विकासन्युज

शाओमीको नयाँ आधिकारीक सर्भिस सेन्टर पोखरामा शुरु

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजीले पोखरामा नयाँ आधिकारीक सर्भिस सेन्टर शुरु गरेको छ । लिडरले मंगलबार आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको हो । पोखराको महेन्द्रपुलमा अवस्थित कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । प्रत्येक सर्भिस सेन्टर ४०० वर्ग फिटमा फैलिएको छ जहाँ टेक्निशियन र प्रोफेशनलहरुको समर्पित टोलीले प्रयोगकर्ताहरुलाई छिटो समस्या समाधान गर्न सहयोग पु¥याउँछन् । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राखेको बताए । यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको र उपत्यकाभित्र वितरण र संकलनका लागि समर्पित टोली, लगातार क्वालिटी जाँच र देशभरका सबै प्रमुख बजारहरुमा समर्पित सर्भिस वेयरहाउस र कलेक्सन पोइन्टको पर्याप्त पहुँच भएको लिडरले जानकारी दिएको छ ।

मेगा बैंकद्वारा धरानका महिला उद्यमीलाई प्रशिक्षण

काठमाडौंं । मेगा बैंक नेपालले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा महिला उद्यमीहरुलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिएका थिए । यसैगरी, मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा महिला उद्यमीहरुले निकै चासो लिएका थिए । महिला उद्यमीलाई अत्यन्तै आकर्षक रहेको यस कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ । यस्तै, आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरु यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताए ।

मुखको स्वास्थ्यबारे जनचेतनाको खाँचो छः नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन

काठमाडौं । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार र सरोकारवालाहरुले व्यापक रुपमा जनचेततना कार्यक्रम गरि नीति प्रष्ट पार्ने सरकासँग आग्रह गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले यस्तो आग्रह गरेको हो । नेपाली समाजका केवल २ प्रतिशत मानिसले स्वच्छ तरिकाले दाँत माँझ्ने बताउँदै नेपाली समाजमा व्यापक रुपमा आफूहरुले जनचेतनाको कार्यक्रम ल्याउने स्पष्ट पारेका छन् । सम्पूर्ण रोगको ढोका मुख मानिएकोले मुखको सफाई गर्न अति आवश्यक रहेको पनि एसोसिएसनको भनाई छ । कार्यक्रममा एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले नेपाल सरकारले कोरोनाका सन्त्रास हुँदा हात धुने जनचेतना कार्यक्रमको लागि करोडोै रकम खर्च गरेको तर, मुख स्वच्छ र स्वस्थ राख्नको लागि एक रुपैयाँसमेत खर्च नगरेको गुनासो पोखे । उनले भने,‘मुख नियमित दुईपटक नधोए ६ सय प्रकारको ब्याकटेरियाले मुखमा घर बनाउने गर्दछ ।’ उनले दाँत माँझ्न ध्यान दिईएन भने ६ सय प्रकारका ब्याक्टेरियाले क्यान्सर, ग्याष्ट्रिक, दाँत दुखाई, दाँतबाट रगत आउने, मुख गन्हाउनेजस्ता रोग निम्त्याउने पनि औंल्याए । रोगको प्रमुखद्वार मुख रहेको कारण सम्पूर्ण नेपाली समाजमा जनचेताना फैलाउन जरुरी रहेको उनले स्पष्ट पारे । नेपालका सरकारी अस्पतालहरुमा समेत दाँतको उपचारमा निकै रकम खर्च भइरहेकोमा उनले उक्त अस्पतालहरुलाई निःशुल्क सेवा प्रदान गर्न आग्रह गरेका छन् । उनले भने,‘सरकारी स्वास्थ्य विभागमा इ.एन.टीको बिभाग छुट्टाईएको छ । तर, कर्मचारी भने घाम ताप्न जाने गर्दछ ।’ सम्पूर्ण कर्मचारी आफ्नो निजी व्यवसायमा रमाएको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भीर हुनु आवश्यक रहेको पनि स्पष्ट पारे । सरकाले केवल मात्र ११ वटा दरबन्दी इएनटी. बिभागमा गरेकोमा सरकारलको दरबन्दीप्रति ध्यानाकर्षण गराएका छन् । ‘नेपाल सरकारले लागु गरेको नीति स्पष्ट नभएको कारण सच्याउन आवश्यक रहेको छ ।’–उनले थपे । सरकारले सातवटै प्रदेशमा दाँतको अस्पताल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै, उनले ७ सय ५३ स्थानीय निकायमा दन्त परीक्षणको क्लिनीक खोल्नुपर्ने माग गरे । त्यसैगरी, कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष अमित कुमार साखले प्रत्येक नागरिकमा दाँतको जनचेतना आउनुपर्ने बताए । उनले भने,‘सरकार र सरोकारवाला मिलेर दाँतसम्बन्धी जनचेतनाको विकास आवश्यक रहेको छ ।’ दैनिक दुईपटक दाँत माँझेमा ब्याक्टरियाको संक्रमणको मात्रा न्यून हुने उनले स्पष्ट पारे । ‘हार्ड–ब्रस’ भन्दापनि ‘सफ्ट–ब्रस’ प्रयोग गर्न उनले सुझाएका छन् । उनले एसोसिएसनले यही चैत ५ र ६ गते अनाथालयमा निःशुल्क सेवा, ब्रस र मञ्जन वितरण गर्ने कार्यक्रम राखेको पनि प्रष्ट पारे । नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन नेपालले विश्व ओरल हेल्थ डेको सन्दर्भमा ५ गते सम्भव नेपाल अनाथालयमा र ६ गते बाल सरस्वती विद्यालयमा निःशुल्क दन्त सेवा, ब्रस र मञ्जन प्रदान गर्ने कार्यक्रम ल्याएको बताए । उनले ओरल हेल्थका रोगका बारेमा प्रकाश पारेका थिए । अहिलेसम्म एसोसिएसनले गरेका कामहरु खासगरी जनताको तहमा गरेका कामहरुको बारेमा समेत उनले प्रकाश पारेका थिए । एसोसिएसनले स्वास्थ्य विभागअन्तर्गतको नाक, कान, घाँटी, दाँत, मुख विभागले एकलौटी रुपमा एक समूहको मात्र नीति कार्यान्वयनतर्फ उन्मुख भएको आरोप लगाएको छ । एसोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘उक्त विभागबाट विनियोजित दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेटसमेत सही तरिकाले उपयोग नभएकोप्रति यस एसोसिएसनको तर्फबाट आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै राज्यबाट विनियोजित रकमको सही सदुपयोग गर्न अनुरोध गरेको छ ।  

चोर पक्राउ गर्न भारतीय प्रहरी बिना जानकारी दैलेखमा प्रवेश

दुल्लु । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् । आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही विषयलाई लिएर छलफल भइरहेको जानकारी दिएका छन् । भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको छ । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चार जनाको टोली दैलेख आएको हो । भारत, हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीन प्रहरीसहितको चार जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । भारतमा काम गर्दै आएका दैलेखका एक युवक झण्डै रु ५० लाख चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् । “उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छाैं,” प्रहरी निरीक्षक आचार्यले भने, “भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, उनीहरु हाम्रो सम्पर्कमा आफैँ आएका हुन् ।” प्रदेश नं ५ र कर्णाली प्रदेश हुँदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको नेपाल मजदूर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताएका छन् । रासस

