विद्युतीय बसमा यात्रुको आकर्षण बढ्दाे, छिट्टै नै थप २५ बस ल्याउने तयारीमा सुन्दर यातायात
काठमाडाैं । सुन्दर यातायात प्रालीले काठमाडौँ उपत्यकामा सञ्चालन गरिरहेको विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको पाइएको छ । चक्रपथका रुटमा दैनिक धेरै सङ्ख्यामा सवारीसाधन गुड्ने भए पनि यात्रु यही बस कुरेर चढ्ने गरेको पाइएको हो । डिजेलबाट चल्ने गाडीभन्दा यसमा यात्रा आरामदायी हुने यात्रु बताउँछन् । विशेष गरी युवापुस्ता कुरेर पनि विद्युतीय बस चढ्ने गरेको पाइएको प्रालीले जनाएको छ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन शुरु गरेको सुन्दर यातायातले छिट्टै नै थप २५ बस ल्याउने भएको छ । बसमा यात्रुको आकर्षण बढिरहेको प्रालीका अध्यक्ष भेषबहादुर थापाले बताए । यात्रुको आकर्षण बढिरहेकै कारण र डिजेलभन्दा विद्युतीय बसमा नाफा हुँदा बस थप गर्ने प्रालीले जनाएको छ । चीनबाट खरिद गर्न लागिएको बसका लागि रकम भुक्तानी भइसके पनि उसले पछिल्लो दिनमा सामान निर्यात नगर्दा बस आउन नसकेको हो । गत भदौमा नै रकम भुक्तानी भइसकेको प्रालीका अध्यक्ष थापाले बताए । उनले भने, “कम्पनीले बस निर्माण गरिसकेकाले समस्या हल हुनासाथ आउनेछ ।” गत असोजमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका थिए । ती चारै वटा बस हाल चक्रपथमा गुडिरहेका छन् । डिजेलबाट चल्ने बसभन्दा यी बसमा औसत रु दैनिक तीनदेखि चार हजार बढी नाफा हुन्छ । डिजेलबाट चल्ने गाडीले दैनिक झण्डै रु चार हजारदेखि चार हजार ५०० सम्मको पेट्रोलियम पदार्थमा खर्च हुन्छ । विद्युतीय बस चार्ज गर्दा दैनिक ९०० देखि एक हजार १०० सम्म खर्च हुने थापाले बताए । उनले भने, “कर्मचारीलाई तलबलगायतका कुरामा बराबर खर्च भए पनि डिजेल नचाहिँदा सञ्चालन खर्च कम लाग्छ ।” बस सञ्चालन खर्च कम हुने भन्दै प्रालीले पहिलो चार महिनामा यात्रुलाई भाडामा छुट दिएको थियो । प्रालीले २० प्रतिशत भाडा कम लिने गरेकामा अरु यातायात व्यवसायी र यातायात व्यवस्था विभागले हालका लागि बराबर नै लिन भनेको अध्यक्ष थापाले बताए । हाल भाडाका लागि कुनै मापदण्ड नभएको भन्दै विभागले बराबर लिन भनेको हो । उनले भने, “कतिपय यात्रुले भाडा कतै बढी कतै कम भनेकाले पनि एउटै बनाउन डेढ महिना पहिलेबाट अरुले लिने जतिकै लिइरहेको हो ।” अहिले सञ्चालन भएका र निर्माण भइरहेका बस डिजाइनमा नेपाली प्राविधिक संलग्न रहेको अध्यक्ष थापा बताउँछन् । युरोपमा चल्ने जस्तो बस हुँदा यहाँको सडकमा उपयुक्त नहुने भन्दै यहाँको सडक सुहाउँदो बस डिजाइन भएको उनले बताए । बस काठमाडौँका अहिलेको सडकमा गुड्न उपयुक्त रहेका छन् । कतिपयले सडक खाल्डाखुल्डी हुँदा वा उकालो हुँदा गुड्न कठिन हुने भने पनि त्यसले समस्या नभएको बताउँछन्। ब्याट्रीमा पानी पर्नसक्ने अवस्थामा मात्रै समस्या आउनसक्ने उनले जानकारी दिए । उनले भने, “सडकमा पानीको मात्रा धेरै हुँदा डिजेलबाट चढ्ने गाडीको इञ्जिनमा समस्या पर्छ भने विद्युतीय बसको ब्याट्रीमा समस्या आउँछ ।” सञ्चालनमा रहेका र आगामी दिनमा भित्रने बस आधुनिक र सुविधासम्पन्न रहेको बताइएको छ । बसमा तीन वटा ‘एयर कन्डिसन’, सात वटा ‘सिसिटिभी’ रहेको थापाले बताउनुभयो । बसमा भाडा तिर्दा मोबाइलबाट समेत तिर्नसक्ने व्यवस्था रहेको छ । उनले भने, “यात्रुले बसबाट झर्दा बिल पाउने र उक्त बिलमा यात्रु चढेको र झरेको समेत उल्लेख हुनेछ ।” अहिले सञ्चालनमा रहेका बस ४० र ३५ सिट क्षमताका छन् । १० दशमलव ५ मिटरको ४० सिट क्षमता भएको बसको खरिद मूल्य रु एक करोड ६२ लाख रहेको छ । त्यस्तै ३५ सिट क्षमता भएको बसको लम्बाई आठ दशमलव पाँच मिटर र खरिद मूल्य ५२ लाख रहेको छ । यी बसहरु एक पटक पूरै चार्ज गर्न ६० देखि ८० मिनेटसम्म लाग्ने बताइएको छ । तीन सय बस खरिद प्रक्रिया अघि बढेन विद्युतीय बस सञ्चालनमा निजी क्षेत्रको अघि सरिरहे पनि सरकारी बस खरिद प्रक्रिया अन्योलमा छ । सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएको ३०० बसको प्रक्रिया अघि बढ्न नसकेपछि सरकारले सो रकम फिर्ता लिएको छ । सो रकमले सरकार आफैँले बस किन्ने वा अरु संस्थालाई दिने भनी टुङ्गो लाग्न सकेको छैन । वाग्मती प्रदेश सरकारले पनि बस खरिदका लागि साझालाई दिने भनिएको रु ३० करोड नदिने निर्णय गरिसकेको छ । विद्युतीय बस खरिदका लागि तीनै तहका सरकारले निर्णय गरेका थिए । यसका लागि नेपाल सरकारले रु तीन अर्ब, प्रदेश ३ ले रु ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले रु दुई करोड ५० लाखको शेयर खरिद गरेका थिए । रासस
महिलाद्वारा महिला माथि हुने दमन ८० प्रतिशत, कर्पोरेट सिँढी चढ्न महिला नै बाधक
काठमाडाैं । कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन गरिरहेका हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले जनाएकाे छ । संस्थाले सन् २०१७ मा गरेको अध्ययनले साे कुरा बताएकाे हाे । उक्त अध्ययनले कार्यालयभित्र दुई तिहाइ (३० प्रतिशत) महिलाले अन्य महिला कर्मचारीहरुद्धारा नै प्रताडित हुनुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यसैगरी, सन् २००६ मा भएको एक अध्ययनमा कार्यथलोमा शोषित भएका महिलाहरुमध्ये करिव ५७ ले आफ्नै महिला सहकर्मीहरुद्धारा शोषणको सामना गर्नुपरेको प्रतिक्रिया दिएका थिए । विभिन्न अध्ययनहरुले करिब ६० प्रतिशत पूरुष कर्मचारीहरु बुलिईङ्ग क्रियाकलापमा संलग्न भएको र उनीहरुको शिकार महिला कर्मचारी भएता पनि यस्ता क्रियाकलापमा संलग्न महिलाहरुको संख्या पनि कम नभएको र उनीहरुको प्रत्यक्ष शिकार आफूभन्दा तल्लो तह र तप्काका महिला सहकर्मीहरु नै हुने गरेको देखाएका छन् । ह्यासट्याग मि टू र ह्यासट्याग टाईम्स अप जस्ता अभियानले सामाजिक विकास तथा संसारभरका महिलालाई एकतावद्ध गराउने लहरको थालनी गरेको छ । त्यसो त विभिन्न पेशा, रोजगारी तथा कार्यक्षेत्रमा संलग्न महिला कर्मचारी तथा व्यवसायिक व्यक्तित्वहरुले पूरुष सहकर्मीबाट खेप्नुपरेको यौन हिंसा, अश्लिल छेडछाड तथा अन्य विविध स्वरुपका शाेषणबारे खुलेर बोल्न थालेता पनि महिलाद्धारा महिला कर्मचारीहरुमाथि हुने शाेषण र दमनबारे भने अझै मुख खोल्ने वातावरणको विकास भइसकेको छैन । हालसालै प्रकाशित एक जर्नलले त ७० प्रतिशत जति महिला अधिकृतहरुले कायस्थलमा अन्य महिला कर्मचारीहरुद्धारा कुनै न कुनै रुपमा शोषण, हिंसा, दमन तथा थिचोमिचो झेलिरहेको र सोहि कारण पीडित महिलाहरुले यथोचित रुपमा ‘प्रोफेसनल ग्रोथ’ हासिल गर्न नसकिरहेको डरलाग्दो तथ्य उजागर गरको छ । आफ्ना पुरुष सहकर्मीहरुसँग बराबरीको हैसियत हासिल गर्न तथा समानरुपमा अधिकार एवं शक्तिको अभ्यास गर्नका लागि महिलाहरुले दशकाैंदेखि संघर्ष गरिरहेता पनि यस्ता संघर्षहरुले सोहि अनुरुपको चुनौती ल्याउने गरेको फोब्र्सले जनाएको छ । ‘कार्यालयमा उँचो स्थान हासिल