भारतको उत्तर प्रदेशमा भेटियो तीन हजार टनको सुन खानी
एजेन्सी: भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी सुन खानी भेटिएको छ । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेकाे छ। उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको हाे । अहिले यही रिपोर्टले स्थानीयमा खुसीको लहर ल्याएको हो। रिपोर्टका अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी मिलेको हो। जसको लिलामीका लागि सरकाले प्रक्रिया थाल्न लागेको छ। भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ। तर, यो सुन खानी भेटिएपछि अब भारत विश्वकै दोस्रो धेरै सुन भएको देशकाे रुपमा चिनिने छ। जानकारी अनुसार अहिलेसम्म अमेरिका पहिलो नम्बरमा छ। अमेरिकासँग ८ हजार १ सय ३३.५ टन सुन छ। जर्मनीसँग ३ हजार ३ सय ६६ टन रहेको छ। तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन छ। त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ। उत्तर प्रदेशको सोनभद्र जिल्लामा सुन खानी मिलेपछि त्यहाँको पूरै क्षेत्रमा उत्साहको माहोल छ।
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल बन्ने भएका छन् । परिसंघमा उपाध्यक्षहरु मध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन गर्ने र वरिष्ठ उपाध्यक्ष पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । हाल परिसंघमा अनुज अग्रवाल, विष्णु अग्रवाल, निर्माण चौधरी, कृष्ण प्रसाद अधिकारी, राजेश अग्रवाल, सुलभ अग्रवाल, विरेन्द्रराज पाण्डे उपाध्यक्ष छन् । ७ जना उपाध्यक्ष मध्ये वरिष्ठ उपाध्यक्षमा अनुज, विष्णु, राजेश र सुलभको विशेष रुचि थियो । उनीहरु मध्ये गभर्निङ काउन्सिलमा विष्णुलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको स्रोतले जनायो । प्रकृया पुरा गरी घाेषणा गर्ने भने बाँकी रहेकाे स्राेतले बतायाे । परिसंघका विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनेवाला अध्यक्ष हुन् । अध्यक्ष सतिशकुमार मोरको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल स्वतः अध्यक्ष बन्ने छन् । नियमित साधारणसभा भएमा एक वर्षपछि परिसंघकाे अध्यक्ष अग्रवाल बन्ने छन् । विष्णु अग्रवाल परिसंघको स्थापनादेखि नै सक्रिय र विषेश योगदान गरेको व्यक्ति हुन् । उनी एमएडब्लु इन्टरप्राइजका प्रबन्ध निर्देशक हुन् । यामाहा, जीप, स्कोडा, फियाट लगायत सवारी साधानको व्यापारमा केन्द्रीत एमएडब्लु इन्टरप्राइजले जेसीवी, स्कोट्स, म्यानलगायतको हेवि इक्वीप्टमेन्टको व्यापार समेत गर्दै आएको छ । एमएडब्लुले म्यूजिकल इन्स्र्टूमेन्ट वि एण्ड टीको पनि व्यापार गर्छ । त्यस्तै, अग्रवाल एमएडब्लु इन्भेष्टमेन्ट, एमएडब्लु इन्जिनियरिङ कम्पनीका पनि प्रबन्ध निर्देशक छन् । उनी युनाईटेड फाइनान्स लिमिटेडको संस्थापक र सञ्चालक दुबै हुन् । उनी नेपालका लागि चेक गणतन्त्रको अबैतनिक राजदूत पनि हुन् ।
हुम्लामा भारी हिमपात
काठमाडौं । हुम्लामा पुन: हिमपात सुरु भएकाे छ । बिहानैबाट आकाशमा बादल लागे पनि अहिले हिमपात सुरु भएको हो। हिमपातसँगै चिसो बढेको छ। हिमपात सुरु भएपछि जमिनमा तीन इन्च हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी रहेको बताइएकाे छ । शिवरात्रि भएका कारण बिहान मानिसको चहल पहल शिव मन्दिर जाने बढी भएपनि हिमपात सुरु हुँदा सिमकोट बजारमा मानिसहरुको उपस्थिति निक्कै कम रहेको छ। अग्ला क्षेत्रमा हिमपात बढी भएको छ। वनमा चराउन लगिएका पशुवस्तुहरु पनि हिमपात सुरु भएपछि दिउँसै घरमा ल्याइएको थियो। हुम्ला जिल्ला नवौं पटकको हिमपात हो। गत वर्ष फागुन पहिलो हप्ता ठूलो हिमपात भएको थियो।
