श्रीलङ्कामा कफ्र्यु उल्लंघन गर्ने हजारौ पक्राउ
कोलोम्बो । श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कफ्र्यु लगाईएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिडडुल गर्न निषेध गरेको छ । सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६ जना जनालाई पक्राउ गरिएको छ भने, १ हजार १ सय २५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए । प्रहरी नियन्त्रणमा परेका मुिस्लम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन । सो ठाउँ राजधानी कोलोम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ । श्रीलङ्कामा कोरोना भाइरसबाट १ सय ६ जना संक्रमित भएकाले कफ्र्यु लगाइएको हो । रासस/एपी
संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन । बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै ४ हजार कर्मचारी मध्ये बिहिवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन । रासस/एपी
औषधिजन्य सामग्री लिन नेपाल एयरलाइन्स चीनतर्फ
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिए । उनका अनुसार आज गएको विमानले औषधि उपकरण लिएर आज राति १ बजे आउनेछ । चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ । रासस
कोरोना अस्पताल सञ्चालनमा रहेको चितवनमा यस्ता छन् तयारी
काठमाडौं । दरिलो इच्छाशक्ति भएपछि काम गर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले कोरोना अस्पताल नै निर्माण गरेर यस्तो उदाहरणीय बनेको हो । यहाँका महानगरबासी मात्र नभएर देशका झण्डै २१ जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको यस क्षेत्रमा कोरोना नियन्त्रणका लागि पनि महानगरले छुट्टै अस्पताल सञ्चालनमा ल्याएको छ । यसरी देशमा कोरोना नियन्त्रण तथा निदानका लागि भएका कार्यमा आफ्नै अस्पताल सञ्चालन गर्नेमा देशको एकमात्र महानगरपालिका भरतपुर महानगर भएको छ । महानगर आफ्नै नेतृत्वमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याउन सफल भएको हो । यस अभियानमा जिल्लाका सबैको साथ र सहयोग पाएकाले पनि महानगरले ७० श्ययाको अस्पताल सञ्चालन गर्न सकेको हो । यस अस्पतालमा १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको एचडियू (उपचार कक्षमा राख्नुपूर्व बिरामी राख्ने ठाउँ) र ५० साधारण श्यया सञ्चालनमा आएका छन् । चितवन उद्योग सङ्घको चितवन प्रदर्शनी केन्द्रका तीनवटा हलमध्ये दुईवटा हललाई अस्पतालका रुपमा स्थापना गरी सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा यो कार्य सम्भव भएको छ । गत हप्तादेखि नै अस्पताल सञ्चालनमा आइसकेको छ । सो क्षेत्रमा अस्पताल बनाउने भनि महानगरपालिकाले निर्णय गरेको ७२ घण्टामा नै अस्पताल निर्माण गरेर सञ्चालनमा नै ल्याइएको छ, जुन कार्यको देशव्यापी रुपमा प्रशंसा पनि भएको छ । अस्पतालबाट शुक्रबारसम्म १ सय ५१ जनाभन्दा बढीले सेवा लिइसकेका छन् । अहिले अस्पतालमा १९ बिरामी रहेका छन् । महानगरप्रमुख दाहाल ‘मेडिकल सिटी’ भएकाले देशका विभिन्न जिल्लाबाट आउने बिरामीलाई समेत लक्षित गरेर अलग्गै अस्पताल सञ्चालनमा ल्याएको बताए । उनले भने, “हाम्रो यहाँ सुविधासम्पन्न अस्पतालहरु भएकाले देशका विभिन्न जिल्लाबाट बिरामी आउँछन् । उनीहरुलाई पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो आँट हामीले गरेका हौँ ।” दाहालको यस अभियानलाई प्रजिअ नारायण प्रसाद भट्टराईदेखि जिल्लाका सरकारी र निजी अस्पताल, मेडिकल कलेजका सञ्चालक एवं चिकित्सक, स्वास्थ्यकर्मीले साथ दिएका छन् । दाहालकै नेतृत्वमा कोरोना नियन्त्रण कार्यदल गठन गरी सोही कार्यदलले अस्पताल सञ्चालन गरेको हो । कार्यदलमा यहाँका निजी क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालका सञ्चालक, सरकारी अस्पतालका प्रमुख, चितवन उद्योग वाणिज्य सङ्घ, चितवन उद्योग सङ्घ, नेपाल चिकित्सक सङ्घका केन्द्रीय प्रतिनिधिलगायत सदस्यमा रहेका छन् । कोरोना भित्रिहाल्यो भने तत्काल अस्पताल बनाउन नसकिने भएकाले समयमै सोच गरेर काम शुरु गरेको दाहाल बताए । उनका अनुसार स्थानीय मेडिकल कलेज, निजी अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालका जनशक्ति र उपकरणहरु अस्पतालमा राखिएका छन् । खरिद गर्नुपर्ने आवश्यक सामग्रीसँगै कर्मचारीको अतिरिक्त भत्ता, खानपानको व्यवस्थापन महानगरले गरेको छ । महानगरले विकासका कामलाई रोकेर आफ्ना सबै जनशक्ति अस्पतालमा केन्द्रित गराइएको जनाएको छ । छोटो अवधिमा काम गरेकाले कमी कमजोरीहरु पनि हुनसक्ने भन्दै प्रमुख दाहालले तर अस्पतालबाट सक्दो सेवा दिइरहेको बताए । “केही जटिलताका बाबजुत पनि सबैको साथ र सहयोगबाट यसलाई व्यवस्थित गर्दै अघि बढ्न सफल भएका छौँ ।” उनले भने, “यसले सिङ्गो देशलाई राम्रो सन्देश दिएको, इच्छाशक्ति भएपछि जस्तोसुकै काम पनि सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ ।” विकास बजेट कटौती गरेर भए पनि सम्भावित यो सङ्क्रमणमा पर्नसक्ने नागरिकलाई बचाउने काममा लाग्ने सङ्कल्प गरिएको उनले भने । स्थानीय तहदेखि सङ्घीय सरकारसम्म स्रोत साधन व्यवस्थापन गर्न सहयोग हुने विश्वास लिइएको बताए । अस्पतालको मेडिकल व्यवस्थापन क्षेत्र हेर्दै आउनुभएका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार सोही स्थानलाई विस्तार गरेर तीन सय श्ययासम्मको अस्पताल बनाउन सक्ने ठाउँ रहेको छ । पूर्वमा बिरगञ्जदेखि पश्चिममा धनगढीसम्मका विदेश गएर फर्किएका बिरामीलाई सेवा दिने काम अस्पतालले गरिरहेको छ । चितवनसहित आसपासका जिल्लामा रहेका अस्पतालहरुले कोरोनाको लक्ष्यण देखिएमा यहाँ पठाउने गरेको अधिकारीको भनाइ छ । देशका विभिन्न ठाउँमा तन्ना ओच्छाएर भुइँमा बिरामी सुताइरहेका बेला यहाँ विभिन्न समस्याका बाबजुत पनि सेवा दिन सकिएको अधिकारीको भनाइ छ । भर्खर शुरु गरिएकाले सबै सुविधा दिन नसकेको स्वीकार गर्दै उनले सङ्कटमा जे गरिएको छ त्यसले जनता र राज्यलाई सहयोग पुर्याएको बताए। यस अस्पतालमा आएका बिरामीको स्वाब लिएर नियमित रुपमा परीक्षणका लागि काठमाडौँ पठाइँदै आइएको छ । हालसम्म यस अस्पतालबाट पठाइएका आठवटा नमूनामध्ये दुईवटाको रिपोर्ट नेगेटिभ आएको छ भने छवटाको आउन बाँकी रहेको छ । नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलबिक्रम कार्की भरतपुर महानगरले जुन साहस गर्यो र यसमा सरोकारवालाहरुको सहयोग भयो यो आफैमा निकै महत्वपूर्ण रहेको बताए । चिकित्सक स्वास्थ्यकर्मीका लागि सुरक्षित पोसाक (पिपिई) को चिन्ता पनि पूरा भएको भन्दै उनले सङ्घले एक ठाउँमा बिरामीको उपचार होस् भन्ने