विकासन्युज

डब्लुएचओकाे चेतावनीः केही दिनमै काेराेना संक्रमित १० लाख र मृतक ५० हजार पुग्छन्

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही दिनमै कोरोना संक्रमितको संख्या बढेर १० लाख पुग्ने बताएकाे छ । साथै मृत्यु हुनेकाे संख्या ५० हजार पुग्ने संगठनले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका हुन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ। जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्।  पछिल्लो समय युरोपेली मुलुकमा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएको छ । ‘’

राष्ट्र बैंकका कर्मचारीले कोरोनाविरुद्धको कोषमा एक करोड पाँच लाख सहयाेग गर्ने

काठमाडाैं  काठमाडाैं : नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खडा गरेको कोषमा एक करोड पाँच लाख रुपैयाँ सहयाेग गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको ऐन अनुसार कर्मचारीहरुले उक्त सहयोग गर्ने निर्णय गरेको बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले उक्त सहयोग रकम सरकारको कोषमा जम्मा हुने बताए । उनले प्रत्येक कर्मचारीकाे तलबबाट पैसा काटिने बताए ।  अहिले सो रकम कोषमा जम्मा भएको छैन। एक दुई दिनमा जम्मा हुने उनले बताए । राष्ट्र बैंकले कुनै चन्दा, अनुदान लगायतका कार्य गर्न नमिल्ने तर कर्मचारीहरुले आफ्नो तर्फबाट सहयोग गर्न सक्ने उनले बताए। अहिले नेपालमा याे भाइरसकाे जाेखिम कम गर्नका लागि विभिन्न संघ संस्थाहरूले सरकारले स्थापना गरेकाे साे काेषमा सहयाेग गरिरहेका छन् । अहिलेसम्म नेपालमा ५ जनामा काेराेना देखिएकाे छ । एक जना भने निकाे भएर घर फर्किसकेका छन् ।    

महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता दिने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् । उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । उक्त रकमको चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताएका छन् । तर उनले कति पैसा भुक्तानी गर्दैछन् भनेर खुलाइएकाे छैन ।

कुमारी बैंकले गर्याे कोरोना रोकथाम कोषमा ७० लाख सहयोग

काठमाडौं । कुमारी बैंकको विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको रोकथामका निमित्त सरकारी कोषमा ७० लाख सहयोग गरेको छ । प्रत्येक प्रदेशबाट १० लाख रुपैयाँको दरले बैंकले कूल ७० लाख रुपैयाँको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले उक्त रकम सहयोग गरेको हो । बैंकले प्रदेश सरकारको कोषमा १० लाख रुपैयाँका दरले जम्मा हुने गरी कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो सहयोग रकम उपलब्ध गराएको हो । गत चैत्र १९ गते बुधबारका दिन केन्द्रिय प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई एक समारोहबीच बैंकका तर्फबाट हेटौंडा शाखा प्रबन्धक कृष्ण शर्माले सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसैगरी, बैंकको तर्फबाट प्रदेश नं ५ मा सोही प्रदेशका मूख्यमन्त्री शंकर पौडेललाई बुटवलका शाखा प्रबन्धक सुदन खत्री र कर्णाली प्रदेशमा उक्त प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेतका शाखा प्रबन्धक हिमाल मुढभरीले सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगप्रति सम्बन्धित सरकार प्रमुखहरुले धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघसंस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थापनमा सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधा उपलब्ध गराउंदै आएको छ ।

कोरोना भाइरसलाई बिदाई गर्दै चीन

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनमा बिरामीको संख्या घट्दै गइरहेको छ । गत डिसेम्बरको अन्तिम साता चीनबाट शुरू भएको कोरोना स्पेन इटाली, फ्रान्स, बेलायतलगातयका देशमा बढिरहेको छ । तर, कोरोनाको उद्गमस्थल चीनमा बिरामीको संख्या घटिरहेको छ । हाल त्यहाँ कोरोना बिरामीको संख्या २ हजार ४ छ । तीमध्ये ४ सय ६६ को अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छ । यसका वाबजुत त्यहाँ पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने ३६ जना कोरोना संक्रमित फेला परेका छन् । जुन न्यून संख्या हो । चीनमा कोरोनाले हालसम्म ३ हजार ३ सय १२ को मृत्यु भएको छ।

औषधि ६ महिनालाई ढुक्क, स्वदेशी उद्योगलाई नयाँ अवसर

काठमाडौं । कोरोना महामारी र लकडाउनको बीचमा पनि औषधि उद्योगहरु सेवामा तल्लिन रहेको देखिएका छन् । औषधि व्यवस्था विभाग र औषधि उत्पादकहरुका अनुसार अब कम्तिमा ६ महिना बजारमा औषधिकाे अभाव हुने छैन । अवस्था जटिल भएपनि औषधि उद्योगहरुले काम गरिरहेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लप अधिकारीले बताए । कोरोना संक्रमणको त्रासका कारण कर्मचारीहरु उद्योगमा आउन नचाहाने, यातायातको सुविधा नहुँदा छरिएर रहेका कर्मचारी उद्योगसम्म पुग्न कठिन हुने, गृहमन्त्रालयले पास नदिने तर प्रहरीले औषधि ढुवानीको सवारीसमेतमा अवरोध गर्ने समस्याहरु रहेपनि औषधि व्यवासायीहरुले काम गरिरहेको उनले बताए । उद्योग चलाउन सबै सिस्टमले काम गर्नु पर्नेमा अहिलेको अवस्थामा औषधि उद्योग नियमित चलाउन कठिन भएको देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हरिभक्त शर्मा बताउँछन् । ‘कर्मचारीलाई कसरी सुरक्षित राख्ने भन्ने छ चिन्ता । उद्योगहरुले सबै कर्मचारीलाई आवासीय सुविधा दिन सकेका छैनन् । कर्मचारीहरु चारतिर बस्छन्, मान्छे जुटाउन गाह्रो छ’ उनले भने । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि वितरण प्रणालीमा केही समस्या देखिएको र ती समस्या समाधानको लागि सरकारी प्रयास भईरहेको बताए । उनले अहिले मुख्य रुपमा तीन प्रकारका समस्या रहेको बताए । ‘आपूर्ति प्रणालीमा केही अवरोधहरु छन् । लक डाउनले कर्मचारी परिचालन कठिन भएको छ’, उनले भने- ‘यी समस्या तत्काल समाधान गर्न सकिएन भने निश्चित वर्गको औषधिको माग धान्न कठिन हुनेछ ।’ सरुवा रोगहरु धेरै फैलिएमा एन्टिवाइटिक लगायत केहि औषधिको माग धेरै बढ्न सक्ने उनले बताए । तर तत्काल औषधिको अभाव नभएकाे उनले बताए । ‘करिब ३ महिनाका लागि पुग्ने कच्चा पदार्थ र करिब तीन महिनाको लागि पुग्ने तयारी उत्पादन स्टकमा छ भनेर उद्योगीहरुले भनेका छन्’ उनले भने । इन्स्युलिनसहित केही आयातित औषधिको उपलब्धता नियमित गराउने चुनौति रहेको उनले बताए । स्वदेशी उद्योगलाई अवसर ठूला संकटले केही अवसरको ढोका पनि खुला गर्छ । अहिले नेपालका औषधि उद्योगहरुको लागि बजार विस्तार गर्न उपयुक्त समय भएको जानकारहरु बताउछन् । विश्वभर स्वास्थ्य सम्बन्धि महामारी भएको, विश्वभर औषधिको माग बढेको, छिमेकी देश भारतले केही औषधि निर्यातमा प्रतिबन्ध लगाएकोले यतिबेला नेपालीभित्रको बजारमा पकड जमाउनको लागि स्वदेशी उद्योगहरुको लागि उपयुक्त अवसर भएको औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल बताउँछन् । विश्वभर कोरोना महामारी फैलिएपछि भारतले प्यारासिटामोल, क्लोरो ह्याक्साडिन, क्लोर्याम फेनिकोल, मेट्रोनिडाजोल, हाइड्रोक्लोरोक्वीन लगायतका २० थरीका औषधि निर्यात बन्द गरेको छ । तर यी औषधि बंगलादेशबाट आउन सक्छ । ‘स्वदेशी उत्पादन भएमा संकटको बेलामा काम लाग्छन् भन्ने नीति निर्माताको भोगाई छ । उद्योगीहरुले बुद्धि पुराए भने अहिले नेपाली उद्योगले बजार लिने समय हो’ उनले भने । तर उद्यमीहरु सरकारले सहयोग गरेन भनेर गुनासो मात्र गर्ने, आफू जोखिम लिएर काम नगर्ने प्रवृति हावी रहेकाे भन्दै उद्योगीको आलोचना गरे । २०७२ सालको भूकम्प र नाकाबन्दीपछिको अवस्थामा पनि स्वदेशी उद्योगलाई बजारमा पकड जमाउने अवसर थियो । संकटको बेलामा उद्योगीहरुले काम नगर्दा र अवस्था सहज भएपछि फेरि विदेशी सामान प्रशस्त आउन थालेपछि स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उनको विश्लेषण छ । नयाँ प्रयासहरु पछिल्लो समय कोरोनाका विरामीमा समेत प्रयोग गर्न सकिने हाइड्रोक्सिक्लोरिक्वीन र एजिथ्रोमाइसिन औषधि नेपालभित्र नै बन्न थालेको उनले बताए । ‘देउराली जनता