कर्णाली प्रदेशमा फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी, १३ सय घरधुरी लाभान्वित हुने
कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिनेछ । यसबाट वीरेन्द्रनगरका करिब १३ सयघरधुरी लाभान्वित हुनेछन् । विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ । नगर प्रमुख देवकुमार सुवेदीले जग्गासहित अन्य आधारभूत पूर्वाधारको व्यवस्थापन भइसकेकाले एक वर्षभित्रै परियोजना सम्पन्न हुने बताए । “फोहरको वर्गीकरण गरेर एकै ठाउँबाट बायोग्यास र जैविक मल उत्पादन गरिनेछ, वीरेन्द्रनगर–११ सिमलकुनामा सञ्चालित गौशालाबाट बायोग्यास उत्पादन हुनेछ”, उनले भने । परियोजना निर्माणबाट कर्णालीलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सहयोग पुग्ने बताइएको छ । नगरपालिकाका अनुसार विश्व बैंकसमेतको सहयोगमा सो केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत अनुदान केन्द्रले प्रदान गर्नेछ । बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ता कम्पनीले जुटाउनुपर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने यो परियोजना २० वर्ष अवधिको हुनेछ । सम्झौतामा परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालनपश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । परियोजना सञ्चालन गर्न रु १४ करोड १५ लाख ६२ हजार लागत लाग्ने अनुमान गरिएको छ । कच्चा पदार्थको रूपमा नगरपालिकाबाट सङ्कलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट सङ्कलन हुने गोबर तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उत्पादन हुने जैविक फोहरसमेत उपयोग गरिनेछ । परियोजनाबाट नगर सफा राख्न सघाउ पु¥याउनुका साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत मद्दत पुग्ने नगरपालिकाको अपेक्षा छ । परियोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यावसायिक रूपमा बिक्री गर्न सकिने सम्भाव्यता देखेर परियोजनामा लगानी गर्न तयार रहेको जानकारी दिए । रासस
अब रुकुमपूर्वको सानीभेरी नदीमा पनि र्याफ्टिङः जलयात्राको परीक्षण सफल
रुकुमपूर्व । रुकुमपूर्वको सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए । उनले नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गर्दा र परीक्षण सफल भएको जानकारी दिए । रुकुम पूर्वबाट पश्चिमतिर बग्ने सो नदीमा जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्न अब सहयोग पुग्ने जनाइएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जलयात्रा परीक्षणको प्रतिवेदन प्राप्तभएपछि नदीमा जलयात्रा गर्न र यसलाई नियमित रुपमा सञ्चालन गर्नको लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए । प्राविधिकका अनुसार नदीमा बाह्रै महिना जलयात्रा गर्न सकिने छ । सम्भाव्यता अध्ययनको जलयात्रामा सिस्ने गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष गोवद्र्धन बुढा, नेपाल कम्युनिष्ट पार्टि नेकपा सिस्ने गाउँपालिका इञ्चार्ज वासुदेव गौतम, केन्द्रका अध्यक्ष घर्तीलगायत प्राविधिक टोली र स्थानीयको सहभागिता रहेको थियो । रासस
बोरा सङ्कलन केन्द्रमा आगलागी, १५ लाख बराबरको क्षति
चितवन । भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । व्यवसायी प्रमोद शाहले सञ्चालन गर्नुभएको सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ । रासस
तनहुँमा ४० करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै
दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ । ४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । “उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ”, उनले भने, “निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ ।” उक्त भवनको बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको उनले जानकारी दिए । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले उद्योगले स्थानीयवासीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । रासस
अनुहार प्रष्ट, मिति अस्पष्ट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको उम्मेदवारहरु अनुहार प्रष्ट भएका छन् तर मिति अस्ष्पट भएको छ । बुधबार रामचन्द्र संघाईले महासंघको आगामी निर्वाचनमा एशोसिएट समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै पदाधिकारीमा उम्मेदवारी दिने ८ जनाको नाम टुंगिएको छ । संघाईको उम्मेदवारीसँगै बरिष्ठ उपाध्यक्षको उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहमा पदाधिकारीको टुंगो लागेको छ । जिल्ला नगर समूहको उपाध्यक्षमा गुणनीति तिवारी, बस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा संघाईको उम्मेदवारी पक्का भएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवार किशोर प्रधान समूहमा जिल्ला नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ र एशोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दिने पक्का भएको छ । अहिलेसम्म ढकाल र प्रधानले मात्र सार्वजनिक कार्यक्रम आयोजना गरि उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षले मात्र उम्मेदवारी घोषणा गर्दा सर्बसहमतिमा पदाधिकारी चयनको थोरै सम्भावना रहेकाेमा संघाईको उम्मेदवारीसँगै सबै