विकासन्युज

मसहित सबै प्रधानमन्त्री बनेकाहरुकाे सम्पत्ति छानबिन गरौं: डा.बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफुलगायत सबै प्रधानमन्त्री बनेकाहरुकाे सम्पति छानबिन हुनुपर्न माग गरेका छन् । भट्टराईले प्रतिनिधीसभाको बुधबारको बैठकमा आफुलगायत सबै प्रधानमन्त्री बनेकाहरुकाे सम्पति छानबिन हुनुपर्न माग गरेका हुन् । बैठकमा बुधबार भट्टराईले पहिला साथीहरुले दिएको चप्पल लगाएर हिँड्ने आफुहरु अहिले आएर हामीले कसरी चिल्लो गाडी र महल बनायौं भन्ने विषयमा सम्पति छानबिन हुनुपर्न माग गरेका हुन् । आफू गणितमा चासो राख्ने र अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने भट्टराईले बताए।

एनआईसी एशिया क्यापिटलले नयाँ खुलामुखी योजना ल्याउने, पुग्याे धिताेपत्र बाेर्ड

काठमाडाैं । एनआईसी एशिया क्यापिटलले पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा ल्याउने भएकाे छ । क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको उक्त योजना ल्याउन नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हाे । क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई फण्ड ल्याउन बोर्डकाे अनुमति मागेको हो । बोर्डले अनुमति दिएसँगै क्यापिटलले साे मात्राकाे फण्ड बजारमा ल्याउने छ । नेपालमा हालसम्म संचालित सामूहिक लगानी कोषहरुको अधिकाशं रकम शेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ संचालन भएको पाइन्छ । पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखीम अत्यन्तै न्यून रहेको हुँदा यो योजना संचालन ल्याउन लागिएको जानकारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले उल्लेख गरेका छन् । क्यापिटलले संचालन गर्न लागेको यो योजना नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचढावबाट कम प्रभावित हुने देखिन्छ । यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताहरुलाई कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्ने देखिन्छ । साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड संचालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने देखिन्छ । हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ र ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ संचालन गरिरहेको छ । यसका साथै एन आई सी एशिया क्यापिटल लिमिटेडल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । एनआईसी एशिया क्यापिटल एक मात्र आईएसओ सर्टिफाइड क्यापिटल हो ।

क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’, बने अग्नि ग्रुपकाे ब्रान्ड एम्बेसडर

काठमाडौं । नेपालका चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरेका हुन् । अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइटआर्म मिडियम फास्ट बलर तथा अफ बेक बलर हुन् । अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी प्रकट गरे । ‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवद्र्धक रहिसकेको छु’ खड्काले भने, ‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६३/६४ साल (सन् २००६–७) देखिकै हो, त्यसयता लामो समयदेखि मेरो अग्नि ग्रुपसँग सुमधुर सम्बन्ध रहँदै आएको छ । हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासयिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं । यो सहकार्यबाट म निकै हर्षित छु ।’ आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमितकताको सूचीमा पर्ने गरेको खड्काले बताए । ‘मेरो पेशागत कारणले एसयूभी (स्पोर्टस युटिलिटी) गाडी सदैव मेरो प्राथमिकता सूचीमा पर्दै आएको छ, जहाँसुकै जाँदा पनि यसमा मैले मेरो थप भारी लगेज लैजान सक्छु’ खड्काले भने- ‘त्यसैले म सवारी साधनका रूपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छु । सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एक्सयूभी ३०० आफूले प्राप्त गर्दा म अत्यन्तै प्रफुल्लित छु ।’ यस अघि १० जेष्ठ २०७६ मा अग्नि ग्रुपले पूर्व मिस नेपाल शृङ्खला खतिवडा लाई तिन वर्षको लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको थियो भने आज पारस खड्कालाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । उनले महिन्द्रा एक्सयूभी ३०० का लागि अग्नि ग्रुपप्रति आभार व्यक्त गरेका छन् । समारोहमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, अग्नि ग्रुपका कम्पनी वरिष्ठ निर्देशक तथा सचिव दुर्गाप्रसाद आचार्य र उप निर्देशक वरदान बस्नेत लगायत पूर्व मिस नेपाल शृङ्खला खतिवडा उपस्थित थिइन् ।

