विकासन्युज

प्रधानमन्त्री ओलीले गरे डेपुटी गभर्नर शिवाकोटीको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ पुस्तक विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो पुस्तकले समृद्ध नेपालको परिकल्पना कार्यान्वयनको स्पष्ट दिशानिर्देश गरेको बताए । नेपालमा भएका प्राकृर्तिक स्रोत साधनको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सो पुस्तकमा देशको आर्थिक वित्तीय अवस्था, राष्ट्रिय अन्तराष्ट्रिय परिवेश जस्ता विषय सरल ढंगले प्रस्तुत गरिएको ब्याख्या गरे । राष्ट्र बैंकको व्यस्त जागिरको वाबदुत पनि डेपुटी गभर्नरले पुस्तक लेख्न भ्याएको तथा उनका कृति राम्रा र उपयोगी हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले आफ्नो समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दै रातारात कुनै पनि काम सम्भव नहुने र विस्तारै परिणाम देखिदै जाने बताए । डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित समृद्ध नेपाल सुखी नेपाली बोलको गीत पनि सो अवसरमा सार्वजनिक गरिएको थियो । पुस्तक विमोचन कार्यक्रममा गभर्नर डा. चिरन्जीबी नेपालले डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित पुस्तकले नेपालको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा जानकारी दिन उपयोगी हुने विचार व्यक्त गरे । सो पुस्तकका बारेमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल र आर्थिक पत्रकार गोकर्ण अवस्थीले समीक्षा गरेका थिए ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १६ गतेदेखि शुरू, ११ वटा देश सहभागी हुने

काठमाडौं । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त मेलाकाे सम्पूृर्ण तयारी पूरा भएको जानकारी गराएको हो । ग्रुपले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्न लागेकाे हाे । कल्चरल ग्रुपमा अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले निजी क्षेत्रले यति ठूलो कार्यक्रम गर्दैगर्दा पनि सरोकारवाला निकायले भने खासै सहयोगात्मक हात अगाडि नबढाए पनि सांस्कृतिक मेलालाई भव्य रूपमा सम्पन्न गरेर देखाउने अठोट व्यक्त गरे । ‘नवौं अन्तर्राष्ट्रिय मेला भव्य रूपमा सम्पन्न गरेको अनुभवले पनि दशौं मेला अझ भव्य रूपमा सम्पन्न गर्नेछौं’ संयोजक कोइरालाले भने । उनले उद्घाटन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा हुने पनि जानकारी दिए । मेलामा इन्डोनेसिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपाल गरी ११ देशले सहभागिता जनाउने ग्रुपले जानकारी गराएकाे छ ।

एनसेलले मासिक र साप्ताहिक विजेतालाई दियो १० लाख नगद पुरस्कार

काठमाडौ । एनसेलले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत मासिक र साप्ताहिक विजेता ग्राहकलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिएको छ । कम्पनीले बिहीबार (फागुन ८) भाग्यशाली ग्राहक ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगर दुबैलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख रुपैयाँ जितेका हुन् । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाएका थिए । बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख रुपैयाँ पुरस्कार ग्राहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख रुपैयाँ जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख रुपैयाँ जितेका छन् । कलाकार जितु नेपाल र सन्ध्या के.सीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् । यसअघि पुष १६ मा सिराहाका जितेन्द्र कुमार कामतीले यस योजना अन्तर्गत पहिलो मासिक विजेता बनि नगद पुरस्कार रु १० लाख ग्रहण गरिसकेका छन् । एनसेलले आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो योजना गत मंसिर १ गतेदेखि तीन महिना संचालन गरेको थियो ।

सिटिजन्स बैंकले गर्याे उदयपुरको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले उदयपुरको तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । उदयपुरको वेलकानगरपालिका स्थित गल्फडियामा रहेको उक्त विद्यालयमा बैंकले ६० हजार रुपैयाँ सहयोग गरेको हो । विद्यालयमा भएको एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिगर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ । मुलुकभरी सिटिजन्स बैंकको ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामानवा सुविधा खरीदगर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख फाइदा, कसरी हुन्छ ?

