
काठमाडौं । संसारमा पहिलोपटक आफ्ना नागरिकलाई निशूल्क यातायात सेवा प्रदान गर्ने देशको रुपमा लग्जेम्बर्गले आफूलाई दर्ज गर्न सफल भएको छ ।
यूरोपेली संघअन्तर्गतको सानो तर समृद्ध यस राष्ट्रका नागरिकहरुको व्यक्तिगत सवारी साधन खरिद र प्रयोगको प्रबृत्तीमा आएको वृद्धिको कारण बढ्न गएको सवारी चापलाई नियन्त्रणमा लिन यसै साताको सुरुदेखि त्यहाँको सरकारले ट्राम, रेल र बसद्धारा निशूल्क यातायात सेवा प्रदान गर्ने घोषणा गरेको हो ।
विश्वका विभिन्न देशका केहि शहरहरुमा यस्तो खालको सुविधा पहिल्यैदेखि उपलब्ध भएतापनि सिङ्गै देशभरी नै यातायात सेवा निशूल्क गर्ने पहिलो देश लग्जेम्बर्ग भएको त्यहाँका यातायात मन्त्री फ्रान्कोइज बउस्चले दाबी गरे ।
यसै साता लग्जेम्बर्गमा त्यहाँका नागरिक, अन्य यात्रु तथा पर्यटकका लागि निशूल्क यातायात सेवाको उद्घाटन गर्ने क्रममा उक्त सेवा एक महत्वपूर्ण सामाजिक समाधान भएको मन्त्री बउस्चले बताए ।
लग्जेम्बर्गमा करिब ४७ प्रतिशत बिजनेश ट्रिप (व्यापारका लागि गरिने यात्रा) व्यक्तिगत कारमार्फत हुनेगर्छ भने काममा जाने जनसंख्यामध्ये करिब ३२ प्रतिशतले बस तथा १९ प्रतिशतले रेलको प्रयोग गर्छन् । उता छिमेकी देश फ्रान्समा भने लगभग ७० प्रतिशत काममा जाने मानिसले सार्वजनिक यातायातको प्रयोग गर्दछन् ।
लग्जेम्बर्गमा छिमेकी राष्ट्र फ्रान्स, जर्मनी र बेल्जियमबाट कामका लागि आउने ठूलो संख्याका मानिसले दैनिक आवतजावतका लागि ब्यक्तिगत कारको प्रयोग गरेका कारण यस सानो यूरोपेली राष्ट्रको ट्राफिक जामको अवस्था भयावह बनेको विभिन्न संचार माध्यमहरुले जनाएका छन् ।
करिब छ लाख १० हजार जनसंख्या भएको लग्जेम्बर्गमा आधाभन्दा बढी काम गर्ने कर्मचारीहरु विभिन्न छिमेकी राष्ट्रहरुबाट आउने गर्दछन् ।
आफ्ना नागरिकहरुलाई सार्वजनिक यातायातप्रतिको सोच एवं ब्यवहार परिवर्तन गर्न हालै ल्याइएको यस नयाँ कदमले लग्जेम्बर्गका करिब ४० प्रतिशत नागरिकलाई सकारात्मक प्रभाव पार्ने र यसका कारण प्रति व्यक्तिले वार्षिक रुपमा करिब ११० अमेरिकी डलर यातायात भाडाबापतको रकम जोगाउने विश्वास गरिएको छ ।