वेलकम परिवारले मिस नेपाल नर्थ अमेरिकासँग मनायो ‘मास्क होली’
काठमाडौं । वेलकम एडभरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिले मिस नेपाल नर्थ अमेरिका, श्रेया गजुरेलसँग ‘मास्क होली’ मनाएको छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा मास्क लगाएर होली मनाइएको हो । मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेले आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिँदै, ब्यस्तताका बावजूद पनि अमेरिकाबाट नेपाल आएर वेलकम परिवारको साथमा सम्पूर्ण देशवाशीलाई होलीको शुभकामना प्रदान गरेकी छिन् । उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष निता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गरेकी थिइन् । वेलकमका संचालक निर्मलराज पौडेलले नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर अरुलाई पनि सहायता गर्दै २०७६ को हाली, ‘मास्क होली’ बनाउन सल्लाह र सुझाव दिएका छन् ।
धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, न्यौपानेले नेतृत्व गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न यूनियनको पाँचौं अधिवेशनले तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो । यूनियनको नयाँ कार्य समितिमा ९ जना चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् । कार्य समितिको कार्यकाल ४ वर्षको हुनेछ । यस यूनियन विगत १४ वर्षदेखि राजु बहादुर जि.सी.को नेतृत्वमा रहेको थियाे । धितोपत्र बोर्डको सभाहलमा भएको अधिवेशनको उद्घाटन राजु बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका छन् । त्यसैगरी, बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्याल र निरज गिरीले यूनियनको नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् ।
सरकारले माक्स र सेनिटाइजर आयातमा भन्सार छुट दिने
काठमाडौं । सरकारले भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने तयारी भइरहेकाे बताएकाे हाे । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले माक्स र सेनिटाइजरमा छुट दिने गरी तयारी भइरहेकाे बताएकाे छ । यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयलसँगै अनुरोध गर्ने समेत जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको काेराना भाइरसबाट नेपाल समेत उच्च जोखिममा रहेको उल्लेख गर्दै मुलुकमा औषधि विशेष गरेर मास्क र स्यानिटाइजरकाे खपत बढी मात्रामा हुनुका साथै मौज्दात समेत राख्ने गरेको पाइएकोले बजारमा यसको अभाव सिर्जना हुन नदिनका साथै दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था सहज गर्ने बताएकाे छ । अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही थालेको र अब यसलाई निरन्तरता दिने जनाएको छ। बजारमा अहिले कतिपय व्यापारीहरूले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। मेडिकल माक्सको अभावसँगै कपडाको माक्स व्यापारीले समेत कालोबजारी सुरु गरिसकेका छन् । बजारमा अनुचित नाफा कमाउने उद्देश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृत्रिम अभाव सिर्जना नगर्न सम्बद्ध व्यवसायीहरुलाई निर्देश समेत दिएकाे छ । यस्तै, पेट्रोलियम पदार्थ, नून, चिनी, चामल लगायतका खाद्यान्नको आपूर्तिमा समस्या नरहेको मन्त्रालयले जनाएकाे छ ।
हवाई इन्धनको मूल्य घटाउन वायुसेवा कम्पनीकाे माग
