विकासन्युज

एफएनसीसीआईमा ‘क्याम्प चेन्ज’को मौसम, दिनेश श्रेष्ठले छोडे किशोर प्रधानलाई

काठमाडौं । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन लक्षित ‘क्याम्प चेन्ज’ मौसम सुरु भएको छ । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षको चुनाव लड्ने घोषणा गरेका दिनेश श्रेष्ठ बुधबार चन्द्रप्रसाद ढकालकाे उम्मेदवारी घाेषणा सभामा सहभागी भए । त्यतिमात्र  हाेइन, उनी मञ्चबाट बाेल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्रशंसा गरे । नेपाल उद्याेग वाणिज्य महासंघमा सबल र सक्षम नेतृत्वकाे खाँचाे  रहेकाे र व्यवसायिक रूपमा सफल र महासंघमा पनि ठूलाे याेगदान गरेका ढकालले महासंघकाे सफल नेतृत्व गर्न सक्ने उनले बताए । केही साता अघि प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दा श्रेष्ठ पनि गएका थिए । श्रेष्ठले सो मन्चबाट प्रधानलाई आफ्नो समर्थन रहेको घोषणा नै गरेका थिए ।

डा. खतिवडाको सांसद पद गयो, राष्ट्रियसभामा अब बामदेव गौतम

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभाको सांसद बनेका डा. युवराज खतिवडाको सांसद पद गएको छ । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । डा. खतिवडालाई सांसद नबनाउने नेकपाको निर्णयसँगै अब उनको अर्थमन्त्री पद पनि जाने भएको छ । डा. खतिवडा सांसद बन्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका थिए । डा. खतिवडा मन्त्री बनेपछि मात्रै राष्ट्रियसभाको सांसदमा मनोनित भएका थिए । प्रतिनिधिसभा वा राष्ट्रियसभाको सांसद नभएको व्यक्ति पनि ६ महिनाको लागि मन्त्री बनाउन पाइने संबैधानिक व्यवस्था अनुसार डा. खतिवडालाई मन्त्री बनाइएको थियो । निजी क्षेत्र तथा सत्तारुढ नेकपाका नेता कार्यकर्ताले समेत नरुचाएका डा. खतिवडा प्रधानमन्त्री ओलीको जोडबलमा मन्त्रीमा टिकिरहेका थिए । अब प्रधानमन्त्रीले अति जोडबल गरे पनि डा. खतिवडालाई बढीमा ६ महिना मात्रै मन्त्री बनाउन सक्नेछन् । तर, सचिवालयमा आफै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले गैरसांसदलाई मन्त्री बनाइरहन कठिन छ । त्यसैकारण डा. खतिवडाको मन्त्री पद पनि जाने देखिन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (१४ फागुन) बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो । सम्बन्धित सामग्री मन्त्रीपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, अब को आउला नयाँ अर्थमन्त्री ? प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ? मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य, अर्थमन्त्रीमा नारायणकाजीको सम्भावना

मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा शुभारम्भ

काठमाडाैं । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी हस्टेल फर हुमनिटी नेपाल च्याप्टरको घोषणा गर्दै संस्थाका अध्यक्ष विनोद शर्माले बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्ने बताए । यो कार्यक्रमअन्तर्गत बालबालिका र युवाको शिक्षा, स्वास्थ्य र मानवअधिकारको पक्षमा काम गर्ने जनाइएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको यो संस्थाले नेपालको जुनसुकै क्षेत्रमा निश्चित क्षेत्र वा समुदायको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नेछ । हरेक बालबालिकाको समान अधिकारको सुनिश्चितताका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माको भनाइ छ । नेपाल च्याप्टरमा शर्माको अध्यक्षतामा १७ सदस्यीय समिति घोषणा गरिएको छ । विद्यालय तथा कलेजमा यस्तो कार्यक्रम सञ्चालन गरिने संस्थाका सदस्य ऋषि गौतमले बताए । नेपालमा कार्यरत मानवअधिकारवादी संस्था तथा स्थानीय सरकारको सहकार्य र साझेदारीमा संस्थाका गतिविधि अघि बढाइने उनको भनाइ छ । रासस

गभर्नर नियुक्ति प्रसंगः शिवाकोटीलाई प्रधानमन्त्रीले दिएको ‘निर्विवाद शुभकामना’को अर्थ के होला ?

