सरकार उच्च सतर्कता अपनाउँदै, विद्यालय परीक्षा गराउँदै
काठमाडौं । कोरोनाले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपाल सरकारले पनि उच्च सर्तकता अपनाउन सुरु गरेको छ । सिरकाले भिडभाड तथा मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ । बुधबार विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारीको रुपमा संज्ञा दिइसकेको छ । सरकारले कोरोनसँग लड्नको लागि उच्च सर्तकता अपनाउँदै गर्दा विद्यालयहरु भने धमाधम परीक्षा चलाउने तर्फ अगाडि बढिरहेका छन् । परीक्षाको समय अधिकांश विद्यार्थीको लागि त्रासको विषय हो । एकतर्फ भाइरसको त्रास फैलिरहेको समयमा परिक्षाको त्रासले कतै विद्यार्थीको नतिजामा त समस्या पार्दैन त ? अहिले अभिभावक पनि त्रसित बनेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शमाले अहिलेको समयमा हामीहरु त्यति त्रसित हुनुपर्ने अवस्था नभएको बताए । ‘हामी सचेत पक्कै हुनुपर्छ तर त्रसित भने हुनुहुँदैन, अहिलेसम्म कुनै पनि परीक्षा रद्द नर्गन निधो हामीले गरेका छा’, उनले भने । भाइरसले कति लामो समयसम्म असर गर्ने हो भन्ने एकिन नभएको र परीक्षा कतिसम्म सार्ने र विद्यालय कतिसम्म बन्द गर्ने भन्ने तय हुन नसकेकोले समयमा नै परीक्षाहरु सकेर विद्यालयहरु बन्द गर्नु सबैभन्दा उत्तम उपाय भएको शर्माको भनाइ छ । यो समयमा सबैभन्दा उत्तम उपाय विद्यार्थीलाई सही काउन्सिलिङ रहेको र त्यसको लागि मन्त्रालयले विद्यालयहरुलाई पत्रचार गरिसकेको शर्माले जानकारी दिए । मन्त्रालयले बिहिबार सबै विद्यालयहरुलाई कक्षा ९ सम्मको सबै परीक्षा चैत ५ गतेसम्म पुरा गर्न निर्देशन दिएको थियो । चैत ६ गते देखि एसईई परिक्षा रहेकोले आफुहरुले भिडभाड कम गर्नलाई ९ सम्मको परिक्षा सिध्याउनलाई निर्देशन दिएको शर्माले बताए । कक्षा १२ सम्म देशभर ४५ लाख भन्दा बढि विद्यार्थी रहेका छन् जुसमा सबैभन्दा बढि कक्षा १ मा ५ लाख विद्याथी छन् । समयमा परिक्षा नसकिँदा समयमा नतिजा नआउने र समयमा नतिजा नआउँदा नयाँ भर्नामा समस्या ल्याउने र थप तनाव सृजना हुने त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन कृष्ण प्रसाद गौतम बताउँछन् । स्नातक तहमा हाल नेपालभर ३ लाख विद्यार्थी अध्ययन गरिरहेका छन् ।
माक्स र सेनिटाइजरमा व्यापारीले शतप्रतिशत नाफा खाँदा हुन्छ : उद्याेग राज्यमन्त्री
काठमाडौं । नेपालको कानुन अनुसार व्यापारीले २० प्रतिशतभन्दा धेरै नाफा लिएर बस्तु बिक्री गरे भने कालो बजारी ऐन अनुसार कसुर गरेको हुन्छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले माक्स र सेनिटाइजर शतप्रतिशतसम्म मूल्य वृद्धि गरेर बेच्न पाउने बताएका छन् । माक्स र सेनिटाइजर नेपालमा अभाव भएको र व्यापारीले विदेशबाट आयात गर्न असहज भएकोले पनि व्यापारीले शतप्रतिशत नाफा खान पाउने दुगडले बताए । ‘संक्रटको बेला छ, व्यापारीले माक्स र सेनिटाइजर ल्याउनै छाडे भने झन धेरै समस्या हुन्छ, त्यसैले पनि यी दुईवटा बस्तुुमा शतप्रतिशत नाफा खादा हुन्छ, अहिले बजारमा १० रुपैयाँको माक्सलाई ५० रुपयौंमा बिक्री गरिरहेका छन्, त्यस्ता व्यापरीहरुलाई भने कारवाही गर्नुपर्छ,’ दुगडले भने । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापार गर्दा २० प्रतिशतभन्दा धेरै नाफा खान नपाउने र २० प्रतिशतभन्दा धेरै नाफा खाएमा कार्वही हुने बताए । ‘हामी त कानुन अनुसार बोल्ने हो, बस्तु उत्पादनदेखि बिक्रीसम्मको हिसाव जोड्दा कुनै बस्तुको मूल्य शतप्रतिशत वृद्धि भएको हुनसक्छ तर व्यापारीले नै शतप्रतिशत नाफा खाएर सामान बिक्री गरेको पाइएमा हामी कारवाही गछौं’, महानिर्देशक सुवेदीले भने । सरकारले भन्सार पनि छुट दिने सरकारले भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोराना भाइरसबाट नेपालसमेत उच्च जोखिममा रहेको उल्लेख गर्दै मास्क र सेनिटाइजरको भन्सार छुट दिने भएको हो । अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ । बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही गरिरहेको छ ।