बजारमा बहिर्गमनकाे हल्ला, डा. खतिवडा भने सरकारकाे प्रवक्तामा नियुक्त

काठमाडौं । अर्थमन्त्री डा‍‍‍. युवराज खतिवडा सरकारको प्रवक्ता नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । सांसदको कार्यकाल सकिन लागेका र अर्थमन्त्री पदबाट बहिर्गमनकाे प्रक्रियामा रहेका अर्थमन्त्री डा‍‍‍. खतिवडा भने सरकारका प्रवक्तमा नियुक्त भएका हुन् । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि खतिवडालाई सरकारको प्रवक्ता नियुक्त गरिएको हो । प्रधानमन्त्री केपी ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी पनि हेर्ने गरी खतिवडालाई केही दिनअघि नियुक्त गर्नुभएको थियो । आगामी फागुन २० गते उनको दुई वर्षे राष्ट्रिय सभाको सदस्यको कार्यकाल सकिँदैछ । अब अर्थमन्त्री खतिवडाले हरेक बिहीबार मन्त्रिपरिषद्को बैठक निर्णय सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएका छन् ।

को बन्ला अर्थमन्त्री ? प्रधानमन्त्रीले भने: ‘कि वार कि पार मैले युवराजलाई नै निरन्तरता दिने हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने खुलेको छ । नेकपाका एक उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिने बताएका हुन् । बुधबार नेकपा सचिवालयले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने गरी सिफारिस गरेको अनुरोधमा प्रधानमन्त्री ओलीले अस्विकार गरेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीज्यूले युवराज खतिवडालाई नै निरन्तरता दिने बताउनु भएको छ, उहाँले अब कि वार कि पार शुरु हुन्छ भन्नुभयाे, खतिवडा नै अर्थमन्त्री रुपमा दाेहाेर्याउने उहाँकाे मनसाय छ’, स्राेतले भन्याे । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । डा. खतिवडालाई सांसद नबनाउने नेकपा सचिवालयकाे निर्णय प्रधानमन्त्री ओलीले अस्विकार गरेका हुन् । याे सँगै अब उनको अर्थमन्त्री पद जाेगिने सम्भावना पनि बढेको छ । गौतम अर्थमन्त्री डा‍. युवराज खचिवडालाई रोक्ने र बहिर्गमन गराउने रणनीति अन्तर्गत राष्ट्रियसभामा जान तत्पर भएको स्रोतको दाबी छ । तर यो कुरामा प्रधानमन्त्रीले आनाकानी गरिरहेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान क्याबिनेटमा ओलीका विश्वासिला पात्र खतिवडा नै हुन् । बाँस्कोटा बहिर्गमनपछि धक्का लागेका ओलीले खतिवडामाथि नै भर गर्दै आएका छन् । बाँस्कोटाले सम्हालेको सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडालाई दिएका थिए ।

सिटिजन्स बैंकले महोत्तरीको आधारभूत विद्यालयलाई दियो ८० हजार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिवास महोत्तरीस्थित राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाईरु ८० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने कुरा जनाएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । यस बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

फागुन १६ गतेदेखि टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको तयारी पूरा

