विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो दुई नयाँ योजना, कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई योजनाहरू पनि शुरू गरेको छ । बैंकले बुधबार मनाएको आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा जीवन उपहार प्रदान गर्ने रक्तदान कार्यक्रमको आयोजना गर्यो । पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन बुधबार भिसा डोमेस्टिक क्रेडिट÷डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ, जुन अधिकतम रु ३४ हजार रुपैयाँसम्मको हुनेछ । दोस्रो योजना अन्र्तगत आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३४ हजार रुपैयाँको किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ । साथै, बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ । बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गत वर्ष वार्षिकोत्सवकै दिन “बैंकसँगको नाता मेरो आफ्नै बचत खाता” अभियानसहितको कमिक बुक पनि ल्याएको थियो ।

मेगा बैंकले सेनालाई दियो वित्तीय साक्षरता तालिम

काठमाडौं । मेगा बैंक नेपालले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका विभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता तालिम दिन उक्त कार्यक्रम गरेको हो । मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्ट लगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्व लगायतका विषयमा जानकारी गराएका थिए । मेगा बैंकले बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि बिभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, सैनिक लगायतलाई साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

गण्डकी विकास बैंकद्वारा विद्यालयलाई फर्निचर सामाग्री हस्तान्तरण

काठमाडौं । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका बेगनासस्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको हो । यसरी वितरण गरिएका समाग्रीहरुमा १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेबल तथा कार्पेट लगायतका सरसामाग्रीहरु रहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताए । विद्यालयका प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए भने व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको उन्नयन एवं विकासका लागि आगामि दिनमा समेत बैंकले यस प्रकारको सहयोग पु¥याउने छ भन्ने आशा व्यक्त गरे । बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा समेतको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका हुन् ।

स्वावलम्बन लघुवित्तद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बौनियाँ, कैलालीले न्यून आय भएका स्थानीय समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट लम्कीचुहा नगरपालिकास्थित श्री लक्ष्मी आधारभूत विद्यालय, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत १ कक्षादेखि ४ कक्षासम्मका ८० जना विद्यार्थीलाई स्कूल व्याग, कापी र कलम वितरण गरिएको हो । कार्यक्रमका प्रमुख आतिथि लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको वर्गका छात्रछात्रालाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरण कार्य प्रशंसनीय रहेको बताए । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाले ग्राहक तथा ग्राहक परिवारको हकहितलाई मध्यनजर राख्दै विभिन्न वित्तीय सेवा लगायत सामुदायिक कृयाकलापमा संलग्न रहि घरदैलोमा लघुवित्त सेवा पु¥याउने बताएका छन् । ग्राहकको वित्तीय सचेतना कार्यक्रम अन्तरगत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै आएको समेत उनले जानकारी दिए । कार्यक्रममा वित्तीय संस्थाको “एक शाखा एक छात्रवृत्ति योजना” अन्तरगत शाखा कार्यालय बौनियाँमा आबद्ध ग्राहक सदस्यका छोरा महेन्द्र हमाललाई २०७५ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याए वापत प्रमाणपत्र सहित रु.१० हजार नगद छात्रबृत्ति प्रदान गरिएको थिए । इलाका कार्यालय धनगढीका प्रबन्धक जनार्दन ढकालको सभापतित्व तथा शाखा प्रबन्धक कृष्ण खनालको संयोजनमा सम्पन्न कार्यक्रममा शाखा कार्यालयको कार्यक्षेत्र अन्तरगतका केन्द्रबाट सदस्य लगायत अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, प्रहरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, विभिन्न शाखाका कर्मचारी लगायत स्थानीयको सहभागीता रहेको थियो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४८ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको छ

महासंघकाे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै ढकालले भने- उद्योग क्षेत्रको कर माथिको कर घटाउँछु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले वरिष्ठ उपाध्यक्षको घोषण गर्दै उद्योग क्षेत्रको कर घाटाउन भूमिका खेल्ने बताएका छन् । समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले आगामी अध्यक्ष शेखर गोल्छालाई पनि सम्झिए । ढकालकाे उम्मेदवारी घाेषणाासभामा पूर्वअध्यक्षहरू सुरज बैद्य र चण्डिराज ढकाल तथा महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको उपस्थिति रहेकाे बताइएकाे छ । शेखर गोल्छालाई सझिदै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । महासंघको भावी अध्यक्षका रुपमा महासंघले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाएको बताए । ‘शेखर गोल्छाको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्ने छ, उद्योग वाणिज्य क्षेत्र, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर ११ बनाउनेछौं,’ ढकालले भने । सबैकाे आग्रह बमाेजिमन आफू महासंघकाे नेतृत्व तहमा आफू आउँन चाहेकाे उनले खुलाए । ‘म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमकमा पूरै देशभर पुग्ने अवसर पाएँ, उद्योगी व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरुसँग थुप्रै बसाइँ भयो, ती बसाइँ भेला र बैठकमा तपाइँहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले भन्दा तपाइँहरुले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनु भयो,’ ढकालले भने । ‘गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभयो । ती तपाईंहरुका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रता पूर्वक स्वीकार गर्दै आज म नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु,’  उनले भने । ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्सका अध्यक्ष पनि हुन । उनले आगामी निर्वाचनमा गोल्छा लगायतको साथ खोजेको भाषणबाट देखिन्छ । घोषणासभामा गोल्छा भने उपस्थित थिएनन् । महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको घोषणासभामा गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका लगायतकाे उपस्थिति थियाे । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने ब्यवस्था छ । त्यसैले वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने गरेको छ ।

कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिँदै, छुट्याइयाे ४० करोड बजेट

विराटनगर ।  विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो सरकारी अस्पतालमध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको रङ्गेलीमा स्थापना भई २०१३ सालमा विराटनगरमा स्थानान्तरण भई त्रिभुवन स्मारकबाट सञ्चालनमा आएको हो । तत्कालीन ५० श्ययाको यो अस्पतालमा हाल ३५० श्यया छन् । पाँच बिघा आठ कट्ठा नौ धुर क्षेत्रफलमा फैलिएको यो अस्पतालमा हाल आन्तरिक स्रोतबाट समेत गरी २६७ चिकित्सक र कर्मचारी कार्यरत रहेको अस्पतालका सुरपरीवेक्षक डा. सङ्गीता मिश्रले जानकारी दिएकी छन्। साना ठूला गरी दुई दर्जनभन्दा बढी भवन रहेको सो अस्पतालका १३ कट्ठा तीन धुर जग्गा अरु संस्थाले अतिक्रमण गरेको पाइएको छ । जसमा नेपाल क्षयरोग निवारण संस्थाले आठ कट्ठा १० धुर, गणेश मन्दिरले एक कट्ठा १० धुर, नेपाल रेडक्रस सोसाइटीले एक कठ्ठा १३ धुर र देवकोट पुस्तकालयले दुई कट्ठा जग्गामा आफ्ना संरचना निर्माण गरेको अस्पतालले जनाएको छ । यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विशिष्ट प्रकारको स्वास्थ्य सेवा प्रदान गर्न सकेको छैन । अत्यधिक भीड हुने सो अस्पतालमा अहिले अवस्थामा सर्वसुलभ, गुणस्तर सेवा, स्वच्छ वातावरणमा सञ्चालन गर्न पुरानो संरचना बाधकका रुपमा छ भने नयाँ संरचना बनाउन रु पाँच अर्बभन्दा बढी खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अस्पतालमा वर्षात्को समयमा परिसरमा पानी जम्ने, फोहर थुप्रिने, सडकबाट झण्डै दुई फिट गहिरो देखिने, झट्ट हेर्दा सुकुम्वासीले घेरेकोजस्तो देखिने यो अस्पताललाई अत्याधुनिक शिक्षण अस्पतालमा परिणत गर्न पुराना संरचना भत्काएर नयाँ संरचना बहुतले बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । अहिले अस्पतालमा आइसियु, सर्जिकल र न्यूरो तथा नेफरोलोजी सेवा प्रदान गर्न नयाँ भवन निर्माण गर्न सङ्घीय सरकारबाट सङ्घीय आयोजना कार्यान्वयन एकाइ(भवन) कार्यालयको नाममा रु ४० करोड बजेट विनियोजन भई आएकाले अस्पतालले सरोकारवालसँग धारणा लिन आज अस्पतालको सभाकक्षमा आयोजित छलफलमा सो धारणा आएको हो । छलफलमा प्रदेश ल्याब भवन अस्पतालको हाताभित्र बनाउने र अस्पतालको जेनेरेटर हाउस भएर जाने सार्वजनिक बाटोको व्यवस्थापन गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दरबन्दी छ, डाक्टर छैनन् कोशी अस्पतालमा दरबन्दी अनुसारका एक तिहाई चिकित्सक नहुँदा सेवाग्राहीहरू गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट बञ्चित हुँदै आएका छन् । अस्पतालमा लामो समयदेखि सरकारी दरबन्दी अनुसार ११ औं तहका आँखा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नेपोलोजिष्ट, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, नर्सिङ प्रशासनसहित ल्याबटेक्निसियनलगायत दरबन्दी अनुसारको चिकित्सकको अभाव रहेको बताइएको छ । शिक्षण अस्पताल बनाउने तयारी प्रदेश नं १ अन्तर्गतका १४ जिल्लासहित प्रदेश २ का सप्तरी, सिरहा, धनुषा जिल्लाबासी पनि उपचार सेवाका लागि भर पर्दै आएको यो अस्पताल पूर्वाधार र विशेषज्ञ डाक्टरको अभावसँगै आर्थिक अभावसँग पनि जुधिरहेको छ । आर्थिक अभावका कारण भएका कर्मचारीलाई समयमा तलव खुवाउन पनि अस्पताल प्रशासनलाई हम्मेहम्मे पर्ने गरेको छ । तर पनि प्रदेश सरकारले भने कोशी अस्पताललाई प्रदेश सरकारको शिक्षण अस्पतालका रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले यो अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताए । शिक्षण अस्पताल बनाउनका लागि तत्काल एमडीको कक्षा सञ्चालन गर्नुपर्ने जोड दिदैं उनले अस्पतालभित्रका तीन वटा भवन बाँकी राखेर अन्य सबै भवन भत्काउनु पर्ने बताए । मन्त्री घिमिरेले हाल प्राप्त भएको रु ४० करोडको योजनालाई दीर्घकालीन योजनामा समावेश गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अस्पतालको नाममा रहेको जग्गा स्वामित्वमा ल्याउन नसके अस्पतालले इतिहास कायम गर्न नसक्ने बताउँदै अस्पतालको स्तरोन्नति गर्न र जनताको भावनाअनुसार चल्न दीर्घकालीन योजनाको विकल्प नरहेको प्रष्ट पार्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अस्पताललाई राम्रो र भरपर्दो बनाउन अस्पतालले तयार पार्ने योजना एवं सोचमा आफ्नो समर्थन रहेको बताए । प्रदेशसभा सदस्य जयराम यादवले व्यावसायिक प्रयोजनमा रहेका संरचना भत्काएर अस्पतालको जग्गा अस्पतालकै भोगमा ल्याउनुपर्ने सुझाव दिए । जिल्ला समवन्य समिति मोरङका संयोजक नरेश पोखरेलले अस्पतालको साखलाई उच्च बनाउन अतिक्रमित जग्गा फिर्ता गराउनुपर्ने भन्दै अस्पतालले दीर्घकालीन योजना बनाएर प्रदेशकै नमूना अस्पताल बनाउनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताललाई नमूना अस्पताल बनाउन नगरपालिकाबाट हुन सक्ने सबै किसिमको सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष क्रृषि पोखरेल र नेता गुरु बरालले अस्पताललाई अत्याधुनिक बनाउनुपर्ने बताउँदै सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न व्यवस्थापनमा निकै सुधार गर्नुपर्ने खाँचो औँल्याएका छन् । अस्पतालका पूर्वमेसु डा. ज्ञानेन्द्र गिरी, पूर्वचिकित्सक डा मदन कोइराला, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, उपभोक्ता मञ्चका उत्तम ढुङ्गेल, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहले यो अस्पताल गरिबको लागि मात्र नभएर धनीले पनि राम्रो सेवा पाउँछन् भनेर खोजेर आउनुपर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अस्पतालको स्वामित्वमा रहेको जग्गालाई अतिक्रमणबाट जोगाउन प्रशासनबाट हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् । रासस

