विकासन्युज

स्पार्क हेल्थ होमले पत्रकार पौडेललाई दियो एक लाख सहयोग

काठमाडौं । स्पार्क हेल्थ होम हस्पिटलले पत्रकार कमल पौडेललाई १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं वार्षिकाेत्सवको अवसरमा रक्त क्यान्सरका बिरामी पत्रकार पौडेललाई कार्यक्रममा लाग्ने खर्च १ लाख प्रदान गरेको हो । पत्रकार पाैडेलका छाेरालाई सहयाेग रकम प्रदान गरिएको थियो । पत्रकार पौडेलले आफुहरुलाई गरेको सहयोग कहिले नबिर्सिने अस्पतालका मेडिकल डिरेक्टर डा. सुनिल पौडेलले बताए । यस्तै पेटका क्यान्सर लागेका अस्पतालमा १२ वर्ष देखि कार्यरत कर्मचारी काजी महर्जनलाई पनि अस्पतालले दोस्रो चरणको सहयोग स्वरुप ५० हजार सहयोग गरेको छ । यस्तै अस्पतालले वार्षिकाेत्सवको अवसरमा नि शुल्क हाड जोर्नी तथा नशा शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । १ सय २ जनाले नि शुल्क स्वास्थ्य परिक्षण गराएका थिए भन्दा ४२ जनाले रक्तदान गरेका थिए । विगत २८ वर्ष देखि प्राकृतिक चिकित्सामा सेवा प्रदान गर्दै आएको अस्पतालको हाल काठमाडौंको सतुंगल, चाबाहिल, सुर्यबिनायकऽ सोल्टीमोडमा गरेर ४ वटा शाखा रहेका छन् । सोल्टीमोडमा यसको प्रमुख कार्यलय रहेको छ । काठमाडौंबाहिर विराटनगर, बिर्तामोड, धरान, कास्की र दमौलीबाट यसले सेवा दिँदै आएको छ ।

प्रिमियर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने, यस्तो छ कारण

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको हो । नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा सो वर्षको वित्तीय विवरण अनुसार लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने इन्स्योरेन्सका कम्पनी सचिव महेन्द्र बहादुर श्रेष्ठले बताएका छन् ।

