विकासन्युज

नख्खु–बङ्मती सडक निर्माण अघि बढ्यो

काठमाडाैं । विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ । भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ । तीन वर्ष पहिले शुरु भएको सडक विस्तार विभिन्न अवरोधका कारण अहिलेसम्म आधा सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक विस्तार दुई ठेक्कामार्फत निर्माण अघि बढाइएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्छ । निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुनै लामो समय लागेको थियो । प्राधिकरणले चिह्न लगाएर सडक खाली गराएपछि आयोजनाले निर्माण व्यवसायीमार्फत विस्तारित सडकमा निर्माणको काम अघि बढाइरहेको छ । यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएको थियो । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनले भने, “ती स्थानमा खाली गराउन लागिएको छ, मापदण्डानुसार जग्गा भएका स्थानमा काम भइरहेको छ ।” यस सडकमा भैँसेपाटी क्षेत्रमा सडक निर्माण भइरहेको इञ्जिनीयर देवकोटाले बताए । साँघुरा बस्ती रहेका स्थानमा भने स्थानीय तहसँगको समन्वय छलफल भइरहेको छ । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस

स्थानीय तहमा ठूला जमघट नगर्न मन्त्रालयकाे अनुराेध

काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै ठूला जमघटका कार्यक्रममा सर्वसाधारणलाई सहभागी नहुन अनुरोध गर्न आग्रह गरेको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले जानकारी दिए । मन्त्रालयले मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समयसमयमा परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाई नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँच/स्क्रिनिङको कार्यलाई प्रभावकारी गर्न निर्देशन दिएको छ । स्थानीय तहमा रहेका सबै अस्पताल, स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यकमात्रामा छुट्टै श्ययाको व्यवस्था मिलाउन, बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गरी व्यवस्था मिलाउनसमेत अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना जारी गरी प्रचारप्रसार गर्ने/गराउने, स्यानिटाइजर, मास्क, औषधि एवं अत्यावश्यक सामग्रीलगायत दैनिक उपभोग्य अन्य वस्तुको बजारमा नियमित एवं सहज आपूर्तिको व्यवस्था मिलाउन अनुराेध गरेकाे छ । साथै, बजार स्वच्छता कायम राख्न स्थानीय तहबाट सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन तथा नियमनको कार्यलाई प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ । यस्तै, छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएका मुख्य नाका पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाह, गड्डाचौकीलगायत ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वास्थ्य कक्ष स्थापना गरी स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न, सीमावर्ती क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न नेपाली नागरिकलाई सूचित गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ । रासस

घुससहित लेखापरीक्षक र नासु पक्राउ

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयबाट लेखापरीक्षक रामचन्द्र श्रेष्ठ र नायब सुब्बा डोरप्रसाद पन्थी घूससहित पक्राउ परेका छन् । अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिए बापत लिएको घूस ५ हजार रुपैयाँ लेनदेन गर्ने क्रममा दुवैलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नायब सुब्बा डोरप्रसाद पन्थी र लेखा परीक्षक रामचन्द्र श्रेष्ठबीच ५ हजार लिने क्रममा रकमसहित दुवैलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ ।

कोरोनाकाे कारण सेयर बजार घटेको होः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण सेयर बजार घटेको बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले सो कूरा बताएका हुन् । स्वयंम जिम्मेवार हुनु पर्ने बताए । ‘सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्छ’ विधि र नीतिका कारणले सेयर घट्ने र बढ्ने हुन्छ, अहिले विश्व परिवेशमा केही अनिश्चितता कोरोना भाइसरको कारणले गर्दापनि सेयर बजारमा केही उथलपुथल देखिएको छ,उनले भने । अत्पकालीन असरका कारणले दीर्घकालिन सोच बनाउन भने उपयुक्त नहुने उनकाे भनाइ छ । उनले पुँजी बजार पूँजीपतिको मात्र बजार नभएको भन्दै सेयर कारोबार गर्ने १५र१६ लाख भन्दा बढी भएको जानकारी संसद्मा गराए ।

अब थाेरै पुँजी भएकाहरु पनि लाखौं सम्पत्तिका मालिक बन्छन्: अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सानो पुँजी भएकाहरु पनि लाखौं सम्पत्तिका मालिक बन्न सक्ने बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले नेपालीहरुसँग थोरै पुँजी भएपनि कुनै न कुनै माध्यमबाट सम्पत्तिको मालिक बन्न सक्ने व्यवस्था गरिएको बताएका हुन् । उक्त विधेयकमा साना लगानीकर्ता तथा पुँजी भएकाहरुलाई पनि उचित लगानीको प्रवन्द्द गरी र कुनै कुनै माध्यमको प्रयोग गरी मालिक बन्न सक्ने व्यवस्था गरेको बताएका हुन् । ‘केही समय अघिदेखि जलविद्युतका क्षेत्रमा हजारौको संख्यामा सेयर सहभागिता हुदैँ आएको छ’ त्यहाँ थोरै आयस्तर भएका व्यक्तिले पनि सेयर किन्ने व्यवस्था गरिएको छ,लघुवित्तसस्थाबाटै कर्जा लिएर भएपनि सेयर किन्न सकिने व्यवस्था गरिएको छ’, उनले भने । उनले आफैले ठुलो जोखिम लिन नसक्ने, उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुन्छु भन्ने चाहने साना मझौला बचतकर्ताहरुको लागि पनि पूँजी बजार उपयुक्त माध्यम भएको बताए । उनले जोखिम लिन नचाहनेको लागि सामुहिक लगानी कोष आएको भन्दै सेयरको सुनिश्चतता पनि यसै धितोपत्र ऐन र नियमावलीमा व्यवस्था गरिएको बताए । यस्तै, उनले सेयर बजार कोरोनाको कारण घटेको बताए । सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्ने उनके धारणा थियो । उनले नियमनलाई बजारको सिद्धान्त अनुसार, धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानून ल्याउदै नियामक निकायको भूमिकालाई बलियो बनाउने बताए ।

डेढ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई पक्राउ

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा रु डेढ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को रु एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेर आज सञ्चारकर्मीलाई जानकारी गराइएको हो । पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी रु एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको छ । सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आशङ्का गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् । रासस

भक्तपुरका छ अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा. इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित भेटिएमा स्वास्थ्य परीक्षण गर्न छुट्टै श्ययाको व्यवस्था गर्न पत्राचार गरेको छ । नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी रुपमा फैलिरहेको र छिमेकी मुलुकमा यसको प्रभाव बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको ठहर गर्दै यसको सङ्क्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिका क्षेत्रभित्र रहेका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै श्ययाको व्यवस्था मिलाउन अस्पताललाई पत्राचार गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिए बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा सिफारिस गरी पठाउने व्यवस्था गर्न तथा कोभिड–१९ को सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको जानकारी दिए । रासस

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न माग

काठमाडाैं । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरे । नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र सङ्क्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेका कुरालाई सरकारले कडाइका साथ हेर्न ध्यानाकर्षण गराए । उनले खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गरे । राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गरेका छन् । सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे । नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् । सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिङ्गो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गरे । रासस