वालिङका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर

वालिङ । वालिङका ३२ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको छ । परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताएका छन् । “गाउँघरमा आजभोलि गोरु पाल्ने चलन हरायो, खेताला खोज्दा पाउन छाड्यो”, नगर प्रमुख खनालले भने, “हाते ट्रयाक्टरको प्रयोगसँगै कम खर्चमा छिटोछरितो र सहज रूपमा काम हुने भएकाले पनि अनुदानमा हाते ट्र्याक्टर वितरण गरेका हौँ ।” हाते ट्रयाक्टरको सही सदुपयोग गरी व्यावसायिकतातर्फ उन्मुख हुन नगर प्रमुख खनालले सुझाव दिए । उनले भने, “सर्वप्रथम किसानको आर्थिक अवस्था मजबुत बनाउँदै समग्रमा भीरकोटलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नु जरुरी छ, काम गर्दै जाँदा एकदिन अवश्य पनि गन्तव्यमा पुगिन्छ ।” रु ५२ हजार पर्ने हाते ट्रयाक्टरलाई नगरपालिकाले ५० प्रतिशत अुनदान दिएको हो भने ५० प्रतिशत किसानले बेहोर्ने गरी ३२ किसानलाई हाते ट्रयाक्टर हस्तान्तरण गरिएको उपप्रमुख सीमा केसी कर्माचार्यले बताए । “भीरकोट कृषिका क्षेत्रमा सम्भावना बोकेको ठाउँ हो त्यसैले यहाँका खेतबारीलाई बाँझो हुन नदिन र उत्पादनसित जोड्नका लागि सहयोग होस् भन्ने हेतुले हाते ट्रयाक्टर वितरण गरेका छौँ”, उपप्रमुख कर्माचार्यले भने, “आधुनिक प्रविधिको प्रयोगसँगै कृषिका क्षेत्रमा लागत तथा समय कम लाग्ने भएकाले अपेक्षाअनुसार सफलता मिल्नेमा हामी विश्वस्त छौँ ।” नगरभित्रका नौ वटा वडाबाट माग भई आएका किसानलाई लक्षित गरी हाते ट्रयाक्टर वितरण गरिएको कृषि संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताए। “यस वर्ष ३२ किसानलाई हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा दिएका छौँ”, प्रवक्ता केसीले भने, “उनीहरुलाई चलाउने तरिकाका बारेमा तालीमसमेत दिएका छौँ भने हाते ट्रयाक्टर बिग्रिएमा वा समस्या आएमा प्रत्येक वडामा एक/एकलाई मर्मत गर्ने तालीम दिने तयारी भइरहेको छ ।” हाते ट्रयाक्टरको प्रयोगले कृषिको उत्पादनमा लागत घटाउने र कृषि उत्पादनमा पनि यसले सघाउ पुर्याउने भानु मेशिनरी पोखराका प्राविधिक कुमार सुवेदीले बताए । “हामीले हाते ट्रयाक्टर बिक्री मात्रै गर्दैनौँ यसको प्रयोग गर्ने तरिकाका बारेमा किसानलाई आवश्यक तालीम पनि दिन्छौँ”, प्राविधिक सुवेदीले भने, “ससाना खेतबारीमा तथा ठूलाठूला ठाउँमा पनि यसको प्रयोग बढ्दै गएकाले हाते ट्रयाक्टर प्रभावकारी बन्दै गएको छ ।”रासस

प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूरा

वीरगञ्ज । प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा पारिने निर्देशनालयका निर्देशक चुडामणि फुयाँलले बताए ।  उनले भने,“प्रश्नपत्र भण्डारण गर्ने ठाउँ सुरक्षा घेराभित्र रहने, टिनको बाकसभित्र प्रश्नपत्र राखिने तथा त्यसको साँचो सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखसँग रहने व्यवस्था मिलाइएको छ ।” निर्देशक फुयाँलले उत्तरपुस्तिका प्रदेश नम्बर–२ का सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने प्रश्नपत्रहरु आजदेखि परीक्षा केन्द्रमा रहेका सुरक्षा निकायको जिम्मा लगाउने बताए। यसवर्ष प्रदेश–२ को आठ जिल्लामा ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुनेछन् । आठवटै जिल्लामा २६७ परीक्षा केन्द्र तोकिएको छ, यसवर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थीहरुको सहभागिता रहने छ । प्रदेश–२ को राजधानी जनकपुरस्थित शिक्षा विकास निर्देशनालयका अनुसार यसवर्ष सप्तरीबाट नौ हजार १४० सिराहाबाट १० हजार १३१, धनुषाबाट ११ हजार ३९३, महोत्तरीबाट आठ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट आठ हजार २४, रौतहटबाट सात हजार ७०५ र पर्साबाट आठ हजार ५९ परीक्षार्थीको सहभागिता रहने छ । यसैगरी सप्तरीमा ३४, सिराहामा ३९, धनुषामा ४३ , महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३२ र पर्सामा २४ परीक्षाकेन्द्र तोकिएको छ । यसवर्षको एसइई परीक्षालाई मर्यादित बनाउन सबै परीक्षाकेन्द्रलाई पत्राचार गरिएको छ र कुनै केन्द्रले अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता केन्द्रका केन्द्राध्यक्ष र परीक्षा केन्द्रमा खटिने कर्मचारीलाई कडा कारवाही गरिने निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष परीक्षा अगावै दुई विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ मा २ विषयको पुनःपरीक्षा लिइएको थियो । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदेश–२ मा विद्यार्थीले प्रदर्शन गर्दै सार्वजनिक सम्पत्ति तोडफोड समेत गरेका थिए । रासस

