आरएमडीसी लघुवित्तद्वारा ओसीसीईडी नेपाललाई नगद तथा खाद्यान्न सहयोग
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मुदाय, वातावरण तथा बाल विकास संघ(ओसीसीईडी/नेपाल) लाई नगद तथा खाद्य सामाग्री सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कालोपुल स्थित अनाथ बालबालिकालाई आश्रय दिईरहेको ओसीसीईडी/नेपाललाई उक्त सहयोग गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले ओसीसीईडी/नेपालका अध्यक्ष विभोर लाल श्रेष्ठलाई ५० हजार रुपैयाँ बरावरको खाद्य सामाग्री र ओसीसीईडी/नेपालको नाममा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा ओसीसीईडी/नेपालका अध्यक्ष श्रेष्ठले यस प्रकारको सहयोगले उक्त संस्थालाई ठूलो राहत तथा हौसला मिलेको खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका छन् । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ,रुप बहादुर खड्का, प्रवन्धक ज्ञानु माया भण्डारी र उक्त संस्थाका उपाध्यक्ष शशि श्रेष्ठ लगायत अन्य पदाधिकारी तथा सोही संस्थाका अनाथ बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
मन्त्रीपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, अब को आउला नयाँ अर्थमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारी गरिरहेका छन् । ओली निकट स्रोतले मन्त्रीपरिषद पुर्नगठनका लागि आवश्यक गृहकार्यसमेत ओलीले अगाडि बढाइसकेका जानकारी दियो । सत्तारुढ दल समाजवादी पार्टी पुस ८ गते सरकारबाट बाहिरिएपछि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय रिक्त थियो । कही दिन अघि मात्रै डा. शिवमाया तुम्बाहम्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व समालेकी छन् । यस्तै, ७४ करोड रुपैयाँ कमिसनको सेटिङ गरेको अडियो सार्वजनिक भएपछि सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले पनि पदबाट राजीनामा दिएका छन् । अब सूचना संचार तथा प्रविधि र शहरी विकास मन्त्रालय खाली छन् । प्रधानमन्त्री ओलीले तत्कालका सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको कामकाज हेर्ने जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएका छन् भने शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई दिएका छन् । तर, २० फागुनमा अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभा सदस्य पदको अवधी सकिदैछ । यस्तो अवस्थामा सरकारले डा. खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुन मनोनित गरेमा उनको सांसद पद थमौती हुनेछ भने मन्त्री पद पनि जोखिन सक्छ । तर, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सहमती भएको संचार माध्यमहरुले उल्लेख गरेका छन् । राष्ट्रियसभामा गौतमलाई मनोनित गरिएमा अर्थमन्त्रालय पनि मन्त्री विहीन हुनेछ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा तालमेल गरेको राजपालाई पनि सरकारमा ल्याएर मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेका स्रोतले बताउँछ । प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुर्नगठनमा आफूसँग असन्तुष्ट रहेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतमका माग सम्बोधन गर्ने प्रयास रहेका बताइएको छ । निकटस्थ स्रोतका अनुसार ओलीले राजपालाई दुई मन्त्रालय र उपसभामुख दिने तयारी गरेका छन् । राष्ट्रियसभा निर्वाचनबाट नेकपाको तर्फबाट विजयी भएका १६ नयाँ अनुहारलाई समेत ध्यानमा राखेर मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने वाध्यतमा प्रधानमन्त्री ओली रहेका बताइएको छ । स्रोतका अनुसार अर्थमन्त्रीमा राष्ट्रियसभामा निर्वाचनमा विजयी सांसद तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ल्याउने तयारी भइरहेको छ । राम्रो प्रफमेन्स नदेखाएका भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल, बन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगरलगायतलाई पनि बिदा गरेर नयाँ अनुहार भित्र्याउने तयारी ओलीको छ । पूर्व माओवादीबाट गृहमन्त्री रहेका रामबहादुर थापालाई हटाएर नारायणकाजीलाई भित्रयाउने कि भन्नेमा पनि छलफल भइरहेको छ । नारायणकाजी भित्रिएमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिदा पाउँने छन् । नयाँ मन्त्रीहरुमा प्रभु शाह, महेश बस्नेत, कृष्णप्रसाद दाहाल लगायतका नेताहरुको नाम चर्चामा छ । दाहाल अहिले अर्थसमितिको सभापति छन् । समिति सभापति भएका नेताहरुलाई मन्त्री बनाउने गरिएको विगत छ । यस्तै, मन्त्रिपरिषदमा महिला सहभागिता कम भएको आलोचना खेपिरहेका प्रधानमन्त्री ओली केही नेतृलाई मन्त्री बनाउने नामसहित छलफलमा छन् ।
