विकासन्युज

नेपाल इन्जिनियरिङ् कलेजका १ सय २९ विद्यार्थीलाई इन्जिनियर उपाधि प्रदान

काठमाडौं । नेपाल इन्जिनियरिङ् कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय २९ जना विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित भएका छन् । कलेजले शनिबार गरेको कार्यक्रममा प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठले विद्यार्थीलाई दिक्षित गरेका हुन् । कलेजको कम्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको थियो । कम्प्युटर इन्जिनियरिङंका ७५ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङका ३२ जना र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङका २० जना गरी कुल एक सय २९ जना इन्जिनियर उपाधिबाट विभूषित भएका थिए । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा श्रेष्ठले घुस खाएको आरोपमा यता यति इन्जिनियर पक्राउ उता उति इन्जिनियर पक्राउका समाचार आइरहेको भन्दै पैसाको पछि नलाग्न उनले विद्यार्थीलाई निर्देशन दिए । पहिला निरन्तर मेहनत र परिश्रम गर्नुस् पछि तपाई पैसाको होइन, पैसा तपाईको पछाडि आउनेछ, उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, त्यसकारण राम्रो काममा मात्रै ध्यान दिन अनुरोध गरे । निरन्तरको मेहनत र परिश्रमले पछिपछि प्राजेक्टहरु आफनो पछि लाग्ने अनुभव सुनाउँंदै उनले सुरुमा केही समय मात्रै प्रोजेक्टको पछि लाग्नुपर्ने अवस्था आउने सुनाए । प्राजेक्टहरु पछि लाग्न थालेपछि पैसा विस्तारै आफनो पछि लाग्न थाल्ने उदाहरण उनले दिए । उनले मेहनत र परिश्रमको विकल्प मेहनत र परिश्रम नै मात्रै रहेको बताए । कलेजका उपप्राचार्य दीपक धामी, एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्द्धय दुर्गा भण्डारी र नरेश खड्का, कलेजको कम्युटर इन्जिनियरिंङ विभागका प्रमुख दिनेश डंगोल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिंङ विभागका प्रमुख अजयकुमार लाल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभाग प्रमुख रुपेश दहीलगायतले उपाधि हासिल गर्न सफल विद्यार्थीर्लाइ वधाई दिए । कार्यक्रममा ६ जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका छन् ।

वाग्मती प्रदेशमा लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्दै

काठमाडौं । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिए । उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए। कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो सङ्ख्यामा विभिन्न पद रिक्त रहेको छ । तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेका जनाइएको छ । यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ । उक्त समस्या समाधानका लागि प्रदेशको लोकसेवा आयोगले असार महिनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो । अध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने छ । यसैबीच प्रदेशमा आइसकेका एक सयभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । सङ्घीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ । सङ्घबाट प्रदेशमा आउँदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए । बढुवा भएपछि राजीनामा दिँदा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो । रासस

नेप्से परिसूचकले नयाँ इतिहास रच्दै : सातामा मात्र ८अर्ब ६९ करोडको कारोवार

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १ सय ८१ कम्पनीको आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४ सय ७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोवार भए । बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोवारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो । साताको पहिलो दिन नेप्से परिसूचक  झण्डै २० अङ्कले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’ समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो । कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता शेयर एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७ सय १ रूपैयाँ बराबरको कारोवार भए । सोमबार नेप्से परिसूचक ३४ अङ्कले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो । झण्डै दुई अर्ब ७० करोड रूपैयाँको कारोवार भयो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने दुई अर्ब रूपैयाँ माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रूपैयाँ बराबरको कारोवार भयो । बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद–बिक्री भए । बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम गर्यो । त्यस दिन नेप्सेमा २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर  दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद–बिक्री भए । रासस

टेलिकम र निगम हाँकेका कंसाकार भन्छन्, ‘अवसर पाए अझै काम गर्छु’