निजगढ विमानस्थलभित्र लुकेको पक्ष, जुन कहिल्यै चर्चामा आएन

काठमाडौं । सरकारले निजगढ विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको अर्को वैकल्पिक विमानस्थलका रुपमा लिएको छ । तर, यो विमानस्थलको जुन रुपमा प्रचार प्रसार गरिएको छ त्यही अनुरुप कार्यशैलीमा भने कुनै प्रगति र परिवर्तन देखिँदैन । विगत २५ वर्षदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भन्ने हल्ला मात्र भयो । तर, त्यस अनुसारको व्यवस्थापन र तयारी भने न सरकारी स्तरबाट भयो न त स्थानिय नागरिकबाट नै । सरकारले जुन उद्देश्यले मुलुकको राष्ट्रिय गौरवको आयाेजनाको रुपमा निजगढलाई अगाडि सार्यो त्यो अनुसारको रणनीति र व्यवस्थापनमा कमजोर भने अवश्य नै भएको हो । स्थानिय नागरिकको अवरोधमै सरकार रुमल्लियो । उनीहरुलाई प्राविधिक पक्षको ज्ञानप्रति सजग र जानकार बनाउनु पर्छ भन्नेतर्फ सरकारले कहिल्यै सोचेन । बरु विमानस्थललाई राजनीतिक मुद्धा बनाएर स्थानियका समस्याहरु समाधान गरी विमानस्थल बनाउँछौं भन्नेतर्फ राजनीतिक दलहरु सक्रिय बने । २५ वर्ष अगाडि प्रस्तावित बारा जिल्ला अन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रको उपयोग, २०औं लाख नेपाली जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष परोक्ष रोजगारी तथा नेपाली जनताको समृद्ध भविष्यका लागि कोशेढुंगा बन्ने भनियो । तर, यसको उपयुक्तता, औचित्यता र आवश्यकताको बारेमा विश्वसनीय तथ्य र प्राविधिक ज्ञानप्रति भने कहिल्यै प्रष्ट पारिएन । यसमा लुकेको पक्ष के हो ? नेपालमा भएको एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्न असम्भव छ । यसको वैकल्पिक रुपमा निजगढलाई हेरिएको छ । हवाई ट्राफिकका रुपमा पनि त्रिभुवन विमानस्थलमा समस्या छ । तर, निजगढ बनेपछि त्यो समस्या आफै हट्ने जानकारहरु बताउँछन् । निजगढ  विमानस्थलले कार्बन उत्सर्जन घटाई वातावरणीय पक्षमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने छ भने हिमालय रुट कार्यान्वयनमा ल्याउनमा पनि सहयोग गर्ने जानकारहरु बताउँछन् । उडानको सिट क्षमता, यात्रु संख्या, कार्गो तथा इन्धन खपतको आधारमा कार्बन उत्सर्जनको हिसाव निकालिने कार्बन इमिसन क्याल्कुलेटका अनुसार काठमाडौंदेखि हंगकंङसम्मको १५० यात्रु बोकेको उडानले झन्डै ३२.६ टन कार्बन उत्सर्जन गर्ने देखिन्छ । चार घण्टाको उडानमा यति कार्बन उत्सर्जन हुन्छ भने कम उचाइमा होल्डमा रहेको विमानले त झन बढी कार्बन उत्सर्जन गर्ने निश्चित छ । तर, निजगढ विमानस्थलबाट काठमाडौंको होल्डिंगको वातावरणीय प्रभावलाई सजिलै अन्दाज गर्न सकिन्छ । निजगढ विमानस्थल नै यो समस्याको सजिलो समाधान हुने भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । यो विमानस्थलले देशलाई मात्र होइन बंगालको खाडी भएर जाने हवाई ट्राफिकको चापलाई समेत कम गरी क्षेत्रीय उडान सुरक्षामा समेत अतुलनीय योगदान गर्ने पोखरेल बताउँछन् । तर, यी  पक्ष भने सधै गुपचुपमा रहे । निजगढ विमानस्थल अन्य देशको जस्तै एउटा महत्वपूर्ण ट्रान्जिट हबको रुपमा प्रवद्र्धन गराई देशको भौतिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिने देखिन् छ । एसियाली विकास बैंकको एउटा