मेगा बैंकद्वारा धरानका विद्यार्थीलाई वित्तीय साक्षरता
काठमाडौं । मेगा बैंक नेपालले धरानका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जागरुक बनाएका थिए । वित्तीय जागरण गराउने उद्देश्यले मेगा बैंकले देशभर छरिएका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । यो अभियान जारी रहेको मेगा बैंकले जनाएको छ ।
अर्थमन्त्री डा. खतिवडाले दिए राजीनामा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार मन्त्रीपदबाट राजीनामा दिएको बताइएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा. खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका हुन । उनले मूख्य सचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको बताइएको छ । राजीनामा दिइसकेपछि उनको राजीनामा स्वीकृत गरी पुनः मन्त्री पदमा नियुक्त गर्ने बुझिएको छ । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् । धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।
खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अब अनलाइनबाटै पैसा पठाउन र निकाल्न सकिने
काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्ने र देशका जुनसुकै कुनाबाट पनि रकम निकाल्न सक्ने छन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् । यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
कोरोना भाइरसको कारणले विदेश पढ्न जान नपाइने, विदेशमा रहेकाले के गर्ने?
काठमाडौं । कोरोना भाइरसका कारणले नेपाली विद्यार्थी विदेश पढ्न जान नपाउने भएका छन् । कोरोना भाइरसको प्रभाव देखिएका देशमा अध्ययन अनुमतिपत्र दिन शिक्षा मन्त्रालयले रोकेको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकले वैदेशिक अध्ययन अनुमति पत्र अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको प्रभाव नदेखिएका देशमा भने नेपाली विद्यार्थी अध्ययन गर्न जान पाउने छन् । कोरोना भाइरस नदेखिएका देशहरुमा विद्यार्थीले अध्ययन अनुमतिपत्र पाउने शिक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सोमबार जारी गरेकोे निर्णय अनुसार कोरोना भाइरसको प्रभाव देखिएका चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरानलगायतका देशमा वैदेशिक अध्ययन अनुमति पत्र जारी नगर्ने निर्णय भएको हो । ‘विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको प्रतिवेदनको आधारमा कोरोना भाइरसको प्रभाव कम देखिएका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई साविक बमोजिम नै अनुमति पत्र दिने काम जारी रहेको छ,’ मन्त्रालयले जानकारी दिएको छ । अष्ट्रेलिया,अमेरिका, बेलायत लगायतका देशमा पढ्न जान चाहने विद्यार्थीका हकमा अनुमति पत्र रोकिएको छैन । कोरोना भाइरस देखिएका देशमा भएका नेपाली विद्यार्थीलाई भने के गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन् ।
कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा
काठमाडौं । कुमारी बैंकले गुल्मीको लिम्घामा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीले गरेका हुन् । कार्यक्रम बैंकका डेपुटी सिइओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चाजर्, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो । बैंकले १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग इकाइमार्फत ग्राहकलाई सेवा दिंदै आएको छ ।
अर्थमन्त्री खतिवडाको सांसद पद गयो, दोहोरिएलान् त अर्थमन्त्रीमा ?