हुन्डाईले ल्यायो ‘स्प्रीङ डिलाइट’ योजना, गाडी किन्दा नगद छुटका साथै आकर्षक सुविधा पाइने
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई स्प्रीङ डिलाइट’ योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधासमेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । वसन्त ऋतुको नयाँ बहारलाई स्वागत गर्नको लागि यस ‘हुन्डाई स्प्रीङ डिलाइट’ योजनाले ग्राहकवर्गमा नयाँ जोस र जागर उत्पन्न गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । साथै, यस ‘हुन्डाई स्प्रीङ डिलाइट’ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुने कम्पनीले जनाएको छ ।
सिटिजन्स बैंकद्वारा डोल्पाको विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पा जिल्लाको श्री सरस्वति माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । उक्त रकम बैंकले आइतबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको यस विद्यालयले उक्त सहयोग रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासिय रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरुको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्ने बताएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । साथै, यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । हाल बैंकले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बीमा संस्थानको समस्या सुल्झाउनु मेरो जीवनकै उल्लेख्य अवसरः अध्यक्ष चापागाईं
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईंले बीमा संस्थानको समस्या सुल्झाउनुलाई आफ्नो जीवनकै उल्लेख काममा गन्दा हुने बताएका छन् । लामो समयदेखि नियमित साधारणसभा हुन नसकेको, कम्पनीले बीमा समितिका सबै नीति निर्देशनको पालना गर्न असमर्थ भइरहेको तथा लामो समयदेखि लेखापरीक्षण नै नगरेको सन्दर्भमा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् । अध्यक्ष चापागाईंले संस्थानको ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् । ‘मैले आफ्नो ४ वर्षे कार्यकालको सुरुवातमा बीमा संस्थानमा केही समस्या छन् भन्ने सुनेको थिए, अब मेरो कार्यकाल सकिन जम्मा १० महिना बाँकी छ तर संस्थानका समस्या भने जस्ताको त्यस्तै छन्, केही गति लिएपनि संस्थानका पूराना सबै समस्या समाधान गर्न सकिएको छैन, सबै समस्या समाधान गर्न सकेँभने सके यो मेरो जीवनकै उल्लेख्य अवसर हुने म आफैलाई लागेको छ’, बीमा समितिका अध्यक्ष चापागार्इंले भने । घातक रोग बीमा प्रोडक्ट ल्याउन पाउने संस्थानलाई नयाँ प्रोडक्ट ल्याउन रोकिरहेको समितिले घातक रोगको बीमा गराउने सम्बन्धी प्रोडक्ट ल्याउन भने दिने भएको छ । समितिले संस्थानलाई फागुन मसान्तभित्रै घातक रोगहरुको बीमा योजनालाई स्वीकृति दिने भएको छ । आगामी १० महिना भित्र बीमा संस्थानमा अड्किएका विषयलाई फुकुवा गर्ने लक्ष्य रहेको अध्यक्ष चापागाईंले जानकारी दिए । तर, यसका लागि संस्थानले नियामक निकायले तोकेका मापदण्ड र नीति नियमको पालना गर्नुपर्ने अध्यक्ष चापागाईंको भनाइ छ । संस्थानको लागि छुट्टै बीमांकी खटाइने नेपालको आफ्नै बीमांकी नहुँदा बीमा क्षेत्रले बीमांकीय मूल्याङ्कन (एक्चुरी) को लागि भारतसँग निर्भर हुनुपरेको छ । समितिले संस्थानमा रोकिएका साभारणसभा गराउँन विदेशमा एक्चुरी बढेर नेपाल फर्किएकालाई एक्चुरी गराउन दिने भएको छ । ‘हामीले भारतको बीमांकी मार्फत काम गर्दा केही ढिलाई हुँदै आएको छ, बाहिरी देशमा गएर एक्चुरी पढेर नेपाल फर्किएकाहरुलाई एक्चुरी गर्न लगाएर भएपनि संस्थानलाई साधारणसभा गर्न योग्य बनाउँने तयारी गर्दैछौं,’ अध्यक्ष चापागार्इंले भने । नेपालमा १९ वटा कम्पनीहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । सरकारी लगानी पनि रहेको संस्थानले पनि जीवन बीमा व्यवसाय गर्दै आएको छ । जोखिममा आधारित पुँजी लागू गरिने नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको लागि अहिलेको नियामकले तोकेअनुसारको चुक्ता पुँजीको व्यवस्था परिवर्तन गर्न लागेको छ । यो व्यवस्था परिवर्तन गरी जोखिममा आधारित पुँजीको व्यवस्था गर्न लागिएको समितिका अध्यक्ष चापागाईंको भनाइ छ । जोखिममा आधार पुँजीको व्यवस्था लागू गर्ने अन्तिम तयारी भएको समितिले जानकारी दिएको छ । सबै स्थानीय तहमा बीमा बीमा समितिले सबै स्थानीय तहमा बीमा कम्पनी पुग्नै पर्ने प्रबन्ध गर्न लागेको छ । बीमा सचेतना कम भएकोले बीमामा समेटिएको क्षेत्र सानो भएको भन्दै समितिले सबै स्थानीय तहमा बीमा कम्पनीलाई पुर्याउन लागेको हो । सबै स्थानीय तहमा बीमा कम्पनी पुर्याउन सहज बनाउन भन्दै समितिले घुम्ती लघुबीमा कार्यक्रम संचालन गरिरहेको छ । यस्तो कार्यक्रमबाट बीमाको दायरा र सचेतना बृद्धि हुने समितिको विश्वास छ । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउन पहल गरिरहेको छ । अब केही स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी छ । बैंकिङ क्षेत्रको नियामक निकायले सबै स्थानीय तहमा बैंक पुर्याउन पहल गरिरहेको समयमा बीमा क्षेत्रको नियामक निकायले पनि सबै स्थानीय तहमा बीमा पुर्याउन खोजेको हो ।
रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने
काठमाडाैं । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने भएको छ । जसकालागि आइतबार ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि’ का प्रमुख रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता भएको छ । सम्झौता पश्चात बोल्दै निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताए । ‘युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधै नै तयार भएको र रियालिटी शोबाट धेरै राम्रो-राम्रो संगीत प्रेमीहरु स्थापित हुनेमा विश्वास व्यक्त गरेका छन्’ उनले भने । वाइवाइले विश्वास गरेर धेरै कामहरुमा सहयोग गर्दै आएको जानकारी गराउँदै कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजी कम्पनीलाई धन्यवाद दिएका छन् । रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री, र अन्जु पन्त रहेका छन्। नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो । प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शो भन्दा नेपाल स्टार कमजोर नभएको बताए । दर्शकले फ्रेन्चाइज शो कै लेभलमा नेपालमा नै तयार रियालिटी शो खोजि रहेका बेला त्यो अपेक्षालाई यस रियालिटी शोले पूरा गर्नेमा ढकालको विश्वास रहेको थियो । अन्जु पन्त र आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । अन्जु पन्तले यो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरेकी छिन् । यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराए । ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ ।’ अध्यक्ष विष्टले भने।
एफएनसीसीआईको विधान संसोधनको जिम्मा नयाँ कार्यसमितिलाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको जिम्मेवारी अब आउने कार्यसमितिले पाएको छ । आइतबार बसेको महासंघको बैठकले अब आउने कार्यसमितिले विधान संसोधन गर्न पाउने निर्णय भएको हो । महासंघको साधारणसभा आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ । वर्तमान कार्यसमितिले महासंघको निर्वाचन मात्र गर्न पाउने छ । महासंघको ५४ औं साधरणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतस् अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था छ। सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।
महिला सहयात्रा लघुवित्तले घरेलु लघुवित्तलाई प्राप्ति गर्ने, भयो एमओयूमा हस्ताक्षर
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले र घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि आइतबार दुई संस्थाबीच सहमति पत्र(एमओयू) मा हस्ताक्षर भएको छ । लघुवित्त संस्थाहरुलाई थप प्रबल र सक्षम बनाई ठूलो आकारको वित्तीय संस्था बनाई लघुवित्तको स्तर उन्नती गर्न नेपाल राष्ट्र बैंकको उदेश्य बमोजिम अबका दिनहरुमा प्रभावकारी वित्तीय सेवा प्रदान गर्न मर्जर प्राप्तिको माध्यमबाट राष्ट्रिय स्तरमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने हेतुले उक्त सम्झौता भएकाे हाे । प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे । हाल महिला सहयात्रा लघुवित्तकाे चुक्ता पुँजी १२ करोड १० लाख रहेको छ । संस्थाले २१ जिल्लामा ३४ शाखा स्थापना गरि ३५ हजार १६० सदस्यहरु मध्ये २१ हजार २५५ ऋणी सदस्य मार्फत १ अर्ब ३६ करोड लगानीमा रहिरहेका कर्जा प्रवाह गरिएको छ । त्यस्तै, घरेलु लघुवित्त वित्तीय संस्थाकाे चुक्ता पुँजी ७ करोड रूपैयाँ रहेको छ । संस्थाले ११ जिल्लामा १३ वटा शाखा स्थापना गरि ५ हजार २६३ सदस्यहरु मध्ये ३ हजार ६५२ ऋणी सदस्य मार्फत २० करोड लगानीमा रहिरहेका कर्जा प्रवाह गरिरहेकाे छ । घरेलुलाई प्राप्ति गरे पश्चात बन्ने नयाँ संस्था महिला सहयात्राकाे चुक्ता पुँजी २० करोड पुग्ने छ । साथै, देशभरी ७७ वटै जिल्लामा उद्यमशिलताको विकास गर्ने संस्थाकाे उद्देश्य रहेकाे छ । महिला सहयात्राकी अध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठले दुई संस्थाको विकासका लागि र महिला इम्पावरमेन्ट बढाउनका लागि एक्विजिसन कोशढुङ्गा हुने बताइन् ।