पदाधिकारीमा निर्वाचन हुने सम्भावना बढी देखिएको छ । पदाधिकारीमा उम्मेदवारी घाेषणासँगै महासंघको मुल नेतृत्व पूर्णत दुई धुर्वमा धुर्विकृत भएको छ । वर्तमान ८ जना पदाधिकारी मध्ये ढकालको पक्षमा ५ जना र प्रधानको पक्षमा ३ जना देखिएका छन् । अध्यक्ष भवानी राणा, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष निरक केसी, वरिष्ठ सदस्य चण्डिराज ढकाल एउटा पक्षमा उभिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र किशोर प्रधान एक समूहमा उभिएका छन् । त्यस्तै, पूर्व अध्यक्ष सुरज बैद्य ढकालको पक्षमा र पूर्व अध्यक्ष कुशकुमार जोशी एवं विनाेद बहादुर श्रेष्ठ प्रधानको पक्षमा खुलेर आएका छन् । महासंघले आगामी चैत २८ गते वार्षिक साधारणसभा र २९ गते चुनावको मिति तोकेको छ । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्राससँगै धेरै मानिस जमघट हुने कार्यक्रमहरु आयोजना नगर्न सरकारले अपिल गरेपछि महासंघले अधिवेशन रोक्ने वा नसक्ने भन्ने निर्णय गर्न फागुन ३० गते कार्यसमितिको बैठक बोलाएको छ ।
एफएनसीसीआईको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाईको उम्मेदवारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने भएका छन् । संघाई अग्रणी त्रिवेणी समूहका निर्देशक हुन् । महासंघमा चार कार्यकाल बिताइसकेका उनी पूराना तथा अनुभवी उद्योगी हुन् । साथै, उनले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा चिरपरिचित समूहका निर्देशक भई काम गरेका थिए ।
प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल-सिटीबीचको खेल स्थगित
लन्डन । इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले ‘आइसोलेसन’ मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण इङ्ल्यान्डको यस प्रतिष्ठित लिगको खेल स्थगित गरिएको यो पहिलो घटना हो । इटालीको सिरि ए फुटबल प्रतियोगिता रंगशालामा बिनादर्शक खेलाइए पनि इङ्लिस प्रिमियर लिगमा यस्तो प्रतिबन्ध लगाइएको छैन । तर खेलाडीहरु आफूखुशी आइसोलेसनमा बसेको यो पहिलो घटना हो । आर्सनलका खेलाडीहरु विपक्षी टिम ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिससँगको भेटपछि संशकित बनेका हुन् । इभान्जेलोसले आर्सनलका खेलाडीसँगको भेटपछि आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरेका थिए । गत फेब्रुअरी २७ मा आर्सनलसँगको युरोपा लिग खेलमा ओलम्पियाकोस विजयी भएपछि इभान्जेलोसले आर्सनलका खेलाडीसँग भेटेका थिए । आर्सनल व्यवस्थापनव्दारा जारी विज्ञप्तिमा कोरोना संक्रमित व्यक्तिसँग भेघघाट भएका कुनै पनि व्यक्तिले कम्तीमा १४ दिन आफूलाई अरु व्यक्तिसँगको सम्पर्कबाट अलग्याउनु (आइसोलेसन) मा राख्नु पर्दछ भन्ने सरकारको निर्देशिकालाई पालना गर्नु पर्ने उल्लेख छ । ‘त्यसर्थ म्यान्चेस्टरसँगको बुधबार रातिको खेलमा हाम्रा खेलाडी उपलब्ध हुने छैनन् । प्रिमियर लिगले पनि खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलाडीहरु पूरै १४ दिन घरमै रहने छन् । खेल अवधिमा मैदानमा मारिनाकिससँग सँगै रहेका आर्सनलका चार जना कर्मचारी पनि घरमै रहने छन् ।’ आर्सनलले कति जना खेलाडी प्रभावित छन् भन्ने बताएको छैन तर आगामी शनिबारको खेलमा सहभागी हुने सम्भावना रहेको संकेत गरेको छ । आर्सनलको विज्ञप्तिमा भनिएको छ, ‘हामी अर्को शुक्रबारसम्म पर्खिनेछौं, र त्यसपछि ब्राइटनसँगको खेलको तयारी गर्नेछौं । त्यतिञ्जेल १४ दिनको अवधि पूरा भइसकेको हुनेछ ।’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा लिगका कुनै पनि अरु खेल स्थगित गर्ने हालसम्म सोचाई नरहेको उल्लेख छ । ओलम्पियाकोससँगको खेलपछि आर्सनलले पोट्र्समाउथसँग एफए कप र प्रिमियर लिगमा वेस्ट ह्यामसँग खेल खेलेको छ । अर्को प्रिमियर लिगको क्लब उल्भरह्याम्प्टनले बिहीबार राति एथेन्समा खाली रंगशालामा युरोपा लिग अन्तर्गत ओलम्पियाकोससँग खेल्दैछ । उल्भरले युरोपा लिगका खेल रद्द गर्न अनुरोध गरेको छ, तर युरोपेली फुटबल संघले उल्भरको मागलाई अस्वीकार गरेको छ । रासस/एपी
कोभिड-१९: वाग्मतीका सबै जिल्लामा आइसोलेशन
काठमाडाैं । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड-१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अर्जुन सापकोटाले बताएका छन् । उनका अनुसार, ती अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनबमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, थाहा नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना भाइरस रोगको प्रभावबाट बच्ने विषयमा प्रदेशका १० वटै जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताएका छन् । काठमाडौं उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु सरुवा रोग अस्पताल, ललितपुर र भक्तपुर जिल्ला अस्पतालमा आइसोलेशनका लागि छुट्टाछुट्टै प्रकोष्ठ कक्ष स्थापना भइरहेको स्वास्थ्य निर्देशनालयले जनाइएको छ । प्रदेश राजधानी हेटौँडामा कोरोना भाइरसबाट बच्ने उपायबाट सजक रहे पनि बजारमा मास्कको अभाव भएकाले पर्याप्त उपलब्ध गराउन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिससकेको मकवानपुरका प्रजिअ नारायणप्रसाद भट्टले बताएका छन्। वाग्मती प्रदेशमा काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला समेटिएका छन् । रासस