काठमाडौं । विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर नेपाली जनताको सेवा गरेकाले पनि मलाई निजी क्षेत्रका कुनै पनि संस्थाले तान्न सक्दैनन् । पटकपटक निजी क्षेत्रको संस्थाको नेतृत्व लिइदिनुपर्यो भनेर प्रस्ताव पनि आए, आइरहेकै पनि छ । मलाई किनकिन निजी क्षेत्रमा जानै मन लाग्दैन । स्वास्थ्यले साथ दिउञ्जेलसम्म नेपाली जनताको नै सेवा गर्ने इच्छा छ । यी भनाइ हो सुगतरत्न कंसाकारको । चार वर्ष तीन महिना नेपाल टेलिकमको प्रमुख तथा छ वर्ष नेपाल वायु सेवा निगमको प्रमुख भएर आफ्नो योग्यता देखाएका कंसाकारले कमलादी गणेशस्थान नजिकै आफ्नो निवासमा आफ्नो व्यवस्थापकीय कलाका अलावा टेलिकमको प्रवेश तथा निमगको सुधारका बारेमा राससका रमेश लम्सालसँग गरेका कुराकानी । पारिवारिक पृष्ठभूमि व्यापारिक भए पनि आफ्नै रहरले दूरसञ्चार सेवामा प्रवेश गरे कंसाकारलाई टेलिकमलाई व्यावसायिक रुप दिएको श्रेय जाने गरेको छ । टेलिकमलाई कम्पनीमा रुपान्तरण गर्दा टेलिकमको प्रबन्ध निर्देशक थिए । दूरसञ्चार संस्थानको अन्तिम महाप्रबन्धक कंसाकार भएकै बेला टेलिकमको सात प्रतिशत शेयर बिक्री गरेर कम्पनी बनाइएको थियो । आफैँले सिकाएका र तातेताते गरेर हिँडाएकाले नै टेलिकम चलाएका छन् । अब त अवकाशपछिको जीवन बिताउने बेला भएन र ?  प्रश्न भुइँमा खस्न नपाउँदै कंसाकारले प्रसङ्ग अन्यत्रै मोड्दै भने, “म ६० वर्ष पुगे, अब कविता लेख्दिन भनेर एउटा कवि चुप लागेर बस्छ र ? यस्तै मेरो उमेर ६५ भयो, म अब उपन्यास लेख्दिन भनेर उपन्यासकार बस्छ र ? मेरा लागि पनि व्यवस्थापन त्यस्तै हो ।” म इञ्जिनीयर हुँ, तर सँगसँगै व्यवस्थापक पनि हो । संसारभर प्रकाशित भएका व्यवस्थापनसम्बन्धी धेरै जसो किताब र जर्नल पढेको छु । जिन्दगीभर नै व्यवस्थापनसँग जोडिए । काम गरे । नजानेको कुरा सिके, जानेको कुरा लागू तथा विस्तार गरे । उनले अगाडि जोडे, “सरकारी क्षेत्रको व्यवस्थापन आफैँमा जटिल काम हो । मलाई जटिल काम गर्न नै मन पर्छ । जुन मैले विगतमा गरेँ । आगामी दिनमा राम्रो प्रस्ताव आए पछि हट्दिन । किनकी मैले तीन करोड नेपालीको आस्था जोडिएका दुई महत्वपूर्ण संस्थामा जीवन गुजारेको छु ।” निजी क्षेत्रले राम्रो सेवा सुविधासहित प्रस्ताव गरेको प्रस्ताव गरेको थियो । कुनकुन संस्थाका प्रस्ताव आए ? उनले भने, “ आफूलाई निजी संस्थामा गएर काम गर्न मनले नै नमानेको उहाँ बताउनुहुन्छ । जिन्दगीभर नेपाली जनताको सेवा गरेको भएकाले पनि मलाई निजी संस्थाले तान्न सक्दैन । निजी क्षेत्रको व्यवस्थापनभन्दा सार्वजनिक संस्थाको व्यवस्थापन गाह्रो काम हो । त्यसमा राजनीतिकदेखि अनेकन कारण जोडिन्छन् । कंसाकारले भने, “गाह्रो काम नै किन नगर्ने भन्ने मलाई लाग्छ ।” कंसाकारको परिवार नै व्यापारी हो । ठूला बा, काका अझै व्यापारमा आवद्ध थिए । उनको १ सय ३० जनाको परिवारको एक्लो सदस्य हो, उनी सरकारी सेवामा जाने । असनमा अझै पनि सेतो कपडाको पसल छ । त्यो उनको परिवारको पसल हो । “म व्यापारिक पृष्ठभूमिको भए पनि निजी क्षेत्रमा जाने पटक्कै इच्छा छैन । मनमा आउँछ, अब त चुपचाप घरै बसौं कि ? अर्को मनले भन्छ होइन, स्वस्थ छु, काम गर्न सक्छु भने किन चुप बस्ने ? म आफैँ ‘चान्स’ पाएको खण्डमा अवकाश हुने पक्षमा छैन”, उनले भनाई छ । व्यवस्थापन ‘अब्स्ट्रयाक’ विषय भएको पनि बताउँदै “के ग¥यो भने राम्रो व्यवस्थापन हुन्छ ? भनेर जानेकालाई समेत सोध्ने पनि गरेको छु”, उनले भने । विसं २०३१ मा सातौं तहको टेलिकम इञ्जिनीयरका रुपमा सेवा प्रवेश गरेका कंसाकारले ३४ वर्ष सेवा गरे । अघिल्लो र पछिल्लो कार्यकाल गरेर नेपाल वायु सेवा निगममा छ वर्ष काम गरेका थिए । परिवारका तीन दाजुभाईमध्ये कान्छा कंसाकार । “ठुल्दाइको ‘ब्रेन ट्युमर’का कारण निधन भइसकेको छ, माल्दाइको अझै चियाको व्यापार छ । उजले तयार पारेको चियाँ चीनको तिब्बतसम्म जान्थ्यो”, उनले पारिवारिक पृष्ठभूमि बताए । ठमेलको अस्कल क्याम्पसबाट आइएस्सी गरेपछि कंसाकारले ‘कोलम्बो प्लान’को छात्रवृत्ति पाए । टेलिकम इञ्जिनीयर भन्ने धेरैलाई थाहै थिएन । तर मैले धेरैले थाहा नपाएको सोही विषय पढ्ने मन गरेको उनले सुनाए । आफ्ना पिता यस्तो पनि इञ्जिनीयर हुन्छ भन्दै झगडा गरेको स्मरण उनमा ताजै छ । उनले भने, “घर, सडक बनाउने पो इञ्जिनीयर हुन्छ त ? यस्तो पनि इञ्जिनीयर हुन्छ भन्दै मेरा पिताले झण्डै जान नदिनुभएको थियो ।” ठूल्दाइका कारण आफूले सो विषय पढ्न पाएको कंसाकारको भनाइ छ । छात्रवृत्ति पाएर कोलकाता गए पनि त्यहाँ ‘नक्सलाइट’का कारण धेरैजसो समय क्याम्पस बन्द भएका कारण उनले पुनाबाट टेलिकम इञ्जिनीयर उत्तीर्ण गरे । दुई जना केटा टेलिकम इञ्जिनीयर पढेर आएका छन् भन्ने थाहा पाएर तत्कालीन नेपाल दूरसञ्चार समितिले कंसाकार र उनका अर्का साथीलाई ज्यालादारीमा नियुक्त गरियो । यो कुरा विसं २०३१ को थियो । रामप्रसाद शर्मा समितिका प्रमुख थिए । प्रमाणपत्र नै छैन, सर, हामीले त परीक्षामा नै उत्तीर्ण भएका छैनौं भन्दा तिमीहरु चुप लाग भन्दै जागिर दिएको आजै जस्तो लाग्छ, कंसाकारले भने । विसं २०३३ मा समितिबाट नेपाल दूरसञ्चार संस्थानमा परिणत भयो । शुरुमा उनकोको तलब थियो ६ सय रुपैयाँ थियो । प्रतितोला सुनको मूल्य नै २ सय थियो । काठमाडौं उपत्यकामा टेलिफोनको लाइन विस्तार गर्नेदेखि दरबारको लाइन हेर्नेसम्मको काम गरेको कंसाकारको स्मरणमा अझै पनि उत्तिकै ताजा छ । समयले सिकायो, मेहनतले सिकायो, कंसाकारलाई । इमानलाई नै मूलमन्त्र मानेकाले कसैसामु झुक्नुपरेन । अनि इञ्जिनीयरलाई व्यवस्थापक पनि बनायो । नेपाल वायु सेवा निगमको व्यवस्थापन हेर्ने जिम्मेवारी सरकारले यतिखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई दिएको छ । संस्थालाई निजीकरण गर्ने वा अन्य कुनै तरिकाले व्यवस्थापन गर्ने भन्नेबारेमा सरकारले चिन्तन गरिरहेको छ । निगमको दुई पटक प्रमुख भइसकेका कंसाकारको मनमा चाहिँ के होला रु हाम्रो जिज्ञासा स्वाभाविक थियो । निगमलाई कसरी सुधार गर्न सकिन्छ, राष्ट्रिय ध्वजावाहक यो निगमलाई प्रतिस्पर्धामा कसरी उतार्न सकिन्छ रु हाम्रो जिज्ञासाको प्रमुख चुरो कुरा नै त्यही थियो । कुनै समय निगमका जहाज ‘लण्डन’ पुग्थ्यो । यस्तै पेरिस र जापानसमेत पुगेको थियो । हिजोआज संस्थाको साख विगतको जस्तो छैन । जहाजको अभाव छ । दक्ष जनशक्तिको पलायन रोक्न सकिएको छैन । त्यसमाथि राजनीतिक हस्तक्षेप । जेनतेन चलेको निगमले थुप्रै व्यवधान पार गरेर दुई वटा ‘न्यारो बडी’ र दुई वटा ‘वाइड बडी’ जहाज पाउन सक्यो । ठूलो धनराशिको कारोवार गरेर जहाज खरिदमा पहलकदमी लिने, साहस गर्ने जोखिम उठाउने व्यवस्थापकमा कंसाकार नै दरिए । न्यारोबडी जहाज खरिदका विषय त्यति धेरै विवादमा नपरे पनि वाइड बडी खरिदको विषय भने अन्ततः विवादकै ‘चक्रब्यूह’मा फस्यो । संसदीय समितिले छानबिन गर्यो । विषय त्यहाँ मात्रै सीमित रहेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पुग्यो । सर्वत्र चर्चा र बहसको विषय बन्यो । कम तौलको जहाज ल्याएको, भाडामा जहाज ल्याएको तथा कमसल जहाज ल्याएको, मोटो कमिसन खाएको जस्ता आरोपको सामना गर्नुपर्यो । कर्मचारीमा समस्या भएको