गर्न सफल महिला कर्मचारीहरुले प्रायजसो सो वातावरणमा टिकिराख्न र आफूलाई जोगाइराख्न थप आक्रामक नेतृत्वको शैलीको अवलम्बन गर्दछन्,’ यस्तो आक्रामक नेतृत्व शैलीलाई टक्सिक मास्कुलिनीटी (हानिकारक पुरुषत्व) नाम दिएको फोब्रसले अगाडी लेखेको छ । के हो टक्सिक मास्कुलिनीटी ? अमेरिकी मानव संशाधन व्यवस्थापक ऐञ्जिलिक हेमिल्टनले सफलरुपमा नेतृत्व प्रदान गर्न जब महिला कर्मचारी, सुपरिवेक्षक वा व्यवस्थापकहरुले आफ्ना समान तहका पूरुष कर्मचारीहरुको व्यवहारको सिको गर्ने प्रवृत्ति नै टक्सिक मास्कुलिनीटी भएको बताएकी छिन् । शुरु-शुरुमा आफूलाई कडारुपमा प्रस्तुत गर्नका लागि टक्सिक मास्कुलिनीटीको आचरण अंगिकार गरेतापनि यो अन्तत नेतृत्वको नकारात्मक शैलीको रुपमा विकसित हुन्छ । कन्फ्लिक्ट रिजोलुसन सेन्टरकी संस्थापक बिना पटेलका अनुसार महिलाहरुले उपल्लो दर्जाका नेतृत्वकर्ताहरुको नजरमा टिकिराख्नका लागि उनीहरुको वास्तविक भावनात्मक अवस्थालाई त्याग्ने गर्दछन् । अझ यदि उनीहरु काम वा पदमा नयाँ भर्ती भएका हुन् भने सो कार्यस्थल संस्कृतिमा उपयुक्त हुनका लागि जस्तोसुकै आवश्यक कदम पनि लिन सक्छन् । नरम र मिलनसार हुँदा अरुले हेप्ने र असक्षम देखिने सोचका कारण आफ्नो भावनात्मक बौद्धिकतालाई कम गरी टक्सिक महिलाहरुले अधिकरुपमा कठोर पूरुषको स्वभाव अनुशरण गर्दछन् । माइरुफपाल नामक एक अमेरिकी कम्पनीको संचालन प्रमुख कोवोर्टनी केनेले पूरुष सहकर्मीहरुसँग आफ्नो तालमेल मिलाइराख्न महिला कर्मचारीहरुलाई थप आक्रामक र निर्मम व्यवहार देखाउन दबाब परिरहेको हुन्छ जसको कारण उनीहरु नारीजन्य स्वभावको प्रदर्शनको कारण आफूबाट अरुले लाभ लिने वा आफूलाई अन्य कर्मचारीहरुले हलुका रुपमा लिने गलत सोचको शिकार हुन पुग्दछन् । एक अध्ययनअनुसार कार्यालय वा संस्थामा मध्य तहसम्म पुगेका महिला अधिकृत तथा व्यवस्थापकहरु अझ माथिल्लो स्थानमा उक्लने लक्ष्य राख्दछन् र सोक्रममा उनीहरुले आफू अन्य महिला कर्मचारीहरुभन्दा कडा र सक्षम भएको प्रमाणित गर्न चाहन्छन् । उनीहरुले कर्पोरेट सिँढी चढ्न असफल अन्य महिला कर्मचारीहरु भन्दा आफूलाई गतिशिल, सफल र सर्वोच्च मान्न थाल्छन् । टक्सिक मास्कुलिनीटीको स्वरुप कस्तो हुन्छ ? खासमा संस्था तथा कार्यालयप्रतिको उनीहरुको नियत सफा र सकारात्मक भएता पनि आफूभित्र भएको शंसय तथा असुरक्षाको कारण यस्ता महिलाहरु टक्सिक लिडर (हासिनकार नेतृत्वकर्ता) हुन पुग्छन् । आफूभन्दा तल्लो तहका अन्य महिला कर्मचारीहरुलाई सघाउन वा सशक्त बनाउनतर्फ लाग्नुको सट्टा उनीहरुले ती कमजोर कर्मचारीहरुलाई आफ्नो निशाना बनाउने गर्दछन् । सोउलस्टाइस कन्सलट्यान्सिका संस्थापक डक्टर फ्रउजा बुकरका अनुसार यस्तो टक्सिक वोमनले कुरा गर्दा अन्य महिला कर्मचारीहरुको अवमूल्यन र आफ्नो बढावा गर्नु सामान्य कुरा हो । उनको भूतपूर्व फिमेल बोसले ‘आफूले गर्न बाँकी (महत्वपूर्ण) काम केहि नरहेको र आफूजस्तो क्षमतावान कोहि नभएको’ बताउने गरेको उनी सम्झिन्छन् । फोब्रसका अनुसार भिन्न मत तथा रायलाई ठाडै अस्विकार गर्नु, आफू अगाडी बढ्न कार्यालयभित्र फोहोरी राजनीतिक खेल खेल्नु र कसैस“ग पनि झुक्न वा माफी माग्न नपर्ने सोच पाल्नु टक्सिक वोमनका केहि चरित्रहरु हुन् । जसको परिणामस्वरुप उनीहरुले अन्य महिला कर्मचारीहरुलाई समूहबाट अलग्याउने, उनीहरुको कामको जिम्मेवारीलाई विना कारण नै अत्याधिकरुपमा बढाइदिने वा