थाइल्याण्ड विरुद्ध नेपालको जित
काठमाडौं । एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालको जित भएको छ । ६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्ल र पवन सर्राफले बिस्फोटक ब्याटिङ गर्दै ५.३ ओभरमा नौ विकेट जित निकालेका हुन् । ओपनिङमा आएका कुशलले अविजित रहँदै १८ बलमा ३६ रन जोडे । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । कुशलसँग राम्रो साझेदारी गरेको पवन सर्राफले पनि बिस्फोटक ब्याटिङ गरे । उनले दश बलमा तीन छक्का र दुई चौका प्रहार गरे । पारस खड्का भने पाँच बल खर्चिदै १० रन जोडेर आउट भएका थिए । टस जितेर फिल्डिङ रोजेको थाइल्याण्डले अलआउट हुँदै ६६ रन जोडेको थियो । नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछानेले एक र भुवन कार्कीले एक विकेट लिए । नेपालको राष्ट्रिय टीममा भुवन कार्कीले भने शानदार डेब्यू गरेका छन् । थाइल्याण्ड विरुद्ध डेब्यू गरेका उनले पुरा चार ओभर बलिङ गर्दै ६ रन खर्चिएर एक विकेट लिएका छन् ।
कोराेना प्रभाव : राष्ट्रिय साहित्य सम्मेलन स्थगित
दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो । ‘भाषा, साहित्य र संस्कृतिको उत्थान : साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले आयोजना गर्न लागेको साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगे पनि हाललाई उक्त कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । साहित्य सम्मेलनका लागि स्वदेश र विदेशबाट गरी २३७ वटा कविता प्राप्त भइसकेको थियो । “सम्मेलनको पूर्ण तयारी भइसकेको अवस्थामा अहिले संसारभरका मानिसलाई कोरोना भाइरसले त्रस्त बनाएको र नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय तनहुँले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी सभा–सम्मेलन आयोजना नगर्न निर्देशन जारी गरेको छ”, प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोही कारण हाललाई साहित्य सम्मेलन स्थगित भएको छ ।” साहित्य सम्मेलनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अनुकूल समयमा सम्मेलन आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । सतर्कता अपनाउन प्रशासनको अपिल जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सतर्कतामा जोड दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले कोरोना भाइरसको सङ्क्रमणबाट जोखिमलाई मध्यनजर गर्दै भीडभाड तथा मानिसको अत्याधिक जमघट हुने स्थानमा नजान र व्यक्तिगतरूपमा नियमित सरसफाइमा ध्यान दिन आग्रह गरेको हो । प्रशासनले तनहुँ जिल्लामा हुन गइरहेको तीनदिने सनातन धर्म सांस्कृतिक विषयक अन्तर्राष्ट्रिय सम्मेलन तथा ठूला सभा, सम्मेलन, महोत्सव, महायज्ञ, भेला, भोजभतेरका लागि अत्यधिक मानिसको जमघट हुने कार्यक्रम नगर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । कार्यालयले सबै स्थानीय तहहरुले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न, निरन्तर रुघाखोकी, ज्वरोको सङ्क्रमण देखिएमा तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनसमेत अनुरोध गरेको छ । रासस
खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त (विज्ञप्तीसहित)
काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । ‘आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
स्वास्थ्य मन्त्रालयको टोलीद्वारा भरतपुर अस्पतालको निरीक्षण
चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो । सो अवसरमा दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्ने खतराबारे सजग रहन निर्देशन दिए । छिमेकी देश र रोजगारीको सिलसिलामा गएर फर्किएकालाई घरमा नै बसेर क्वारेन्टाइन गराउनतर्फ केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो । अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उनले निर्देशन दिए । सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना भाइरस देखिइहालेमा अस्पतालले गरेका पूर्वतयारीका बारेमा जानकारी दिनुभएको थियो । उनले पाँच श्ययाको छुट्टै कक्ष (आइसोलेसन वार्ड) स्थापना गरिएको, दुई चिकित्सकलाई विशेष जिम्मेवारी (फोकल पर्सन) तोकिएको बताए । ज्वरोका बिरामीलाई छुट्टै परीक्षण गरिएको र विशेषज्ञ चिकित्सकहरुबीच नियमित अन्तरक्रिया गरिएको उनले जानकारी दिए । अस्पतलमा अहिले मास्क र पिपी (उपचारका क्रममा लगाइने कपडा) अभाव रहेको भन्दै त्यसको व्यवस्थापनका लागि उनले आग्रह गरे। कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र जनचेतना फैलाउने काम भइरहेको तिवारीले बताएका थिए । भरतपुर अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।
कोरोनाको उच्च सतर्कता अपनाउँदै माथिल्लो मर्स्याङदी ए, बाह्य व्यक्ति प्रवेशमा राेक
