विकासन्युज

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : मन्त्री पोखरेल

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका हुन् । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सिटीइभिटीको काम हो भनी प्रश्नसमेत गरे । सिटीइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सिटीइभिटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, “सिटीइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सिटीइभिटी जागिर खाने थलोमात्रै हो ?” सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उहाँले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताए । सिटीइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, “जहिले पनि सिटीइभिटीलाई मन्त्रालयले हस्तक्षेप गर्यो भन्ने ? तपाइहरू भन्न सक्नुहुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।” सिटीइभिटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भने, “तपाइले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नुभयो ? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन ।” सिटीइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए । कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । रासस

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ । मजदुरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छछैन भनी जाँच गर्ने (भेरिफाइ) काम भइरहेको शाक्यले बताएका छन् । त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । सिएमसी कम्पनीले निर्माणकार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्ता (सप्लायर)लाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गर्दै आएका थिए । कम्पनीले निर्माणकार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यसअघिको समस्या भने समाधान गरिसकेको छैन । सहसचिव नेतृत्वको प्राविधिक समितिले यही साताभित्रमा समस्या हल गरी मेलम्ची असारभित्रमा ल्याउने भनी श्वेतपत्र जारी गर्न लागेको मन्त्रालयले जनाएको थियो । रासस

जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन्न

काठमाडौं । गोरखाको सदरमुकाममा आयोजित दुई दिने ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सोमबार समापन भएको छ । नेतृत्वदाही भुमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नाराका उक्त कार्यक्रम भएको हो । कार्यक्रमपश्चात देशका विभिन्न स्थानबाट आएका यूवाहरुले आन्तरिक पर्यटनलाई समेत अभिवृद्धि गर्ने अभिप्रायले लखन थापा पार्क लगायत गोरखाका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गर्दैछन् नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता रहेको थियो । जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुनर्गठन गरी वर्षैभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र ती गतिविधिहरु सञ्चालन गर्ने क्रममा स्थानीय स्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिनेलगायतका महत्वपूर्ण प्रतिबद्धता र सहमतिहरु सहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ । सो घोषणा पत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्रवर्धित “केन्द्रमा युवा नीति” तथा नेपाल रेडक्रस सोसाइटीको “युवा संलग्न नीति” लाई जोड दिँदै विश्वव्यापी रुपमा रहेका विभिन्न प्राकृतिक ,सामाजिक र मानवीय मुद्दाका गतिविधिहरु नेपालमा सञ्चालन गर्ने गराउने उल्लेख छ। देशभरिका जुनियर तथा युवा सर्कललाई विभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिबद्धता जाहेर गरेका नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । सडक सुरक्षा र प्राथमिक उपचार, विपद व्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर विभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गरेका छन् । नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्ला शाखाका १९५ प्रतिनिधिहरु, नेरेसो केन्द्रीय पदाधिकारीहरु, प्रदेश र आतिथ्य जिल्लाको कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो । पहिलो सत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ महासचिव जगन चापागाईंले अनलाइनबाट प्रत्यक्ष रूपमा सहभागीहरुलार्इ उत्प्रेरणा मुलुक प्रशिक्षण दिनु भएको थियोे । जुनियर तथा युवा रेडक्रसबाट आफ्नो यात्रा सुरु गरी उच्च तहमा पुग्नुभएका चापागाईसँगको अन्तरक्रियाले सहभागीहरु उत्साहित भएका थिए । गोष्ठीमा विभिन्न विषयमा राष्टिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुद्वारा सहभागीहरुलाइ प्रशिक्षण पनि दिइएको थियो र सहभाग ियुवाहरुले विभिन्न समुहमा सीपहरु अभ्यास गरेका थिए।

हुण्डाईले भित्र्यायो नयाँ ईलेक्ट्रीक कार, विद्युतीय गाडीको जगतमै नयाँ आयाम रच्ने

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले आफ्नो नयाँ ईलेक्ट्रीक कारको ‘आईओएनआईक्यू २०२०’ नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले हुण्डाई आईओएनआईक्यूको यो नवीनतम भर्जनलाई थप उत्कृष्ट पावर र विशेषताका साथ बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले ग्राहकको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ । आईओएनआईक्यूमा ३८.३ केडब्लूएच ईलेक्ट्रीक मोटरको साथ १०० केडब्लूको ब्याट्री पावर छ । यसको अधिकतम स्पीड १६५ केपीएच छ, जसले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । साथै, यसको ड्राइभिङ्ग रेन्ज ३११ कि.मि. छ । यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्ने कम्पनीले जानकारी गराएको छ । नयाँ आईओएनआईक्यू २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । आईओएनआईक्यू २०२०को एलईडी डीआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर रहेको कम्पनीले बताएको छ । यसैगरी याे गाडीमा ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरु रहेको छ । उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आईओएनआईक्यू २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ ।

ग्लोबल आइएमई बैंकले हस्तान्तरण गर्यो निक्षेप बीमा वापतको चेक

काठमाडौं । ग्लोबल आइएमई बैंकले मृतकका परिवारलाई निक्षेप बीमा वापतको ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकले पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने उक्त रकम नीजको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले साेमबार स्वर्गीय राजु गिरीको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेका हुन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकद्वारा धरानको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धरान उपमहानगरपालिकाको वार्ड नं १५ ज्ञानचक्षु मार्ग स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । बैंकले सोमबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयले दृष्टिविहिन, न्यूनदृष्टि लगायत बहुअपाङ्ग बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । शारिरिक रुपमा अशक्त विद्यार्थीहरूलाई विशेष माध्यमद्वारा अध्ययन अध्यापन गराईने यस विद्यालयले सम्पूर्ण विद्यार्थीहरु आवासीय रूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको छ । यस विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कष्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत हुनेछ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आरएमडीसीद्वारा अपाङ्ग सेवा संघलाई सहयोग

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले ललितपुरको अपाङ्ग सेवा संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले ललितपुरको बुङमती स्थित विभिन्न किसिमका अपाङगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको उक्त संघलाई सो सहयोेग गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपाङ्ग सेवा संघका अध्यक्ष दया राम महर्जनलाई ७५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री र अपाङ्ग सेवा संघको नाममा ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अपाङ्ग सेवा संघका अध्यक्ष महर्जनले यस प्रकारको सहयोगले उक्त संघलाई ठूलो राहत तथा हौसला मिलेको खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका छन् ।

यातायातमन्त्री नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाले

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। साेमबार उनले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघि यो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गोकुलप्रसाद बाँस्कोटाले सम्हालेका थिए। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा ७० करोडको ‘कमिसन डिल’ गरेको आरोप लागेपछि बाँस्कोटाले राजीनामा दिएसँगै रिक्त मन्त्रालयमा नेम्वाङलाई जिम्मेवारी तोकिएको थियो।