विकासन्युज

नेपाल टेलिकमको डाटा शुल्क ३० प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको छ । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको प्रबक्ता राजेश जोशीले जानकारी दिए । नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । तर यस्तो छुट ७ दिनका लागि मात्र दिएको टेलिकमले जनाएको छ । चैत्र २० देखि २६ गतेसम्म मात्र छुट भएको उसको भनाई छ । सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी रू. १ सयमा बोनस सहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

ओयो होटलले लकडाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई सित्तैमा बस्न दिने

काठमाडौं । ओयो होटेल एण्ड होम्सले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने भएको छ । हाल जारी भइरहेको लकडाउनको घडिमा ओयोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास दिने घोषणा गरेको हो । यससँगै होटलले आज अर्थात अप्रिल १ तारिखदेखि देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्ने भएको छ । लकडाउनमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको हो । सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि लकडाउनमा छ । होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ होटलले जनाएको छ । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ । ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको छ । ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने, “कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं । हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं । यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रो हदसम्म सके जति सबै गर्नेछाैं ।” साथै, ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

१० रुपैयाँले घट्यो डिजेल, पेट्रोल र मट्टितेलको प्रतिलिटर मूल्य

  काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० रुपैयाँले घटाएको छ । कोरोनाबाट अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

लोकसेवा आयोग र चाटर्ड एकाउन्टेन्सी परिक्षाको तयारी अब घरबाटै 

काठमाडाैं । लोकसेवा आयोग र चाटर्ड एकाउन्टेन्सी परिक्षाको तयारी अब घरबाटै गर्न सकिने भएकाे छ । इच्छुकले भुक्तानी सेवा प्रदायक कम्पनी स्प्यारो पे प्रा.लि. को “खल्ती-डिजिटल वालेट” मार्फत बिजहब आई.टि. सर्भिस प्रा.लि. को ओटिस प्लेटफर्मकाे शैक्षिक सामग्रीहरु पढी परिक्षाकाे उक्त तयारी गर्न सक्नेछन् । जसकाे लागि दुई संस्थाबीच समझदारी भएकाे छ । यससँगै विज्ञहरुद्वारा तयार पारिएका शैक्षिक सामग्रीहरुलाई  भिजुअल लर्निंगमा विशेष ध्यान पुर्याउदै परम्परागत तरिकाले संचालित शैक्षिक संस्थाहरु भन्दा ७५ प्रतिशत न्यून शुल्कमा नै आउने परिक्षाको लागि तयार गर्न सकिने छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै यो लकडाउनको समयलाई प्रभावकारी बनाउन विभिन्न विधाका तयारी कक्षा अनलाईन माध्यमबाट नै आफ्नै समयमा आफ्नै घरमा बसेर ओटिस प्लेटफर्म मार्फत परिक्षाकाे तयारी गर्न सकिने छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र सुरक्षाको लागि सरकारबाट घोषणा गरिएको तत्कालको लकडाउनको अवस्थाले सबैको जनजीवन प्रभावित भएको छ | “तत्कालको गाह्रो अवस्थाले नै भविष्यमा हाम्रो अवस्था अझै मजबुत बनाउने” कुरामा सबैको विश्वाश भएकोले नै आफ्नो परिवार सहित हामी सुरक्षाका विभिन्न उपायहरु मनन गर्दै लकडाउनलाई पूर्ण पालना गर्दैछौ | सरकारको मुख्य उद्देश्यहरु मध्ये डिजिटल प्रविधि पनि एउटा रही आएको कुरा र अहिलेको यो अवस्थालाई फलदायी बनाउन परम्परागतमा आधारित शैक्षिक क्षेत्रलाई डिजिटलाईज गर्न सुरु गरिएकाे संस्थाले जनाएकाे छ । ओटिस मार्फत थप २५ प्रतिशतसम्मको छुट सहित खल्तीबाट भुक्तानी गर्दा थप १०० रूपैयाँसम्मको क्यास व्याक पाइने छ । लोकसेवा, चाटर्ड एकाउन्टेंन्सी तथा ई.पी.एस. अन्तर्गतका कोरियन भाषाको सम्पूर्ण तयारि कक्षा लिन http://ottish.com वेबसाईटमा खाता खोली आफुले छानेको तयारी कक्षाको भुक्तानी सजिलै खल्ती http://khalti.com/app मार्फत गर्न सकिने संस्थाले जनाएकाे छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे कोरोना सङ्क्रमितकाे सेवा गर्नेकाे मृत्यु भए परिवारलाई एक करोड दिने घोषणा

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा कामका शिलशिलामा मृत्यु हुने अधिकारीका परिवारलाई एक करोड रूपैयाँ राहतको घोषणा गरेको छ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा बुधवार गरेका छन् । “यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ,” उनले भने । कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिइने उनले बताए । मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारे । “मलाई थाहा छ तपाईको सेवा अमुल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मान स्वरुप यो रकम उपलब्ध गराइने भएको हो,” उनले भने । आफ्नो जीवननै जोखिममा पारेर सेवामा खटिनुभएका सवैप्रति जति सम्मान व्यक्त गरेपनि कमी हुने उनको भनाइ छ । मुख्यमन्त्री केजरीवालले पाचँवटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठक समेत गरेका थिए । उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए । स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पीपीई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको छ । तीमध्ये एक हजार ४ सय ६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १ सय ३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी अन्य ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस/एएनआई