नेपालमा हुने भनिएकाे बिमस्टेक र साफ्टा बैठक कोरोना भाइरसको कारण स्थगित
काठमाडौं । याे वर्ष काठमाडौंमा हुने भनिएकाे बिमस्टेक र साफ्टा बैठक स्थगित हुने भएकाे छ । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएकाे कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैठक स्थगित भएकाे जनाइएकाे छ । साफ्टाको बैठक फेब्रुअरी १९ र २० र बिमस्टेक व्यापार सहजीकरणको बैठक पनि २० फेब्रुअरीमा नै हुने भनिएको थियो । बिमस्टेक र साफ्टाले आधिकारिकरूपमा यसबारे केही नबताए पनि कोरोना भाइरसको संक्रमण बढेसँगै बैठक स्थगित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्रोतले बताएको छ । बिमस्टेक सचिवालयले माघको अन्तिम साता परराष्ट्र मन्त्रालयलाई पत्र काटेर बैठक स्थगित भएको जानकारी दिएको थियो । सचिवालयले भने यसै साता परराष्ट्र मन्त्रालयलाई बैठक स्थगित गर्ने निर्णय सुनाएको छ । बिमस्टेकले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाइसकेको छ । साफ्टाले लेखेको पत्र भने मन्त्रालय पुगिसकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले केही दिनमा नै साफ्टाको पत्र पनि आइपुग्ने बताए । बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा आगामी २० फेब्रुअरी २०२० मा काठमाडौंमा आयोजना गर्ने भनिएको वर्कशप फर दी स्टडी अन ट्रेड फ्यासिलेटेसन एजेन्डा फर बिमस्टेक हाललाई स्थगन गरिएको भनिएको छ । उक्त पत्रमा मिति तोकेर मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरिएको छ । पहिलो पटक हुन लागेको बिमस्टेकको व्यापार सहजीकरण बैठक स्थगित हुनुको कारण कोरोना भाइरस नै भएको बताइएको छ । साफ्टाको बैठक रोकिनुलाई भने कोरोनाको डरसँग मात्र लिन नहुने मन्त्रालय स्रोत बताउँछ । यसमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिनुलाई समेत एउटा कारण मानिएको छ । यसपटक कोरोनाको कारण बैठक रोकिए पनि यसअघि भारतकै कारण पटक पटक साफ्टाको बैठक रोकिएको थियाे ।
आज रातभर पशुपतिनाथको चारै ढोका खुला हुने
काठमाडौं । आज रातभर दर्शनार्थीका लागि पशुपतिनाथको चारै ढोका खुला हुने भएकाे छ । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेकाेले उक्त व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए । साथै, पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार शुक्रबार दिउँसो २ः३० बजेसम्म करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरकाे दर्शन गरेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको उनले बताइन् । आफन्त छिराउनकै लागि केही मानिसले स्वयंसेवकको बिल्ला लिएको अनुभव उनले थपिन् । कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छिर्यो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ । कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले विगत दुई वर्षको अनुभवले यो नियमलाई कार्यान्वयन गर्न सहज भएको बताए । स्वयंसेवकका नाममा केही मानिसले बदमासी गरेको प्रमाणित भए अर्कोपटकदेखि कारवाही गरिने उनले सुनाइन् । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपति क्षेत्रमा यस वर्ष भक्तजन प्रवेशमा गरिएको व्यस्थाको निरीक्षण गरेका छन् । कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो । पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले सुनाए । बिहान आधा घण्टामै दर्शन गरेर फर्केका दर्शनार्थीले दिउँसो भने एक घण्टासम्म समय लागेको बताए । मन्दिर क्षेत्र प्रवेशका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरीरुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड बढ्दै गएको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ । दुई वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए । बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गर्नुहुने कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ गई पूजा आराधना गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ । रासस