भए, व्यवस्थापन गतिलो नभएको भए कसरी पुग्थ्यो त त्यो बेलाको ‘शाही नेपाल वायु सेवा निगम’को जहाज लण्डन, पेरिस र जापान ? स्वाभाविक उत्तर छ कंसाकारको सरकारी लगानीका कूल ३६ वटा संस्थानमा रहेका आम समस्या जस्तै केही समस्या निगममा यद्यपि छ । सरकारी संस्थानमा नेपालमा मात्रै होइन, संसारभर नै केही न केही समस्या हुन्छन् । पान पसल र निगममा केही फरक छैन भन्ने बुझाइ छ कंसाकारको । पान पसलले पान बेच्छ, निगमले सिट बेच्छ । दिनभरको कमाइ हिसाब गर्ने पान पसले र सिट बेचेको हिसाब गर्ने निगमको व्यापार शैली उस्तै हो । निगमले सेवा विस्तारका लागि लगातार जहाज खरिद गर्नुपर्नेमा २० वर्षसम्म कुनै जहाज किन्न सकेन । दूरगामी सोच नै भएन । भएका जहाजले सेवा त दिए, तर त्यो पुग्दो भएन । आन्तरिक उडानमा रहेका दुई वटा ट्वीनअटर ४५ वर्ष पुराना भए । हामीले उत्पादन क्षमता नै बढाएनौं, जसका कारण निगम धरासायी हुन पुग्यो । पछिल्ला दिनमा दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज ल्याएपछि मात्रै निगमको प्राण भरिन पुग्यो भन्छन् कंसाकार । निगमसँग भएका दुई वटा बोइङले २२ वर्ष धान्नु पर्यो । विगतमा गएका गन्तव्यमा ती नै थोत्रा जहाज लिएर जाने अवस्था थिएन । भएका जहाज भने पूर्ण क्षमतामा चले । अमेरिका, जापान कोरिया किन नजाने भन्ने प्रश्न नउठेको पनि होइन, तर जहाज नै नभएपछि अपेक्षा गरेर पनि केही हुने अवस्था थिएन । संसारका जुन देशमा पर्यटन उद्योग फस्टाएको छ, त्यसको पछाडि राष्ट्रिय ध्वजावाहककै प्रमुख भूमिका रहेको उल्लेख गरे । । सिङ्गापुरलाई चिनाएको सिङ्गापुर एयरलाइन्सले हो । थाइल्याण्डलाई चिनाएको थाइ एयरले हो । नेपाल एयरलाइन्सले जतिसक्दो चाँडो विमान थप्दै, पहुँच बढाउँदै जानेभन्दा अरु कुनै उपाय नै नभएको उनकाे भनाइ छ । निगमले हाल कमाइ रहेको आधाभन्दा बढी हिस्सा त डलरमा नै रहेको तथ्याङ्क पेश गर्दै उनले भने, “जहाज थपेर अझै सेवा विस्तार गर्नुको कुनै विकल्प नै छैन ।” विदेशी एयरलाइन्स मात्रै दुई दर्जन बढी नेपाल आउँछन् । तिनले ९० प्रतिशत व्यापार गरिरहेका छन् । निगमको स्वामित्व घटेर १० प्रतिशतमा सीमित भएको छ । जहाज थपेर, गन्तव्य विस्तार गर्ने हो भने एकाध वर्षमा ‘कायापलट’ गर्नसक्ने सामथ्र्य निगमसँग रहेको कंसाकारको मनमा अझै छ । धेरै जहाज किन, व्यापार व्यवसाय बढाउ भनेर प्रेरित गर्नुपर्नेमा उल्टै गाली गरिएकामा कंसाकारलाई चित्त दुखेको छ । उनले हाँस्दै भने “नियम प्रक्रिया मिलाएर धमाधम जहाज ल्याऊ, सेवा विस्तार गर, लौ कंसाकार ठिक छ, तिमीले ठीक ग¥र्यौं भन्नुपर्दथ्यो । मैले त दुःख पाए पाए, मसँगै काम गरेका मेरा कर्मचारीलेसमेत दुःख पाए ।” राम्रो नेतृत्व गर्ने हो भने निगमलाई व्यावसायिक बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ । कर्मचारी मात्रै खराब हो भनेर नपत्याउने दाबी छ । संसारभर नै वायु सेवामा हेरिने भनेको जहाज समयमा उड्छ कि उड्दैन भन्ने हो । यस्तै दोस्रो कत्तिको उडान रद्द हुन्छ वा पैसा कमाएको छ कि छैन भन्ने हेरिन्छ । त्यसमा निगम सबल मात्रै नभई सफल पनि रहेको तथ्य कंसाकारले पेश गरे । बाहिरबाट हेर्दा निगम खत्तम छ भनिन्छ तर अरु संस्थानभन्दा राम्रो छ । सिट अकुपेन्सी पनि राम्रो छ । गन्तव्य छान्दा नेपाली बढी भएको र पर्यटक बढी भित्र्याउन सकिने देश रोज्नुपर्ने उनको भनाइ छ । संसारभर नै थप ११ जना पर्यटक जाँदा एक जनाले रोजगारी पाउँछ । तर नेपालका लागि भने फरक छ । यहाँ सात जना थप पर्यटक आए भने थप एक नेपालीले रोजगारी पाउँछ । पर्यटक भित्र्याउने माध्यम के त ? कंसाकार भने, “निगमको सेवा विस्तार, जहाज थप नै हो ।” विदेश जाने नेपालीलाई किन विदेशी एयरलाइन्समा जान दिने, निगमको जहाज भए ती अन्य एयरलाइन्सबाट जाँदै जाँदैनन् । प्रशस्त हवाइजहाज भए हामी सिधैं लण्डन उडान गर्न सक्छौं। अष्ट्रेलिया, सिङ्गापुर, पेरिस पुनः उडान शुरु हुनसक्ने उनको विश्वास छ । निगमसँग भएका दुई वटा न्यारोबडी पूर्ण क्षमतामा चलिरहेका छन् । २४ घण्टा किन नचलाएको भन्नै नपाइने अवस्था छ । हवाईजहाज नपुगेर आन्तरिकतर्फको उडानमा समस्या देखिएको छ । दुई वटा ट्वीनअटर जहाजले आन्तरिक सेवा विस्तार गर्न सक्दैन । छ वटा चिनियाँ हवाईजहाज घाम तापेर बसिरहेको छ । प्राविधिक तथा अन्य कारणले ‘वाइ १२’ र ‘एमए ६०’ जहाज चल्न सकेका छैनन् । चिनियाँ जहाजको प्रशिक्षक नहुँदा वा अन्य प्राविधिक समस्या झेल्दा निगमले प्रभावकारी सेवा दिन सकेको छैन । कंसाकारले आन्तरिक बजार विस्तारका लागि समेत विगतमा नै योजना बनेको स्मरण गर्छन । तीन करोड नेपालीको संस्था भएकाले विकट ठाउँमा यात्रु छैन भनेर सेवा बन्द गर्न नमिल्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडानबाट पैसा कमाउने र आन्तरिक उडान विस्तार गर्न सकिने कंसाकारको बुझाइ छ । ट्वीनअटर, एटिआर वा बमबार्डियर जहाज ल्याएर दुर्गममा सेवा विस्तार गर्ने तथा सुगम गन्तव्यमा प्रतिस्पर्धी निजी संस्थाभन्दा सस्तो मूल्यमा सेवा दिन सकिने कंसाकार टान्छन् । निगमले सुगम गन्तव्य खोस्ने भए भनेर निजी विमान कम्पनीलाई समस्या परेको पनि हुन सक्छ । सार्वजनिक संस्था भएकाले निगमले सेवा विस्तार गर्नैपर्ने हुन्छ । तीन करोड नेपालीको प्रतिव्यक्ति आयसँग जोडिएको संस्था हो निगम । आफू त्यस्तो संस्थासँग जोडिन पाएकामा उहाँलाई खुशी अनि गर्व पनि लाग्छ । निगमलाई राम्रोसँग लिएर जाँदा नेपाल टेलिकम र विद्युत् प्राधिकरणलाई उछिन्न सक्ने स्थिति यस क्षेत्रमा देख्छन् । ९अर्ब रुपैयाँको कूल कमाई गर्ने निगमले दुई वटा वाइडबडीका कारण मात्रै थप १६ अर्ब कमाई गर्न सक्छ । संसारभर नै शून्य जोखिम भएको व्यापार कुनै पनि हुँदैन । नेपाल सरकारले केही जोखिम उठाएर निगममा लगानी गरे त्यसबाट एकाध वर्षमा नै ठूलो प्रतिफल हासिल गर्न सकिने वातावरण बन्दै गएको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कूल ऋणमध्ये १ अर्ब रुपैयाँ त निगमले तिरिसकेको छ । आफू निमगको प्रमुख रहँदा डेढ वर्ष पहिल्यै पाँच वर्षमा १५ वटा जहाज पु¥याउने योजना बनाएको स्मरण उनले सुनाए । जहाज खरिदका लागि ऋण लिन डराउन नहुने उनी बताउँछन् । उनलाई यस्तो लाग्छ–भारतमा नै सेवा विस्तार गर्न सकिन्छ । नेपाल–भारत हवाई सम्झौताअनुसार ११ शहरमा हवाई सेवा दिन सकिन्छ । सवा अर्ब जनसङ्ख्या भएको देशबाट ठूलो मात्रा पर्यटक ल्याउन सकिन्छ । सार्वजनिक खरिद ऐनका कारण, सार्वजनिक संस्था चलाउन केही जटिलता रहेको अनुभव छ कंसाकारको । खाद्य संस्थानले चामल किन्दा र निगमले वाइडबडी जहाज किन्दा पनि एउटै ऐन आकर्षित हुने व्यवस्था सही कि गलत ? चामल र जहाज किन्न एउटै ऐनले काम गर्न नसक्ने भएकाले त्यसमा सुधार जरुरी छ । निर्णय, प्रक्रिया पु¥याएर जहाज खरिद गर्न पाउनुपर्ने र त्यसका लागि सरकार आफैंले व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । “दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने भए सरकारी निकायमा काम गर्ने प्रक्रिया छोटो बनाउनुपर्छ ।” पछिल्ला दिनमा एयरलाइन्स समस्यामा परेका छन् । छिमेकी देश भारतको जेट एयर बन्द नै भयो । एयर इण्डिया समस्याग्रस्त छ । लुप्mथान्सा पनि घाटामा छ । थाई