कुवेत सरकारद्वारा अन्तर्राष्ट्रिय हवाई उडान बन्द
काठमाडौं । कुवेत सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द गर्ने निर्णय गरेको छ । कुवेतले एक सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् । त्यस्तै, कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ ।
सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, ८१ हजार ५ सयमा कारोबार
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ८२ हजारमा कारोबार भएको तेजावी सुन बिहीबार ८ सय रुपैयाँ घटेर प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनालाई यस कारण दियो ‘महामारी’को संज्ञा
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिडज्ञ १९ )लाई महामारीको दर्जाको रुपमा घोषणा गरेको छ । बुधबार मात्रै संगठनले कोरोनालाई हामारीको दर्जा दिएको हो । पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले यसलाई ‘महामारी’ को दर्जामा राखेको हो । मानिसबाट मानिसमा सर्ने तथा एकै समय धेरै मुलुक प्रभावित भएपछि डब्ल्यूएचओले त्यस्तो संक्रमणलाई महामारीको श्रेणीमा राख्ने गर्दछ । एकै समयमा कुनै रोग विश्वभर तीव्र गतिमा फैलिरहेको अवस्थालाई ‘महामारी’ को संज्ञा दिने गरिन्छ । डब्ल्यूएचओले काेराेना भाइरसकाे सक्रियताको खतरनाक स्तरलाई मध्यनजर गर्दै कोरोनालाई महामारीको संज्ञा दिइएको बताएकाे छ । यसअघि नै डब्ल्यूएचओले कोरोनाभाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएको थियो । यद्यपि महामारी संज्ञा दिने अवस्थामा पुगेको आधारहरु देखा नपरेका कारण यसअघि डब्ल्यूएचओले यसलाई ‘महामारी’ शब्द प्रयोग गरेको थिएन । पछिल्लो समय यो भाइरस विश्वका ११४ मुलुकमा फैलिएको र एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको डब्ल्यूएचओको भनाइ छ । संक्रमणलाई रोक्न देशहरुले के–कस्ता उपाय अपनाउँछन् भन्ने कुराले नै महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ । पछिल्लो पटक सन् २००९ मा स्वाइन फ्लुलाई यस्तो श्रेणीमा राखिएको थियो, जसले हजारौँ मानिसको मृत्यु भएको थियो ।
प्राइम र कैलाश विकास बैंकबीच एकीकृत कारोबार शुरु
काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती(एक्विजिशन) गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गते(आज) बाट एकिकृत कारोबार शुरु भएकाे हाे । उक्त कारोबारको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले गरेका हुन् । प्राप्ती पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीलाई प्राथमिकतामा राखेको प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बताएका छन् । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप करिब १३० अर्ब तथा कर्जा लगानी ११४ अर्ब रुपैयाँ पुगेको छ । यस पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजामा रहेको छ । कार्यक्रममा दुबै बैंकका संचालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
८३ वन क्षेत्र डढेलाेकाे उच्च जोखिममाः शुरु भयाे शून्य डढेलो अभियान