प्रतिबेदनका अनुसार यो विमानस्थलाई निर्माण गरेर सञ्चालनमा ल्याउन सके सगरमाथा दृश्यावलोकनको एउटा महत्वपूर्ण रुटको रुपमा प्रवद्र्धन गर्न सकिने उल्लेख गरिएको छ । निजगढ विमानस्थल निर्माण हुनुपर्ने पडाडिका धेरै आधारहरु छन् । त्यसमध्ये पनि यसको उपयुक्त भूवनोट, जिरो भिजिविलिटीको सुविधा राजधानीसँगको दूरी कम भएकोले पनि यो निर्विकल्पकाे विमानस्थल हो । निजगढ विमानस्थल र यसको अन्तर्राष्ट्रिय पक्ष सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई एउटा हब विमान स्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । तर, त्यो अनुरुप तयारीमा भने कमजोर अवश्य नै देखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले विभिन्न सभासमारोहमा विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निर्माण गर्ने, स्थानिय वा जो कोहिले अवरोध गरेपनि बलजफत् तरिकाले विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने बोल्दै आएपनि त्यो भने लागु गर्न सकेका छैनन् । भारतको उत्तर पूर्वी हवाई आकाश अर्थात नेपालको दक्षिणी भाग संसारकै अत्यधिक हवाई चाप हुने मध्येको मानिन्छ । यहाँबाट हंगकंग, बैंकक र सिंगापुरजस्ता दक्षिण पूर्वी एसियाका गन्तव्यहरुबाट बंगालको खाडी र उत्तर पूर्वी भारत हुंदै दिल्ली तथा त्यहाँबाट मध्यपूर्व तथा युरोप र अमेिरकी गन्तव्यहरुको लागि दिनमै सयौं उडानहरु आउने जाने गर्दछन् । यो छोटो र सिधा रुट भएको कारण सबैको सरोकारको विषय बनेको छ । निजगढ विमानस्थल बनेमा तुरुन्तै कार्यान्वयनमा आउन सक्ने यो हिमालय रुट देशको भविष्य हो । हिमालय रुट कार्यान्वयनमा आएपछि यसले बिश्व वातावरणमा ल्याउने सकारात्मक प्रभाव पनि उतिकै महत्वपूर्ण छ । हंगकंङदेखि काठमाडौं, दिल्ली, मुम्बई तथा मध्यपूर्वी मुलुकहरुको लागि हप्तामा झन्डै १ सय वटा नियमित यात्रु उडान र त्यतिकै संख्यामा कार्गो उडान हुने गर्छन् । प्रत्येक उडानमा एकतर्फी १ सय ९२ किलोमिटर छोटो पर्न जाने भनेको १५ मिनेट भन्दा बढी उडान अवधि घट्नु हो । एउटा मध्यम वर्गको जेट विमानले १ घण्टामा न्यूनतम २ हजार २ सय लिटर र ठूलोले ११ हजार ८ सय लिटरसम्म इन्धन खपत गर्दछ । यो रुट संचालनमा आएमा यसबाट वार्षिक ४ हजार ८ सय ६७ टन इन्धन बचत हुने देखिन्छ भने वार्षिक झन्डै ३९ हजार टन कार्वन उत्र्सजन घटाउन टेवा दिने पोखरेलको भनाइ छ । विदेशी वायुसेवाले नेपाली आकाश प्रयोग गरेवाफत करोडौं रुपैयाँ आयआर्जन गर्न सकिने पनि उनले बताए । देशको वातावरणीय आर्थिक र सामाजिक पक्षबाट निजगढ विमानस्थल अपरिहार्य भएको जानकारहरु बताउँछन् । हालसम्मको प्रगति के छ ? आर्थिक वर्ष २०७१/७२ मा शुरु भई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने अपेक्षा गरिएकोमा संशोधित कार्य तालिका अनुसार आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गने लक्ष्य रहेको छ। यस आयोजनाको कुल अनुमानित लागत १ खर्ब २० अर्ब रहेको छ। लगानी बोर्डबाट आयोजना निर्माण मोडालिटिको बारेमा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाका लागि चालु आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५० करोड बजेट विनियोजन भएकामा हालसम्म खर्च भएको छैन।