अपेक्षा गरेकोमा अस्पतालले पूरा गराएको बताए । उनले भने, “सबै स्थानीय तहहरुले भरतपुर महानगरको सिको गर्नुपर्छ ।” जसले जे जति मात्रामा सकिन्छ गरेर अहिलेको सङ्क्रमणमा साथ र सहयोग पुर्याउनुपर्ने कार्कीको भनाइ छ । प्रजिअ नारायणप्रसाद भट्टराई जिल्लाका बिरामीहरु उपचारमा आउने मुख्य ठाउँ भरतपुर भएको र यहाँ कोरोनाको विशेष अस्पताल भएकाले मानसिक रुपमा सबैलाई ढुक्क हुने अवस्था उत्पन्न भएको बताए । अहिलेको सङ्क्रमणमा महानगरको अगुवाइमा उदाहरणीय काम गर्न सकिएको भट्टराईको भनाइ छ । महानगरसँगै जिल्लाका पाँच नगरपालिका र एक गाउँपालिका यतिबेला आ–आफ्नो ढङ्गले सङ्क्रमणको रोकथाममा जुटेको उनले भने । रत्ननगरको गुञ्जमान अस्पताल र बकुलहर अस्पतालमा आइसोलेशन कक्षहरु निर्माण गरिएको छन् । भट्टराईले भने, “राज्यले गरेका निर्देशन मानेर सबै एक भएर रोग भित्रिन नदिन जुट्नुपर्ने समय आएको छ ।” जिल्लामा रहेका विभिन्न अस्पताल र सार्वजनिकस्थलमा गरी ५ सय ४६ श्ययाको क्वारेन्टाइन तथा आइसोलेशन स्थापना गरिएको छ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ७० श्यया, भरतपुर अस्पताल ३० श्यया, कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेज १०÷१० श्यया तयार गरिएको छ । त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरी २० श्यया, सामुदायिक अस्पताल बच्र्यैली १५ श्यया, होटल स्टार बैंकुइट रत्ननगरमा एक सय १५ श्यया, सौराहाको मारुनीमा ३० श्यया, रत्ननगर नगरपालिका–६ मा रहेको हेल्थपोष्टमा १० श्यया रहेका छन् । यस्तै खैरहनी नगरपालिकामा ६६ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । वडा नं ६ डिजने पार्टी प्यालेसमा २० श्यया, सैनिक आवासीय महाविद्यालय ३२ श्यया, रुरल रिकन्स्ट्रक्शन नेपालमा १४ श्यया र राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माविमा १५ श्यया रहेको छ । त्यसैगरी कालिका नगरपालिकाको स्वास्थ्य चौकी भवनमा १० श्यया, आधारभूत मावि जुटपानीमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । माडी नगरपालिकामा माडी मावि र माडी क्याम्पसमा गरी १ सय ५ श्यया, इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १० श्यया र जिल्ला कारागार चितवनमा १५ श्ययाको क्वारेनटाइन स्थापना गरिएको छ । चितवन जिल्लालाई मेडिकल सिटीका रुपमा लिने गरिन्छ । यहाँ सरकारी सङ्घीय अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज, २४ भन्दा बढी साना अस्पताल, नेपाल नेत्रज्योति सङ्घको भरतपुर आँखा अस्पताल सञ्चालनमा रहेका छन् । राजधानीबाहिरका चितवन निकट जिल्लाका बिरामीहरुको उपचारको केन्द्र भरतपुर हो । यहाँको क्यान्सर अस्पतालमा भारतबाट पनि उपचारका लागि बिरामी आउँछन् । यस जिल्लामा ७६ जिल्लाका नागरिकको बसोबास भएकाले उनीहरुका सम्बन्ध राख्नेहरु उपचारका लागि यहाँ आउने हुँदा बिरामीको निकै चाप हुने गर्दछ । रासस
कोरोनाबिरुद्ध एनआरएनए लड्नले १ करोड रुपैयाँ सहयोग
लण्डन । कोरोना विरुद्ध लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा.हेम राज शर्माले जानकारी दिए । यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो । बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा.बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ । संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पिडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ । यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी आधार दर्जन भन्दा बढी नियमावलीहरु पारित गरेको संघले जनाएको छ । बैठकले संघको बिस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) को रिपोटलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको छ । बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्द हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।
कोरोनाबाट इटालीमा एकैदिन ९ सय १९ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख नाघ्यो
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९ सय १९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । यो सँगै इटालीमा ज्यान जानेको सङ्ख्या ९ हजार १ सय ३४ पुगेको छ । शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । इटाली विश्वमा नै यो सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश हो । यहाँ ज्यान जानेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन् । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमण हुनेको संख्या धेरै नै रही आएको देखिएको छ । त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ८६ हजार ४ सय ९८ पुगेका छन् । त्यहाँ पनि प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । त्यसैगरी हिजोमात्र स्पेनमा ७ सय ७७ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा ज्यान जाने नागरिकको संख्या ५ हजार १ सय ३८ जना पुगेको छ । त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ६५ हजार ४ सय ९८ पुगेका छन् । यहाँ ९ हजार ३ सय ९७ उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । यस भाइरसबाट मृत्यु हुने संयुक्त राज्य अमेरिकामा मात्र १ हजार ७ सय ४ जनाको ज्यान गइसकेको छ । त्यहाँको सङ्क्रमण व्यक्तिको सङ्ख्या १ लाख ४ हजार २ सय ५६ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी पछिल्लो हप्तामा मात्र देखिएको हो । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि ५ लाख ९७ हजार ४ सय ५८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ३३ हजार ३ सय ७३ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २ सय ९५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३ सय ९४ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७४ हजार ९७१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ । हाल ३२ हजार ३ सय ३२ जना सङ्क्रमित रहेका छन् । ११ हजार १ सय ३३ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ३ सय ५१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५० हजार ९ सय ३८ जना सङक्रमित रहेका छन् । यहाँका ६ हजार ६ सय ५८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ । उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । शनिबार प्राप्त समाचारअनुसार फ्रान्समा ३२ हजार ९ सय ६४ सङ्क्रमित रहेका छन् । एकैदिन ३ हजार जना सङ्क्रमित थपिएको जनाइएको छ । यहाँका ५ हजारभन्दा बढी नागरिक उपचारपछि घर फर्किएका