एयर घाटा भएर चार वटा प्रमुख कार्यकारी अधिकृत फेरिसके । बेलाबेलामा निगमले रणनीतिक साझेदार ल्याउनुपर्ने चर्चा चल्ने गरेको छ । त्यसका लागि राजनीतिक निर्णय चाहिने कंसाकार बताउँछन् । राष्ट्रिय ध्वजावाहकमा विदेशी भित्र्याउने नहुने तर्क पनि राख्ने गरिन्छ । श्रीलङ्कामा ३५ प्रतिशत शेयर नै दिएर रणनीतिक साझेदार ल्याइयो । त्यसले संस्थालाई नाफामा मात्रै लगेन, गन्तव्यसमेत विस्तार गरेको उदाहरण छ । दूरसञ्चार संस्थानमा पनि शेयर बेच्ने र कम्पनी बनाउने विषयमा १५ वर्षजति चर्चा भएर एउटा निर्णयमा पुगेको बताउँदै कंसाकारले भने, “व्यवस्थापन सुधारका लागि रणनीतिक साझेदार वा अन्य कुन विकल्प अपनाउने भनेर सरकारले नै निर्णय गर्नुपर्छ ।” महङ्गो हवाई भाडा संसारभरका नागरिक नेपाल घुम्न चाहन्छन् । औसतमा हेर्ने हो भने नेपाल आउन चाहनेले महङ्गो हवाई भाडा तिर्नुपर्छ । भेटेका विदेशी नागरिकले आफू नेपाल आउन चाहे पनि हवाई भाडा असाध्यै महङ्गो भएको गुनासो गर्ने गरेको कंसाकार सुनाउँछन् । उनले त्यसका लागि निगमले सेवा विस्तार गरेर भाडामा समेत हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनलाई लाग्छ भाडामा केही सहुलियत हुने हो भने पोखरा र काठमाडौँमा गोष्ठी तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि मात्रै सयौँ विदेशी संस्था आउनसक्ने अवस्था विद्यमान छ । “थाइल्याण्ड जान सस्तो टिकट छ भने महङ्गो तिरेर कोही पनि नेपाल आउँदैन । पर्यटक भित्र्याउने हो भने त्यसमा ध्यान दिन्नै पर्छ”, उनले भने । संसारभर नै राष्ट्रिय ध्वजावाहकले नै पर्यटक भित्र्याइरहेका छन् । पछिल्लो पटक अष्टे«लियाको क्वान्टस एयरले भारतीय पर्यटकलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गरायो । अष्टे«लियामा भारतीय पर्यटक बढे । नेपाल सरकारले पनि थप पर्यटक भित्र्याउने हो भने यस्तो रणनीति अवलम्बन अनिवार्य रहेको बताउँछन् । पछिल्लो पटक न्यारो बडी जहाजमा घुस दिइएका विषयमा समेत नेपाललगायत भारतका केही व्यक्तिसमेत जोडिएका छन् । एयरबसले आफ्नो प्रवद्र्धनका लागि नेपालका दुई व्यापारीलाई रु चार करोड घुस दिएको विषय चर्चामा आए पनि त्यसमा निगम नजोडिएको जानकारी गराए । “एयर बसको गुणगान गाउनलाई दिइएको थियो त्यो रकम । व्यापारीलाई दिइएको भनेको छ । व्यापारीको धर्म नै पैसा कमाउने नै हो । तर त्यो रकम नेपालभित्र आएको भए देखिनुपर्ने हो,” उनले भने । ‘एयर बस’ र ‘बोइङ’को व्यापारिक लडाईले संसारभर नै प्रभाव परेको भए पनि नेपालमा त्यसले कुनै असर नपारेको उनको ठम्याइ छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठन (आइकाओ) ले नेपाललाई कालोसूचीबाट हटाए पनि युरोपेली सङ्घले कायम राखेको छ । यसप्रति कंसाकारको आपत्ति छ । “एक किसिमले हामी अन्यायमा परेका छौं । आइकाओले कालोसूचीबाट हटाएको छ । युरोपेली सङ्घले हाम्रो फरक मान्यता छ भन्दै कालोसूचीबाट हटाउन अटेर गरिरहेको छ । मान्दैनौं भन्छन् । त्यसलाई हटाउन हामी सबै लाग्नुपर्छ”, उनले भने, “मैले एयर बसका अधिकारीलाई समेत भनेको थिए, हामीलाई कालोसूचीबाट हटाउन सहयोग गर । अहिलेसम्म केही प्रगति भएको छैन ।” निगमको सेवा जापान, दक्षिण कोरियामा विस्तार गर्न खोज्दा हामी आएर हेछौं भन्नुको पछाडि पनि सोही कारण रहेको उनीको बुझाइछ । लण्डनको हिथ्रो एयरपोर्टमा एशियन मुलुकलाई तीन स्लट उपलब्ध गराउने कुरा आएको छ । हामी कालोसूचीमा रहेका कारण निगमले पाउने सम्भावना कम छ । त्यो स्लट पाएको खण्डमा निगमको वाइडबडीले सोझै काठमाडौँ–लण्डन उडान भर्नसक्ने उनको विश्वास छ ।