काठमाडौं । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीले गत विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गरे । प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाटै पुस्तक विमोचन गरिनुले पुस्तक वा लेखकको राष्ट्रिय महत्व वा प्रधानमन्त्रीसँगको सम्बन्धको संकेत राम्रैसँग दिन्छ । अझ आगामी ६ चैतमा रिक्त हुने गभर्नर पदका स्वभाविक प्रतिस्पर्धीको पुस्तक प्रधानमन्त्रीले नै विमोचन गर्नुले शिवाकोटीको पहुँच प्रष्ट्याइसकेको छ । नेपाल राष्ट्र बैंकको लागि आगामी गभर्नर खोजिदै गर्दा शिवाकोटी नै प्रधानमन्त्रीको रोजाईका पात्र हुन त ? भन्ने प्रश्न पनि छ । यो प्रश्नलाई प्रधानमन्त्रीको एक्लो प्रयासमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडालेको क्रियाकलापले बल प्रदान गरेको छ । शिवाकोटीको पुस्तक विमोचन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडालाई पनि निम्ता गरिएको थियो । प्रधानमन्त्रीको एक्लो प्रयासले अर्थमन्त्री भएका र पछि राष्ट्रियसभाको सांसद पनि हुन पाएका डा. खतिवडा सो कार्यक्रममा गएनन् । प्रधानमन्त्री ओलीको पहलमै शिवाकोटीलाई डेपुटी गभर्नर बनाइएको थियो । प्रधानमन्त्री ओलीले मन पराउने शिवाकोटीको प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीबाटै पुस्तक विमोचन कार्यक्रममा डा. खतिवडा किन गएनन् ? शिवाकोटीप्रति डा. खतिवडाको पूर्वाग्रह वा इष्र्या त होइन भन्ने शंका पनि उब्जिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर मन्त्रिपरिषदले नियुक्त गर्ने हो । मन्त्रिपरिषदले गर्ने निर्णयमा विभागीय मन्त्री मात्रै होइन, सबै मन्त्री विपक्षमा भएपनि प्रधानमन्त्रीले चाहेको निर्णय गर्न गराउन सक्छन् । त्यसैले अर्थमन्त्रीको चाहना नभए पनि प्रधानमन्त्रीको चाहना भएको अवस्थामा शिवाकोटीलाई गभर्नर बन्नबाट कसैले रोक्न सक्दैन । तर, केही प्राविधिक समस्या भने हुन सक्छन् । जस्तो कि गभर्नर सिफारिस समितिको अध्यक्ष अर्थमन्त्री हुने कानुनी व्यवस्था छ । त्यसैले अर्थमन्त्री असाध्यै नकारात्मक भएभने शिवाकोटीको नाम सिफारिसमै नपर्न सक्छ । गभर्नर सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्ये एक जना डेपुटी गभर्नरको नाम हुनै पर्ने कानुनी व्यवस्था छ । तर, अर्थमन्त्रीले शिवाकोटीको साटो अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठको नाम सिफारिस गरिदिन पनि सक्छन् । यो भनेको कोरा सैद्धान्तिक विषय हो । केपी ओली प्रधानमन्त्री रहेको अहिलेको समयमा डा. युवराज खतिवडा जस्तो ओलीकै कृपाले मन्त्री भएका व्यक्तिले ओलीको नजिकका मान्छे शिवाकोटीको नाम सिफारिस नगर्लान भनेर अनुमान गर्नु नै बेकारको कुरा हो । अर्थमन्त्रीले शिवाकोटीको नाम नराखी गभर्नरको नाम सिफारिस गरेभने प्रधानमन्त्रीले एउटा कुनै नाम काटेर शिवाकोटीको नाम त्यही थप्न अर्थमन्त्रीलाई लगाउने छन् । बरु अर्थमन्त्री डा. खतिवडाले गभर्नर सिफारिस गर्न पाउँलान् कि नपाउँलान् भन्ने शंका छ । उनको राष्ट्रियसभा सदस्यको पद आगामी २० फागुनमा सकिदैछ । उनी पुनः राष्ट्रियसभामा मनोनित नभएमा उनको सांसदसँगै मन्त्री पद पनि गुम्नेछ । राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरिसकेको चर्चा छ । गत विहीबारको पुस्तक विमोचन कार्यक्रममै प्रधानमन्त्री ओलीले शिवाकोटीलाई ‘कुटनीतिक भाषामा गभर्नर बनाउने बचन सार्वजनिक रुपमै दिएको’ बुझ्नेहरु पनि छन् । ‘शिवाकोटीजीको पढाइको विषय म्यानेजमेन्ट, फाइनान्स, इकोनोमिक्स हो, उहाँ राम्रो साहित्य सिर्जना पनि गर्नुहुन्छ, उहाँका सिर्जनाहरु हामीले पहिला पनि पढ्न पाएका थियौं, यो पुस्तक पनि असाध्यै राम्रो छ, उहाँ बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ, उहाँलाई शुभकामना छ, सफलता अघि बढ्दै जाओस्, हामी सबैको निर्विवाद शुभकामना छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीको ‘निर्विवाद शुभकामना’लाई लिएर शिवाकोटीलाई गभर्नर बनाउने सार्वजनिक रुपमा बचन दिएको अथ्र्याउनेहरुको कमी छैन । ‘कसैलाई पनि विवादित शुभकामना दिइदैन, निर्विवाद शुभकामना भित्र लाक्षाणिक अर्थ लुकेको छ, केपी ओली जस्तो चलाख राजनीतिज्ञले नबुझेर यो शब्द प्रयोग गर्नुभएको होइन, गभर्नर शिवाकोटी नै हुन् भन्ने संकेत दिन खोज्नुभएको हो,’ सोही कार्यक्रममा सहभागी एक बैंकरले भने । अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले पनि आफूलाई भावी गभर्नरको लागि दाबी गरिरहेका छन् । यस्तै, अर्थसचिवबाट भर्खर अवकाश पाएका डा. राजन खनाललाई पनि भावी गभर्नरको रुपमा चर्चा गर्ने गरिएको छ । यस्तै, राष्ट्र बैंक संचालक समिति सदस्य डा. सुवोदकुमार कर्णलगायत अन्य केही अर्थशास्त्री पनि गभर्नर बन्ने दौडमा छन् । तर, प्रधानमन्त्री ओलीले पार्टीको समिकरण मिलाउन तत्काल मन्त्रिपरिषद पुनरगठन गरे, नयाँ व्यक्ति अर्थमन्त्री भएर आयो भने परिस्थिति फरक हुन सक्छ । तर, अहिलेसम्मको अवस्थामा शिवाकोटीको पल्ला भारी देखिन्छ ।