बौरिन थालेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य अब के होला ? (समग्र विश्लेषण)

काठमाडौं । सेयर बजार १६३२ मा पुगेर ओरालो लाग्दै गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यपनि ३ महिनाको अन्तरालमा ८७ प्रतिशतले बढ्यो । सो उच्च तहबाट हाल करीब २७ प्रतिशतले घटेको छ । गत मंगलवार कम्पनीको सेयर मूल्यले घट्ने क्रममा १० प्रतिशत गुमाएर सर्किट ब्रेक नै लाग्यो । कम्पनीमा पछिल्लो समय सुधार देखिन थालेपनि समग्र बजार नै उच्च दरमा घटिरहेकोले कम्पनीको मूल्यमा समेत उच्च कमी आइरहेको छ । निकै लामो समय दुई ठूला लगानीकर्ता राजेन्द्र खेतान र निरञ्जन कुमार टिवडेवालाबीचको द्वन्द्वले समस्यामा पर्दै आएको कम्पनीमा हाल देखिने समस्या छैन । टिवडेवाला समूहले द्वन्द्व अन्त्यकै लागि कम्पनीबाट ठूलो परिणाममा सेयर बिक्री गरेको थियो । यही सेयर किनबेचको क्रममा मूल्य अस्वभाविक रुपमा बढेर २ हजार ५ सय हाराहारी समेत पुगेको थियो । अहिले बजार मूल्य ४ सयभन्दा तल छ । अधिकांश सूचकमा कम्पनी क्षेत्रगत औसतभन्दा तल नै रहेको कम्पनीमा अहिले लगानी गर्न कत्तिको उचित छ ? कम्पनीको समग्र अवस्था कस्तो छ ? यसैमा यो विश्लेषण आधारित हुनेछ । परिचय करीब २६ वर्षअघि एभेरेष्ट इन्स्योरेन्स कम्पनी स्थापना भएको हो । विगतमा नेपालको एक मात्र संस्थापक सेयरधनीरहित कम्पनीको रुपमा रहेको यस कम्पनीले हाल भने हकप्रद जारीसँगै संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गरेको हो । कम्पनीमा कार्यरत कर्मचारी १ सय ७१ र १ सय ११ जना अभिकर्ता छन । लामो समय बीमा समितिले अग्नि बीमामा रोक लगाएको कारण व्यवसायमा खस्कदो अवस्थामा रहेको कम्पनीले हाल भने योसहित इलेक्ट्रोनिक सामग्री, दुर्घटना, स्वास्थ्य खर्च सम्बन्धि बीमालगायतका बिभिन्न योजना सञ्चालन गरिरहेको छ । उपाधी कम्पनीले सन् २००९ मा चार्टर्ड एकाउन्टेन्ट् संघबाट सो वर्षको लागि नेशनल बेस्ट प्रिजेन्टेड अकाउन्ट अवार्ड प्राप्त गरेको छ । सेयर लगानीकर्ता कम्पनीको २०७४/७५ को बार्षिक वित्तीय विवरणअनुसार खेतान, सिकरीया समूहको पकड छ । यी सूमहको कम्पनीमा ४४ प्रतिशत भन्दाबढी सेयर लगानी छ । समूह भित्रपनि खेतान र सिकरिया समूहको लगानी धेरै छ । कम्पनीको अध्यक्षमा लक्ष्मी क्यापिटलका प्रमूख कार्यकारी अधिकृत समेत रहेका राजिव सापकोटा छन् भने प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम छन् । अन्य लगानी कम्पनीले ५८ करोड रुपैयाँ बराबर दीर्घकालिन र अल्पकालिन लगानी छ । कम्पनीले ११ कम्पनीको सेयर तथा इकाइमा लगानी गरेको छ । केहीमा भने बजार मूल्य अंकित मूल्यभन्दा कम आएकोले