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिजको आयोजनामा यही फागुन १६ गतेदेखि  २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’  हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिजले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । ’काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजक संस्थाको तर्फबाट संयोजक ढुंगानाले नै विज्ञप्ती वाचन गरेका थिए । पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, संचार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो । उनीहरुले उक्त महोत्सव भव्य रुपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाए । आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ । पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन भने डिजिटल मिडिया संयोजक राजु बोहराले गरेका थिए । उक्त महोत्सवको उद्घाटनमामा उप–प्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ । उक्त प्रतियोगितामा कुल ७४ टिम सहभागी रहने छन् । उक्त महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्यमा मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतिक क्षेत्रले विर्सिएको छ । त्यस्ता मौलिक काँठे गीत संगीतलाई प्रबद्र्धन गर्ने नै रहेको छ । त्यस्तै, नेपाल सरकारको योजना नेपाल भ्रमण वर्ष–२०२० को प्रबद्र्धन गर्ने, काँठ क्षेत्रमा रहेको ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवद्र्धन गर्ने, काँठ क्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकहरुको प्रस्तुति देखान्छ । साथै, विभिन्न मौलिक नृत्य सहितको साँस्कृतिक कार्यक्रम गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, कार्यक्रमस्थलमा निःशुल्क रुपमा धेरैभन्दा धेरै दर्शकलाई प्रवेश गराई काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष–भुषा, रहन–सहन, हस्तकाला, खान–पिन को बारेमा जानकारी गराई कार्यक्रमको अवलोकन गराईने र काँठ क्षेत्रका बहु चर्चित सयौंभन्दा बढि मौलिक काँठे लोक भाकाहरु छनोट गरि लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगि घोषण गर्ने पनि अन्य उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र १, अन्य पुरस्कारहरु, दोस्रो हुनेलाई नगद २ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, तेस्रो हुनेलाई नगद १ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, सान्त्वना पुरस्कार नगद ५० हजार प्रमाणपत्र १ अन्य पुरस्कारहरु, उत्कृष्ट गायकलाई नगद रु १० हजार र प्रमाणपत्र, उत्कृष्ट गायिकालाई पनि नगद रु १० हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

