विकासन्युज

गर्भावस्थामा के खाने ? कस्तो व्यवहार गर्ने ? बारे नयाँ पाठ्यक्रम शुरू गर्दै भारतीय विश्वविद्यालय

काठमाडाैं । गर्भावस्थामा के खाने ? सरसफाइ कसरी गर्ने ? कस्तो संगित सुन्ने ? र कसरी आफूलाई आराम र स्वस्थ राख्ने ? भन्ने बारेमा कतिपयलाई ज्ञान नहुन सक्छ । झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि पुरुषहरुले पनि यस बारे थाहा पाइ राख्न निकै जरूरी छ । यहि विषयलाई मध्यनजर गर्दै भारतको उत्तर प्रदेशस्थित लखनउ विश्वविद्यालयले ‘गर्भ संस्कार’ नामक एक अनौठो विषयमा अध्ययन सुरु गराउने भएको छ ।  यसै वर्षको अप्रिलबाट सुरु हुने नयाँ शैक्षिक शत्रबाट भारतमै पहिलो पटक संचालनमा आउन लागेको गर्भावस्था तथा मातृत्वसम्बन्धी यस शैक्षिक कार्यक्रमअन्तर्गत महिलाहरुले गर्भावस्थामा कस्तो कपडा लगाउने, कस्तो खानेकुरा खाने र कस्तो व्यवहार गर्ने लगायत विषयमा गहन अध्यापन गराउने उद्देश्य राखेको छ । प्रविणतापत्र र डिप्लोमा तहमा संचालन हुने यस विषयअन्तर्गत गर्भावस्थामा कस्तो संगित सुन्ने, गर्भावस्थामा सरसफाइ कसरी गर्ने र कसरी आफूलाई आराम र स्वस्थ राख्ने भन्ने पनि सिकाइने छ । विश्वविद्यालयले भने अहिले यूवावस्थामा प्रवेश गरिरहेका छात्राहरुलाई भविष्यमा आमा बन्न सहायता गर्ने उदेश्यले सो पाठ्य कार्यक्रम संचालन गर्न लागेको जनाएको छ । झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि विश्वविद्यालयले भने पुरुष विद्यार्थीहरुलाई पनि यस पाठ्यक्रममा सहभागीता जनाउन दिने टाइम्स अफ इण्डियाले जनाएको छ ।  जर्मनीमा पहिल्यैदेखि समान प्रकृतीको शैक्षिक कार्यक्रम संचालन भइरहेको जनाएको विश्वविद्यालयले यस पाठ्यक्रमका कारण भविष्यमा भारतमा रोजगारीको श्रृजना हुनसक्ने पनि विश्वास लिएको छ । विश्वविद्यालय श्रोतका अनुसार, यस शैक्षिक पाठ्यक्रमअन्तर्गत विद्यार्थीहरुले गर्भावस्थाभन्दा अघि र गर्भावस्थामा रहेका महिलाहरुले अंगिकार गर्नैपर्ने परिवार नियोजन, पोषण, सरसफाइ तथा स्वच्छता लगायतका १६ वटा मान्यताहरु सिक्नेछन् । ‘गर्भावस्थामा प्रवेश गर्न लागेका केहि भारतीय महिलाहरु सचेत र शिक्षित भएता पनि अन्य असंख्या महिलाहरुको अवस्था त्यस्तो छैन । फेरी शिक्षित महिलाहरुमा पनि गर्भावस्थाको बेला के गर्नुपर्ने र के गर्नुनपर्ने भन्ने बारेमा जानकारीको अभाव रहेको पाइन्छ,’ विश्वविद्यालयका प्रवक्ता दुर्गेस श्रीबास्तव भन्छन् । उनका अनुसार यस विषयको अध्ययनले महिलाहरुलाई सफा तथा सुरक्षित वातावरणमा बस्न, स्वस्थ तथा पोषिलो खानेकुरा खान, आफ्नो र जन्मेको बच्चाको शरिर र स्वास्थ्यको स्याहार गर्न सघाउने छ । ‘भारतको नयाँ पुस्तालाई सुखी र स्वस्थ बनाउन यस पाठ्यक्रमको ठूलो योगदान रहनेछ,’ श्रीबास्तव थप्छन् । लखलउका विद्यार्थी तथा स्त्री रोग चिकित्सकहरुले विश्वविद्यालयको यस घोषणाको खुलेर स्वागत गरेका छन् । ‘यो बास्तवमै राम्रो र संबेदनशील विषय हो । यस विषयको अध्यापनले दम्पत्तिहरुलाई स्वस्थ बच्चा जन्माउन मद्धत गर्छ जसले भारतको स्वस्थ भविष्य निर्माण गर्नमा टेवा पुर्याउँछ,’ पुरुष विद्यार्थी सञ्जिब शर्मा भन्छन् । यसैगरी वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर मधु गुप्ता यस्तो खालको पढाइले महिला र बालबालिका सहायता कार्यक्रमलाई बल पुर्याउने बताउँछिन् ।