कम्पनीले प्रावधान समेत राख्नु परेको २०७४÷७५ को वित्तीय विवरणमा उल्लेख छ । लाभांश दर कम्पनीले २०७४/७५ को बार्षिक वित्तीय विवरण हालै मात्र पारित गरेको छ । कम्पनीले सो वर्ष कुनै लाभांश घोषणा गरेको छैन । कम्पनीले ५ वर्षमा दुई वर्ष मात्र लाभांश दिएको छ र यो अवधिको औसत लाभांश १५ प्रतिशत छ । कानुनी तथा नीतिगत प्रक्रिया कम्पनीले आयकरमा आयमा समावेश गरिएको भनिएको ३ करोड ९५ रुपैयाँ (कर्मचारी बोनस, अग्रिम आयकरको फरक, कर्मचारी व्याज आय) मा आन्तरिक राजस्व बिभागमा प्रशासकीय पुनरावलोकनको लागि पहल गरिरहेको छ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण अनुसार समग्र बीमा कम्पनीहरुमा खुद बीमा शुल्क आर्जनको आधारमा एभरेष्ट इन्स्योरेन्स ११ औं स्थानमा छ । खुद नाफाको आधारमा पनि कम्पनी १४ औं स्थानमा छ । कम्पनीको दोस्रो त्रैमाशमा भने नाफा १ सय २६ प्रतिशतले वृद्धि भएर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको एकिकृत आय व्ययबाट ४ करोड २६ लाख रुपैयाँ नाफा नोक्सान हिसाबामा सारिएको छ । यो सँगै बीमा कोष २२ प्रतिशतले वृद्धि भएर २५ करोड रुपैयाँ पुगेको छ र जगेडा कोषमा १६ करोड रुपैयाँ छ । कम्पनीको महाविपत्ती कोषमा रकम छुट्याइएको छैन । नाफाको १० प्रतिशत रका महाविपत्ती कोषमा राख्नु पर्ने व्यवस्था छ । यो कोष जति वृद्धि हुँदै गयो, कम्पनीबाट पुनरबीमाको नाममा बाहिरीने रकममा कटौती गर्न थप सहयोग पुग्दै जानेछ । कम्पनीसँग आफैले दायित्व लिन सक्ने (बीमा शुल्क रिटेन गर्ने) क्षमता बढ्दै जान्छ । वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अझै ७ कम्पनीले बीमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । पूँजी आधारमा कम्पनी दास्रो स्थानमा छ । जारी भएका बीमा लेखहरुबाट कम्पनीले ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २ हजार ३ सय १४ बीमा लेखको दाबी भुक्तानी गरेको छ । यसमार्फत कम्पनीबाट ९ करोड २५ लाख रुपैयाँ ग्राहकले लगिसकेका छन् । कम्पनीमा परेका दाबी मध्ये भुक्तानी हुन बाँकी १ अर्ब १४ करोड रुपैयाँ बराबरको छ । दाबीको अन्तिम मूल्यांकन पछि कति भुक्तानी दिनुपर्ने वा दिनपर्ने वा नपर्ने निर्णय हुने गर्छ । कम्पनीले ५१ हजार ५ सय ५८ बीमा लेख कायम छ । बीमा लेख संख्यामा करीब २५ प्रतिशतले वृद्धि भएको हो । बीमा लेख आधारमा कम्पनी ११ औं स्थानमा छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.