काठमाडौं । बैंकमा खाता खोल्दा ग्राहकहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उनीहरूको पहिलो रोजाइ नहोला भन्न सकिदैन । ग्राहकको सोही रोजाइलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना सञ्चालनमा ल्याईरहेको छ । बैंकले ल्याएको यो योजना अन्तर्गत विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरूले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रुपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ । जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर ग्राहकलाई फाइदा देखिन्छ । जस्तै, बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् । मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधी खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक हुने छन् । योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्छन् भने उनलाई करिब १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बैंकले बताएकाे छ । यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई-कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहकलाई ८७ हजार रूपैयाँसम्मको फाइदा हुन्छ । स्वीप इन-स्वीप आउट सुविधा बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकलेस्वीप इन– स्वीप आउट सुविधा ल्याएको छ । यो सुविधामा ग्राहकले खोलेका न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नेछन् । यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने बैंकले जनाएको छ । साथै, बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाइरहेका ग्राहकले मुद्धती खातामा जाने बित्तिकै ९.७५ प्रतिशतसम्मको ब्याज पाउने बैंकले जानकारी गराएको छ ।

अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति कार्यालयले खतिवडालाई बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै खतिवडालाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे विज्ञप्ती मार्फत जनाइएको छ । ‘आज मिति २०७ट साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड क बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा‍. युवराज खतिवडाले सम्हाल्ने गरी ताेक्नु भएकाे छ ।’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । यस्तै, राष्ट्रपति कार्यालयले  सहरी विकास मन्त्रालयको कार्यभार  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गलाई सुम्पेकाे छ ।

स्वास्थ्य मन्त्री ढकालले एकैदिन गरे ९ डाक्टरको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नौं डाक्टरको जिम्मेवारी हेरफेर गरेका छन् । बिहीबार मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न अस्पतालमा कार्यरत डाक्टरको जिम्मेवारी फेरबदल गरेका हुन् । कान्ति बाल अस्पतालको प्रमुखकाे जिम्मेवारी डा.कृष्ण पौडेलले पाएका छन् । यसअघि डा.आरपी विच्छाले अस्पतालको प्रमुख जिम्मेवारी सम्हालेका थिए । डा. बिच्छा सोही अस्पतालमा छन् । पौडेल कान्ति अस्पतालका बरिष्ठ चिकित्सक थिए । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरीटेन्डेट डा.सन्तोष पौडेल भएका छन् । त्यस्तै, टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पदमा नियुक्त भएका छन् । सो अस्पतालको डा. विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक पदको जिम्मेवारी दिएको छ । वीर अस्पतालका डा. रविन खड्का सारिएको छ भने कोशी अस्पतालको मेडिकल नियन्त्रकमा डा. चुमनलाल दासलाई नियुक्त गरिएको छ । त्यस्तै भेरी अस्पतालको मेडिकल नियन्त्रक पदको जिम्मेवारी डा. प्रकाश थापालाई दिएको छ ।

एमसीसी अनुमोदन गराउन अमेरिकी सांसदको नेपालमा दौडधुप, अर्थमन्त्रीले भने–’पास हुन्छ’

काठमाडौं । नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गराउने लविङ गर्दै अमेरिकी सांसदहरुको एक टोलीले नेपालका उच्च अधिकारीहरुसँगको भेटघाट तिब्र पारेका छन् । संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले नेपालका उच्च सरकारी अधिकारीहरुसँग छलफल गरिरहेका छन् । यसै क्रममा उनीहरुले विहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्रीले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्नु हुँदै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास दिलाएका छन् । अमेरिकी कंग्रेसका सदस्यद्वयले माननीय अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका छन् । भेटका अवसरमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका छन् । अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए । अर्थमन्त्रीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्नु हुदै यसमा थप सहयोग आवश्यक भएको बताएका छन् ।