नेपाल ट्रष्टको जग्गाबारे पाेखरेलकाे स्वेतपत्रः अनाधिकृत मोही कायम भएको १ सय ७४ रोपनी जग्गा खोजिदै
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल ट्रष्टको जग्गाबारे स्वेतपत्र जारी गरेका छन् । सो जग्गा विभिन्न व्यक्ति तथा व्यापारिक फर्मलाई शंकास्पद रुपमा दिइएको आरोप लागिरहेका बेला ट्रष्टको अध्यक्षसमेत रहेका पोखरेलले स्वेतपत्र जारी गरेका हुन् । २०७० सालयता मन्त्रिपरिषदबाट निर्णय गराएर ट्रष्टको जग्गामा मोही कामय गरिएको विषयमा खोजविन गरिने मन्त्री पोखरेलले जानकारी दिए । सो समयपछि ट्रष्टको नाममा रहेको १ सय ७४ रोपनी जग्गामा मोही कायम गरिएको मन्त्री पोखरेलको भनाइ छ । ट्रष्टमा पूर्वराजा विरेन्द्र र उनको परिवारको जग्गा ल्याइएको हो । यस्तो जग्गामा मोही नलाग्ने भएपनि शंकास्पद ढंगबाट मोही कायम गरी व्यक्तिगत फाइदा लिएको हुन सक्ने मन्त्री पोखरेलले संकेत गरे । नेपाल ट्रष्टको नाममा देशभर २१ हजार ५ सय ६२ रोपनी जग्गा छ । काठमाडौंका केही महंगा स्थानको जग्गा बिभिन्न कम्पनीले भाडामा लिएका छन् । यसरी जग्गा भाडामा लगाउँदा अपारदर्शी गतिविधि भएको भन्दै जग्गा भाडा प्रकरण विवादित बनेको छ । ट्रष्टको जग्गा १२ जिल्लामा रहेको स्वेतपत्रमा उल्लेख छ । यसममध्ये धादिङमा सबैभन्दा धेरै जग्गा छ । धादिङमा १५ हजार १ सय १ रोपनी जग्गा छ । तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५ सय ६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ । सबैभन्दा बढी जग्गा हुने दोस्रो नम्बरमा ४ हजार ४ सय ४२ रोपनी जग्गा काठमाडौं जिल्ला भेटिएको छ । दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी जस्ता महत्वपूर्ण ठाउँका जग्गा व्यापारिक प्रयोजनमा भाडामा दिइएको छ । नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंकलगायतका निजी कम्पनीहरु छन् । काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ । ताहाचलमा बिभिन्न सरकारी कार्यालयहरुले भाडा तिरेर बसेका छन् । ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५ सय ८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १ सय २४ बैंकमा छ । ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको सेयरसमेत खरिद गरेको छ । धादिङ र काठमाडौंसहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की र चितवन तत्कालिन राजपरिवारको जग्गा जमिन भेटिएको छ । रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको नेपाल ट्ष्टले जानकारी दियो ।
साढे ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्दै १० जलविद्युत कम्पनी