कर्णाली नदीमा जीप खस्दा चालकको मृत्यु

दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजार कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ । रासस

फोनपेले घोषणा गर्यो दुबई ट्रिपका दुई विजेता

काठमाडौं । मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल विजेता बन्न सफल भए । विजेता गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो । दुबई ट्रिप जित्ने व्यक्तिले थप तीनजना व्यक्तिलाई पनि आफुसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् । फोन पेले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ । । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीनजनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।

उद्योगी नै मन्त्री बन्दा पनि ठूला उद्योग दर्तामा समस्या, मन्त्री भन्छन्: सहजिकरणको प्रयासमा छौं

काठमाडौं । सरकारले समयमै कानुन बनाउन नसक्दा उद्योग दर्तामा समस्या आएको छ । सरकारले वातावरण ऐन निर्माण गरे पनि त्यसको नियमावली बनाउन नसक्दा लामो समयदेखि उद्योग दर्तामा समस्या आएको हो । उद्योग दर्ता गर्दा नै प्रारम्भिक वातावरणीय प्रभाव मूल्याकंन (आईईए) तथा उद्योग सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्याकंन  (इआइए) को बारेमा खुलाउनु पर्छ । उद्योग क्षेत्रबाट नै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड मन्त्री भएर आए पनि नियमावली बन्न नसक्दा ठुला उद्योग दर्तामा समस्या बढ्दै गएको छ । ‘हामीले उद्योग दर्ता गर्न सहज होस् भनेर आइइए तथा ईआईएको दायरा बढाएर  काम गरिरहेका छौं, म उद्योगको क्षेत्रबाट आएको भन्दैमा जादु गरे जसरी उद्योगको क्षेत्रमा परिवर्तन हुने हाेइन, वन, वतावरणर र उद्योग मन्त्रालय मिलेर नियमावली बनाउने काम गरिरहेका छौ,’ दुगडले भने । करिब १ देखि २ महिना भित्र नियमावली आउँछ र उद्योग दर्ता गर्न सहज हुने दुगडकाे भनाइ  छ । वातावरण नियमावलीमा कुन प्रकृतिकाे उद्योगले आइइए तथा इआइए गर्नुपर्छ भन्ने नियमावली नभएकोले उद्योग दर्ता वा क्षमता विस्तार समस्या आएको विभागका निर्देशक प्रेम लुइँटेलले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ अर्ब रुपैयाँ बराबरको उद्योग लगाउँदा इआइए गर्नु नपर्ने गरी वातावरण मन्त्रालयलाई सुझाव दिइसकेको छ । तर, उद्योगले पठाएको सुझाब कार्यान्वयन भए/नभएको निक्र्याैल नहुँदा उद्योग दर्तामा समस्या आएको हो । सरकारले लामो समयदेखि वातावरण नियमावली ल्याउँदा नसक्दा उद्योगी दर्ता गर्न उद्यागीलाई अप्ठयारो परेको छ । वन मन्त्रालयले नियमावली बनाउन ढिलासुस्ती गरे पछि प्रत्यक्ष असर उद्योगीमाथि परेको उद्योग मन्त्रालयको भनाइ छ । पटक-पटक उद्योग मन्त्रालयले नियमावली बनाउन ताकेता गर्दा पनि त्यसको सुनुवाई भएको छैन् । उद्योगीहरुले लामो समयदेखि उद्योग मन्त्री, राज्यमन्त्री तथा उद्योग सचिवलाई नियमावली छिटो ल्याउन घच्घच्याइरहे पनि त्याे भने आउन सकेको छैन् ।

५१ वटा स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने तयारी गर्दै प्रदेश सरकार