नयाँदिल्लीमा जारी हिंसात्मक झडपका कारण १८ जनाको मृत्यु, सयाैं घाइते

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २ सय जना घाइते भएका छन् । जिटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु रहेका छन् । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुराकानी गरेका छन् । दिल्ली उच्च अदालतको मङ्गलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ । हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको छ । यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए । गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मङ्गलबार निकै डरलाग्दो रुप लिएको थियो । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ । रासस

डेढ करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोबार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा करिब रु एक अर्बको कारोवार हुने प्रक्षेपण गरिएको थियो । महोत्सवमा विभिन्न १२० बिक्रीकक्षबाट रु एक करोड, बाल उद्यान, रोटेपिङ, रेल, कारलगायत मनोरञ्जनका साधनबाट रु २० लाख, होटल व्यवसायबाट रु १५ लाख, टिकट बिक्रीबाट रु १५ लाख ३० हजार र यातायात सेवामा रु तीन लाख बराबरको कारोवार भएको आयोजक उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । एकलाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको आयोजकले जनाएको छ । यद्यपि महोत्सवका कारण वार्षिक रु २४ करोड २० लाखको कारोबार हुने वातावरण बनेको आयोजकको दाबी छ । खोटाङको आर्थिक तथा सामाजिक उत्थान गर्न पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटीलगायत स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको थियो । त्रिधार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढीलगायतका धार्मिक, सांस्कृतिक र रमणीय एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत्, जडीबुटी, वन पैदावारलगायतका बारेमा जानकारी गराएर लगानीको अवसर सिर्जना गर्न, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताएका छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेकाे उक्त महोत्सव सोमबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले समापन गरेका हुन् । महोत्सव अवधिभर गायक राजेशपायल राई, बद्री पङ्गेनी, ज्योति मगर, कमल खत्री, दुर्गेस थापा, उल्शन श्रेष्ठलगायत दर्जन बढी राष्ट्रियस्तरका कलाकारको प्रस्तुति तथा जिल्लास्थित विभिन्न जातजातिको सांस्कृतिक झाँकी एवं साङ्गीतिक प्रस्तुति रहेको थियो । जिल्लामा पहिलोपटक आयोजना गरिएको महोत्सव सञ्चालनको जिम्मा ठेक्का शैलीमा दिइएकाले जिल्लावासीका लागि कुनै उपलब्धि नभएको गुनासा आएका छन् । महोत्सवले जिल्लाका व्यवसायीलाई फाइदा हुने र व्यापार मन्दीका कारण थिलथिलो बनेको व्यवसायलाई यो महोत्सवले केही हदसम्म राहतको महसुस गराउँछ भन्ने आशामा तुषारापात भएको जिल्लावासीको आरोप छ । महोत्सवको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरैले विरोध जनाएका छन् । महोत्सवकै विषयलाई लिएर समाजवादी पार्टी नेपाल खोटाङका नेता स्ूर्यबहादुर राईले महोत्सवको केही तस्वीरसहित फेसबुकमा राखेर ‘स्टाटस’ लेखेका छन् । उनले लेखेको स्टाटसमा भनिएको छ, “खोटाङको आर्थिक विकासमा कति टेवा पुग्छ ? म नाजवाफ छु !” सरकारले अवलम्बन गरेको समृद्ध नेपालको अभियानमा महोत्सवले टेवा पुर्याउँछ भन्ने अपेक्षा गरिए पनि जिल्लाका लागि उपलब्धिशून्य भएको होटल व्यवसायी निशान राईले बताए । महोत्सवमा खाजा तथा खाना खाने होटलदेखि बेचिने कपडालगायत सबै बाहिरकै व्यवसायीको थियो । यस वर्ष दिक्तेलमा सञ्चालन भएको महोत्सवले जिल्लामा तीन वर्षसम्म आर्थिक मन्दी हुने दिक्तेलबजारका चोकचोकमा टिप्पणी हुने गरेको छ । महोत्सवमै किराँती वेषभूषा तथा सामग्री बिक्रीकक्ष राखेका युगशन किराँतीले महोत्सवमा ल्याइएका बाहिरका व्यापारीले जिल्लावासीको लाखौँ रकम लगेको बताए । रासस