काठमाडौं । १० जलविद्युत कम्पनीले साढे ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएका छन् । धितोपत्र बोर्डमा आवेदन दिए अनुसार १० जलविद्युत कम्पनीले ३ अर्ब ६५ करोड ६७ लाख ५५ हजार रुपैयाँ बराबरको ३ करोड ६५ लाख ६७ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गर्न लागेका हुन् । उनीहरुलाइ बोर्डले स्वीकृति दिएपछि साधारण सेयर निष्कासन गर्ने छन् । १० कम्पनीमध्ये सबैभन्दा बढी मध्यभोटेकोसी जलविद्युत कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ मूल्यको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यस्तै, हिमालयन हाइड्रो पावर कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । अन्य जलविद्युत कम्पनीले पनि साधारण सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त
काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंगलबारदेखि लागू हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो । उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।
हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत, ट्रयाक खोल्नेभन्दा स्तरोन्नतिमा जाेड
काठमाडाैं । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ (ग्राभेल) तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा ९७ किमी कालोपत्र, ४२ किमी खण्डस्मिथ र पाँच पुल सम्पन्न भएको छ । बाँकी निर्माणका लागि ठेक्का सम्झौता भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए । तराईका धेरै जिल्लामा सडक प्रयोगमा आइसकेका छन् । आयोजनाअन्तर्गत अधिकांश स्थानमा नयाँ ट्र्याक खोल्नेभन्दा राजमार्गका रुपमा स्तरोन्नतिको काम भइरहेको छ । उनले भने, “पहिले स्थानीय सडकका रुपमा रहेकामा अहिले हुलाकी राजमार्गको मापदण्डानुसार स्तरोन्नति भइरहेको छ ।” निकुञ्ज क्षेत्र र जङ्गल क्षेत्रमा बाहेक अधिकांश स्थानमा सडक निर्माण अघि बढिरहेको आयोजनाले जनाएको छ । निकुञ्जको भित्री भागमा साढे आठ किमी र ‘बफर जोन’ १५ किमीमा निर्माण प्रक्रिया अघि बढेको छैन । चितवन राष्ट्रिय निकुञ्जमा वातावरणीय अध्ययन सकिए पनि अझैसम्म निकुञ्ज कार्यालय वन विभागबाट स्वीकृति आइसकेको छैन । सो प्रक्रियामा लामो समय लाग्ने भएकाले त्यसको विकल्पमा समेत छलफल भइरहेको छ । सो क्षेत्रमा ‘एलाइनमेन्ट’ परिवर्तनका विषय पनि अघि बढेको जनाइएको छ । उक्त मार्गमा पूर्व–पश्चिम राजमार्गमै जोड्न सकिने विषयमा समेत छलफल भइरहेको प्रमुख बिसुरालले बताए । उनले भने, “हामीले छुट्टै राजमार्ग निर्माणभन्दा तराई–मधेशका जनतालाई कसरी सहज हुन्छ भन्ने हो ।” उक्त सडकले तराईका धेरै बस्ती समेट्ने र भारतको सीमा क्षेत्रसम्म पुग्नेछ । कतै कालोपत्र त कतै ग्राभेल सडकका कारण अहिले नै यहाँका स्थानीयवासीलाई सहज हुन थालिसकेको उनले बताए । पहाडी क्षेत्रको पूर्वदेखि पश्चिमसम्म जाने मध्यपहाडी राजमार्गले ठाउँठाउँमा नयाँ बस्ती निर्माण गर्ने भए पनि सो आयोजनाले पुराना बस्ती हुँदै अघि बढ्छ । राजमार्गस्तरको भए पनि यो सडकमा गति अन्यत्र जस्तो नहुन सक्ने उनले जानकारी दिए । लामो दूरीका सवारीसाधनसँगै यी सडकमा गाढा, ट्याक्टरलगायतका स्थानीय सवारीसाधनसमेत चल्नेछ । उनले भने, “यी सबैलाई हेरेर अन्यत्रको राजमार्गमा भन्दा कम गति निर्धारण गर्नुपर्ने हुनसक्छ ।” सो आयोजनाले विसं २०७० भन्दा पहिले ठेक्का सम्झौता भइसकेका आयोजनासमेत अझै अलपत्र अवस्थामा छन् । कतिपय स्थानमा सडक सम्पन्न भए पनि पुलका कारण सञ्चालन हुनसक्ने अवस्था नभएको बताइएको छ । राणा शासनमा चिठी आदानप्रदान गर्ने हुलाकी सडकको अवधारणाको विकास भएको थियो । सो आयोजनाको उद्देश्य तराई–मधेशमा रहेका जनतालाई यातायात सर्वसुलभ र सहज बनाउनेसँगै यस क्षेत्रका शिक्षा, स्वास्थ्य, कृषि, व्यापारलगायतको विकास गर्ने रहेको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले गत मङ्सिरमा धनुषा र महोत्तरीका जिल्लामा राजमार्गअन्तर्गत सडक अनुगमन समेत गरेको थियो । समितिले सरकारले सडकमा माटो कटान अनियमित रुपमा भइरहेको हुनसक्ने भन्दै प्राविधिकसहितको छानबिन समिति बनाउनुपर्ने सुझाव दिएको थियो । समितिले जनताका सुझाव र त्यहाँका आवश्यकतानुसार कल्भर्ट थप गर्नुपर्ने र सडकको सुरक्षाका लागि ‘रिटेनिङ’ वाल लगाउनुपर्नेसमेत सुझाव दिएको छ । जलेश्वर–पिपरा, सोहर्वा–पर्सा–पर्कौली र भिट्ठामोडमा छ लेनमा निर्माण गर्नुपर्ने पनि समितिको सुझाव छ । सडकको चौडाइ केन्द्रबाट १५/१५ मिटर हुनेछ । सरकारले आव २०७९/८० सम्ममा सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । आयोजनाको संशोधित बजेट रु ६१ अर्ब रहेको छ । रासस
सुदूरपश्चिममा देशकै ठूलो कृषि प्रशोधन केन्द्र बन्दै
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्मकै देशको ठूलो कृषि प्रशोधन केन्द्र निर्माण हुने भएको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानजनक पेशाका रुपमा स्थापित गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारीमा कृषि प्रशोधन केन्द्रको निर्माण गरिने बताइएको हो । कृषि प्रशोधन केन्द्र स्थापना गर्नका लागि गृहकार्य अगाडि बढाइएको बताइएको छ । फार वेस्टर्न एग्रो जाइन्ट नामक कम्पनीको स्थापना गरी कृषि प्रशोधन केन्द्र स्थापनाको गृहकार्यमा लागिएको कम्पनीका संस्थापक अध्यक्ष डा. ताराप्रसाद जोशीले बताए । ‘सुदूरपश्चिको कृषि क्षेत्रमा व्यवसायीकता कम छ, यसलाई व्यवसायीक रुपले अगाडि बढाउने उद्देश्यले काम गर्न लागेका छौं, यो कम्पनीले देशको ग्राहस्थ उत्पादनमा पनि टेवा पुर्याउने छ’, जोशीले भने । सुदूरपश्चिम र कर्णली प्रदेशमा उत्पादन भएका अन्नबालीलाई एकिकृत गरी प्रशोधन केन्द्रमा प्रशोधन गरी बजारीकरण गर्ने उनले बताए । ७ सय ७७ जना सेयरधनी रहेको कम्पनीको ५० करोड रुपैयाँ पुँजी हुने उनको भनाइ छ । एक वर्ष पछि भने कम्पनीको पुँजी बढाएर एक अर्ब बनाउने उनले बताए । कम्पनीमा सुदूरपश्चिम प्रदेशका मन्त्री, सांसद, स्थानिय जनप्रतिनिधी र उद्योगीहरु व्यवसायीहरुको सेयर रहेको छ । कृषि व्यवसायलाई आधुनिकीकरण र सम्मानजनक पेसाका रूपमा विकास गर्न नसकेको भन्दै कृषि पेसा छाडिरहेका बेलामा ठूलो लगानीमा आधुनिक कृषि प्रशोधन केन्द्र सञ्चालनमा आउने भएको हो । कृषकलाई लक्षित गर्दै सुदूरपश्चिममा पहिलोपटक वैज्ञानिक ढंगको कृषि प्रशोधन केन्द्र बन्ने भएको हो । बजार सूचना, बजारीकरण सीप, व्याकवार्ड तथा फर्वाड सन्जाल विस्तार, वस्तु विकास तथा विविधीकरणमा बजार सञ्जालको रुपमा पनि केन्द्रले सहजीकरणको भूमिका खेल्ने जोशीले बताए । नेपालमा कृषि व्यवसायको मुख्य चुनौतीको रुपमा रहेका बजार तथा बजारीकरण, भौतिक पूर्वाधार, लगानी, प्रविधि, कच्चा पदार्थ, व्यावसायीक वातावरणका लागि इच्छुक वृद्धिउन्मुख कृषि व्यवसायीले यस केन्द्रबाट प्रदान गर्ने सेवाबाट विभिन्न फाइदा लिन सक्ने जोशीको भनाइ छ । किसानलाई केन्द्रित गरिएको यस केन्द्रले सुदूरपश्चिम र कर्णालीका विभिन्न क्षेत्रमा रहेका कृषकलाई केन्द्रले वित्त व्यवस्थापन तथा प्रक्षेपण सीप, लगानीमा पहुँच विस्तार गर्न, व्यावसायीक तालिम, परामर्श, सल्लाह, प्राविधिक सूचना, प्राविधिकसँग सम्बन्ध तथा पहुँच विस्तारलगायत सेवा उपलब्ध गराउने बताइएको छ । अबको ५/६ महिनाभित्र कृषकले उत्पादन गरेको अन्न तथा बाली प्रशोधन गरी बजारमा पठाउने तयारी भइरहेको जोशीको भनाई छ । हाल मेसिन खरिद र जग्गाको काम भइरहेको उनले बताए । कम्पनी डडेल्धुरामा स्थापना हुने उनले बताए । त्यससँगै कैलालीमा पनि यसको विस्तार गरिने छ । ‘कृषिमा धेरै रोजगारीको सम्भावना छ, तर त्यसप्रति हामीले ध्यान दिएका छैनौ, कृषि गरिबहरुले गर्ने हो भन्ने सोच छ । यो मानसिकतालाई हटाउन र कृषिमा आधुनिकीकरण गर्नका लागि प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको हो,’ जोशीले भने । उनले सुदूरपश्चिममा उब्जनी हुने अन्नबालीलाई प्रशोधन केन्द्रमार्फत बजारीकरण गर्न सहज हुने बताए । यो कम्पनीको स्थापना पश्चात धेरैले रोजगारीकाे पनि अवसर पाउने छन् । बालीहरुलाई सूचिकृत गरेर काम गर्ने बताए । नेपालमा आयआर्जनको कुनै सम्भावना नदेखेर दैनिक हजारौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेका छन् । यो परिपाटी र प्रवृति रोक्न पनि कम्पनीले भूमिका खेल्ने उनको भनाइ छ ।
ओपोले फाइभजी एक्सटू सिरिज सार्वजनिक गर्दै
काठमाडौं । ओपोले आज आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । ग्लोबल लञ्च ओपोको यूट्यूब च्यानलमार्फत मार्चको ६ तारिक सीईटीमा आयोजना गरिने छ । ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा भारी लगानी गर्दै नयाँ ओपो फाइन्ड एक्सटू उत्पादन गरेको हो । विशेषगरी फाइभजी यूगमा स्मार्टफोनलाई अझ परिस्कृत बनाउँदै लैजाने ओपोको अथक र निरन्तर प्रयासको यसले प्रतिबिम्बित गरेको छ । फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिले सम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ । यो स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको दावी छ । फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अहिले सम्मकै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीले बताएको छ । साथै, फाइन्ड एक्सटू सिरिजले एसए÷एनएसए डुअल(मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५को प्रयोग गरिएको छ ।
अवैध ग्यासका सिलिन्डर बजारमा छ्याप्छ्याप्ती
धम्बोझी । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ । नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ । उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास बिक्री भए/नभएको अनुगमन गरिएको हो”, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने । संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्यास बिक्रेताको पसल अनुगमन गरेको थियो । “अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्यासका सिलिन्डर बिक्री गरेको पाइएको छ”, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, “उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिवाना गरेका छौँ” । पुनः अनुगमन गरी निर्देशन पालना गरे/नगरेको ‘फलोअप’ पनि गर्नेछौँ”, उनले भने । अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्यासका सिलिन्डरहरु तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताए । “अधिकांश ग्यास पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौँ’’ उनले भने । नेपालमा अनुमति नभएका साना ग्यास सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले बताए । उपभोक्ताले पनि साना ग्यास सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन”, उनले भने । भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्यासको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए । अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् । साना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ । रासस
जागिरको लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? अब यसरी जित्नुस् प्रश्नकर्ताको मन
काठमाडाैं । राम्रो तयारीका साथ उपयुक्त ढंगबाट रोजगारीका लागि दिइने अन्तर्वार्ताको माध्यमबाट तपाईंले जागिर हासिल गर्ने मात्रै नभएर रोजगारदाताको मनमा आफ्नो विशेष छाप समेत बसाल्न सक्नुहुन्छ । सामान्यतया रोजगारदाताले आवेदन दिएका आवेदकहरुमध्ये उचित ठहर्याएर अन्तर्वार्ताका लागि तपाईंलाई डाक्नुको मतलब रोजगारदाता तपाईंप्रति अहिलेसम्म सकारात्मक छन् र तपाईं रोजगारीको अर्को एक कदम नजिक आइपुग्नुभएको छ भन्ने हो । यस अवस्थामा प्रश्न-उत्तरमार्फत आफ्नो सीप, दक्षता, कार्यअनुभव र क्षमता प्रमाणित गरी खुल्ला गरिएको पदमा तपाईंले आफूलाई स्थापित गराउन सक्नुहुन्छ । यदि अन्तर्वार्ताको क्रममा तपाईंले प्रदर्शन गर्नुभएको सीप, दक्षता, कार्यअनुभव र क्षमता लगायतका कारण नै तपाईंले रोजगारी हासिल गर्दै हुनुहुन्छ भन्ने तपाईंलाई लाग्छ भने तपाईं गलत हुनुहुन्छ । त्यसोत आजको दिनमा सीपको आधारमा रोजगारी पाइन्छ वा आवेदकको