पाेखरा । गण्डकी प्रदेश औद्यागिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना गर्ने योजनालाई अघि सार्दै त्यसअनुरुप सम्भाव्यता अध्ययन शुरु गरेको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार सरकारको एक स्थानीय तह–एक उद्योग ग्राम स्थापनाका गर्ने कार्यक्रमअन्तर्गत गरिएको सम्भाव्यता अध्ययनमा यहाँका ८५ मध्ये ५१ वटा स्थानीय तहमा उद्योगग्राम स्थापना गर्न सकिने देखिएको छ । सम्भावना देखिएका स्थानीय तहमध्ये आवश्यक कागजात प्राप्त भएका २१ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकारसँग सिफारिस गरिसकेको छ । सरकारले प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि कास्की र तनहुँको तल्लो पुँडिटार क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको मन्त्री लम्सालले जानकारी दिए । पुँडिटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि करिब ३०० रोपनीभन्दा बढी जग्गा रहेको छ । उनका अनुसार नवलपुरको लोकाहामा अर्को प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने काम अघि बढाइएको छ । लोकाहामा औद्योगिक क्षेत्र स्थापनाका लागि १८० बिघा जग्गा रहेको छ । यी जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको उनले जानकारी दिए । त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने कार्य अघि बढाइएको प्रदेश सरकारले जनाएको छ । “औद्योगिकीकरणको विकासलाई लक्षित गरी सरकारले आफ्ना काम तीव्र रुपमा अघि बढाएको छ”, मन्त्री लम्सालले भने, “उद्योगको विकाससँगै हामी उत्पादनलाई पनि त्यही रुपमा जोड्दै प्राथमिकताका साथ अघि बढाउने योजनामा छौँ ।” उद्यमशीलताका माध्यमबाट उत्पादनमा जोड दिने लक्ष्यअनुरुप सरकाले प्रदेशभित्रका सबै जिल्लामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट तीन हजार ७ सय ७० जनालाई तालिम दिएको छ । तालिम दिइएकामध्ये ५ सय १७ जनालाई प्रविधि हस्तान्तरण गरी उद्यमी बनाइएको र दुई हजार ४ सय ३० जना उद्यमीलाई थप तालिम प्रदान गरी स्तरोन्नति गरिएको जनाइएको छ । स्तरोन्नति गरिएकामध्ये ९ सय ४२ जनालाई युवा उद्यमशीलता तथा औद्योगिक विकास कार्यक्रमअन्तर्गतका सीप विकास तालिम प्रदान गरिएको र उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्दै नयाँ उद्योगको सञ्चालनका साथै यसअघि सञ्चालित स्थानीय उद्योगलाई त्यस मातहतमा ल्याएर समग्र औद्योगिक क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाइने मन्त्री लम्सालले जानकारी दिएका छन् । गण्डकी प्रदेशमा १० हजार १  सय २१ उद्योग दर्ता भएका छन् भने १० हजार १ सय १८ वटा वाणिज्य फार्म दर्ता छन् । औद्योगिक विकासका दृष्टिले गण्डकी प्रदेश पाँचौँ प्रदेशमा पर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । नेपालमा सञ्चालित औद्योगिक क्षेत्रमा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको वास्तविकतामा स्थापना गर्न लागिएका नयाँ औद्योगिक क्षेत्रलाई उत्पादनयोग्य एवं प्रभावकारी बनाउनेतर्फ बेलैमा गम्भीर बन्नु आवश्यक रहेको उनले बताए । “यसअघि सञ्चालित अधिकांश औद्यागिक क्षेत्रमा समेत आधारभूत मापदण्ड पूरा गरेको देखिँदैन, त्यसतर्फ ध्यान पुग्नु जरुरी छ”, उनले भने । पोखरामा राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा नजिकै रहेको पोखरा औद्योगिक क्षेत्रको व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ पनि सम्बन्धित पक्षका बेलैमा ध्यान पुग्नु जरुरी रहेको मुल्मीको भनाइ छ । प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा ‘विजनेस इन्कुवेशसन सेन्टर’को स्थापना गरेको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि मनाङ र मुस्ताङमा एक/एक तथा स्याङ्जा, म्याग्दी र तनहुँमा दुई/दुई गरी आठ वटा साझा सुविधा केन्द्रको स्थापना गरिएको छ । प्रदेशको दिगो आर्थिक विकासका लागि लगानीमैत्री वातावरण तयार गर्दै उद्योग, व्यापार तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सार्वजनिक–निजी संवाद र सहकार्यलाई एक सशक्त माध्यमका रुपमा विकास गर्न प्रदेश व्यवसाय मञ्च गठन गरिएको छ । प्रदेशमा औद्योगिकीकरणको समग्र विकासका लागि सरकार योजनाबद्ध रुपमा अघि बढेको बताउँदै मन्त्री लम्सालले यसका माध्यमबाट प्रदेशवासीलाई उत्पादनमा जोड्दै अधिकतम रोजगारीका अवसर सिर्जना गरिने बताए । रासस

