस्य रत्न ढकालको संयोजकत्वमा पाँच सदस्यीय उपसमितिको अनुगमनपछि नदीजन्य पदार्थको राजश्व बाँडफाँटले तीव्रता पाएको हो । प्रदेशअन्तर्गत सबै स्थानीय तहलाई नदीजन्य पदार्थको राजश्व बाँडफाँट गर्नुबारे अनभिज्ञताका कारण केही स्थानीय तहबाट ढिलो गरी राजश्व बाँडफाँट भएको ढकालले बताए । उनले भने, “सञ्चित कोषमा गत आवको नदीजन्य पदार्थको राजश्व बाँडफाँटबाट रु एक अर्ब पाँच करोड रकम जम्मा भएको छ, यो गत आवको उपलब्धि मान्नुपर्छ ।” उनका अनुसार प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ मनोरञ्जन तथा विज्ञापनको करमध्ये ६० प्रतिशत स्थानीय तह आफैँले सञ्चित कोषमा राखी ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने नीतिमा उल्लेख गरिएको छ । गत आवको जेठको अन्त्यसम्ममा स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँट नगर्दा प्रदेशस्थित सार्वजनिक लेखासमितिले असार पहिलो साताबाट अनुगमन टोली निर्माण गरी स्थलगत पठाएको थियो । उपसमितिले गत कात्तिकमा लेखा समितिलाई प्रतिवेदन बुझाई स्थानीय तहमा सञ्चालित उद्योग एवं खानीको मापदण्ड नपुगेको देखिएकाले अत्यावश्यक निर्माण सामग्री उत्पादन एवं वितरण उद्योगका मापदण्ड केही लचिलो÷खुकुलो पार्नुपर्ने देखिएको जनाएको श्रेष्ठले बताए । समितिले उक्त प्रतिवेदन हालैमात्र पास गरेको छ भने प्रदेशस्थित सरोकारवाला मन्त्री एवं प्रतिनिधिलाई जानकारी गराउने तयारी भइरहेको जनाएको छ । प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ, मनोरञ्जन कर तथा विज्ञापनको कर स्थानीय तहले आफैँ उठाइ प्रत्येक महिना बाँडफाँड गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने र त्यसको विवरण समितिमा पठाउनुपर्ने व्यवस्था छ । रासस
प्रभु बैंकको एक्टेन्सन काउन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा
काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुन् । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यस बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटिएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रवाह गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक र खल्तीबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटलेबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौत भएको छ । । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमईका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा खल्तीका डाइरेक्टर अमित अग्रवालले ग्लोबल आईएमई बैंकसँगको यो सम्झौताले ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट नहुने र बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्ने बताए । त्यसैगरी, ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीेले प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेको र जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने बताएका छन् । ग्लोबल आईएमई बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २४९ वटा शाखारहित बैंकिङ, चार सय ३० एटीएम, एवं ३७ वटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान प्रदान गर्दै आएको छ ।
एलजीको फ्रि एसि सर्भिस क्याम्प आजदेखि, स्पियर पार्टमा ५० प्रतिशत छुट
काठमाडौं । एलजीले फागुन ८ गते देखि फ्रि एसि सर्भिस क्याम्प ल्याएको छ । जस अन्तर्गत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ । साथै, स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसि. खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ । जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकनसँग नयाँ एलजी एसी पनि साट्न सकिने छ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ ।