विकासन्युज

करको विषयमा म अलि कठोर नै छुँ साथीहरुः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री एवम् सूचना संचार तथा प्रविधि मन्त्री डा. युवाराज खतिवडाले आफू करको विषयमा कठोर रहेको बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘करको विषयमा म अलि कठोर नै छु साथीहरु, यो बुझिदिनु होला, कर भनेको कमाउन सक्नेबाट लिने र कमाउन नसक्नेलाई दिने हो, तपाईहरु खाली कर छुट, कर छुट मात्र भनिरहनु हुन्छ,’ अर्थ मन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. खतिवडाले भने । जीवन बीमा कम्पनीहरुले जीबन बीमा गरेको रकममा कर छुटको सीमा बढाउनु पर्ने बताउँदै आएका छन् । अहिले जीबन बीमा गरेको रकमबाट वार्षिक २५ हजार रुपैयाँसम्म घटाएर आयकर छुट पाउन सकिन्छ । बीमा कम्पनीहरुले यो रकम बढाएर ५० हजार रुपैयाँ बनाउन माग गरिरहेका छन् । बीमा गरेको रकम जम्मा भएर राष्ट्रिय महत्वका परियोजना पनि बनाउन सकिने भएकोले कर छुट दिएर बीमामा आकर्षण बढाउनु पर्ने कम्पनीहरुको भनाइ छ । तर, कर छुट दिदाँ राजस्व संकलन प्रभावित हुने भन्दै सरकारले सीमा बढाउन चाहिरहेको छैन । देशमा सम्पन्न तथा विपन्न दुर्व वर्गका नागरिक रहने र सरकारले दुवैलाई सम्बोधन गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । साथै, हरेक क्षेत्रको जोखिम बहन गर्ने भएकाले बीमा बजारमा सबैले आफ्नो सकारात्मक भुमिका खेल्न आवश्यक रहेको उनले सुझाए ।

स्टार इंडिया ग्रुपद्वारा ‘स्टार इन्टरनेशनल ऐजुकेशन अवार्ड’ वितरण, विभूषित भए ९ जना कलाकार

काठमाडौं । स्टार इंडिया ग्रुपले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री साङ्गीतिक कार्यक्रम तथा स्टार इन्टरनेशनल एजुकेशन अवार्ड २०२० सम्पन्न गरेको छ । उक्त कार्यक्रम डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा भएको थियाे । कार्यक्रममा भारतबाट आमन्त्रित ९ प्रतिष्ठित कलाकारहरूलाई भारत गौरव रत्न अवार्डबाट विभूषित गरिएको छ । उक्त कलाकारहरूको समूहको विभिन्न प्रस्तुति हेर्नको लागि एक हजार बढी उपस्थित थिए । भारत गौरव रत्न अवार्ड २०२० बाट विभूषित हुने कलाकारहरूको सूचीमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादव, आभा वामबुरकर र सुनिता जमडाडे छन् । कार्यक्रमका प्रमुख अतिथि स्टार इंडिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र भारतीय दुतावासका कार्यवाहक राजदुत महामहिम डा. अजय कुमार उपस्थित थिए । उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै स्टार इंडिया ग्रुपका व्यवस्थापकीय डाइरेक्टर सुनिल कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रको रूपमा विश्व मानवकल्याण र भातृत्वको लागि अध्ययनको केन्द्र रहेको बताए । स्टार इंडिया ग्रुपको २०२० को इन्टरनेशनल एडुकेशनल अवार्ड यस वर्ष समेत डीएभी. विद्यालयले हात पा¥यो । त्यसैगरी, विद्यालयका अध्यक्ष अनिल केडियाले सोहि ग्रुपको बेस्ट लिडरसिप अवार्ड जित्न सफल भएका छन् भने प्राचार्य भुवनेश्वरी रावले वेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छन् । यससँगै स्टार इंडिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डीएभी. विद्यालयले १२ औ पटक हात पार्न सफल भएको हो । अवार्ड हात पारेसँगै डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले भारत गोैरव रत्न अवार्ड वितरण समारोह डीएभी स्कुलमा आयोजना हुनु विद्यालएकै लागि महत्वपूर्ण उपलब्धी भएको बताइन् । उक्त कार्यव्रmममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार नाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. विरेन्द्र पाण्डे, नेपाल–भारत मैत्रि समाजका अध्यक्ष–प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डे, लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । 

सेयर बजारमा उत्साह, १ घण्टमा ८८ करोडको काराेबार, ३९ अंकको वृद्धि

काठमाडौं । आइतबार सेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको १ घण्टामै करिब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने करिब ३९ अंकले परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार (आज) १२ बजेटसम्ममा ८७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ । यस्तै, पुँजी बजार मापक नेप्से परिसूचक पनि ३८.८ अंकले बढेको छ ।

सनराइज बैंकले ल्यायो नयाँ कर्जा योजना, एक करोड रूपैयाँसम्म सहुलियत ब्याजमा ऋण पाइने

काठमाडौं । सनराइज बैंकले नयाँ कर्जा योजना ‘सनराइज सरल एसएमई कर्जा’ संचालनमा ल्याएको छ । पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले  सो योजना ल्याइएको हो । उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ । यस याेजनाअनुसार ग्राहकले एक करोड रुपैयाँ सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् । साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्धिका निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

प्राथमिक सेयर नबिकेको शिवममा किन आकर्षण ? (समग्र विश्लेषण)

काठमाडौं । स्थानीय जनतामा प्रतिकित्ता २ सय रुपैयाँमा ५ लाख कित्ता सेयर जारी गर्दा मात्रै ८५ प्रतिशत बराबर बिकेको शिवम् सिमेन्टको सेयर सर्वसाधारणलाई जारी गर्ने क्रममा भने मागभन्दा बढिको आवेदन प¥यो । सेयर बजारमा कुनै समय ३ सयको तहमा आउने र कुनै समय ६ सयसम्म पुग्ने गरिरहेको कम्पनीको वित्तीय आकार ठूलो (अर्बौं) भएकै कारण लगानीकर्ताहरुलाई तानिरहेको छ । पछिल्लो समय वर्षकै उच्च विन्दुमा आइपुगेको कम्पनीको सेयर नयाँ लक्ष्य बनाउने क्रममा छ । आगामी दिनमा कम्पनीको सेयर मूल्य कसरी अगाडी जाला, कम्पनीको वित्तीय अवस्था के छ भन्नेलगायतका विषय यस विश्लेषणात्मक आलेखमा समेट्ने प्रयास गरेका छौं । परिचय ९ जेठ २०६० मा निजी कम्पनीको रुपमा स्थापना भएको शिवम् २०७२ बाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भयो । कम्पनीले हाल ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिङ्कर उत्पादन गर्ने अनुमति पाएको छ । गत वर्ष कम्पनीले दैनिक (३६५ दिनकै आधारमा) १ हजार ५ सय ६३ टन क्लिङ्कर र २ हजार १ सय १६ टन सिमेन्ट उत्पादन गरेको छ । कम्पनीले हाल ४ वटा चुन ढुंगा खानी क्षेत्रको अनुमति लिएर उत्खनन गरिरहेको छ । केही खानी राष्ट्रिय वन क्षेत्रमा परेपनि सरकारबाट भोगाधिकार पाइसकेको छ । उपाधी कम्पनीले गुणस्तर तथा नापतौल बिभागबाट आइएसओ प्रमाणपत्र पाएको छ । यस्तो प्रमाणपत्र पाउने यस कम्पनी नै सिमेन्ट क्षेत्रको पहिलो भएको कम्पनीको दाबी छ । सरकारले सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा लिएसँगै कम्पनीले भारतीय केन्द्रीय गुणस्तर बिभागबाट स्ट्याण्डर्ड सर्टिफिकेशन मार्क प्राप्त गरिसकेको छ । त्यस्तै, युआरएस नेपाल, ओएचएसएएसबाट समेत गुणस्तरको लागि प्रमाणपत्र पाएको छ । सेयर स्वामित्व कम्पनीमा लक्की, गोयल, सारडा समूहका लगानीकर्ताहरुको पकड छ । ५ प्रतिशत माथि सेयर स्वामित्व हुनेको विवरण अनुसार गोयल समूहको २० प्रतिशत, गुप्ता (लक्की समूह) समूहको १० प्रतिशत र भिमसरा समूहको करीब १३ प्रतिशत सेयर स्वामित्व छ । सञ्चालकहरुमा गोयर समूहका सुरेन्द्र कुमार गोयल अध्यक्ष छन् । सारडा समूहबाट सन्दिप कुमार सारडा र लक्की समूहबाट भने अमित मोर, रोहित गुप्ता र अल्का गोयललगायत छन् । अल्का गोयल सर्वसाधारण सेयरधनीको तर्फबाट समेत प्रतिनिधित्व गर्छिन् । अन्य लगानी कम्पनीले शिवम् होल्डिङ्स प्रालिको ८८ प्रतिशत सेयर स्वामित्व लिएको छ । शिवम् प्रालिले भने होङसी सिमेन्टमा ३ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा लगानीको लागी कम्पनीले शतप्रतिशत लगानीमा सहायक कम्पनी एससीएल इन्भेष्टमेन्ट प्रालि खोलेको छ । जसमा यस कम्पनीमा हाल २० करोड लगानी गरेको छ । एससीएलको जारी पूँजी ८१ करोड रहेको छ । एससीएलको भने शिवम् रेडिमिक्स कंक्रिट, अरुणभ्याली माइन्स एण्ड मिनिरल्स, दन्तकाली सिमेन्टमा शतप्रतिशत सेयर छ । त्यस्तै, एससीएललको ८० प्रतिशत लगानी रहनेगरी अर्को लगानी कम्पनी एचएस इन्भेष्टमेन्ट संस्थापना गर्ने तयारी भइरहेको छ । संस्थापक जोडिएकासँगको कारोबार कम्पनीले दोस्रो त्रैमाशसम्ममा लगानीकर्ता सुशील गुप्ताको कम्पनी मोडर्न इन्फ्रास्टक्चरबाट ११ करोड ५५ लाख, सुरेन्द्र कुमार गोयलको कम्पनी अरविन्द इम्पोरियमबाट १७ करोड ८७ लाख, होङसी सिमेन्टबाट ५४ करोडको खरीद गरेको छ । कम्पनीले होङसीलाई भने १० करोडको बिक्री गरेको छ । लाभांश सर्वसाधारणमा सेयर जारी गरेको करीब २ वर्ष पुग्न लागेको कम्पनीले लगानीकर्तालाई यसबीच दुई पटकसम्म लाभांश दिएको छ । कम्पनीले दुवै वर्ष १५ दशमलव ७८ प्रतिशत नगद लाभांश दिएको छ । बोनस सेयरको तुलनामा नगद लाभांशलाई कम रुचाउने नेपाली लगानीकर्ताहरुको प्रवृत्ति छ । अंकित मूल्य (१ सय रुपैयाँ) लगानी गरेकोले यो अवधिमा प्रतिकित्ता ३२ रुपैयाँ पाएका छन् । ६ सय रुपैयाँसम्म बजार मूल्य तिरेका लगानीकर्तालाई यो दर भनेको ३ प्रतिशत हाराहारी मात्रै हुन आउँछ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशमा कम्पनीको उत्पादन बिक्री आम्दानी १० प्रतिशतले घटेपछि नाफा रकममा पनि २९ प्रतिशतले कमी आएको छ । देशमा निर्माण क्षेत्रमा आएको मन्दी र सिमेन्ट उद्योगको संख्याका साथै उत्पादनमा भइरहेको वृद्धिले यो क्षेत्रमा प्रभाव परेको छ । कम्पनीले उत्पादनको लागि नयाँ सामान झार्नेभन्दा स्टोर गरिने कच्चा पदार्थहरुको प्रयोग बढाएको देखिन्छ । कम्पनीको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) करीब २२ प्रतिशतले घटेको छ । कम्पनीले व्याज लाग्ने सापटी रकम घटाइरहेको छ । चालु दायित्व तर्फको यस्तो रकममा १ अर्ब ६० करोड रुपैयाँबाट घटाएर ६० करोड रुपैयाँमा सीमित पारेको छ । त्यस्तै, गैर चालु दायित्व अन्तरगतको यस्तो रकम २ अर्ब १६ करोड रुपैयाँबाट घटाएर १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ३४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले लिनुपर्ने रकम भने ३५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीले बजारबाट पैसा उठाउन नसकेको देखाउँछ । ह्रास कट्टी खर्चमा घटेको छ । यसमा २९ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीका सामानहरुको पुनर खरीदलाई यो रकम प्रयोग हुने छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव ३६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८९ रुपैयाँ रहेको छ । सन्तुलित क्षेत्रमा सेयर कारोबार कम्पनीको सेयरको माग उच्च भएको आरएआई सूचकले देखाइरहेको छ । कम्पनीको मूल्य १४ दिने आरएसआई स्केलको ८२.१९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । सिम्पल मुभिङ एभरेज रेखामा दुई महिनाअघि क्रसओभर भएको छ । २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि रहेको छ । ३ सय ५५ रुपैयाँसम्म पुगेर बढ्न थालेको मूल्य बुलिश प्रवृत्तिमा छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ७ सय २१ मा पहिलो लक्ष्य लिएर अगाडी बढेको छ । घट्ने क्रममा रहे ५ सय ६० मा पहिलो टेवा पाउने देखाउँछ । बढ्दो क्रममा रहेको कम्पनीको सेयर मूल्य एक वर्षकै उच्च विन्दुमा आएकोले लगानीकर्ताहरु केही अन्योल देखिएका छन् । सोही अनुरुप अन्तिम दिन ६ सय ९३ सम्म पुगेको भएपनि बजार बन्द हुँदा ६ सय ६७ सम्म ओर्लियो । अन्तिम दिन सुटिङ स्टार बनेकोले मूल्य घट्न सक्ने संकेत गरिरहेको छ । यो संकेत दरिलो भने होइन । हालसम्मकै उच्च विन्दुमा रहेकोले सचेत हुनुपर्ने भने देखिन्छ । ५ सय ८९ विन्दुबाट घटेर ३ सय ५५ सम्म पुगेर हालसम्मको विन्दुमा आउँदा कम्पनीको मूल्यले कप विथ ह्याण्डल प्रवृत्ति बनाएर ब्रेक इभनबाट माथि लागेको समेत संकेत गरिरहेको छ । कपको डेप्थको आधारमा मूल्य थप बढ्न सक्ने र ८ सयको तह पुग्न सक्ने संकेत गरिरहेको छ । प्राविधिक पक्षबाट मात्र हेरेर निर्णय लिनु भने सही हुँदैन् ।

गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिनेछुः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताए । नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उनले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । “गैरआवासीय नेपालीहरुको सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको छ । संसद्मा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ”, उनले भने । सो विधेयक गैरआवासीय नेपालीका पक्षमा सकारात्मक भएको उनको भनाइ थियो । सो अवसरमा गैरआवासीय नेपाली नागरिकता विधेयक, स्पेन र नेपालको कूटनीतिक सम्बन्ध र भ्रमण वर्षका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत फुटी शेर्पाले स्पेनमा रहेका नेपाली समुदायको समस्या समाधानका लागि राजदूतावास निरन्तर लागिपरेको बताउँदै भ्रमण वर्ष प्रचारप्रसारका लागि पनि विभिन्न सङ्घसस्थासँग सहकार्य गर्दै योजना बनाई लागिपरेको जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली नागरिकले नेपालमा लगानी गर्न निकै झन्झटिलो भएकाले लगानी वातावरण सहज बनाइदिन नेपाल सरकारले चासो दिनुपर्नेे बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३ औंँ उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आउने क्रममा स्पेनमा पनि आएका हुन् । रासस

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बढीकाे क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो । कमाइ खाने सहारा फार्म थियो उनले भने, “ जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।” आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो । भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए । रासस

दैलेखकाे राकममा सय शैय्याकाे ‘ट्रमा सेन्टर’ बन्ने

दैलेख । दैलेखको आठबीस नगरपालिका स्थित राकममा १०० श्ययाको ‘ट्रमा सेन्टर ’(अस्पताल) निर्माण हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सो सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने रहको बताइएको छ । नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको नगरप्रमुख उपाध्यायले जानकारी दिए । “तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्याव लगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ”, उनले भने । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने निर्दशक गोसाईले जानकारी दिएका छन् । अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध तथा विस्तृत परियोजना प्रतिवेदन तयारी सुरु गरेको जनाएको छ । अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र एमडीजीपी तहका पठन पाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ । रासस