यूनाईटेड फाइनान्सले ल्यायो सिल्भर जुब्ली बचत खाता, कृषि कर्जा पनि सजिलै दिने

काठमाडौं । युनाईटेड फाईनान्सले सिल्भर जुब्ली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरी सञ्चालनमा ल्याएको हो । संस्थाले आइतबार विभिन्न कार्यक्रम गरी २५औं वाार्षिकोत्सव मनाएको छ । प्रभातफेरीबाट सुरु भएको कार्यक्रम काठमाडौं लगायत संस्थाका २३ वटै शाखा कार्यालयहरुबाट रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जसमा ४० जनाले रक्तदान गरेका संस्थाले जानकारी दिएको छ । साथै, संस्थाले सो अवसरमा खाध्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निमार्ण लगायतका विभिन्न सामाजिक कार्यहरु संचालन गरेको थियो । यससँगै, संस्थाको वार्षिकोत्सवको थप कार्यक्रम आइतबार(आज) ६ बजे याक एण्ड यती होटलमा हुँदै छ । नेपालकै प्रतिष्ठित भरानाहरुबाट प्रवद्र्धित पुरानो मध्येको यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । हाल कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ् सेवा प्रदान गर्दै आईरहेको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी वैशाख २ गतेदेखि सुरु, यस्ता छन् हालसम्मका कार्ययोजना

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी पनि २०७७ वैशाख २ गतेदेखि सुरु गर्ने प्रस्ताव प्राज्ञपरिषद्बाट दशौं प्राज्ञसभामा पेश भइ अनुमोदन भइसकेको छ । तीन हप्तासम्म चल्ने प्रदर्शनीको तयारीका लागि २०७६ चैत्र २४ गतेदेखि नेपाल कला परिषद्, बबरमहलमा हल बुक गरिसकिएको छ । माघ २२ गतेको प्राज्ञपरिषद् बैठकबाट कुलपति के.के. कर्माचार्य, अध्यक्ष उपकुलपति गोपाल चित्रकार सह–अध्यक्ष तथा सदस्य सचिव विपिन कुमार घिमिरे सचिव रहने गरी ६५ सदस्यीय मूल आयोजक समिति गठन तथा समितिको काम कर्तव्य र अधिकार निर्धारण गरिएको छ । विभिन्न समाचार माध्यममा राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रदर्शन गर्न विभिन्न कलाकारहरुका कलाकृति एक महिनाभित्र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुझाउन आह्वान गर्नका साथै सहभागिता जनाउने कलाका विधाहरु, प्रदर्शनीसम्बन्धी नियमहरु, कलाकृतिको मापदण्ड र कलाकृति तथा कलालेखन र कलापत्रकारितालाई दिइने पुरस्कारहरुको विवरणसमेत उल्लेख गरी सूचना प्रकाशित गरिएको छ । जस अनुरुप २०७६ फागुन १३ गतेभित्र कलाकृतिहरु यस प्रतिष्ठानमा बुझाइ सक्नुपर्ने हुन्छ । तर अपेक्षा गरे अनुरुप कलाकृतिहरु प्राप्त नभएको हुँदा बुझाउने म्याद ७ दिन अर्थात् २०७६ चैत २० गतेसम्मका लागि थप गरिएको व्यहोरा जानकारी गराइएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि २०७७ निमार्ण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । २०७६ फागुन ०२ गते बसेको मूल आयोजक समितिको बैठकबाट उपकुलपति गोपाल चित्रकारको संयोजकत्वमा सदस्य सचिव विपिन कुमार घिमिरे सचिव तथा विभिन्न सात वटा उपसमितिका संयोजकज्यूहरु सदस्य रहने गरी कार्यसमितिको गठन गरी सो कार्यसमितिको काम, कर्तव्य र अधिकारसमेत तोकिएको छ । त्यसरी नै प्रस्तावित सात वटा उपसमितिका संयोजकज्यूहरु (सबै प्राज्ञपरिषद् सदस्य रहने) को नाम तथा उप–समितिको काम, कर्तव्य र अधिकार समेत बैठकबाट अनुमोदन गरिएको छ । २०७६ फागुन ६ गते बसेको कार्यसमितिको बैठकबाट विभिन्न उपसमितिका सदस्यमा उपसमितिका संयोजकबाट प्रस्तावित नामावली अनुमोदन गरिएको छ । यसअघिदेखि नैै विभिन्न उपसमिति संयोजकको आ–आफ्नो उप–समितिको काम कारवाही सम्बन्धमा गृहकार्य सुरु गरिसकिएको छ र विभिन्न उपसमितिका बैठक बसी कार्य योजनाहरु बन्दै गरेको अवस्था छ । यसमध्ये प्रचार प्रसार उपसमितिको २०७६ फागुन ७ मा बसेको बैठकको निर्णय अनुसार नै यो पत्रकार सम्मेलन भइरहेको छ भने विविध कला गतिविधि व्यवस्थापन उपसमितिको बैठक २०७६ फागुन ८ मा बसी कार्ययोजना तयार गरेको छ । त्यसरी नै कलाकृति संकलन उप–समितिका संयोजकबाट निकै अगाडिदेखि नै कलाकृति संकलनको कार्ययोजना बनाई आवश्यक पहल गरिरहेका छन् । अन्य उप–समितिबाट पनि आ–आफ्नो जिम्माको कार्यको कार्ययोजना बनाई कार्य अघि बढिरहेको छ । पुरस्कारको सम्बन्धमा माथि उल्लेख भएबमोजिम माघ १४ गते प्रकाशित सूचनामा विस्तृत विवरण दिइएको भएता पनि यहाँ जानकारीका लागि प्रस्तुत गरिएको छ । क. ललितकला विधा १. क) परम्परागत चित्रकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष)  २५ हजार रूपैयाँका दरले दुई जनालाई ख) आधुनिक चित्रकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँ तीन जनालाई २. क) परम्परागत मूर्तिकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) रु. २५ हजार रूपैयाँ दुई जनालाई ख) आधुनिक मूर्तिकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष)  २५ हजार रूपैयाँ दुई जनालाई ३. हस्तकला/शिल्पकला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष)२५ हजार रूपैयाँ दुई जनालाई ४. लोककला (राष्ट्रिय) ६० हजार रूपैयाँ एक जनालाई (विशेष) २५ हजार रूपैयाँ दुई जनालाई ५. वास्तुकला तथा सृजनात्मक कला (राष्ट्रिय)६० हजार रूपैयाँ दुई जनालाई (विशेष)२५ हजार रूपैयाँ चार जनालाई ख. कला लेखन १. राष्ट्रिय ललितकला लेखन पुरस्कारः रु. २५ हजार रूपैयाँ एक जनालाई । २. राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारःरु. २५ हजार रूपैयाँ एक जनालाई । ग. प्रादेशिक पुरस्कारःदफा ४ (क) मा उल्लेख भएको कलाका ५ विधामध्ये उत्कृष्ट कलालाई प्रत्येक प्रदेशबाट १/१ जना गरी ७ प्रदेशबाट २५ हजार रूपैयाँका दरले ७ जनालाई दिइनेछ ।  

