कमल थिङको उद्धारको लागि आवश्यक ‘ब्लडमनी’ संकलन भयाे
काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपालले सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्बर–२ स्थायी घर भएका कमल थिङको ‘ब्लडमनी’ तिर्नको लागि आवश्यक रकम उठिसकेको जनाएको छ । थिङलाई कतारको अदालतले ब्लडमनी तिर्नको लागि फैसला सुनाएको थियो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो । ब्लडमनी तिर्नको लागि कतारी रियाल २ लाख अर्थात नेपाली ६० लाख भनिएको थियो । उक्त रकम तिर्नको लागि नेपालमा जम्मा भैसकेको छ । पारिवारिक सहमतिका आधारमा तोकिएको पैसा तयार गरिएको पनि संस्थाले जनाएको छ । मृत्तकको परिवारले बोलाएपछि उक्त रकम हस्तान्तरण गरिने पनि संस्थाले जनाएको छ । मृत्तक शिवरतन राउत पनि नेपालकै हुन् । उनको ठेगाना धनुषा जिल्ला घोडघाँस वडा नम्बर–३ हो । उनको परिवारले सहमति जनाएपछि ब्लडमनी तिर्न लागिएको पनि संस्थाले बताएको छ । मृत्तकको परिवारले रकम बुझेपछि आममाफीमा लिखित सहमति हुने र अहिले त्यसको लागि मृत्तकका छोरा राजकुमार राउतले थिङको परिवारसँग समन्वय गरिरहेको पनि उक्त संस्थाले स्पष्ट पारेको छ । सन् २०१८ सेप्टेम्बर ८ तारिखमा एक आपसमा जिस्किने क्रममा कतारमै दुर्घटना भई राउतको मृत्यु भएको कुरा पनि संस्थाले जनाएको छ । २०७६ साउन २१ गते कतारको दोहास्थित् नेपाली राजदूतावासले कतारमा मृत्यु भएका नेपाली नागरिक राउतको क्षतिपूर्तिको सम्बन्धमा मृत्तक र थिङ दुवैको परिवारलाई सम्बोधन गरेर पत्राचार समेत गरेको थियो । कार्यक्रममा वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले घट्ना भएपछि थिङको परिवारका सदस्यहरु आफूहरुको संस्थामा आएको र उद्धारको लागि निवेदन दिएको सुनाए ।
आरबिआई बैंककाे आकस्मिक निर्णयः सीमित रकम मात्र झिक्न पाइने
मुम्बई । भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् । मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए । उनले भने, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ । एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ ।” अर्का ग्राहकले भने, “यो अति नै पिडादायी कुरा हो । तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ । मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ ।” भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो । यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन । रासस
गरिमा विकास बैंकको सीईओमा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त
काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले ढकाललाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । संस्थाको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै, नवनियुक्त सीईओले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी अर्को कार्यभार सम्हाल्ने छन् ।
सिटिजन्स बैंकको ९४औं शाखा डोल्पाको जुफालमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा शुक्रबार डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । नेपाली जन माझमा वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो । उक्त शाखाको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको कुरा बैंकले जानकारी दिएको छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । यस बैंकले ९४ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिंदै आएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।
वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द
काठमाडाैं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ । हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
श्रम कार्यालय पोखराले गर्यो श्रम स्वीकृत बन्द
काठमाडौं । श्रम तथा रोजगार कार्यालय पोखराले पुन श्रम स्वीकृत दिन बन्द गरेको छ । एक दिनका लागि साउदी, कुवेत, ओमन, कतार, बहराइन जस्ता अरवियन भाषामा भिसा हुने देशहरुको लागि श्रम स्वीकृत बन्द गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा रोजगार कार्यालय पोखराका भाषा अनुवादक मुस्ताफा जोशीको अनुपस्थित भएसँगै बन्द गर्न लागिएको हो । पछिल्लो समय रोजगार गन्तव्य मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै श्रम स्वीकृति रोक्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । ताहचल तथा उपत्यका बाहिर धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरबाट श्रम स्वीकृति दिँदै आएको छ ।
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोबार ठप्प
सिमकोट । अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो । गत फागुन ५ गते रातिको समयमा एक अज्ञात समूहले टावरसँग जोडिएका सबै तार र अन्य सामग्रीलाई तोडफोड गरेपछि गाउँपालिकाका सबै सेवाग्राही समस्यामा परेको वल्र्डलिङ कम्युनिकेसनका जिल्ला संयोजक रामजन रावतले बताए । रावतका अनुसार चैखेली गाउँपालिकामा रहेका वडा नं १ देखि ६ सम्मका कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, स्वयं चङ्खेली गाउँपालिका कार्यालय तथा सर्केगाड गाउँपालिकाको सिटिजन्स बैंकको कारोवार ठप्प हुनुका साथै इलाका प्रशासन, सर्केगाडका वडा कार्यालय, स्वास्थ्यचौकी तथा विद्यालय समस्या भएको महिला कल्याण फिल्ड संयोजक पदमराज हमालले बताएका छन् । सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुली गाउँपालिकाका नागरिक सेवा लिन सदरमुकाम सिमकोट नै धाउनुपर्ने बाध्य छन् । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा ‘इमर्जेन्सी डकुमेन्ट मेल’ गर्न समस्या भएको गाउँपालिका कार्यालयले जानएको छ । सो टावर तोडफोड गर्ने व्यक्तिको खोजीका लागि मिमि प्रहरीचौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।
रेडियो नेपालको प्रसारण पहुँच ७७ वटै जिल्लामा पुर्याउन सञ्चारमन्त्री डा. खतिवडाको निर्देशन
काठमाडौं । अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्याउने गरी योजना बनाउन निर्देशन दिएका छन् । डा. खतिवडाले शुक्रबार सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको बताए । उनले प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउँन निर्देशन दिएका छन् । मन्त्री खतिवडाले पछिल्लो समय फैलिएको कोभिड १९, कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर सचेत र सतर्कता अपनाउने गरी सबैमा जनसचेतनामुलक सुचना प्रचार सामग्री प्रसारण गर्न पनि आग्रह गरे । रेडियो नेपालको वजेटको अर्धवार्षिक समिक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालका बैद्धिक सम्पतिको संरक्षण तथा व्यवसायिक उपयोगमार्फत् आम्दानी बढाउन, त्यसबाट पेन्सन कोषको व्यबस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न खतिवडाले निर्देशन दिएका छन् । उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायतका राज्यका संचार माध्यम बीचको अनतरसम्बन्ध बलियो हुनुपर्नेमा जोड समेत दिए । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष रेडियो नेपालले गरिरहेका कामकारवाही र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्चार मन्त्रालयका सचिव दिपक सुबेदीसहित मन्त्रालयका पदाधिकारीहरु पनि सहभागी थिए ।