छन् । बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका ७ सय ५९ व्यक्तिको मृत्यु भएको छ । यहाँका १४ हजार ६ सय ५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५ सय जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ५ सय ४६ व्यक्तिको मृत्यु भएको छ । ८ हजार ६ सय ३ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ४४ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ४ सय ७८ सङ्क्रमित भएका छन् । ४ हजार ८ सय ११ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय ३१ व्यक्तिको मृत्यु भएको छ । १२ हजार ९ सय २८ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, बेल्जियम, नर्वे, अष्ट्रेलिया, ब्राजिल, स्वेडेन, पोर्चुगल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ । रासस/एपी/सिन्ह्वा/एएफपी
कोरोना तपाईंलाई मार्न चाहँदैन: सदगुरू
मानव बाहेक कुनै अर्को प्राणी आफ्नो घरलाई नष्ट गर्न चाहँदैन । केवल मानव नै हुन् जो यस्तो गर्नका लागि मशहुर छन् । भाइरस पनि तपाईंको भित्रै रहन चाहन्छ तर उसले अन्जानैमा आफ्नो काम केहि यस प्रकार बढि गर्दिन्छ कि तपाईं अनि म मर्न सक्छौं । म १७ वर्षको भइसक्दा मलाई २ पटक सम्म टाइफाइड भइसकेको थियो । अन्य केहि रोगहरुले पनि मलाई सताइसकेको थियो । तर यी कुराहरुले मलाई कहिल्यै ओछ्यानमा सुताएको थिएन । यहाँसम्म कि जब मलाई दोस्रो पटक टाइफाइड भएको थियो, कडा ज्वरोमा पनि म खेलिरहें र काम गरिरहें । तर जब मलाई हैजा लाग्यो तब मलाई छोटो समयमै यसले बढि सतायो । म २ घण्टा भित्रको अवधिमै लगभग बेहोसीको स्थितीमा पुगेको थिएँ । मैले आफ्नो आमा, हजुरआमा सवैलाई रुँदै गरेको सुनें । मेरो हजुरआमाले रुँदै मेरो नाक छाम्नुभयो र भन्नुभयो कि यो त पुरै चिसो भइसकेको छ, यो मरिसकेको छ । मेरो बुवा डक्टर हुनुहुन्थ्यो, उहाँसँगै अरु दुई जना डक्टरहरुपनि आएर मलाई बचाउन सक्दो प्रयास गर्नुभयो । भोलिपल्टको साँझदेखि मलाई केहि विसेक भयो । अब भने मैले ब्याक्टेरिया र भाइरसका वारेमा बुझेरै छाड्ने निर्णय गरें । आजको समय जस्तो त्यो वेला इन्टरनेट र गुगलको सुविधा थिएन । म सिधै लाइब्रेरी गएँ र लाइब्रेरियनसँग यससँग सम्बन्धित किताबको वारेमा सोधें । उनले दिएको कितावलाई मैले पूरै पढें । मलाई त्यो वेला एउटै मात्र कुराले सताइरहेको थियो कि जुन चिजलाई आँखाले पनि देख्न सकिँदैन, त्यसले कसरी मलाई पूरै धरासायी गर्न सक्छ ? घर फर्केर मैले आफ्ना बुवालाई भाइरस र ब्याक्टेरियाको वारेमा सोधें । उहाँ एउटा राम्रो चिकित्सक हुनुहुन्थ्यो । उहाँले त्यो वेला मलाई ब्याक्टेरिया र भाइरसको वारेमा धेरै कुरा बताउनुभयो जुन कुरा मलाई आजसम्म पनि यादै छ । अनि लाइब्रेरीमा पढेका कुरा पनि । अब कोरोना भाइरसको वारेमा कुरा गर्नुपर्दा यो भाइरस मानवको शरीरमा आउनु अघिसम्म जनावरको शरीरभित्र आरामका साथ बसिरहेको थियो । जनावरलाई नमारीकन । अहिले यो मानवको शरीरमा आइपुगेको छ र अहिले पनि त्यहि गरिरहेको छ जुन यसले जनावरको शरीरमा गरिरहेको थियो । तर हामीले झेल्न नसकेर मरिरहेका छौं । आज यो कुरा पुष्टि भइसकेको छ कि जसको इम्युन सिस्टम ठिक छ ऊ विसेक भइसकेको छ । र जसको इम्युन सिस्टम कमजोर छ उ मात्र दुर्भाग्यवस यो भाइरसको शिकार बनिरहेको छ । यसबाट के