लमही । डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरुभएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो अभियान सञ्चालन गरेको जनाएको छ । अभियानको शुरुआती चरणमा कार्यालयअन्तर्गतका कमिरेचौर, सुनपुर, घोराही, नाराणपुर, बिजौरी, तुलसीपुर, बिजौरी, दङ्गीशरण, पुरन्धारा र हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्साङ्कन कार्यक्रम सम्पन्न भएका छन् । ती कार्यक्रममा वन कर्मचारी, सामुदायिक वन समूह र सञ्जालका प्रमुख र लामो समयदेखि वन संरक्षणमा काम गर्दै वन हेरालुको सहभागिता रहेको थियो । ८३ वन समूह डढेलोको उच्च जोखिममा रहेका जनाइएको छ । जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । उच्च जोखिममा ८३ , मध्यम ४६ र ४४ वटा सामान्य रहेका डिभिजन वन कार्यालयका कार्यालय प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । उनका अनुसार ती वन समूहमध्ये ९२ वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका छन् । ८१ वन समूह निष्कृय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ । बङ्गलाचुली र दङ्गीशरणका गाउँपालिकाअन्तर्गतका वन क्षेत्र मध्यम जोखिम, तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन । लुकिछिपी धूमपान गरी फाल्नु यहाँ डढेलोको प्रमुख कारक रहेको जनाइएको छ । गलत सोचले समेत डढेलो लगाउने गरेको अध्ययनले देखाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । अभियानलाई सफल बनाउन दीर्घकालीन र अल्पकालीन रणनीति तयार गरेको कार्यालयले जनाएको छ । रासस
कोरोना प्रभावः वायुसेवा संचालकले मुख फोरेपनि अरु मौन, के होला बैंकहरुको १ खर्ब ३५ अर्ब ऋण ?
काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणको असर नेपाली अर्थतन्त्रमा पनि गम्भीर रुपमा पर्ने भएको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रको प्रमुख अंगहरु आपूर्ति प्रणाली, उत्पादन, वितरण र रोजगारी सिर्जनामा गम्भीर असर पर्न सक्ने सरोकारवालाले बताएका छन् । विश्व बजारमा देखिएको असरको कारण नेपाली अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको रेमिटान्स आप्रवाहमा कमी आउने, बैदेशिक रोजगारीमा संकुचन देखिने, प्रत्येक्ष बैदेशिक लगानी घट्ने, पर्यटन क्षेत्र धराशायी हुने, आन्तरिक उत्पादन र आपूर्ति प्रणालीमा समस्या आउने आकलन नेपाल राष्ट्र बैंकले गरेको छ । रेमिटान्स, पर्यटन आय र प्रत्येक्ष विदेशी लगानीमा संकुचन आउँदा देशको शोधनान्तर अवस्थामै समस्या देखिन सक्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । यस्तै, कोरोना सन्त्रासको कारण मान्छेको आवतजावत रोकिएको, आर्थिक शिथिलतासँगै उत्पादन र उपभोगमा कमि आएको, उत्पादन र सेवामुलक व्यवसायमा संलग्नहरुको रोजगारी कटौति तथा उद्योग वा बन्द व्यापारमा आएको शिथिलताले मान्छेको उपभोग क्षमता घटाएको जस्ता कारणले विश्व अर्थव्यवस्था नै कमजोर हुनेछ । यसको प्रत्येक्ष असर नेपाली अर्थतन्त्रमा पनि देखिने विज्ञको भनाइ छ । सरकारले चालु आर्थिक वर्ष ८.५ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर, कोरोना संक्रमणले विश्वव्यापी असर देखाउनु र नेपालमा यसको प्रभाव पर्ने आकलन गर्नुअघि नै नेपाल राष्ट्र बैंकले सो बराबरको आर्थिक बृद्धिदर हासिल नहुने प्रतिबेदन अर्थमन्त्रालयलाई बुझाएको थियो । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा गर्नुअघि राष्ट्र बैंकले पठाएको सुझावमा यो वर्षको आर्थिक बृद्धिदर ७.१ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गरेको थियो । कोरोना असर देखिएपछिको अवस्था भने अझ कमजोर छ । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर बजेटको प्रक्षेपणभन्दा निकै कम हुने सरकारी अधिकारीहरु नै बताउँन थालेका छन् । यस्तो प्रतिकूल अवस्थामा नेपाली अर्थतन्त्रका कुन कुन क्षेत्रमा के कस्तो असर र प्रभाव देखिएला भन्ने सन्दर्भमा सरकारी निकायले आधिकारिक रुपमा केही बताएको छैन । तर, नेपालको पर्यटन, रेमिटान्स, प्रत्येक्ष विदेशी लगानी, शोधनान्तर अवस्था र वित्तीय स्थायित्वमा धेरै असर पार्ने राष्ट्र बैंकले संकेत गरेको छ । पर्यटन क्षेत्र बढी प्रभावित विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसको असर सबैभन्दा पहिला नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । सरकारको यस्तो घोषणा र तयारीलाई केन्द्रीत गरेको निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाएको थियो । सरकारले नेपाल भ्रमण वर्ष मनाउने भएपछि निजी क्षेत्रले एयरलाइन्स, होटल, रेष्टुरेन्ट तथा लज, ट्राभल, ट्रेकिङ जस्ता पर्यटकीय व्यवसायसँग सम्बन्धित क्षेत्रमा लगानी बढाएका थिए । तर, विश्वभर कोरोना संक्रमण बढेसँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रचार प्रसार लगायतका प्रायः सबै गतिविधि अनौपचारिक रुपमा रोकिएका छन् । कोरोना प्रभावको कारण विश्वका अधिकांश देशले अन्तराष्ट्रिय हवाई उडान रद्द गरेका छन् । कतिपय देशहरुमा त अन्य देशसँगको हवाई सम्पर्क नै टुटेको छ । आफूहरुको व्यवसाय चौपट भएको भन्दै हवाई सेवा संचालक संघले बैंकबाट लिएको ऋणको नियमित किस्ता, बीमा शुल्क जस्ता भुक्तानीमा समेत समस्या भएको बताएको छ । वायुसेवा संचालक संघले आफूहरुको व्यवासय चौपट भएको भन्दै राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । संघले बैंकहरुलाई तिर्नुपर्ने व्याजलाई राष्ट्र बैंकमार्फत रिफाइनान्स गरी भुक्तानीको व्यवस्था मिलाइदिन माग गरेको छ । यस्तै वायुसेवा प्रदायकहरुले विभिन्न बैंक वित्तीय संस्थाहरुबाट अमेरिकी डलर तथा नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनरतालिकिकरण र पुनसंरचनाको व्यवस्था मिलाउन भनेको छ । वायुसेवा प्रदायकले लिएको ऋणको व्याजसमेत साँवामा गाभ्ने (क्यापिटलाइज्ड) व्यवस्था मिलाउनु पर्ने पनि संघको माग छ । अमेरिकी डलरमा लिइएको ऋणको साँवा र व्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनु पर्ने, हवाई इन्धनमा सरकारले लगाउदै आएको मूल्य अभिबृद्धि कर (भ्याट) हटाउने र हवाई इन्धनको मूल्य कम्तिमा पनि ३० प्रतिशतले घटाउनु पर्ने, प्लेनको बीमा शुल्कमा लाग्दै आएको भ्याट पूर्णरुपमा छुट दिइ विदेशी पुनरबीमा स्वीकार गरेको अवस्थामा विदेशी पुनरबीमा कम्पनीले दिएको क्रेडिट अवधी अनुसार बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिदिन पनि संघको माग छ । संघका यी मागमा अन्य विषय समेटिएका भएपनि प्रमुख गरेर बैंक ऋणको किस्ता तिर्न समस्या हुने स्पष्ट संकेत छ । यो संकेतसँगै बैंकहरुले दिएको ऋण नियमित असुल भएन भने नेपालको वित्तीय स्थीरतामै असर पर्नेछ । पर्यटन क्षेत्रमा कति छ ऋण ? वायुसेवा संचालक संघले बैंक ऋणको किस्ता तिर्न सुविधा मागेसँगै अन्य क्षेत्रबाट पनि यस्तै प्रकारको माग आउन सक्ने देखिएको छ । पर्यटन क्षेत्रमा मात्रै गत पुस मसान्तसम्ममा बैंक वित्तीय संस्थाबाट १ खर्ब ३५ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत पुस मसान्तसम्ममा बैंक वित्तीय संस्थाहरुले ३१ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमध्ये पर्यटन क्षेत्रमा कूल ऋणको ४.२७ प्रतिशत कर्जा गएको तथ्यांकले देखाएको छ । यसमध्ये एयरक्राफ्ट तथा एयरक्राफ्ट पार्टस खरिदमा ७ अर्ब ३४ करोड ५६ लाख रुपैयाँ, ट्रेकिङ पर्वतारोहण, रिसोर्ट, र्याफ्टीङ जस्ता क्षेत्रमा २६ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ र होटल क्षेत्रमा १ खर्ब १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । सम्बन्धित सामग्री अर्थतन्त्रमा कोरोना असरः राष्ट्र बैंकको नजरमा ५ क्षेत्र बढी जोखिममा कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’