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई रोयल कटेजमा १५ प्रतिशत छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले रोयल कटेजमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा पुष्टि भयोः महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भएको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले वर्तमान सरकारको भ्रष्टाचारबारे बाँस्कोटाको टेप प्रकरण त सानो ईपिसोडमात्रै भएको टिप्पणी गरे । उनले भने,‘यो सरकारको अरु धेरै काण्डहरु छन् । अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन् । सरकारले जनतालाई नारामात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौं काण्डमा फसेको आरोप लगाए । उनले भने,‘गोकुल बाँस्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ । यो प्रकरणमा गम्भिर छानबिन हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जवाफ दिनुपर्छ । हामीले यो प्रकरणमा विरोध गरिरहेका छौं । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होईन, सबै भ्रष्टाचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ । समग्र काण्डमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ ।’ महतले एमसीसी नेपालको हितमा रहेको बताउँदै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने आफूहरुको भनाई रहेको सुनाए । उनले भने,‘यसमा कुनै सैन्य गठबन्धनको कुरा छैन । तर, नेपालमा त नभएको कुरा अफवाह फैलाउने गरिएको छ । यो दुःखद् कुरा हो ।’ अमेरिकी सहयोग एमसीसीमार्फत नेपालमा आउने सहयोग अनुदान भएको सुनाउँदै यो नेपालले प्राथमिकता गरेको क्षेत्रमा खर्च हुने महतको भनाई छ । उनले भने,‘नेपालको विकासमा यति ठूलो रकम अनुदान आएको यो पहिलो हो, त्यो पनि नेपालले नै छनौट गरेको योजनामा लगानी गर्ने कुरा छ । यसमा आपत्ति मान्नुपर्ने केही कारण छैन ।’ उनले एमसीसीको अनुदानले नेपालको प्रशारण लाईनमा ठूलो टेवा पुग्ने विश्वास दिलाए । उनले एमसीसीको बारेमा अनावश्यक विरोध गर्न नहुने धारणा राखे । उनले भने,‘नेपालले आफ्नो देश हेरेर विदेश नीति अख्तियार गर्ने हो, अरु देश हेरेर विदेश नीति बनाउने होईन् । के हामीले भारत, चीन र अमेरिकासँग बेग्ला–बेग्लै मापदण्ड राख्ने हो ?, एमसीसी अहिलेदेखि सुरु भएको कुरा होईन, यसमा सबै दल संलग्न छन् । सबैको सहभागिता छ । सन् २०१७ मा एमसीसीको कम्प्याक्ट सम्झौता भएको हो, सन् २०२० मा आएर उहाँहरुले राष्ट्रघाती देखे । तीन वर्ष के हेरेर बस्नुभयो ? समस्या त मानसिकतामा छ ।’ उनले एमसीसीमा कुनैपनि कुरा आपत्तिजनक नभएको जिकिर गरे । उनले भने,‘यसलाई संशोधन गर्नुपर्छ भन्ने हामीलाई लाग्दैन् । हामीले त्यो अनुदान सहयोगलाई सदुपयोग गर्नुपर्छ । यसमा पारदर्शीता अपनाउनुपर्छ ।’ विगतमा अरुण तेस्रो विद्युत परियोजना तुहाईएको जस्तै एमसीसी पनि गुमाउने खतरा आएको उनको भनाई छ । उनले नेकपाले सरकारमा हुँदा एउटा कुरा र सरकारमा नहुँदा अर्कै कुरा गरेको टिप्पणी गरे । उनले भने,‘हामी त राष्ट्रहित देख्छौं । यहाँ ऋषिजीले एमसीसी पारित गर्न कांग्रेसलाई किन हतार ? भन्नुभयो, हामी जे कुरा हो, त्यही भन्छौं । जनतालाई दिग्भ्रमित पार्दैनौं । हामी प्रचार र प्रोपोगाण्डामा विश्वास गर्दैनौं ।’ उनले अहिले एमसीसी तुहाउने प्रपञ्च भैरहेको गम्भिर आरोप लगाए । गोकुल प्रसाद बाँस्कोटाको बारेमा प्रधानमन्त्रीले तुलोको एकातिर गोकुल र अर्कोतिर सबै राख्दापनि गोकुल नै भारी हुने भनेर बोलेको कुराबट पनि भ्रष्टाचारमा गोकुल एक्लैको हात नभएको उनको टिप्पणी छ । उनले भने,‘अहिले त प्रधानमन्त्रीलाई आफ्नो बोली आफैंलाई भारी भएको छ । यो सरकार काम चाहीँ उल्टो उल्टो गरिरहेको छ । कामभन्दा बढि गफ गरिरहेको छ ।’

सुविसुले शुरु गर्यो १००जी अप्टिकल नेटवर्क

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले नोकियाको सहकार्यमा १००जी अप्टिकल नेटवर्कको कार्य विस्तार गरेको छ । समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो । यसबाट उपभोक्ताले आफ्नो ब्यान्डवीथ वानजीबीपीएससम्म विस्तार गर्न सक्नेछन् । यसको शुरुवातसँगै हाइ स्पिड इन्टरनेट र हाइ डिफिनेशन इन्टरनेट प्रोटोकल(आइपीटिभी) को सेवा लिन सक्नेछन् । देशको ११ स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्विच(पिएसएस), डेन्स वेभलेन्थ डिभिजन मल्टीप्लेक्सिङ(डिडब्लुडिएम) विस्तार गरिसकेको छ । यसबाट ग्राहककाे बदलिंदो मागलाई पुर्ति गर्नुका साथै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्नेछ । नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको छ । नोकियाका बिनिस बाबाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन् । आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनीसँगै ग्राहकको बदलिदो मागलाई सजिलैसँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गरेका छन् ।