जीवननै समाप्त भयो भनेर सोच्नेहरुको पनि उपचार सम्भव बनायौंः रुपेश अधिकारी
काठमाडौं । स्पार्क हेल्थ होम आफ्नो स्थापनाको २७औं वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गर्दैछ । सिमित श्रोत साधन र सानो कोठाबाट सुरु भएको यो संस्थाले नेपालमा प्राकृतिक चिकित्सालाई सुरु गरेको थियो । वि.स २०४८ सालबाट निरन्तर सेवा संचालन गरिरहेको छ । २८ वर्षको यो अवधिमा धेरै मानिसले सेवा लिइसकेका छन् । हाल अस्पतालले के कस्ता सेवाहरु दिइरहेको छ ? र सेवाग्राहीको उपस्थिति कस्तो छ भन्ने लगायतका विषयमा आधारित भएर विकासन्यूजकी डोमी शेर्पाले विगत १५ वर्षदेखि कार्यरत स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीसँग कुराकानी गरेकी छन् । प्राकृतिक चिकित्सक पद्धति र फिजियोथेरापी भनेको के हो ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी एक अर्काका परिपुरक हुन् । फिजियोथेरापी पनि स्वतन्त्र किसिमले उपचार गरिने पद्धति हो । फिजियोथेरापीमा एकदमै न्यून औषधिको प्रयोग गरेर उपचार गरिन्छ । यी दुवैमा मानिसलाई हानीरहित उपचार पद्धतिको प्रयोग गरिन्छ । त्यस्तै, प्राकृतिक चिकित्सा पद्धतिमा माटो, पानीबाट उपचार गरिन्छ । व्यायम, मसाज थेरापीबाट उपचार गरिन्छ । यी विभिन्न किसिमको उपचार पद्धतिहरु राखेर फिजियोथेरापीले प्राकृतिक चिकित्सा पद्धतिले फरक तरिकाले उपचार गरिन्छ । कुन–कुन स्थानमा हाल स्पार्कले सेवा दिदैँछ ? काठमाडौंमा मात्र स्पार्क हेल्थ होमको सतुंगल, चाबाहिल, सुर्यबिनायक र सोल्टीमोडमा गरेर ४ वटा शाखा रहेका छन् । सोल्टीमोडमा यसको प्रमुख कार्यलय रहेको छ । काठमाडौंबाहिर विराटनगर, बिर्तामोड, धरान, कास्की र दमौलीबाट यसले सेवा दिँदै आएको छ । यहाँहरुले प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापीबाट हुने उपचार गर्नु पर्छ भन्ने मनासाय कसरी बनाउनु भयाे ? यो संस्था सुरुमा योग तथा प्राकर्तिक अनुसन्धानको रुपमा सुरु भएको थियो । अध्यक्ष टंकनाथ पौडेल, प्रबन्ध निर्देशक हरिशरण रिजाल र ईन्चार्ज संगिता श्रेष्ठले संस्थाको सुरुवात गरेका थिए । जुन उद्धेश्यले सुरुवात भएको थियो त्यही अनुरुप अगाडि बढाइरहेका छौं । कस्तो रोग लागेको मानिसलाई यो उपचारको पद्धतिबाट सञ्चो हुन्छ ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी हुने उपचार धेरै किसिमको हुने गरेको छ । विशेष गरेर हाल अस्पतालको सेवामा मानिसहरुले नर्सने रोगहरु जस्तै प्यारालाईसिस, पक्षघात, हाडजोर्नी, नशाका समस्या, हड्डी खिइने, युरिक ऐसिड, पेटसँग सम्बन्धित विभिन्न समस्याहरु, स्पोर्टस ईन्ज्युरीको रिहाबिलिटेसनका प्याकेजहरु सबैभन्दा बढि रुचाएका छन् । उनीहरुले यो पद्धतिबाट उपचार गराएपछि सञ्चो भएका छन् । तपाईले एकदमै सम्झन लायक केसहरु केही छन्, जसको उपचार यहाँ आएपछि मात्र सम्भव भयो ? त्यस्ता केसहरु धेरै ने छन् । हामीले लगभग एक वर्षमा ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिन्छौं । त्यसमा ९० प्रतिशत सेवाग्राही हामीबाट सन्तुष्ट छन् । कहिले उठेर हिँड्न नसकेर आएका मानिसहरु हिँडेर गएका छन् । जिवन