बाल अस्पताल बनाउन राष्ट्रिय वाणिज्य बैंकले दियाे ५० लाख रूपैयाँ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको अगुवाईमा बन्न लागेको बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बाल अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँको पनि चेक हस्तान्तरण गरेको हाे । सो सम्बन्धि राष्ट्रिय वाणिज्य बैंक र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठ र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा.भगवान कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । बैंकका सीईओ श्रेष्ठले बैंकले सधैं शिक्षा स्वास्थ्यमा प्राथमिक दिएको बताउँदै उनले यो अभियानका सरिक हुन पाउँदा खुसी भएको बताए । २७ बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक रहेको उनले बताए । कुल सहलियतपूर्ण कर्जा वितरणमा रा वा बैंकले ५० प्रतिशत हिस्सा ओगटेको उनको भनाई छ। ५० लाखको चेक बुझ्दै डा.भगवान कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने बताए । किओचले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । जसकालागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको किओचले जानकारी गराएकाे छ ।

लाइफलाइन अस्पतालले पहिलाेपटक डायलोसिस सेवा शुरू गर्दै

दमक । यहाँस्थित लाइफलाइन अस्पतालले मिर्गाैला बिरामीका लागि डायलोसिस सेवा शुरुआत् गर्ने भएको छ । रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र यहाँ पहिलोपटक सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा. तिलकचन्द्र साहले जानकारी दिए । ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ । अध्यक्ष डा. साहका अनुसार चार श्ययाबाट बिरामीलाई सो सेवा प्रदान गरिनेछ । सो सेवाबाट यस क्षेत्रका बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ । जिल्लाको विर्तामोड र भद्रपुरमा सो सेवा सञ्चालन हुँदै आएको छ अस्पतालमा आज आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिए । रु ८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । सो अवसरमा अध्यक्ष डा. साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जाकारी दिएका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा खुस्बु प्रिया र सञ्चालक डा मुक्तिनाथ भट्टराई सेवाले मिर्गाैला बिरामीलाई थप सहज हुने बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने बताए । रासस