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको पद सकिएको छ । दुई वर्षका लागि सासंद बनेका खतिवडाको कार्यकाल आज (मंगलबार) सकिएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा. खतिवडाको कार्यकाल आज सकिएकाे हाे । राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाको सांसद गएपनि मन्त्रीको भने यथावथ रहेने बुझिएको छ । स्रोतका अनुसार उनी आजै मन्त्री पदबाट राजिनामा दिने भएका छन् । राजीनामा दिइसकेपछि उनको राजीनामा स्वीकृत गरी पुनः मन्त्री पदमा नियुक्त गर्ने बुझिएको छ । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ । उसाे त अर्थमन्त्री खतिवडाले गत साताकाे बिहिबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै फागुन २१ गते सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सञ्चारकर्मीलाई आग्रह गरेका थिए । त्याे भनाइले पनि उनी आफू नै अर्थमन्त्री हुने संकेत देखाएकाे बुझ्न सकिन्छ । यो सँगै अब उनको अर्थमन्त्री पद जोगिने सम्भावना पनि बढेको छ । केही दिन अगाडि नेकपाका उपाध्यक्ष बामदेव गौतम अर्थमन्त्री डा.युवराज खचिवडालाई रोक्ने र बहिर्गमन गराउने रणनीति अन्तर्गत राष्ट्रियसभामा जान तत्पर भएको स्रोतले बताइएकाे थियाे । तर, यो कुरामा प्रधानमन्त्रीले आनाकानी गरिरहेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान क्याबिनेटमा ओलीका विश्वासिला पात्र खतिवडा नै हुन् । बाँस्कोटा बहिर्गमनपछि धक्का लागेका ओलीले खतिवडामाथि नै भर गर्दै आएका छन् । बाँस्कोटाले सम्हालेको सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडालाई दिएका थिए ।
ट्राफिक जाम नियन्त्रणका लागि लग्जेम्बर्गले हटायो सबै यातायातमा लाग्ने भाडा
काठमाडौं । संसारमा पहिलोपटक आफ्ना नागरिकलाई निशूल्क यातायात सेवा प्रदान गर्ने देशको रुपमा लग्जेम्बर्गले आफूलाई दर्ज गर्न सफल भएको छ । यूरोपेली संघअन्तर्गतको सानो तर समृद्ध यस राष्ट्रका नागरिकहरुको व्यक्तिगत सवारी साधन खरिद र प्रयोगको प्रबृत्तीमा आएको वृद्धिको कारण बढ्न गएको सवारी चापलाई नियन्त्रणमा लिन यसै साताको सुरुदेखि त्यहाँको सरकारले ट्राम, रेल र बसद्धारा निशूल्क यातायात सेवा प्रदान गर्ने घोषणा गरेको हो । विश्वका विभिन्न देशका केहि शहरहरुमा यस्तो खालको सुविधा पहिल्यैदेखि उपलब्ध भएतापनि सिङ्गै देशभरी नै यातायात सेवा निशूल्क गर्ने पहिलो देश लग्जेम्बर्ग भएको त्यहाँका यातायात मन्त्री फ्रान्कोइज बउस्चले दाबी गरे । यसै साता लग्जेम्बर्गमा त्यहाँका नागरिक, अन्य यात्रु तथा पर्यटकका लागि निशूल्क यातायात सेवाको उद्घाटन गर्ने क्रममा उक्त सेवा एक महत्वपूर्ण सामाजिक समाधान भएको मन्त्री बउस्चले बताए । लग्जेम्बर्गमा करिब ४७ प्रतिशत बिजनेश ट्रिप (व्यापारका लागि गरिने यात्रा) व्यक्तिगत कारमार्फत हुनेगर्छ भने काममा जाने जनसंख्यामध्ये करिब ३२ प्रतिशतले बस तथा १९ प्रतिशतले रेलको प्रयोग गर्छन् । उता छिमेकी देश फ्रान्समा भने लगभग ७० प्रतिशत काममा जाने मानिसले सार्वजनिक यातायातको प्रयोग गर्दछन् । लग्जेम्बर्गमा छिमेकी राष्ट्र फ्रान्स, जर्मनी र बेल्जियमबाट कामका लागि आउने ठूलो संख्याका मानिसले दैनिक आवतजावतका लागि ब्यक्तिगत कारको प्रयोग गरेका कारण यस सानो यूरोपेली राष्ट्रको ट्राफिक जामको अवस्था भयावह बनेको विभिन्न संचार माध्यमहरुले जनाएका छन् । करिब छ लाख १० हजार जनसंख्या भएको लग्जेम्बर्गमा आधाभन्दा बढी काम गर्ने कर्मचारीहरु विभिन्न छिमेकी राष्ट्रहरुबाट आउने गर्दछन् । आफ्ना नागरिकहरुलाई सार्वजनिक यातायातप्रतिको सोच एवं ब्यवहार परिवर्तन गर्न हालै ल्याइएको यस नयाँ कदमले लग्जेम्बर्गका करिब ४० प्रतिशत नागरिकलाई सकारात्मक प्रभाव पार्ने र यसका कारण प्रति व्यक्तिले वार्षिक रुपमा करिब ११० अमेरिकी डलर यातायात भाडाबापतको रकम जोगाउने विश्वास गरिएको छ ।
कोरोना भाइरस विशेषज्ञ डा.बास्तोला भन्छन्ः ‘कोरोना लाग्दैमा मान्छे मर्दैन’