जब सहायक स्तरको जागिर छोडेर व्यवसायमा रमाएँ: चन्द्र प्रसाद ढकाल

म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ । ती कार्यक्रममा सहभागी हुँदा उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधीहरुसँग औपचारिक अनौपचारिक थुप्रै बसाइ भए, भेला र बैठकहरु भए । ती बसाई भेला र बैठकमा तपाईहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले भन्दा तपाईंहरुले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनुभयो । जस्तो कि गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभयो । ती तपाईंहरुका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै आज म नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु । आज यो कार्यक्रममा सहभागी हुन धेरै जना साथीहरु इच्छुक हुनुहुन्थ्यो, तर आफ्नै जिल्लामा मेलामहोत्सव तथा पारिवारिक कार्यक्रम परेकाले उहाँहरु यहाँ उपस्थित हुन सक्नु भएको छैन, तर फोनमार्फत भए पनि मलाई शुभेच्छा भने प्रकट गर्नुभएको छ । देशभरका आदरणीय उद्योगी, व्यवसायी साथीहरुको यही सहृदयी भाव, सदासयता र शुभेच्छालाई म हृदयदेखि नै सम्मान पनि गर्दछु । विगत र वर्तमान बागलुङको गाउँमा जन्मिएर, एउटा सहायकस्तरको जागिर छाडेर शुरु गरेको सानोतिनो व्यवसायबाटै तपाईंहरु अधिकांश जस्तै मेरो पनि व्यवसायीक जीवन सुरु भएको हो । करिब दुई दशकअघि हामीले आइएमइ स्थापना गरेर सुरु भएको हाम्रो व्यवसायिक यात्रा आजका दिनसम्म आइपुग्दा बैंक, वित्तीय संस्था, बिमा, केवलकार, जलविद्युतदेखि लिएर सेवा क्षेत्र सम्म विस्तार भएको छ । देशैभरि पुगेको हाम्रो उद्यमशिलताबाट हजारौं नेपाली दाजुभाइ दिदीबहिनी प्रत्यक्ष एवम् आश्रित रुपमा हामीसँग जोडिनुभएको छ । यो हाम्रो लागि गौरवको विषय पनि हो । जब हामीले नेपाली दाजुभाइले बिदेशमा रगत र पसिना बगाएर जम्मा गरेको दुई चार पैसालाई विश्वासका साथ जतन गरेर उहाँहरुका आश्रित आमाबुबा एवं परिवारका हातमा पुराइदिन थाल्यौं। त्यसले हामीलाई सँधैभरी आशिर्वादको काम गरिरह्र्यो । नेपाली दाजुभाईले विश्वासकासाथ हामीलाई दिएको र हामीले जतन साथ परिवारमा पुर्याइदिएको त्यो पैसा, त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन, त्यो नेपालको अर्थतन्त्रको मेरुदण्ड पनि बन्यो। त्यही पैसाले कैयौं व्यापार चले, कयौं उद्योगहरु बने । त्यति मात्र नभएर त्यो पैसा सानोतिनो व्यापारका लागि वित्तीय स्रोत बन्यो, घरेलु उद्योगका लागि सिड मनी। आज कहिं न कहिं कतै न कतै सानो होस् वा ठूलो, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन् । तिनै घरेलु उद्योग र व्यापारलाई बढाएर मझौला उद्योग र व्यापारमा लैजान सक्यौं भने, मझौला उद्योग र व्यापारलाई बढाएर ठूला उद्योग र व्यापारमा लैजान सक्यौं भने, ठूला उद्योग र व्यापारलाई बहुराष्ट्रिय उद्योग र व्यापारमा विस्तार गर्न सक्यौं भने त्यसले हाम्रो मात्रै होइन् समग्र देशको प्रगति हुन्छ भन्ने मेरो विश्वास छ । त्यो मेरो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, तपाईं साथीहरुलाई आशावादी बनाउन, तपाईंका समस्यालाई सुल्झाउन, तपाईंका मुद्दालाई सम्वन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ । यो मेरो प्रण हो । वर्तमान अवस्था हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन । नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । लगानीकर्ताले अरु वातावरणका अतिरिक्त स्थायी सरकार पनि हेर्छन् नै । देशमा तीन तहको सरकार बनेपछि आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको मैले पाएको छु । मेरो आफ्नै कुरा गर्ने हो भने कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँ प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीज्यूहरुले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्नुहुन्छ । उहाँहरुले तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ पनि भन्ने गर्नुभएको छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि छ । तर नेतृत्वमा यो सकारात्मक सोच देखिएजसरी राज्य संयन्त्रभित्र भने के के नपुगेजस्तो देखिन्छ । हाम्रा उद्योगी, व्यवसायी साथीहरुले काम गर्ने क्रममा नेपालको परम्परागत संरचनाबाट सहज महसुश गर्न नपाएको गुनासो बारम्बार गर्नुभएको पनि छ । राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ । निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो । यसका लागि उद्योगी व्यवसायी मित्रहरु आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रुपमा लाग्नु पर्ने हुन्छ । त्यसैले मेरो उम्मेदवारीको नारा समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार राखेको छु । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म मैले कतै देखेको छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति द्रूत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । आखिर राज्य निजी क्षेत्रको विनालगानीको एउटा पाटर्नर पनि हो । महासंघमा मेरो नेतृत्व निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामी कहाँ अझै थुप्रै काम गर्न बाँकी छ। जस्तो उद्योग व्यापार दर्ता, नविकरण र खारेजी प्रक्रियालाई सहज र शुलभ बनाउनुपर्नेछ। उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा इआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झण्झटलाई छोट्टयाउनुपर्नेछ। समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनुपर्नेछ। छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन्, त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार चाहिन्छ । गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्छ । उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ती र जग्गा विक्रि गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ । एउटा निकायबाट फर्छयौट भएको विषयलाई वन, मालपोत लगायतका विभिन्न निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ। नवउद्यमीलाई मात्रै होइन्, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ । उद्योगी व्यापारीसँग राज्यका निकायले जबरजस्ती कर नउठाइ पारदर्शी ढङ्गबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ। निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनुपर्नेछ। करमा रहेका दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेको छ। त्यस्ता दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्नेछ । एउटा निकायबाट पार लागेको कर, सम्पत्तीको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने जुन रोग छ, त्यसको सही निदान र उपचार पनि गर्नुपर्नेछ। सरकारले हालै लागू गरेको भिसिटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन् । हामीले यसको पनि दिर्घकालीन समाधान खोज्नुपर्ने बेला भएको छ। सम्पत्तीमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ। स्वेदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नुपर्नेछ। त्यसका लागि उद्योग बाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने अवस्था छ । यि काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ। त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसि डाइलगलाई अझै बढाउनुपर्ने छ। विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला(ठूला मेगा इभेन्ट गर्नुपर्ने छ। उद्योगी व्यापारी साथिहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ। महासंघको भावि अध्यक्षका रुपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टीम बन्नेछ । यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं । हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविइङ् पनि गर्ने छ। मेरो उम्मेदवारी पनि त्यसैको एउटा अंश हो भनेर बुझिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ । तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाका रुपमा स्वीकारिएको यस क्षेत्रलाई सबैभन्दा सशक्त र सबल खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता यसै मञ्चमार्फत व्यक्त गर्दछु । महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ । त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु। जसरी केही वर्ष अघिसम्म उद्योगी र कामदारवीच रहेको तिक्ततापूर्ण सम्वन्धलाई हामीले वार्ता र छलफलका माध्यमबाट सुमधुर सम्वन्धमा स्थापना गर्न सफल भयौं। त्यसैगरी हामीले हाम्रा स्टेकहोल्डरसँगका समस्यालाई वार्ता र छलफलबाट समाधान गर्न हामी केन्द्रित हुनेछौं । कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो । मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु । एउटा सबल र सक्षम नेतृत्वले नै सशक्त र बलियो महासंघ निर्माणमा सघाउ पुर्याउने छ । मलाई लाग्छ हाम्रा देशभरिका उद्योगी व्यवसायी साथीहरुले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र यस महासंघको उज्वल भविष्य निर्माणमा सहयोग गर्नेछ । त्यसैले आगामी साधारणसभामा हामी सबैको विवेकको ठूलो महत्व छ । महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो । मुलुकको अर्थतन्त्रमा अहम भूमिका खेलिरहेको निजी क्षेत्रको छाता संगठन महासंघलाई जति बलियो र सशक्त बनाउन सकियो त्यति नै देशको समग्र निजी क्षेत्रको मनोबल उँचो हुनेछ र यसबाट राज्य संयन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ । यसका लागि म सबै व्यवसायी र राज्यको पुलका रुपमा बीचमा बसेर रचनात्मक भूमिका खेल्ने काममा लाग्नेछु । साथीहरुलाई के भन्न चाहन्छु भने म हिजोका दिनमा तपाईँहरुसँगै थिएँ र आज पनि छु । भोलि पनि तपाईँहरुसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म तपाईंसँग सँधै साथमै रहन्छु। आखिर हाम्रो देशैभरीका जिल्ला नगरमा व्यवसायिक नेटवर्क छ, यही व्यवसायमार्फत तपाईं हामी सबै जोडिएकै छौं । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ। महासंघ र व्यवसायिक सञ्जालमार्फत उठ्दा बस्दा तपाईंहरु सबैले म कति सहज छु भन्ने बुझिसक्नु भएको छ। मेरो व्यक्तिगत व्यवहार र व्यवसायिक प्रकृतिले गर्दा म तपाईंबाट टाढा जान पनि सक्दिन। तपाईंलाई अफ्ठ्यारो परेको दिन, तपाईंले खोजेको दिन सहजै उपलब्ध हुनेछु। महाभारतमा कृष्णजीले अर्जुनलाई युद्ध जित्नेले आफ्ना सारथीलाई चिन्न सक्नुपर्छ भन्नु भएको थियो। मेरो यो अभियानका सारथी तपाईँ उद्योगी, व्यवसायी साथीहरु हुनुहुन्छ,अग्रजहरु हुनुहुन्छ र मेरा सबैजना शुभचिन्तकहरु हुनुहुन्छ । मेरो अभियानका सारथिहरुको पहिचान मैले गरिसकेकोले म सफल हुनेमा ढुक्क पनि छु । ( ढकालले सार्वजनिक सभामा राखेको विचारकाे सम्पादित अंश )