३९ छ । प्रतिसेयर आम्दानी निकै कम भएपनि मूल्य उच्च भएकै कारण मूल्य आम्दानी अनुपात ३० गुणासम्म छ । यसले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले ३० रुपैयाँ सम्म तिरेको देखाउँछ । यो जोखिम भने हो । दायित्व हस्तान्तरण कम्पनीले बीमांक रकममध्ये ९२ प्रतिशतको दायित्व पुनरबीमा कम्पनीमा सार्ने गरेको र बाँकी मात्र आफूले लिने गरेको देखिएको छ । २०७४/७५ को वित्तीय विवरण अनुसार कम्पनीले ६ खर्ब ५५ अर्ब बीमांक रकममा ६ खर्ब ५ अर्ब पुनरबीमा कम्पनीमा सारेको हो । कम्पनीको योजनाहरुमा अग्नि बीमाको हिस्सा ६.२५ प्रतिशत, इन्जिनियरिङको ७ प्रतिशत, विविध शीर्षकमा ८० प्रतिशत छ । मोटर बीमा २.४४ प्रतिशत, हवाई र लघुविमाको १ प्रतिशतभन्दा कम दरमा छ । उच्च उतारचढाव कम्पनीको सेयर मूल्य परिवर्तनको आधारमा गणना गरिएको स्ट्याण्डर्ड डेभिएसन (एसडी) ले मूल्यमा कम उतार चढाव रहेको देखिन्छ । समग्र नेप्से परिसचकमा १ सय २२ दिनमा भएको परिवर्तन अंकको आधारमा एसडी २८.९५ छ । जबकि कम्पनीको परिवर्तित अंकको आधारमा एसडी १२.३४ छ । यही समूहको सूचकको परिवर्तित अंकको आधारमा समेत कम्पनीको मूल्यमा निकै कम उतार चढाव रहेको देखिन्छ । निर्जीवन बीमा कम्पनी समूह सूचकको एसडी १ सय ४९ दशमलव ८३ छ । वियरिश प्रवृत्ति शुरु कम्पनीको सेयर मूल्य एक वर्षयताकै न्युन मूल्य (२०७ रुपैयाँ) नजिक छ । यद्यपि मूल्य वियरिश प्रवृत्तिमा आइसकेको बिभिन्न प्राविधिक विश्लेषणका सूचकले देखाउँछ । कम्पनीको १४ दिने आरएसआई सुचक हाल सन्तुलित क्षेत्रमा नै छ । हाल यो स्केलको ३० मा आएको छ । कम्पनीमा बिक्री चाप बढ्दै छ । यो ३० भन्दा मुनिगए बिक्री चाप उच्च रहेको र ७० माथि लागे खरिद चाप उच्च भएको संकेत गर्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा तल आएको छ । यसले मूल्य वियशि प्रवृत्तिमा रहेको संकेत गर्छ । यी रेखालाई विशेष याद गरिराख्नु पर्ने देखिन्छ । मूल्य अन्तिम दिन घटेकोले पीभट विश्लेषणले भने अब आगामी एक महिनामा कम्पनीको मूल्य ३ सय १८ मा पहिलो टेवा पाउने र बढ्न थालेमा ४ सय ५० मा लक्ष्य परिक्षण गर्नेछ । कम्पनीको सेयर मूल्यले अन्तिम दिन कालो मैनवत्ति आकृति बनाएको छ । मूल्य घट्दो क्रममा बनेको यो आकृतिले मूल्य थप घट्न सक्ने संकेत गर्छ । लगानीकर्ताहरुले किनबेचको निर्णय गर्नुअघि केही समय कुर्नु सही हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास र यसले अर्थतन्त्रमा प्रभाव पर्न सक्ने भएकोले लगानीकर्ताहरु पनि डराएका छन् । अन्य कतिपय अन्तराष्ट्रिय सञ्चार माध्यमले तत्काललाई ती मुलुकका लगानीकर्ताहरुलाई त्यहाको बजारको विषयमा नसोच्न नै लगानीकर्ताहरुलाई आग्रह गरिरहेका छन् । नेपालमा यसले विकराल समस्या पारिसकेको अवस्था नभएपनि केही समयलाई बजारको चिन्ता लिनुभन्दा अहिलेको ह्रासलाई बिर्सनु नै सही हुने देखिन्छ ।