काठमाडौं । वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले हवाई इन्धनमा सरकारले लगाएको मुल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउन माग गरेको छ । कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको बताउँदै सङ्घले हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउन माग गरेको हाे । सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमको हल्लाले विदेशी पर्यटक आगमन घटेको तथा आन्तरिक यात्रुको चहलपहल पनि कम भएकाले हवाई सेवा प्रभावित भएको जनाएको हो । वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ । छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै सङ्घले आन्तरिक वायुसेवा कम्पनीको समेत व्यापार घटेको जनाएको छ । विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै सङ्घले सोहीकारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । ‘सङ्घको यही २२ गते भएको बैठकले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको सङ्ख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिना तलब छुट्टिमा जान प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्नेसमेतका कार्य गरिने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । विगतमा सङ्कटको बेला सबैले साथ दिएको इतिहास रहेकाले अहिले परिस्थितिको सामना गर्न पनि साथ र सहयोग प्राप्त हुने सङ्घले विश्वास लिएको छ । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब रु चार अर्ब क्षति हुने सङ्घले अनुमान गरेको छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ ।
हामी औषधीको अभाव हुन दिन्नौं: औषधी उत्पादक संघ
काठमाडौं । नेपाल औषधी उत्पादक संघले कुनै पनि अवस्थामा औषधीको अभाव हुन नदिने बताएको छ । संघले जुनसुकै देशबाट कच्चा पदार्थ आयत गर्न सक्ने र कुनै पनि अवस्थामा औषधीको अभाव हुन नदिने बताएको हो । नेपालले चीन र भारतबाट सबैभन्दा बढि कच्चा पदार्थ आयत गर्दछ । तर, अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा भारतले २६ वटा कच्चा पदार्थ र उत्पादनमा रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि नेपालमा हाहाकार हुने भन्ने सरोकारवालाहरुको प्रश्नलाई प्रस्ट पार्दै संघले चीनबाट अझैं पनि कच्चा पदार्थ आइरहेको र अन्य देशबाट पनि आयत गर्न सक्ने बताएका हो । संघका महासचिव अधिकारीले चीन र भारतबाट कच्चा पदार्थ आयत गर्न सजिलो भएको कारण मात्र त्यहाँबाट सामान आयत गरेकाे बताए । यसको मतलब नेपाल अन्य देशबाट पनि आयत गर्न सक्दैनौं भन्ने नभएकाे उनकाे धारणा छ । यस्तै, आफुहरुसँग ३ महिनाको लागि बनिसकेको औषधी र बाँकी ३ महिनाको लागि औषधी बनाउने कच्चा पदार्थ भएको संघले जनाएकाे छ । नीतिगत रुपमा नेपाल औषधी बनाउन आत्मनिर्भर छ तर व्यावहारिक पाटोमा विदेशी कम्पनिहरुलाई औषधी उत्पादन गर्न दिने सरकारलाई संघले आरोप पनि लगाएको छ । आफुसँग ७५ प्रतिशत औषधी उत्पादन गर्न सक्ने क्षमता भएको तर सरकारले ४५ प्रतिशत मात्र बजार दिएको आरोप उनीहरुको छ ।
जापान रोजगारीमा पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे ध्यान
काठमाडौं । जापान रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे बढ्दै गएकाे छ । वैदेशिक रोजगार विभागमा जापान रोजगारीमा पठाउने भन्दै भाषा सकिरहेका व्यक्तिसँग रकम असुल उपर गरी ठगिका उजुरी आउन थालेका छन् । जापान रोजगारीका लागि अनुमति दिएको भन्दै विभिन्न सञ्चार मध्यमबाट विज्ञापन प्रकाशन गरि ठग्ने प्रविधि बढेसँगै त्यस्ता कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागको चाँसो बढेको छ । जापान पठाउने भनेसँगै विभागबाट इजाजत पत्र नलिएका संस्थाले नै व्यक्तिको पैसा असुल गरेको लिखित एवंम मौखिक उजुरीहरु प्राप्त हुने गरेको विभागले जानकारी दिएको । जापान पठाउने भन्दै गैर कानूनी रुपमा सूचनाहरु प्रवाह गर्ने संस्थाप्रति विभागको ध्यान बढेको हो ।
त्रिभुवन विमानस्थल बुटिक बनाउने प्रक्रिया अघि बढ्याे, छ महिनाभित्रै सम्पन्न हुने