कोरोनाभाइरसकाे प्रभावले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय )     को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ । माघको पहलो साता नै निर्माण सम्पन्न भइसकेको स्कुल प्रकोप नियन्त्रण भई मानिस आवतजावतमा सहज भएसँगै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ । आवरणमा पुरानै ‘दरबार हाइस्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी माघको पहिलो साता नै निर्माण सम्पन्न भइसकेको थियो । निर्माण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एकपटक अनुगमन गर्नुपर्ने र उहाँहरू कहीले आउने भन्ने विषय यकिन नभएकाले हस्तान्तरणको विषय अन्योलमा परेको हो । अनुगमन टोली माघको तेस्रो साता आउने कार्यतालिका रहे पनि कोरोनाभाइरस प्रकोपका कारण अन्योलमा परेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य पनि सकिसकेको छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन् ।  ८५ करोड रूपैयाँको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ । उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउनुुभयो । “कोरोनाभाइरस प्रकोप सकिएपछि सरकारलाई हस्तान्तरण हुन्छ”, उनले भने । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त हाइस्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । दरबार हाइस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताए । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३ सय  मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे । पछिल्लो समय सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका एक/एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको थियो । रासस

छोरीको बीमा गराउनेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा

काठमाडाैं ।  प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ । प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए । सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा शुरु गरिएको उनले जानकारी दिए  सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ । रासस

आगामी फागुन २१ गतेदेखि ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ हुँदै

काठमाडौं । आगामी फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेपलाञ्चोक शाखाले उक्त मेलाको आयोजना गरेको हो । सबै खाले घरेलु वस्तुको प्रदर्शन गर्ने स्थल ‘कोशेली घर’ निर्माणमा सहयोग पुर्याउने ध्येयले प्रथम पटक सो महोत्सव आयोजना गर्न लागेको हो । बनेपा नगरपालिका–७ उग्रेश्वर महादेव मन्दिर परिसरमा हुने महोत्सवमा १३ वटा नै जिल्लाका घरेलु उद्योगसँग सम्बन्धित उत्पादित वस्तु प्रदर्शनीमा राखिने महासङ्घका अध्यक्ष सुवासना श्रेष्ठले जानकारी दिए । ७० वटा प्रदर्शनी कक्षमा लप्सी, लालीगुराँस, दुग्ध व्यवसायसँग सम्बन्धित वस्तु ट्राउट माछा, महिला उद्यमीले उत्पादन गरेका वस्तु, ह्याण्डीक्राप्टका सामग्री रहने छ । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौं, उद्योग गरौं उद्यमी बनौं उठाउ नेपाललाई’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सव नेपाल सरकार घरेलु तथा साना उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा हुन लागेको हो । सो अवसरमा व्यवसाय/व्यवसायबीचको अन्तक्र्रिया गर्ने, तथा प्रदेशभित्रका महिला उद्यमीको बृहत् भेला गराई सरकारी निकायबाट प्राप्त अवसर सुविधाको बारेमा जानकारी दिँदै उनीहरुको समस्यासमेत पहिचान गरी त्यसको प्रवद्र्धनका लागि के गर्न सकिन्छ भन्ने विषयमा महिला उद्यमीको अवस्था, समस्या र चुनौतीको विषयमा अन्तक्र्रिया गर्ने सो अवसरमा जानकारी दिइयो । आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले भने, “सरकारको समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गरी सहयोग पुर्याउन पनि यो महोत्सवले सहयोग पुग्नेछ ।” महोत्सवमा ८० हजारले अवलोकन गर्ने अनुमान गरिएकोे छ । आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोकमा मात्रै सात हजार ७ सय ५४ उद्यमी रहेका छन् । रासस

सोलुको विद्युत सिराहामा जोडिदै : म्याद थप्दा पनि करिडोरको काम सकिएन

काठमाडौं । सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक पुनः म्याद थप हुने भएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ । सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक आयोजनाले म्याद थप गरेको थियो । सन् २०१६ सेप्टेम्बर २५ देखि काम शुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ । यस्तै, ओखलढुङ्गा जिल्लाभित्र २४, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एक टावरको फाउण्डेशन निर्माणको क्रममा रहेको उनले जानकारी दिए । मिर्चैया–उदयपुर–ओखलढुङ्गा–सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तार लाइनसमेत तानि सकिएको छ । उक्त कार्य अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने र यसका लागि सहयोगका पुर्याउन आयोजना प्रमुख गौतमले अनुरोध समेत गरे । उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने जनाइएको छ । पटकपटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो । सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युतलाई सोलुदुधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । वैकल्पिक मार्गमा समेत जोडिएन सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका छ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । ती मध्ये २३.५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको र ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको विद्युतलाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारण लाइनमार्फत ओखलढुङ्गाको रुम्जाटारमा रहेको विद्युत् प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ । सोही योजनाअनुसार सम्पूर्ण कामसमेत सम्पन्न भइसकेको छ । गत माघ ४ गते सोलुदुधकुण्ड नगरपालिकाको पत्तालेमा सोही केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन । प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत क्षतिपूर्ति (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पिपिए)मा उल्लेख छ । उक्त क्षतिपूर्ति बच्नको लागि वैकल्पिक मार्ग ३३ केभी प्रसारण लाइन प्रयोग गर्ने आयोजनाको योजना समेत विफल भएको छ । विकासमा राजनीतिक प्रतिशोध हुँदा स्थानीय र उद्घाटनमा गएको सांसद टोलीबीच तिङ्लामा झडप भएको थियो । उक्त झडपमा एउटा बोलेरो जीपसहित १३ वटा मोटरसाइकल जलेको थियो । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुखसहित स्थानीयले तिङ्लामा विद्युत् नबालिकन उद्घाटन गर्न नहुने तर्क राख्दै आएका थिए । आयोजकको कमजोर समन्वय र सुरक्षा निकायको निकम्बताको कारण तिङ्लामा करोडौंको क्षति भएको सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राईले बताए। तिङ्ला पत्ताले क्षेत्रमा ग्रामीण विद्युतीकरणकै लागि पोल गाड्ने र तार टाङ्ने काम ७० प्रतिशत सकिएको कार्यालयले जनाएको छ । सोलुखुम्बुको एक नगरपालिकासहित थुलुङदुधकोशी र नेचा सल्यान गाउँपालिकामा यसै वर्ष ग्रामीण विद्युतीकरण गर्ने गरी धमाधम कामसमेत भइरहेको उनले जानकारी दिए। करिब रु ७५ करोडभन्दा बढी बजेटबाट तीन स्थानीय तहमा विद्युत् पुर्याउने गरी काम भइरहेको जनाइएको छ । सोलुखुम्बु जिल्लामा हालसम्म विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । यहाँका नागरिकले प्याल्ट्रिकसेट, माइक्रोहाइड्रोको प्रयोग गरिरहेका छन् । रासस