काठमाडौं । यतिखेर विश्वभर कोरोना (कोभिड–१९) को त्रास छ । चीनबाट सुरु भएको भनिएको कोरोना भएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका नागरिकरुमा डर त्रास र भयको वातावरण सिर्जना भएको छ । कोरोनाको संक्रमण भइसकेपछि मानिस मरिहाल्छ भन्ने मनासय मानिसहरुले बनाइसकेका छन् । यसले पनि उनीहरुमा त्रासको वातावरण बढी भएको हो । मानिसहरुमा कोरोनाको त्रास व्याप्त भइरहेको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले कोरोना भाइरस लाग्दैमा मृत्यु भइहाल्ने कुरा गलत भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै डा. बास्तोलाले कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्नु भ्रम रहेको बताए । वैज्ञानिक तथ्यले कोरोना लागेका ८० देखि ८२ प्रतिशत मानिसहरु सामान्य रुघाखोकी लागेर केही दिनमै अस्पतालमा भर्ना नभई निको भएको देखाएको छ । अन्य व्यक्तिमा निमोनियाको लक्षणहरु देखा परी फोक्सोमा पानी जम्मा हुने, विभिन्न अंगहरुले काम गर्न छोड्ने भई मृत्यु हुने गरेको छ । प्रत्येक एक सय जना व्यक्तिमा कोरोनाको कारण २ देखि ३ जनाको मृत्यु भएको देखिएको डा. बास्तोला बताउँछन् । कोरोना लागेर मृत्यु हुने सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दीर्घरोगी भएको र त्यसमा पनि मुटुरोग लागेकाहरु सबैभन्दा बढी भएको उनको भनाइ छ । त्यसपछि फोक्सोका रोगी, चिनि रोगी र क्यान्सर तथा अन्य रोगसँग लड्न सक्ने क्षमता कम भएका व्यक्तिहरुको मृत्य भएको बास्तोलाले बताए । ‘६० वर्षभन्दा कम उमेरका मृत्यु हुने मानिसहरु निकै कम रहेका छन्, कोरोना लाग्ने बित्तिकै मर्छन् भन्ने भ्रम मानिसहरुमा छ, यसबाट कसैले डराउनु पर्दन’, उनले भने । अहिलेसम्म नेपालमा एक व्यक्ति बाहेक अन्यमा कोरोनाको संक्रमण देखिएको छैन । एक व्यक्तिमा भएको कोरोना पनि आफै निको भई बाँकी जाँच भएकाहरु सबैमा नेगेटिभ देखिएको छ । यस्तै, शुक्रराज ट्रपिकल अस्पतालमा भएका ५ जना व्यक्तिहरुको नतिजा केही घण्टामै आउने डा. बास्तोलाले बताए । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार १ सय २० को मृत्यु भईसकेको छ । संसारभरमा कोरोनाको संक्रमणमा ९३ हजार भन्दा बढि मानिसहरु रहेका छन् । जसमा चीनमा ८० हजार ५२, दक्षिण कोरीयामा ५ हजार १ सय ८६, ईटालीमा २ हजार ३६, ईरानमा १ हजार ५ सय रहेका छन् । डायमन्ड प्रिन्सेन सिपमा ७ सय ६ जना, जापानमा २ सय ७४, फ्रान्समा १ सय ९१, जर्मनीमा १ सय ६५ र स्पेनमा १ सय २० जना संक्रमित भएका छन् । हाल सम्म ४८ हजार २ सय ५३ जना कारोना लागेर पनि निको भइसकेका छन् । संक्रमणबाट बच्न नेपाल सरकारले समेत पूर्व सावधानी अपनाइरहेको छ । विमानस्थलदेखि अन्तर्राष्ट्रिय सीमा-नाकासम्म चेकजाँचको प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तयारी सँगसँगै सर्वसाधारण नेपालीले समेत कोरोना संक्रमणको त्रासबाट मुक्त हुन मानसिक तयारी गर्नुपर्ने डाक्टर बताउँछन् । डाटरहरुले कोरोनालाई लिएर बढी चिन्तित नहुन सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेको काेराेना हुन नदिन धेरै उपायहरु अपनाउन सकिने बताएका छन् । कसरी सावधानी अपनाउन सकिन्छ ? – कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ । – कोरोना सर्योन भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन । – कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने । – कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन । – कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ ९३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि । – शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ । – विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन । – बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्यो् भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ । – बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ । – कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ९टेन्ट० आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् । – कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ । – कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ । – क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन । – यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०५ रोकथाम हुन्छ ।