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन । सन् २०२० जनवरी २२ का दिन चीनको उहान शहरमा कोभिड–१९ नामक भाइरसको प्रकोप देखिएपछि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । यसैअनुरुप चिनियाँ कम्पनी सिनो हाइड्रमो पनि उच्च सतर्कता अपनाइएको हो । कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकी नदेखिएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर लि काउयुआनले बताए । जनवरी ३० का दिन कम्पनीका प्रबन्ध निर्देशक यान हुङवेले एउटा विशेष बैठकको आयोजना गरी कार्यालय तथा आयोजनामा कोरोनासम्बन्धी उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । आयोजनाले तीन प्रकारका मास्क, स्प्रिट, लिक्विड, हात धुने सेनिटाइजर, थर्मोमिटर, स्प्रेयरलगायत सामग्री खरिद गरेको छ । उक्त सामान प्रयोगमा ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । आयोजनाका दोभाषे दयाराम दाहालका अनुसार चीनमा कोरोना भाइरस फैलिएपछि यसको रोकथाममा सहयोग पुर्याउन सिनो हाइड्रोले उच्च सकर्तकता अपनाउन मेडिकल सामान किनेर ल्याएको हो । अहिले सबैले मास्क लगाएर काम गर्ने गरेका छन् । आयोजनाका अनुसार कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकीको अवस्था देखिएको छैन । आयोजनामा काम गर्ने कम्पनी तथा यसका सहायक कम्पनीले कोरोना भाइरसका विषयमा गहिरो गरी अध्ययन गर्ने, यसबाट मुक्ति पाउनका लागि कर्मचारीले सुरक्षात्मक उपाय अवलम्बन गर्ने, स्वस्थ आनीबानीमा ध्यान दिने, जिम्मेवार तहबाटै सबै आवश्यकीय विषय कार्यान्वयन गर्ने र कोरोना भाइरस छिर्नै नदिने उपाय अवलम्बन गरिएको बताइएको छ । आयोजनामा हाल ४० चिनियाँ कर्मचारी र १०० बढी नेपाली कर्मचारी छन् । डिसेम्बर अन्तिमतिर चीन गएका चिनियाँ कर्मचारीहरू चीनमा कोरोना फैलिएपछि उतै रोकिएका छन् । कोरोना बढी मात्रामा फैलिएको हुवेइ प्रान्त बाहिरका उनीहरु कोरोनाका कारण आउन नसकेको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्ध निर्देशक भने बैठक बसेर चीन गई पुनः फर्किएका छन् । उनी काठमाडौँको कार्यालयमा १४ दिन क्वारेन्टाइनमा बसेर आयोजनाको कार्यालयमा आएका हुन् । रासस
डोल्पाको रोग प्रभावित क्षेत्रमा गए औषधिसहित चिकित्सक टोली
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, र्याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ । रोगले ग्रस्त नागरिकको नमूना सङ्कलनका लागि प्रदेश अस्पतालका डा. इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरबाट भर्खरै प्रकोप क्षेत्रमा पुगेका हुन् । नमूना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा लैजाने बताइएको छ । त्यसैगरी, प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा. मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि हेलिकोप्टरबाट जानुभएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा. सिजन रावलले जानकारी दिए । हेलिकोप्टरले चिकित्सकमात्रै नभएर मास्क, पञ्जा, एन्टिभाइरललगायतका आवश्यक औषधिसमेत बोकेर लगेको रावलले बताएका छन् । प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् । पैँतालीस घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ । प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिङ्गटा लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन् । डोल्पा क्षेत्र नं २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय वीरबहादुर शाही र बद्मीकुमारी बोहोराले रोगका विषयमा कर्णाली प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस
टी–ट्वान्टी कप क्रिकेट : थाइल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल
काठमाडाैं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउनेछन् । त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्धको खेलमा जित निकाल्नुको विकल्प छैन । त्यस्तै, नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउनका लागि अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा पराजय भोगेको छ । नेपाल मलेशियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो । अब नेपालले थाइल्यान्ड र सिङ्गापुर दुवैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ । नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यता तीन खेल खेलेको थाइल्याण्डले तीनै खेलमा पराजय भोगेको छ । थाइल्यान्डले हङकङ र मलेशियासँग समान आठ विकेट तथा सिङ्गापुरसँग ४३ रनले पराजित भएसगै एशिया कप यात्राबाट बाहिरिसकेको छ । थाइल्याण्ड अङ्कविहीन रहँदै अङ्क तालिकाको पुछारमा छ । रासस
कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह
काठमाडाैं । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्ष रूपमा काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक यस फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील भएको उल्लेख ती संस्थाले जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत समावेश गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर प्रयत्नमा जुट्नु सबैको कर्तव्य भएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन)ले सार्वजनिक आह्वान गरेका हुन् । सदस्य विद्यालयलाई यस सङ्क्रमणप्रति सजग र सचेत रही आफ्ना विद्यालयका कार्यक्रमसमेत अत्यन्तै सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै अभिवादन गर्दा हात नमिलाऔँ र नमस्कार आदान–प्रदान गर्ने गरौँ भनी आह्वान पनि गरिएको छ । बालबालिकालाई मास्क लगाउने, हातमुख धुने, व्यक्तिगत तथा संस्थागत सरसफाइमा उचित प्रबन्ध मिलाउने कार्य गर्न/गराउनु हुन साथै यो सङ्क्रमण चिसो वा पानीसँग बढी सम्बन्ध राखी फैलने भन्ने चिकित्सकको सुझावलाई ध्यान दिन सुझाव दिइएको छ । यसैगरी अनावश्यक भीडभाडमा सामेल नहुन, घर परिसरको फोहरलाई यथाशक्य व्यवस्थापन गर्न, मासुजन्य खाद्य पदार्थ प्रयोगमा विशेष सावधानी अपनाउन, बजारमा प्राप्त हुने विभिन्न प्रकारका प्याकमा पाइने चिसो पेय पदार्थ प्रयोग नगर्न, विद्यालयका शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गर्न/गराउन पनि आह्वान गरिएको छ ।रासस