आचरण, व्यवहार, आत्मविश्वास तथा सो कम्पनी वा कार्यालयप्रतिको प्रतिबद्धताको आधारमा काम गर्ने अवसर हासिल हुन्छ भन्नेमा फरक-फरक रोजगारदाता र व्यवस्थापकहरुको भिन्न मत रहेको छ । तर, अन्तर्वार्ता नै त्यस्तो माध्यम हो जसमार्फत रोजगारदाताले आवेदकको यि सबै गुण एवं विशेषताको निर्क्यौल गरी तपाईंको रोजगारी पाउने सम्भावनाको निर्धारण गर्दछन् । तसर्थ, रोजगारी खोज्ने जोसुकैका लागि अन्तर्वार्ता निकै नै महत्वपूर्ण कोशेढुंगा हो । तर यहाँ विचार गर्नुपर्ने कुरा के हो भने रोजगारी खोज्ने मानिसका लागि अन्तर्वार्ता जवाफ दिनेमात्र नभइ प्रश्न सोध्ने थलो पनि हो । तपाईंले रोजगारीका लागि अन्तिम पटक कहिले अन्तर्वार्ताको सामना गर्नुभयो ? यदि हालसालै गर्नुभएको छ भने, तपाईंले याद गर्नुभयो, रोजगारदाताको समूहले तपाईंलाई आफ्नो प्रश्नहरु सोधिसकेपछि अन्तमा ‘अब हामीलाई तपाईंले सोध्नुपर्ने केहि प्रश्न छन् कि ?’ भनेर तपाईंको जिज्ञासा मेटाउने अवसर दिएको ? रिक्रुटिङ्ग फर्म (कर्मचारी नियुक्ती गर्ने जिम्मेवारी लिएको कम्पनी), इसिए पार्टनर्स्का संस्थापक तथा इभिडेन्स बेस्ड रिक्रुटिङ्ग पुस्तकका लेखक अट्टा टार्कीका अनुसार कुनै पनि रोजगारीका लागि दिइने अन्तर्वार्ताको सफलता तपाईंले दिने जवाफहरुमा मात्रै नभएर तपाईंले रोजगारदातालाई सोध्ने प्रश्नमा पनि निर्भर गर्दछ । विभिन्न कम्पनीहरुका लागि नियुक्ती प्रक्रियाको जिम्मेवारी सम्भालेका टार्की आफ्नो अनुभव यसरी उल्लेख गर्छन्, ‘यस काममा एक दशक बिताइसकेपछि मैले के पाएँ भने अधिकांश जागिरका आकांक्षीहरु डर वा आत्मविश्वासको कमीका कारण रोजगारदातालाई प्रभावित गर्ने साहसिक प्रश्न गर्न सक्दैनन् ।’ उनी अगाडी बताउँछन् कि यसरी उचित प्रश्न गर्न नसक्ने ब्यक्तिहरु रोजगारदाताको नजरमा कम जिम्मेवार, दृष्टिकोणविहिन र काम एवं संस्थाप्रति लापरवाह व्यक्तिको रुपमा चित्रित हुन्छन् । तसर्थ, अन्तर्वार्ताको क्रममा तपाईंले सोधेर रोजगारदातालाई प्रभावित तुल्याउन सक्ने केहि प्रश्नहरु निम्न उल्लेखित छन् जुन ऐजेन्सी तथा विभिन्न अन्तराष्ट्रिय वेभसाइटको सहयोगमा तयार पारिएको होः १. यस पदमा रहेर योभन्दा अगाडी काम गर्ने कर्मचारीहरु के कस्ता थिए ? उनीहरुको काम गर्ने तौरतरिका कस्ता थिए ? र उनीहरुको गुणदोष केके थिए ? माथि उल्लेखित प्रश्नहरुले तपाईं आफूलाई र आफ्नो काम गर्ने शैलीलाई अरुसँग तुलना गरी उनीहरुबाट केहि सिक्न खोजीरहनुभएको छ भन्ने प्रष्ट्याउँछ जसलाई रोजगारदाताले तपाईंको सकारात्मक चतुर कदमको रुपमा लिनसक्दछन् । २. यस पदमा रहेर काम गर्नेहरुमध्ये कस्ता कर्मचारीलाई तपाईं सफल कर्मचारी मान्नुहुन्छ र सोको मापन कसरी गर्नुहुन्छ ? यस प्रश्नले तपाईं आफ्नो पदभारप्रति जिम्मेवार हुनुहुन्छ र सफलता हासिल गर्नेतर्फ प्रयासरत हुनुहुन्छ भन्ने तथ्यलाई इंगित गर्दछ । ३. मैले यस जागिर सुरु गरेको खण्डमा तपाईं मैले पहिलो तीन महिना, छ महिना वा एक