कर्णाली प्रदेशमा भित्रिए आठ हजारबढी व्यक्ति विदेशबाट

काठमाडौं । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा ८ हजार ६ सय ५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १० दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट यहाँ भित्रिने आठ हजार ६ सय ५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो । मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ । कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने सङ्ख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४ सय निगरानी कक्ष बनाइएको र हाल त्यसमा १ सय ९२ व्यक्तिलाई राखिएको उनले बताए । यहाँका १० वटै जिल्लागरी ५ सय २५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना सङ्क्रमित कोही नभएको उनको भनाइ छ । मन्त्री रावलले भने, “अहिले भने प्रदेश सरकारले यहाँका ७९ स्थानीय तह र प्रदेश सरकार गरेर दुई हजार ५ सय २८ क्वारेन्टाइन, ३ सय ३९ आईसोलेसन, १७ आईसियु र सात भेन्टिलेटर स्थापना गरेको छ ।” नागरिकको स्वास्थ्य उपचारार्थ ज्यान जोखिममा राखेर काममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिई, गाउँन, आईआर थर्मोमिटर, पञ्जा, ग्लोब, सर्जिकल एवं एन–९५ मास्कसमेत यहाँका सबै जिल्लामा पुर्याइ सकिएको उहाँले बताए । उनका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिक गाउँ केन्द्रीत भएपछि प्रदेश सरकार जिल्ला अनुगमन तथा कार्यान्वयन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहसँग समन्वय गर्न थालेको छ । दशै जिल्लाका प्रजिअबाटै स्थानीय तहमा भित्रिएका नागरिकको लगत सङ्कलन, क्वारेन्टाइन निर्माण, आईसोलेसन र जिल्लाको संरचनाको विवरण एकिन गर्न थालिएको र त्यही अनुरुप ‘कोभिड–१९’ प्रतिकार्यको अभियानमा थप तीब्रता दिने प्रदेश सरकारले जनाएको छ । रासस

कोरोना नियन्त्रण कोषमा राष्ट्रिय बीमा संस्थानले दियो १ करोड रुपैयाँ

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा उक्त रकम सहयोग गर्ने भएको हो । संस्थानको चैत १९ गते सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजना हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास संस्थानले लिएको छ ।

कोरोना भाइरसविरुद्ध ट्राफिक प्रहरीले के कस्ताे सजगता अपनाएको छ ?

काठमाडौं । दैनिक सडकमा खट्टिनुपर्ने ट्राफिक प्रहरीहरूलाई कोरोना भाइरस कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सजगताका उपायहरू अपनाएको छ । महाशाखाले कोरोना रोकथाम तथा सम्भावित माहामारीविरुद्ध न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक व्यवस्था गरेको जानकारी गराएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना प्रहरी कर्मचारीहरूमा नोभेल कोराना भाईरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रबेश गेटमा पिपिई पोसाक लगाई स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था गरेको छ । महाशाखाले यसअघि नै कार्यालय प्रबेश गर्नु अघि हरेक प्रहरी कर्मचारी र सेवाग्राहीहरुले पहिले साबुन पानीले अनिवार्य हात धुनका लागि पानीको धारा र छेउमा हेन्ड वास राखि सकेको छ । हात धोईसकेपछि मात्र कार्यलय प्रबेश गर्न पाइने व्यवस्था मिलाई सकेको छ । त्यस्तै महाशाखाका मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूमा पनि नियमित रूपमा हात धुने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालकका अनुसार प्रहरी कार्यालयमा बिभिन्न किसिमको मानिसहरु आवतजावत गर्ने तथा दैनिक प्रत्यक्ष सडकमा खट्टिनुपर्ने भएकाले बिश्व माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पुर्ब सांबधान रहन यस्तो व्यवस्था गरिएको बताए । महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरिसकेको जानकारी प्रवक्ता जिवन कुमार श्रेष्ठले दिए । वर्तमान सुरक्षा अवस्था समेतलाई मध्यनजर गर्दै हरेक प्रहरी कर्मचारीहरूलाई सचेत रहन र संक्रमणबाट बच्नको सैदान्तिक तथा व्यवहारिक ज्ञान महाशाखा मातहतका ट्राफिक प्रहरीहरूलाई दिएको प्रमुख ढकालले जानकारी दिए । कोरोना भाईरस समन्वय डेस्क महाशाखाले स्वास्थ्यकर्मीसहित प्रनाउको कमान्डमा समन्वय डेस्कसमेत गठन गरेको छ । त्यस्तै महाशाखाले २५ जनाको लागि क्वारेन्टाइन वार्ड तयार गरेको जनाएको छ । ट्राफिक प्रहरीले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र विदारछुट्टी छाड्ने व्यवस्था मिलाएको छ । विदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म होम क्‍वारेन्टाइनमा राखेर चेकजाँचपछि मात्रै डिउटी खटाउने जनाएको छ । ब्यारेकभित्रका ट्राफिक प्रहरीको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले बताए । ब्यारेकमा सुत्ने खाटको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ । त्यस्तै सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ । साथै, ड्युटीमा कम्तिमा २ मिटर दुरीमा नागरिकसँग दुरी कायम गर्ने व्यवस्था पनि मिलाएको छ ।