अपि पावर कम्पनीले ५६ करोड ७० लाख बराबरको शेयर जारी गर्ने

काठमाडौं । अपि पावर कम्पनीले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको छ । कम्पनी स्वंयले निर्माण शुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २ को हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो । विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई चरण चरण गरि उक्त आयोजना निर्माणको लागि हकप्रद जारी गर्ने निर्णय अनुरुप कम्पनीलाई प्रथम चरणमा ५६ लाख ७० हजार कित्ता बापत रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर जारी गर्ने स्विकृती प्राप्त भएको छ । सो हकप्रद हाल कम्पनीको कायम चुत्ता पुँजी रु ११९.०७ करोडको १ बराबर ०.४७ कायम भएको छ । कम्पनी यस हकप्रद जारी गरि आगामी आर्थिक वर्षको शुरुवातमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको प्रगति विवरण सहित पुनः दोस्रो पटक हकप्रद जारीको लागी बोर्ड समक्ष निवेदन पेश गर्ने भएको छ । दोस्रो चरणको हकप्रद निष्काशनको लागि समेत कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ । कम्पनीले हाल ८.५ मेगावाटको नौगड गाढ आयोजना वि.स २०७२ साल भदौ देखि संचालन गरी विद्युत बिक्री गरिरहेको र ८ मेगावाटको माथिल्लो नौगाड आयोजना २०७६ साल कात्तिकबाट संचालन गरि थप विद्युत बिक्री गरिरहेको छ । माथिल्लो चमेलिया आयोजना दार्चुला जिल्लामा अवस्थित छ जहाँ कम्पनीले २ आयोजना निर्माण गरिसकेको हो । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको कार्य लाई तीव्र रुपमा अघि बढाएको छ । आयोजनाको वित्तिय व्यवस्थापनको कार्य अन्तिम रुपमा रहेको र उक्त आयोजनाको निर्माण अबको ३० महिना भित्र सम्पन्न गर्ने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

सारङ्गीकाे धुनमार्फत ७ हजार व्यक्तिलाई ट्राफिक सचेतना

काठमाडाैं । ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७ हजार व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिए । महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलङ्की, स्वयम्भू, कोटेश्वर, विमानस्थल र जावलाखेल क्षेत्रमा सारङ्गीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ । सारङ्गीको धुनमार्फत हेमराज गन्धर्व, बालाराम गन्धर्व, दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना फैलाएका थिए । महाशाखाले दैनिक चार चोकमा सारङ्गीमार्फत सचेतना फैलाउँदै आइरहेको छ । रासस

नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन १६ गतेदेखि, २ सय व्यापारिक कक्ष रहने

चितवन । नेपाल पोल्ट्री महासङ्घको आयोजनामा यही फागुन १६ गतेदेखि यहाँ नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२० हुने भएको छ । महासङ्घले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तीन दिनसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो । महासङ्घको आयोजना, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स एण्ड इभेण्ट प्रालिको सहकार्यमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, दुग्ध उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगलगायतको सम्पूर्ण पशुपक्षीपालनलगायतका विषयमा जानकारी दिइने छ । यस्तै नेपाल भेटेरेनरी सङ्घको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने आयोजकले जनाएको छ । करिब २०० व्यापारिक कक्ष रहने सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानलगायतको प्रत्यक्ष संलग्नता रहने महासङ्घका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, चीन, अमेरिका, टर्की, मलेशिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्गलादेशलगायत देशका पोल्ट्री कम्पनीको सहभागिता रहने महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बताए। हरेक दुई–दुई वर्षमा आयोजना गरिने प्रदर्शनी भरतपुरको चितवन एक्सपो सेन्टरमा आयोजना गरिँदैछ । रासस