वर्षभित्र केकस्तो योगदान गरोस् वा उपलब्धी हासिल गरोस् भन्ने चाहनुहुन्छ ? यस प्रश्नले तपाईं कुनै पनि काम योजनाबद्ध ढंगबाट गर्न रुचाउनुहुन्छ भन्ने जनाउँछ । ४. तपाईं आफ्नो नवनियुक्त कर्मचारीले कार्यालयभित्र केकस्तो नयाँ मूल्य मान्यता भित्र्याओस् भन्ने चाहनुहुन्छ ? नवनियुक्त कर्मचारीले कार्यवातावरणमा के-कस्तो योगदान गरोस् भन्ने अपेक्षा राख्नुहुन्छ ? यस्ता प्रश्नले तपाईं काममा मात्रै नभएर मावन मूल्य तथा कार्यालयको प्रोफेसनल वातावरणप्रति पनि सचेत हुनुहुन्छ भन्ने जनाउँदछ । ५. यस कम्पनीभित्र के-कति अन्तरालमा पारिश्रमिक तथा सेवा सुविधाको मूल्यांकन हुन्छ ? कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले केकस्ता क्रियाकलापहरु संचालन गरिरहेको छ ? यस्ता प्रश्नले तपाईं भविष्यप्रति सचेत हुनुहुन्छ र आफ्नो करियरको वृत्ती-विकासप्रति गम्भिर हुनुहुन्छ भन्ने स्पष्ट गराउँछ । ६. तपाईं कर्मचारीले समयमै वा सोभन्दा अघि कार्यसम्पादन गरोस् भन्नेमात्रै चाहनुहुन्छ वा कार्यसम्पादन गर्दा प्रोफेसनल, ह्यूमन तथा यथिकल भ्यालुज्तर्फ पनि ध्यान देओस् भन्ने चाहनुहुन्छ ? यस प्रश्नले तपाईं काम, डेडलाइनको अलावा नीतिगत तथा मानविय मूल्य-मान्यताप्रति पनि सजग हुनुहुन्छ भनेर प्रष्ट्याउँछ । ७. तपाईंको कम्पनीको दृष्टिकोण, लक्ष्य तथा उद्देश्य के के हुन् ? यस प्रश्नले तपाईं सो कम्पनीसँग दीर्घकालसम्म आवद्ध हुन चाहनुहुन्छ भन्ने देखाउँछ । ८. यस कम्पनीभित्र सहकर्मीहरुबीच सहकार्य, सहअस्थित्व एवं सौहाद्रपूर्ण वातावरण निर्माणका लागि के-कस्ता पहलहरु भएका छन् ? यस प्रश्नले तपाईंलाई समूहकार्य गर्न रुचाउने र सबैसँग मिलेर काम सम्पादन गर्न रुचाउने व्यक्तिको रुपमा चिनाउँछ । ९. यस कम्पनीले कस्तो नेतृत्वको शैलीलाई प्रोत्साहन गर्दछ ? अवस्थाअनुसार गुनासो गर्ने प्रणालीको विकास भएको छ कि छैन ? यस प्रश्नले तपाईंभित्र रहेको नेतृत्व कलासम्बन्धी चेतलाई उर्जागर गर्दछ । १०. कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्वप्रति कत्तिको ध्यान दिएको छ ? अथवा सोअन्तर्गत केकस्ता कार्यहरु संचालित छन् ? यस प्रश्नले तपाईंको समाजप्रतिको जिम्मेवारीको बोधलाई झल्काउँछ । ११. के तपाईंले मेरो रिज्यूमेमा केहि त्यस्ता चिज वा गुणहरु देख्नुभयो जसको कारण तपाईंले मलाई आदर्श उम्मेदवार मान्न सक्नुहुन्छ वा जसको कारणले म यस रोजगारीको लागि अन्यभन्दा बढी योग्य देखिन्छु ? यस प्रश्नले तपाईं सो रोजगारीको अवसरप्रति चासो राख्नुभएको छ भनेर बुझिन्छ । अन्तमा, कार्यालय वा कामको प्रकृतिअनुसार तपाईंले रोजगारदातालाई सोध्न सक्ने प्रश्नहरु अन्य पनि हुन सक्छन् जुन तपाईं आफ्नो क्षमता वा सुविधाअनुसार आफैले विकास गरी सोध्न सक्नुहुन्छ । तर याद राख्नुस्, अन्तर्वार्ता तपाईंको हो न कि रोजगारदाताको । तसर्थ, आफूलाई अन्य प्रतिस्पर्धीभन्दा अलग प्रमाणित गर्ने एक वा दुईभन्दा बढी प्रश्न नगनुहोला ।