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गरेका छन् । अनौपचारीक रुपमा यस अघि नै उम्मेदवारी गरेका ढकालले औचारिक रुपमा भने बुधबार घोषणा गरेका हुन् । महासंघको आगामी चैत हुने चुनावका लागि उनले बुधबार वरिष्ठ उपाध्यक्षको घोषणा गरेका हुन् । उनको उम्मेद्वारी घोषणा कार्यक्रममा जिल्ला नगर,वस्तुगत तथा एशोसियटका व्यवसायीहरु सहभागी हुने छन् । आगामी चैतमा हुने साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । यसअघि बिराटनगरमा किशोर प्रधानले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । काे हुन् चन्द्र ढकाल ? बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष छन् । उनी डिस होम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष समेत छन् । ढकाल नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत भएका थिए । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् । ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भएका थिए । ढकाललाई महासंघकाे बरिष्ठ उपाध्यक्षकाे बलिया दावेदारकाे रूपमा हेरिएकाे छ । अहिले वरिष्ठ उपाध्यक्षमा विजयी हुने व्यक्ति तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने बैधानिक व्यवस्था भएकाेले वरिष्ठ उपाध्यक्षकाे निर्वाचनलाई निकै महत्वका साथ लिइन्छ ।

भद्रपुर हुलाक बचत बैंकको पुँजी तीन करोड, बिनाधितो साढे चार लाख ऋण दिने

भद्रपुर । झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पुँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो । हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज उपलब्ध हुने हुलाक बचत बैंक फाँटका इन्चार्ज रामहरि खतिवडाले बताए । एक हजार १ सय ग्राहक रहेको बैंकमा रु ५ सय देखि रु नौ लाखसम्म बचत गर्न सकिनेछ । कर्मचारीलाई बिनाधितो रु चार लाख ५० हजार ऋण दिने व्यवस्था गरिएको छ । मासिक तलबबाट कट्टी हुनेगरी कर्मचारीलाई ऋण उपलब्ध गरिएको उनले बताए । ऋण लिएबापत कर्मचारीले आठ प्रतिशत ब्याज बुझाउनुपर्नेछ । सो ऋण ७२ किस्ता अर्थात् ६ वर्षमा तिरिसक्नुपर्ने नियम छ । हुलाक ऐन, २०१९ अन्तर्गत हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३/३४ देखि हुलाक बचत बैंकको स्थापना भएको हुलाक कार्यालय प्रमुख दामोदर घिमिरेको भनाइ छ । देशभरका ११७ हुलाक कार्यालयमा उक्त बैंक स्थापना भएको छ । सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यका साथ हुलाक बचत बैंक सञ्चालन गरिएको हो । हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले देशभरका बैंकसम्बन्धी कार्य हेर्ने गर्दछ । खतिवडाका अनुसार बैंकमा रु एक करोड ६० लाख मुद्दतिमा र रु एक करोड ५२ लाख ऋण लगानी गरेको छ । बैंकले बाल बचतलगायतका खातासमेत सञ्चालनमा ल्याएको उनको भनाइ छ ।