नै समाप्त भयो भनेका मानिसहरु हाँसी खुसी घर फर्किएका छन् । अन्य प्राकृतिक उपचार पद्धतिबाट सेवा दिने अस्पतालहरुको दाँजोमा तपाईहरु कहाँ हुनुहुन्छ? पछिल्ला समय चिकित्सा पद्धतिबाट उपचार गर्ने संस्था खोल्न बाढी नै आए जस्तो भएको छ । हामीसँग रजिस्टर्ड प्राविधिक, चिकित्सक, कर्मचारीको राम्रो टिम छ । राम्रो वातवरण, राम्रो उपकरणहरुको प्रयोग गर्दै हामीले सेवा दिइरहेका छौं । विभिन्न देशबाट यही विषयमा मास्टर्स सिध्याएर आएका एकदमै पोख्त चिकित्सकहरु एकै छानामुनि रहेको कारण हामी अन्यको दाँजोमा धेरै माथि छौं । हामी सरह पनि केही संस्थाहरु हुनुुहुन्छ । त्यही पनि फिजियोथेरापी पद्धतिमा सबैभन्दा धेरै कर्मचारी, पुर्वाधार र लगानीको कारणमा नेपालकै नम्बर एक र सबैभन्दा पहिला रजिस्टर्ड संस्थामा पर्दछौं । अगामी दिनमा के गर्ने योेजना छ ? आगामी दिनमा हामीले अत्याधिक व्यस्त रहेका मानिसहरुलाई केन्द्रित गर्दै आउँदो बैशाखबाट डिलक्स उपचारको सेवा सुरु गर्ने भएका छौं । यस अन्तगर्त अति व्यस्त रहने मानिसले अपाेइमन्६ जुन पनि समयमा सेवा लिन पाउनेछन् । यस्तै स्पा थेरापी भनेर भिन्नै स्पाका प्याकेजमाहरु हामी ल्याउँदैछौं । प्राकृतिक चिकित्सा र अकुपन्चर जियोथेरापीलाई सिटिइभिटी सँग समन्वय गरेर त्यसका कक्षाहरु संचालन गर्न तयारी गर्दैछौं । काठमाडौंमा थप शाखा विस्तार गर्नलाई ठाउँहरु हेर्दैछौं । यो सेवालाई अझ व्यवस्थित किसिमले संचालन गर्न ऐलोपेथी, आर्युवेदका विज्ञहरु, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागहरुसँग समन्वय गर्न र सर–सल्लाह लिने र वृहत तयारीमा छौं ।
प्रतिकूल मौसमले अधिकांश हवाई उडान अवरुद्ध
काठमाडाैं । प्रतिकूल मौसमका कारण शुक्रबार मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँ विमानस्थलको भिजिविलिटी कम छ । बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ । विराटनगर विमानस्थलको सेवा पनि प्रभावकारी भएको छैन । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार मौसममा आएको खराबीले खासगरी हिाली र पहाडी क्षेत्रका विमानस्थल तथा तराईका केही विमानस्थमा उडान सञ्चालनमा कठिनाइ भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका कतिपय स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा २९ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अहिले काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको छ । आज राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम नौ दशमलव छ र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस
बागलुङ्गमा मोटरहेडकाे नयाँ शोरुम, विभिन्न ५ मोडलका बाइक पाइने
काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडले बागलुङ्गमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि झपेन्द्र बहादुर जि.सी. र कम्पनीका बिजनेश डेभलपमेन्ट हेड साइमन रसाईलीले संयुक्त रुपमा गरेका हुन् । राजेश जि.सी.को स्वामित्वमा रहेको उक्त ‘सावित्री अटोमोबाईल डिलरसिप’ मा मोटरहेड कम्पनीका सबै प्रकारका मोडेलहरु उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यस शोरुममा हाल ५ थरी मोडेलका मोटरसाईकलहरु उपलब्ध रहेको छ । जसमा १५० सीसीदेखि २५० सीसीसम्म रहेको सावित्री अटोमोबाइल्सका सञ्चालक राजेश जि.सी.ले जानकारी दिएका छन् । नेपाली भौगोलिक बनावटलाई लक्षित गर्दै बनाइएको उक्त मोटरसाईकलहरुले न्यूनतम मूल्यमा ग्राहकहरुको चाहनालाई पूरा गरिरहेको मोटरहेड ब्राण्डका विजनेश डेभलपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।