काठमाडाैं । विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्ष नै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ । अबको छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थल बनाइनेछ । बुटिक विमानस्थलको अन्तिम तर मुख्य काम अन्तरराष्ट्रिय टर्मिनल बाहिरपट्टिको क्षेत्रमा छानो हाल्ने ‘क्यानोपी’ राख्न बाँकी छ । यो पनि ठेकेदारले साथ दिए छिट्टै सकिने विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चालु आर्थिक वर्ष अर्थात अबको छ महिनाभित्र विमानस्थ बुटिकका रुपमा रुपान्तरण भइसक्ने बताए । उनले भने, “विमानस्थललाई बुटिक बनाउने काम लगभग सकिने क्रममा छ, अबको मुख्य काम भनेको क्यानोपी राख्ने हो, यो काम पनि रफ्तारमा अघि बढ्छ ।” विमानस्थलमा यात्रु व्यवस्थापन गर्ने क्यानोपी बनाउने काम भने कम चुनौतीपूर्ण छैन । विद्युत्, ढल र खानेपानी व्यवस्थापन गर्नुपर्ने भएकाले भौतिक संरचना निर्माणमा ढिलाइ हुने विमानस्थल कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी विमानस्थल सिङ्घार्ने काम भइरहेको हो । सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो । तर खरिद प्रक्रियाको झन्झट, ठेकेदारको कमजारी तथा आवश्यक सामग्रीको अभावले पनि बुटिकको काममा ढिलाइ भएको विमानस्थलको तर्फ छ । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यही फागुन २१ गते बुधबार विमानस्थल पुगेर विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेका बाँकी सबै काम छ महिनाभित्र सक्न निर्देशन दिनुभएको थियो । विमानस्थलमा सरोकारपक्षलाई राखेर कामको योजनाबद्ध तालिका र मितिसहित उक्त समयावधिभित्रै काम सक्न कडा निर्देशन दिनुभएको हुन्। मन्त्री भट्टराईले आगामी वैशाख १३ गतेभित्र पार्किङ वे, निर्माणाधीन नयाँ आवागमन हलको सम्पूर्ण काम चैत २१ गतेभित्र, निर्माणाधीन नयाँ प्रस्थानहलको काम चैत १ गतेभित्र सक्न निर्देशन दिएका छन् । त्यस्तै, एशियाली विकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आइसिपी सबै काम तीन वर्षभित्र, प्यारलल टयाक्सी वेको निर्माणका लागि आगामी तीन महिनाभित्र, कन्भेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्नुपर्नेछ । देशकै ऐना मानिने अन्तरराष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्ट बनाउने अवधारणाअनुरुप धमाधम साजसज्जा र स्वरुप परिवर्तन गर्ने कार्य भइरहेको छ । सोहीअन्तर्गत एक महिनाअघि अन्तरराष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको थियो । जहाजबाट ओर्लेपछि टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ, जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति राखिएको छ । विमानस्थलभित्र नेपाली मौलिक कलासंस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने प्रयास भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुटिक एयरपोर्टको अवधारणाअनुरुप विमानस्थलको स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । सोही योजनाअन्तर्गत अब टर्मिनल भवनको अघिल्तिर ‘क्यानोपी’ राख्ने र यसले यात्रुलाई घामपानीमा सहज व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो । “बुटिक एयरपोर्टको अधिकांश काम सकिएको छ, विमानस्थलको साजावटदेखि रङरोगनको काम सकिएको छ, अब क्यानेपिकको काम मात्रै बाँकी हो सिभिल इञ्जिनीयरिङको काम भएकाले यसमा केही समय लाग्ने भए पनि बुटिकको अरु सबै काम करिब सकिएको छ”,महानिर्देशक पोखरेलले भने । विमानस्थलको भित्रीतर्फ रङरोगन तथा मर्मतको काम सकिएको छ । आन्तरिकतर्फ पनि बुटिकको रुपमा रुपान्तरणको काम अघि बढेको महानिर्देशक पोखरेलले जानकारी दिए । विमानस्थलको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठमन्दिर आदि झल्कने विविध तस्वीरले पाहुनालाई मोहित तुल्याउँछ । पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ । पछिल्लो समय विमानस्थलको रूप फेरिएको मात्र छैन, सफा पनि बन्दै गएको छ । विमानस्थलमा अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाइएको छ । अध्यागमन विभागले विकास गरेको नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ । उक्त सेवाको गत माघ १३ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । यो प्रणाली लागू भएपछि विमानस्थलमा यात्रुको विवरण पहिचान र तथ्याङ्क व्यवस्थापन गर्न सहज हुने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने अन्तरराष्ट्रिय विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम पनि भइरहेको छ । हालको अन्तरराष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा विमानस्थलको चाप बढ्ने निश्चित छ । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने प्राधिकरणको अनुमान छ । विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँगै प्यारालल ट्याक्सी वे को प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस
कोरोना असरः नेपालको अर्थतन्त्रमा ४ अर्ब क्षति, २ लाख २३ हजारको रोजगारी गुम्न सक्ने
काठमाडौं । कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा ३६.७८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब रुपैयाँभन्दा बढी क्षति हुने आंकलन गरिएको छ । एसियाली विकास बैंक ( एडीबी) का अनुसार कोरोना भाइरसको असरको कारण नेपालको अर्थतन्त्रमा सो रकम बराबरको क्षति हुने जनाइएको हो । एडीबीले नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी)को ०.१३ प्रतिशत क्षति पुग्न सक्ने प्रक्षेपण गरेको छ । यद्यपी यो प्रारम्भिक अनुमान मात्र हो । तर, कोरोना लामो समयसम्म रहे यसले नेपाली अर्थतन्त्रमा धेरै नोक्सान गर्न सक्ने जनाइएको छ । कोरोनाको प्रभाव बढ्दै जाँदा नेपालको कूल ग्राहस्थ उत्पादनमा १.११ प्रतिशतसम्मको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । १.११ प्रतिशत नोक्सान भनेको ३२१.७ मिलियन डलरसम्मको नोक्सानी नेपाली अर्थतन्त्रमा हुनेछ । पछिल्लो अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव नेपालमा कोरोनाका कारण करीव १५ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ । कृषि र उत्पादन क्षेत्रले भने धेरै रोजगारी गुमाउनु पर्ने छैन । त्यसो त अधिकतम् प्रभाव पर्दा नेपालले २ लाख २३ हजारसम्म रोजगारी गुमाउन सक्ने चेतावनी एसियाली विकास बैंकले दिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल, रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ । कोरोनाकै कारण विदेशीले बुकिङ गरेका ८० प्रतिशत भन्दा बढी नेपाली होटलहरु पनि रद्द भइरहेका छन् । कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकको भनाइ छ । यस क्षेत्रमा जिडीपीको ०.८ प्रतिशतसम्मको क्षति हुनेछ । यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुने उल्लेख गरेको छ । हाल कोरोना भाइरस विश्वका ८० देशमा फैलिसकेको छ । यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो नोक्सान गर्न सक्ने एसियाली विकास बैंकले अनुमान गरेको छ । यद्यपि हालसम्म प्राप्त तथ्यहरूका आधारमा यस महामारीले विश्वभरिमा कुल ७७ अर्ब अमेरिकी डलरदेखि तीन खर्ब ४७ अर्ब डलरसम्मको क्षति हुने प्रारम्भिक निष्कर्ष छ त्यसमध्ये चिनले नै ४४ अर्बदेखि दुई खर्ब ३७ अर्ब डलरसम्मको घाटा ब्यहोर्नेछ भने चिनबाहेकका एसियाली विकासशील देशहरूले १६ अर्बदेखि ४२ अर्बसम्मको घाटा सहनुपर्नेछ । एडिबीले सम्बन्धित सरकारहरूलाई महामारीबाट हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न स्पष्ट र निर्णायक कदम चाल्न आहृवान गरेको छ । एडीबीका अनुसार कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन गरेको छ । प्रारम्भिक आंकडा अनुसार नै विश्वमा कूल गार्हस्थ उत्पादनको १८ प्रतिशत क्षति विश्व अर्थतन्त्रले बेहोर्ने अनुमान छ ।