काठमाडौं । कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा ३६.७८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब रुपैयाँभन्दा बढी क्षति हुने आंकलन गरिएको छ । एसियाली विकास बैंक ( एडीबी) का अनुसार कोरोना भाइरसको असरको कारण नेपालको अर्थतन्त्रमा सो रकम बराबरको क्षति हुने जनाइएको हो ।
एडीबीले नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी)को ०.१३ प्रतिशत क्षति पुग्न सक्ने प्रक्षेपण गरेको छ । यद्यपी यो प्रारम्भिक अनुमान मात्र हो । तर, कोरोना लामो समयसम्म रहे यसले नेपाली अर्थतन्त्रमा धेरै नोक्सान गर्न सक्ने जनाइएको छ ।
कोरोनाको प्रभाव बढ्दै जाँदा नेपालको कूल ग्राहस्थ उत्पादनमा १.११ प्रतिशतसम्मको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । १.११ प्रतिशत नोक्सान भनेको ३२१.७ मिलियन डलरसम्मको नोक्सानी नेपाली अर्थतन्त्रमा हुनेछ ।
पछिल्लो अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव नेपालमा कोरोनाका कारण करीव १५ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ । कृषि र उत्पादन क्षेत्रले भने धेरै रोजगारी गुमाउनु पर्ने छैन ।
त्यसो त अधिकतम् प्रभाव पर्दा नेपालले २ लाख २३ हजारसम्म रोजगारी गुमाउन सक्ने चेतावनी एसियाली विकास बैंकले दिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल, रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ । कोरोनाकै कारण विदेशीले बुकिङ गरेका ८० प्रतिशत भन्दा बढी नेपाली होटलहरु पनि रद्द भइरहेका छन् ।
कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकको भनाइ छ । यस क्षेत्रमा जिडीपीको ०.८ प्रतिशतसम्मको क्षति हुनेछ । यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुने उल्लेख गरेको छ ।
हाल कोरोना भाइरस विश्वका ८० देशमा फैलिसकेको छ । यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो नोक्सान गर्न सक्ने एसियाली विकास बैंकले अनुमान गरेको छ । यद्यपि हालसम्म प्राप्त तथ्यहरूका आधारमा यस महामारीले विश्वभरिमा कुल ७७ अर्ब अमेरिकी डलरदेखि तीन खर्ब ४७ अर्ब डलरसम्मको क्षति हुने प्रारम्भिक निष्कर्ष छ
त्यसमध्ये चिनले नै ४४ अर्बदेखि दुई खर्ब ३७ अर्ब डलरसम्मको घाटा ब्यहोर्नेछ भने चिनबाहेकका एसियाली विकासशील देशहरूले १६ अर्बदेखि ४२ अर्बसम्मको घाटा सहनुपर्नेछ । एडिबीले सम्बन्धित सरकारहरूलाई महामारीबाट हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न स्पष्ट र निर्णायक कदम चाल्न आहृवान गरेको छ ।
एडीबीका अनुसार कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन गरेको छ । प्रारम्भिक आंकडा अनुसार नै विश्वमा कूल गार्हस्थ उत्पादनको १८ प्रतिशत क्षति विश्व अर्थतन्त्रले बेहोर्ने अनुमान छ ।