पुष्टि हुन्छ भने यो भाइरस जिउन चाहिरेको छ तर ऊ यति आक्रामक तरिकाले जिउँछ कि हामी मरिरहेका छौं । आज धेरै वैज्ञानिकले यसको बारेमा चर्चा गरिरहेका छन् । तर जब मैले यसको बारेमा पढेको थिएँ, म केवल १७ वर्षको थिएँ । त्यो बेला पनि यो स्पष्ट रुपले सम्झाइएको थियो कि जुन व्याक्टेरिया र भाइरस हाम्रो शरीर भित्र पस्छन् वा छन् तिनीहरुले धेरै प्रकारले हाम्रो जीवन प्रकृयामा सहायता पुर्याइरहेकै छन् । नोक्सान पुर्याएका छैनन् । आज हाम्रो शरीर भित्र खर्बौं ब्याक्टेरिया र भाइरसहरु बाँचिरहेका छन् । कुनै समयमा ती व्याक्टेरिया र भाइरसहरु हानीकारक थिए होलान् तर उनीहरुले यो बुझे कि यस प्रकार हामी बस्यौं भने हामी आफ्नै घरलाई बर्वाद गर्नेछौं । र यसप्रकार उनीहरुले विस्तारै आफूलाई बदल्दै लगे र हामीसँग मिलेर बस्न सिके । यो दुःखको कुरा हो कि अहिले देशमा आपत् आइलागेको छ । आज धेरै देशहरुले आफ्नै जनताको विरुद्ध सडकमा सेना र पुलिस खडा गरेको छ । तपाईंले बुझ्नै पर्छ कि मामला कति गम्भिर छ । आज अमेरिकाले आफ्ना पुरै सेना सडकमा उतारेको छ केवल जनतालाई सडकमा आउन बाट रोक्नका लागि । भारतीय पुलिस सडकमा उभिएको छ । आज हामीले यो स्थितीलाई सहि ढंगबाट सम्हाल्न सकेनौं भने हामी एउटा ठूलो आपतका तर्फ अघि बढ्ने छौं, लाखौं मानिसको जीवन नष्ट हुन सक्छ । हाम्रो स्वास्थ्य प्रणालीको आलोचना गर्ने वा स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने यो सहि समय होइन । बरु यो त त्यो समय हो, जसमा हामी सबैले आफ्ना तर्फबाट केहि राम्रो गरौं । केहि सानातिना सकारात्मक काम नै पनि किन नहोस् । हामीले यो बुझ्नै पर्छ कि हाम्रो जीवनकालमै हामीले यसप्रकारको आपतको सामना गरेका थिएनौं । यो त तपाईंको देशमा हुने युद्धको तुलनामा ठूलो इमर्जेन्सी हो । यो ती हरेक इमर्जेन्सी चीज भन्दा ठुलो हो जुन तपाईंले जान्नुभएको छ । यो भाइरसले ठूलो बर्बादी नमच्चाइकनै हराउन सक्छ यदि हामी जिम्मेवार बन्यौं भने । (विश्व शान्तीको क्षेत्रमा निरन्तर काम गरिरहेका सदगुरुले आफ्नो एक कार्यक्रमका बखत कोरोना भाइरसका बारे गरेका चर्चाको नेपाली अनुवाद गरिएको ।)
दानाको अभाव र बिक्री हुन छाडेपछि किसान चिन्तित
पाल्पा । पाल्पाको रैनादेवी छहरा–३, भुवनपोखरी किसानले दानाको अभाव देखाएर र बिक्री हुन छाडेपछि बोइलर कुखुरा जिउँदै गाडेका छन् । लकडाउनका कारण दानाको अभाव र कुखुरा विक्री हुन छाडेपछि यहाँका किसानले बोइलर कुखुरालाई जिउँदै गाडेका हुन् । रैनादेवी छहरा गाउँपालिका—३ का वडाध्यक्ष लालबहादुर दर्लामीका अनुसार दोब्बर घाटा हुने डरले किसानले कुखुरालाई जिउँदै जङ्गलमा छाडिएको बताए । जथाभावी कुखुरा फाल्दा दुर्गन्धित हुने त्रास बढेपछि कुखुरा गाडिएको हो । भुवनपोखरी डाडागाउँका चार कुखुरा फार्म र तालपोखरीको एक फार्मबाट छ हजार कुखुरालाई नष्ट गरिएको हो । अठ्ठाईस दिनदेखि ४० दिनसम्म पालेका कुखुरा दुईदेखि तीन किलोसम्म रहेका छन् । तानसेन र बुटबलदेखि दाना ल्याउनुपर्ने बाध्यता रहेको थियो । कोरोना रोगको सङ्क्रमणको भयले कुखुरा बिक्री हुन छाडेपछि स्थानीय कुखुरापालकहरु मोहन पौडेल, बेदप्रसाद मरासिनी, खुमानन्द मरासिनी, प्रकाश बोहोरा र धर्म पोडेललगायतले कुखुरालाई जङ्गलमा गाड्नु परेको जानकारी दिए। रासस