काठमाडौंको व्यापारिक केन्द्र महाबौद्ध, असन, न्यूरोड र ठमेलको व्यापार चौपट

काठमाडौं । व्यापारका लागि मुटु भनेर मानिने काठमाडौंको महाबौद्ध, न्यूरोड, असन र ठमेलको व्यापारमा विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको प्रत्यक्ष असर परेको छ । कोरोनाको त्रासकाे कारण चामल,दाललगायत दैनिक अत्यावश्यक वस्तुहरुको जोहोमा उपभोक्ता लाग्दा अन्य वस्तुमा भने बजार सुस्ताएको छ । लत्ताकपडा, जुत्ता, मोबाइल र कम्प्युटर लगायतका विभिन्न वस्तुको प्रमुख बजारको रुपमा रहेको महाबौद्ध, असन, न्यूरोड र ठमेलमा लगायतका क्षेत्रमा हुने सामान बिक्री र छहलपहल घटेको छ । धेरैजसो व्यस्त रहने काठमाडौंका व्यापारिक कम्प्लेक्स र व्यापारिक गल्लीहरु शून्य देखिन थालेका छन् । सिजन अनुसारको सामान आयात हुने देश चीनबाट आउने वस्तु नाकामै रोकिएको छ । स्टकमा रहेका सामानको पनि बिक्री ठप्प भएपछि व्यापारीहरु निराश भएका छन । २०७२ सालको भूकम्पमाभन्दा पनि चीनबाट फैलिएको कोरोना भाईरसका कारण व्यापारमा घाटा भरेको न्यूरोडका कम्प्युटर व्यापारी प्रशान्त श्रेष्ठले बताए । ‘बरु २०७२ सालको भूकम्प जादा फाट्टफुट्ट व्यापार भईरहेको थियो, अहिले त विहानदेखि बेलुकासम्म पसलमा सामान खासै बिक्री हुदैन, प्रति दिन थोरैमा पनि ४ /५ लाखको व्यापार हुने गरेको थियो, अहिले ५० हजार देखि ८० हजारसम्म मात्रै व्यापार हुन्छ, महिनाको ३ लाख पसलको भाड छ कसरी तिर्ने हो भन्ने चिन्ताले राति निन्द्रा नै लाग्न छाडी सक्यो’ श्रेष्ठले भने । महाबौद्धमा कपडा र जुत्ता व्यापारी राम लामाको पनि चिन्ता घरभाडा तिर्न नै नसकिने हो कि भन्ने छ । ‘विहान आएर पसल खोल्ने मात्रै हो, व्यापार नै छैन, पसलमा काम गर्ने ३ जनालाई बिदामा बस्नुस भनिसकँे, कपडाको र जुत्ता पसलको भाडाप्रति महिना ५ लाख छ, व्यापार ६ लाखबाट घटेर १ लाखमा झरिसक्यो, नेपालमा कोरोना नआउदा त यस्तो छ आयो भने के होला व्यापार भनेर सोचिरहेको छु,’ लामाले भने । न्यूरोडका भाडा पसले राजु शाक्यले पसल बन्द जस्तै भइसकेको बताए । उनले भने पसल खोलेर मात्रै बस्ने हो, व्यापार हुदैन । ‘बजार नै सुनसान जस्तो भएको छ, भाडा किन्ने मान्छे नै पसलमा आउदैनन्, अरु बेलामा सामान बेचेर भ्याइदैन थियो, प्रतिदिन २ लाख जतिको व्यापार हुने गरेको थियो, अहिले बोहोनी कतिखेर हुन्छ भनेर बस्नु पर्ने अवस्था आएको छ,’ शाक्यले भने । ठमेलको खाजा होटलका सञ्चालक राधा बस्नेको पनि चिन्ता भाडाको नै छ, होटलको व्यापार नै बन्द जस्तो भइसक्यो व्यापार नभएपछि भाडा कसरी तिर्ने भन्ने चिन्ता भएको बताइन् । पछिल्लो समय व्यापार घटेपछि पसलको भाडा नै तिर्न गाह्रो हुने देखिएको व्यापारीहरु बताउँछन् । व्यापारीहरुका अनुसार पछिल्लो एक महिनादेखि व्यापार ठप्प छ ।