घटाइदिने, कार्यालयजन्य वा कामबारेको सूचना नियोजित ढंगबाट लुकाउने वा गलत सूचना प्रवाह गर्ने लगायत समग्र कार्यालयको माहोलमा नकारात्मक असर पर्ने खालको गलत अभ्यासहरु थाल्दछन् । संस्थाको माथिल्लो तहको पदसम्मको यात्रामा यस्ता टक्सिक महिला नेतृहरुले कामप्रति प्रतिवद्ध छु भनेर प्रमाणित गर्ने क्रममा आफ्नो वर्क-लाइफ सन्तुलनलाई बिगार्दछन् । उनीहरु सप्ताहन्त, छुट्टी मनाउँदा वा यति सम्म कि सुत्केरी बिदामा बस्दा पनि काममै सक्रिय भैरहेका हुन्छन् । यसैगरी, उनीहरुले अन्य महिला कर्मचारीहरुमाथि पनि ‘मात्र काम गर्नका लागि बाँच’ भन्ने नीति लाद्छन् र जसले सो गर्न चुक्छ, उनीहरुलाई दण्डित पनि गर्दछन् । आफूभन्दा माथिका व्यवस्थापहरुका लागि टक्सिक वोमनले कामप्रति देखाएको लगाव तारिफयोग्य हुनसक्ला तर बास्तविकता के हो भने यो उनीहरुको अरुमाथि नियन्त्रण गर्ने सोच र समूहमाथिको विश्वासको अभावको प्रतिविम्ब हो । किन महिलाहरु एक अर्काको खेदो खन्न तल्लीन छन् ? कार्यालयभित्र महिलाहरुले आफूजस्तै महिलाहरुको कारण त्रसित एवं असुरक्षित महसुस गरेका कारण उनीहरु एकअर्का बिरुद्ध खनिने गरेको अध्ययनहरुले देखाएका छन् । उनीहरुमा भएको सबैभन्दा ठूलो डर भनेको कतै मैले हासिल गर्न खोजेको कुर्सी वा पद अरु महिला कर्मचारीहरुले हात पार्ने त हैन भन्ने सोच हो । सबैजनासँगै मिलेर संस्थाको उद्देश्य हासिल गर्न तर्फ लाग्नुपर्नेमा टक्सिक महिलाहरु अरु महिलाहरुलाई प्रतिद्वन्दि मानी उनीहरु विरुद्धको काम थाल्दछन् । मनोविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने आफ्नो शक्तिको दुरुपयोग गरी अन्य महिला सहकर्मीहरुलाई प्रताडित गर्ने टक्सिक नेतृहरु शक्ति र सम्मान हासिल गर्ने आफ्नै मनोवैज्ञानिक युद्धमा तल्लीन हुन्छन् । उनीहरुका लागि अन्य महिलाहरुलाई माथि उठ्न दिनु भनेको आफू तल गिर्नु सरह हो । ‘सबैभन्दा खतरनाक कुरा के हो भने जब महिलाहरुले आफूलाई अन्य महिला सहकर्मीहरुभन्दा नीच सोच्दछन् अथवा त्रसित महसुस गर्छन्, त्यस्तो अवस्थामा उनीहरुले जस्तोसुकै क्रुर र हानिकारक काम गर्न पनि पछि पर्दैनन् ।’ सम्थिङ्ग मेजर नामक संस्थाका निर्देशक राण्डि ब्राउनले बताए । अध्ययनहरुले धेरै नै संख्यामा र छिटोछिटो महिला कर्मचारीहरुले जागिर छाड्ने गरेको बहुसंख्यक कार्यालयहरुमा महिला नै निर्णायक वा प्रमुख तहको कर्मचारी भएको पाइएको देखाएका छन् । अरुलाई शोषण गर्न शक्तिको दुरुपयोग गर्ने टक्सिक वोमनबाट अरुले पनि नेतृत्वमा बसेर काम गर्ने हो भने आफूहरु पनि त्यसैगरी कठोर हुनुपर्छ भनेर सोच्न थाल्दछन् जसले भविष्यमा टक्सिक लिडरहरुको संख्यामा उल्लेख्य वृद्धि ल्याउनेछ । सामना गर्ने उपायहरु लैङ्गकिताको बाबजुत मनमा सबैप्रति सद्भाव र माया भएको व्यवस्थापकसँग सुरक्षित, सम्मानजनक, स्वस्थ र उत्साहजनक वातारणमा काम गर्न पाउने अधिकार सबैमा निहित हुन्छ । परिस्थिती झन् बिग्रने डरका कारण शोषण वा थिचोमिचोको शिकार भएका असंख्य पीडितहरुले आफ्नो अवस्थाबारे खुलेर कुरा गर्न सकिरहेका छैनन् । यस्तो मौनताले कार्यालयभित्रको बुलिईङ्गको संस्कारलाई झन् संस्थागत गर्न सघाउँदछ । यदि आफू अरु महिला कर्मचारीहरुका कारण अनावश्यक रुपमा समस्यामा परेको छु भन्ने लाग्छ भने सो अवस्थामा ‘सबैलाई यस्तै त हो नि’ भनेर सहेरै बस्नुभन्दा पनि आफूमाथि किन अन्याय भइरहेको छ भनेर सोधीखोजी गर्न थाल्नु पर्दछ । यदि यसका लागि तपाईं एक्लै तयार हुनुहुन्न भने पिडामा पारिएका अन्य सहकर्मीहरुसँग मिलेर समूहको गठन गर्न सक्नुहुन्छ जसले तपाईंहरुको आवाज बुलन्द गर्न र कार्यालयभित्र सुमधुर वातावरणको निर्माण गर्न पनि सहयोग गर्दछ । बुलिईङ्गको घटनालाई रोक्न वा कम्तिमा कम गर्न प्रमाणहरुको संग्रह गर्नुपर्दछ जसमा घटनाको सकेसम्म सबै विवरण हुनुपर्दछ । उदाहरणको लागि, कसले, कसलाई, किन, केका लागि, कसरी, कुन अवस्था र परिस्थितीमा बुलिईङ्ग गर्यो र यदि सोको कोहि प्रत्यक्षदर्शी थिए भने उनीहरुको नाम पनि उल्लेख गर्ने । प्रमाणको यस्तो संग्रहलाई अरु कसैले नदेख्ने वा नभेट्ने गरी गोप्य तरिकाले राख्ने जुन भोली कम्पनीको मानव शंसाधन प्रमुख, कम्पनी प्रमुख वा बोर्डका अध्यक्ष लगायतलाई पेश गरी न्याय पाउन सकिन्छ । आफूमाथि किन शोषण भइरहेको छ भनेर बुझ्नु पनि फाइदाजनक हुन्छ । हुनत जुनसुकै बहानामा गरिएको भएता पनि बुलिईङ्ग पूर्णत गलत कार्य हो । तर कहिलेकाही आफूले यथोचित कार्यसम्पादन गर्न नसकेको र सो कुरा सिधै नभनेर वा भन्न नसकेर कतै तपाईंको टक्सिक नेतृले तपाईंलाई बुलिईङ्ग गरिरहेकी त छैनन्, सो बुझ्न सक्नुभयो भने आफ्नो सम्पादनलाई सुधार गरी तपाईं शोषणबाट जोगिन पनि सक्नुहुन्छ । सबै उपायहरुले काम नगरेको अवस्थामा तपाईंले कम्पनीका प्रमुख वा बोर्ड अध्यक्ष सामू उजुरी हाल्न सक्नुहुन्छ । तर सो अवस्थामा फेरी पनि टक्सिक लिडरले तपाईंस“ग बदला लिने प्रयास गरेका छन् भने तपाईंले कानूनी उपचारको साहार लिनुपर्दछ ।
घरमै बसेर १ सय ४५ देशका नागरिकलाई पढाउने ‘ग्लोकल टिन हिरो’ समिरको कथा
काठमाडौं । यो सूचना प्रविधिको युग हो । दिनप्रतिदिन बढ्दै गएको सूचना प्रविधिको विकास सँगै यसको कार्यक्षेत्र पनि फराकिलो हुँदै गएको छ । सूचना प्रविधिको सही सदुपयोग गरे सफल र धेरै ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मोरङका समिर फुयाँल । समिर फुयाँल ग्लोकल टिन हिरो हुन् । यही सूचना प्रविधिको सही सदुपयोग, जिज्ञासु र सूना प्रविधिमा उच्चतम ज्ञान भएकै कारण उनी २०१९ को ग्लोकल टिन हिरो बने । सरल, नम्र र जिज्ञासु स्वभावका समिरको प्रविधि तथा विज्ञान सम्बन्धिको उत्सुकता, कामप्रतिको रुचि, र काममा निरन्तरताले उनी हाल एक प्रख्यात सफ्ट डिजाइनर वा डेभलपर्सका नामले परिचित छन् । समिरले जीवनमा धेरै काम गर्न बाँकी नै छ । उनी भर्खर कक्षा १२ मा पढ्दैछन् । तर, धेरेले पत्याउँदैनन् की उनी कक्षा १२ मा पढ्छन् । उनी अहिले १८ वर्षका भए । भनिन्छ नी–‘भगवानले एउटा–एउटा गुण सबैलाई दिएको हुन्छ’, तर त्यो गुणलाई जिवित राख्नु वा त्यसलाई फलाउनु फुकाउनु भने स्वयमं व्यक्तिको हातको कुरा हो । यस्तै, आफुलाई पनि भगवानले एउटा गुण दिएको हुन सक्ने समिर बताउँछन् । उनी सानैदेखि सूचना तथा प्रविधिमा रुचि राख्ने स्वभावको भएको बताउँछन् । ‘म कक्षा आठमा पढ्थेँ, त्यतिखेर मलाई माईक्रोसफ्ट वर्ड र फोटोसपप्रति एकदमै रुचि लाग्यो, कक्षामा पढे अनुसार नै काम गर्न व्यवहारमा उतार्न थालेँ’, उनले भने । कक्षामा जब शिक्षकले सूचना प्रविधिको बारेमा सिकाउँथे आफु धेरै उत्सुकता जनाएर पढ्ने उनी बताउँछन् । दिन बित्दै गए । त्यो दिन समिरलाई अझैँ याद आउँछ । शिक्षकले कक्षामा प्रोग्रामिङको बारेमा पढाउँदै थिए, यो कुरा तिमीहरुलाई काम लाग्दैन, अर्को पाठ पढौं भने । सूचना प्रविधि र प्रोग्रामिङको बारेमा जान्न एकदमै उत्सुक समिरलाई भने रमाइलो लाग्यो त्यो कुराले । उनी झन उत्सुक भए । नपढ्ने चिज भए त किन किताबमा समावेश गरेको ? उनले त्यो पाठ झन उत्सुक भएर पढेको बताए । उनले त्यो पाठ पढेर प्रोग्रामिङ सम्बन्धि धेरै कुरा सिके । गाउँघरमा कतै पनि कम्प्युटर इन्स्टिच्युट थिएनन् । यसले पनि उनलाई समस्या पारिरहेको थियो । उनले किताब पढेरै धेरै कुराको ज्ञान भयो । अब उनले किताब पढेर मात्र भएन । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्ने अठोट गरे । कक्षा ९मा पढ्दापढ्दै उनले यूटुव र वेबसाइटबाट नै ज्ञान हासिल गर्न सुरु गरे । उनका साथीहरु कम्प्युटरमा गेम खेलेर समय बिताउँथे । आफु भने वेभ डेभलेपमेन्टका कोर्षहरु सिक्दै बस्ने उनी बताउँछन् । त्यही इन्टरनेट समिरको जीवनका लागि एक किसिमको टर्निङ प्वोइन्ट बन्यो । गर्दै–सिक्दै जाँदा उनी प्रोग्रामिङमा दख्खल राख्न थाले । धेरै दक्ष पनि बने । त्यही दख्खलताले उनी २०१९ को ग्लोकल टिन हिरो पनि बने । र, त्यही निरन्तरता र कामप्रतिको जिम्मेवारी बोधले उनी हाल एक शिक्षकको रुपमा चिनिएका छन् । उनी हाल विभिन्न स्थानिय कम्पनीहरुको वेभसाइट बनाउनको साथै विभिन्न एप्सहरु निर्माण गर्दैछन् । उनले अनलाइन विज्ञापन मञ्चको रुपमा ‘नयाँ किनमेल डट कम’ वेभसाइट सुरु गरेका छन् । विज्ञापनलाई डिजिटाइज गरी खरिदकर्ता र बिक्रेताबिचको दुरिलाई घटाउने उद्धेश्यले अनलाईन मन्चको सुरुवात गरेको उनी बताउँछन् । समिर फुयाँले श्रेय पाउने अर्को ठूलो कुरा छ । त्यो हो अनलाइन शिक्षण । उनी हाल अनलाइनमार्फत नै १ सय ४५ देशका १३ हजारभन्दा बढि मानिसहरुलाई युडेमि एपको मार्फत डिज्याङ्गो कोर्ष सिकाउँदै आएका छन् । उनी वेभ एप्लिकेसन कोर्षको बारेमा सरल रुपमा अनलाइनमार्फत ती मानिसहरुलाई सिकाउँदै आएको बताउँछन् । उनी सबैलाई सशुल्क पढाउँछन् । प्रति कोर्षको ९.९९ डलरको हिसाबले पढाउने गरेको उनी बताउँछन् । समिरले धेरै एप्स पनि निर्माण गरेका छन् । समिरले कक्षा १२का विद्यार्थीहरुको लागि म्याजिक अफ बोर्डसको सारांश र प्रश्न उत्तरको एप्स पनि बनाएका छन् । उनी सूचना प्रविधिको प्रयोगलाई बढाई युटुवमा पनि सक्रिय छन् । यसका साथै उनी हालै आइसीटी ज्ञान (ICT Gyan)नाम गरेको युट्युबमा च्यानल चलाईरहेका छन् । उनी त्यसमा नेपाली भाषामा वेभ डेभलपमेन्ट र प्रोग्रामिङका कोर्ष सिकाउँछन् । उनी हाल पनि मोरङमै बस्छन् । काठमाडौंमा भन्दा बाहिर बसेको कारण अवसरहरु कम आउने समिर बताउँछन् । त्यसैले उनी काठमाडौमां आउने सोच बनाइरहेका छन् । भविश्यमा टेक्नोलोजिको क्षेत्रमा राम्रो योगदान दिने चाहना समिरको छ ।
ठेकेदारको लापरबाहीका कारण अधिकांश निर्माण अधुरै, ९६ भवन अलपत्र अवस्थामा
सुर्खेत । वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का विसं २०६८ मा जिएम कन्स्ट्रक्शनले पाएको थियो । विसं २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने कार्यादेश पाएको कन्स्ट्रक्शनले निर्धारित समयमा काम सकेन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्ततः उक्त ठेक्का रद्द गर्दै नयाँ बोलपत्र गर्न बाध्य भयो । भवन निर्माण ढिलाइले बिरामीको उपचारसहित अन्य प्रशासनिक काम कर्मचारी आवासगृहबाटै भइरहेका छन् । कटकुवाजस्तै कर्णालीका सल्यान, सुर्खेत, जाजरकोट, दैलेख र रुकुम पश्चिममा ठेकेदारको लापरवाहीका कारण दर्जनौँ स्थानमा स्वास्थ्य चौकीका भवन अलपत्र छन् । जिएम कन्स्ट्रक्शनले मात्रै ठेक्का लिएका छ स्वास्थ्य चौकी अधुरै छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइले ती सबै ठेक्का रद्द गर्दै नयाँ ठेक्काबाट काम अघि बढाएको छ । कतिपय ठेकेदार तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण सम्पन्न नगरी सम्पर्कविहीन छन् । एकाइका इञ्जिनीयर गोकर्ण थापाले ठेक्का लिने र अधुरै छाड्ने समस्याले निर्धारित मितिमै भवन निर्माण हुन नसकेको बताए । ‘एउटै ठेकेदारले घटाघट प्रक्रियाबाट धेरै ठेक्का लिने चलन छ, यसो गर्दा ठेकेदार घाटामा जाँदा ठेक्का अलपत्र छोड्ने गर्छन्, पुनः ठेक्का आह्वान गर्ने प्रक्रियाका कारण ढिलाइ हुन्छ’, उनले भने, ‘ठेक्का लिने तर काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिसकेका छौँ ।’ इञ्जिनीयर थापाका अनुसार कर्णालीमा ९६ भवन निर्माण ढिलाइले अलपत्र अवस्थामा छन् । सुर्खेतमा २२, दैलेखमा १३, जाजरकोटमा सात, सल्यानमा चार, डोल्पामा आठ, जुम्लामा १०, कालिकोटमा ११, मुगुमा आठ, रुकुमपश्चिममा पाँच र हुम्लामा आठ भवन रहेका छन् । तीमध्ये अधिकांश भवन स्वास्थ्यका छन् । अधिकांश भवनको पुरानो ठेक्का तोडेर नयाँ ठेक्का दिएकाले आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको छ । औषधि उपचार अभावमा वर्षेनी मातृशिशु मृत्युदर बढ्न थालेपछि सरकारले हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो । सोही नीतिअनुसार स्वास्थ्य विभागले स्वास्थ्य चौकी भवन निर्माणको योजना अघि बढाएको हो । ठेकेदारको लापरवाहीले प्रदेश राजधानीकै स्वास्थ्य चौकी निर्माण समयमै नहुँदा त्यहाँ पुग्ने बिरामीलाई खुला चौरमा जाँच गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य संस्थाका भवन समयमै नबन्दा अन्य बिरामीसँगै गर्भवती तथा सुत्केरीले अझ बढी समस्या भोग्नुपरेको छ । रासस
खानेपानी टेक्निसियन चित्रबहादुर केसी २ लाख घुससहित पक्राउ
काठमाडौं । सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्रबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाको तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा केसीलाई नियन्त्रणमा लिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज चित्र बहादुर केसीलाई घुस बापत २ लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम सहित मदानीचौरस्थित उन्नती टोलबाट बिहीबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
कालीगण्डकी जलविद्युतगृह मर्मतका लागि ३ दिन २० घण्टा बन्द
काठमाण्डाैं। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो । दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार (१२ फागुन) साँझ पाँच बजेसम्म बन्द रहने प्राधिकरणले जानकारी दिएको छ । स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ । देशकै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको बताए । ‘विदाको दिन विद्युत्को माग (लोड) कम हुने भएकाले विदाको दिन पारेर मर्मत गर्दैछौंैं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युतगृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आमउपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोवस्ती गरेका छौं, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्छ’, उनले भने । बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । त्यसपछि मर्मत सुरु हुने र सोमबार साँझ ५ बजेभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ २४ सै घण्टा काम भइरहेको गौतमको भनाइ छ । मर्मतमा ३७ जना प्राविधिकहरु खटिएका छन् ।
मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ शुरु
काठमाडौं । काठमाडाैं उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जिआइएस) शुरु गरिएको छ । प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरु निकायलाई जानकारी गराउनका लागि पनि यो प्रणाली शुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आयोजनाअन्तर्गत हाल बिछ्याइएका पाइप कहाँ छ भनी जानकारी दिन सकिने आयोजना निर्देशक भोजविक्रम थापाले बताए । कुनै पनि संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप यस ठाउँमा छ भन्ने जानकारी दिएर क्षति नहुने गरी निर्माण गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘ती निकायले सहकार्य गरी काम गर्दा सम्भावित क्षतिलाई रोक्न सकिन्छ ।’ सडक निर्माणका क्रममा वा कुनै संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप फुट्ने समस्या वर्षेनी दोहोरिरहेकाले त्यो रोक्नका लागि यो प्रणालीको शुरुआत भएको हो । हाल स्तरोन्नतिका क्रममा रहेको गौशाला–चाबहिल खण्डमा पनि सडक मर्मत गर्दा आयोजनाका पाइपमा क्षति पुगेको छ । विगतमा खानेपानी र ढल जमिन मुनि हुने गरेकामा हाल विद्युत् प्राधिकरणले बिजुलीको तार पनि भूगिगत गर्न शुरु गरेको छ । सडकमा अन्तर निकाय समन्वय नहुँदा एउटा निकायले भत्काउने र अर्काेले बनाउने काम भइरहने गरेको छ । यो समन्वयका लागि शहरी विकास मन्त्रालयले गत वर्षदेखि नै ‘युटिलिटी करिडोर’सम्बन्धी कानून बनाउन शुरु गरेको छ ।रासस
नेपाली बजारमा भित्रियो बामरोल लुब्रिकेन्ट
काठमाडौं – भारतको बामर लरी एन्ड कम्पनीले बामरोल लुब्रिकेन्ट नेपाली बजारमा भित्र्याएको छ । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रुपमा बजारमा ल्याएको हो । बिहीबार भएको उक्त कार्यक्रममा बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरेका हुन् । सो अवसरमा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारत लगायतका देशमा यसको बजारको अवस्था बारेमा जानकारी प्रदान गरेका थिए । बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैमा गुणस्तरीय र प्रतिष्ठित भएको बताएका छन् । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्ष भित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए । कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहना अनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरुको सेवामा सदैव समर्पित रहेको स्मरण गराउदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे । बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो । स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए । लुब्रिकेन्ट र ग्रिजका साथै ट्राभल एन्ड भ्याकेसन, इन्डष्ट्रियल प्याकेजिङ, लजिस्टिक सर्भिस आदि विभिन्न क्षेत्रमा यो कम्पनीका उत्पादन उपलब्ध छन् । कम्पनीले ८१ वर्ष पहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो । हाल चेन्नाई, कोलकाता र सिल्वासामा यसको प्लान्ट छन् । कम्पनीले चारपांग्रे र दुईपांग्रे सवारी साधनका सबै सेगमेन्टमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउदै आएको छ ।