फर्मास्यूटिकल्ससहित ३ वटा उद्योगले हाइड्रोक्सिक्लोरिक्वीन उत्पादन गर्न अनुमति लिएका छन् । एजिथ्रोमाइसिन करिब ३० उद्योगले बनाउँछन् । अरु देशमा पनि आयात हुन्छ । हामीलाई समस्या हुन्न’ उनले भने । सबैभन्दा खराव अवस्थामा कोरोना संक्रमित र सघन उपचार आवश्यक पर्ने नेपालीको संख्या १२ हजार पुग्न सक्ने अन्तर्राष्ट्रिय संस्थाहरुले आँकलन गरेको र त्यसैलाई आधार मानेर सरकारले यस्तो विरामीको उपचारमा अमेरिका, भारतले प्रयोग गरेका हाइड्रोक्सिक्लोरिक्वीन र एजिथ्रोमाइसिन औषधि उत्पादन गरी तयारी अवस्थामा राख्ने औषधि व्यवसायीहरुलाई निर्देशन दिएको सरकारी अधिकारीहरुको भनाई छ । हाल देउराली जनता फर्मास्यूटिकल्सले हाइड्रोक्सिक्लोरिक्वीन ४ लाख ट्यावलेट तयार गरेर राखेको छ । उक्त औषधिले कोरोना संक्रमित गम्भिर प्रकृतिको १५००० विरामीको उपचार गर्न पुग्ने छ । उक्त औषधि देउराली जनताले सरकारलाई सहयोग स्वरुप सित्तैमा दिने जनाएको छ । अप्ठ्यारो अवस्थामा नेपाली दिदीभाई दाजुबहिनीको उपचारमा राहात पुगोस् र सरकारलाई पनि सहयोग होस् भनेर ती औषधि निःशुल्क दिन लागेको उक्त कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए । अमेरिकाबाट समेत हाइड्रोक्सिक्लोरिक्वीन माग भएको तर कच्चा पदार्थको अभावका कारण नयाँ उत्पादन कठिन भएको उनले बताए । ‘एक त कच्चा पदार्थ नै पाइदैन । दोस्रो, १०० डलर पर्ने कच्चा पदार्थको मूल्य ८००/९०० पुगिसक्यो । तेस्रो, विदेशबाट सामान ल्याउन ढुवानीको साधन चलेका छैनन्’ उनले भने । हाइड्रोक्सिक्लोरिक्वीन सार्सको उपचारमा प्रयोग भएको, छालासम्बन्धि एक प्रकारको रोगको उपचारमा पनि प्रयोग हुने भएकोले यो औषधि आफूहरुले पहिलेदेखि नै बनाउँदै आएको उनले बताए । औषधिजन्य उत्पादन पछिल्लो समय स्नीटाईजर, डिसइन्पेक्टेड, माक्स जस्तो औषधिजन्य उत्पादन पनि शुरु भएका छन । फागुन ९ गते मात्र १२ वटा औषधि उद्योगले स्यानिटाईजर उत्पादन अनुमति पाएका छन् । महाबीर पुनले नेतृत्व गरेको नेपाल आविष्कार केन्द्रले पीपीई उत्पादनको प्रयास गरिरहेको छ । यसका लागि प्रविधि ल्याउन, कच्चा पदार्थ ल्याउन, दक्ष जनशक्ति जुटाउन निकै कठिन काम भएको अनुभवीहरु बताउँछन् । नेपाली उद्योगहरु पूर्ण क्षमतामा चल्ने हो भने ७५ प्रतिशत औषधिमा उत्पादन नेपाली औषधि उद्योगले नै गर्न सक्ने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी बताउँछन् । तर अहिले पनि नेपालमा खपत हुने औषधिको ५५ प्रतिशत हिस्सा विदेशी औषधिले लिएको उनले बताए । कच्चा पदार्थमा मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य धेरै बढेकोले निकट भविष्यमा औषधिको मूल्य वृद्धि हुने सक्ने औषधि उत्पादक कम्पनी सिम्का ल्याब्रोटोरिजका सेल्स म्यानेजर दीपराज दवाडी बताउँछन् । औषधिको कच्चा पदार्थको विश्वभरमा चीनले मात्र ६५ प्रतिशत हिस्सा लिएको, शुरुमै चीनमा कोराना महामारी फैलिएको र चीनबाट निर्यात असहज भएकोले कच्चा पदार्थको आपूर्ति कम भएको तर बजारमा माग बढेकोले २० देखि ३५ प्रतिशतसम्म कच्चा पदार्थको मूल्य वृद्धि भएको उनले बताए । कच्चा पदार्थको मूल्य वृद्धि भए पनि तत्काल नेपालका औषधि उद्योगहरुले मूल्य वृद्धि नगर्ने औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी बताउँछन् । चाइना लकडाउनमा गएपछि विश्वभर औषधिकाे मूल्य बढेको उनले बताए । अहिले भएको कच्चा पदार्थको मूल्यवृद्धि अस्थायी प्रकृतिको भएको र निकट भविष्यमा मूल्य धेरै नै घट्न सक्ने औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको तर्क छ । ‘कच्चा पदार्थको मूल्य नबढ्न पनि सक्छ किनकी पेट्रोलियम पदार्थ मूल्यमा भारी गिरावट आएको छ’ उनले भने-यसले कच्चा पदार्थको मूल्य र ढुवानी लागत दुबै घटाउँछ ।’

कम तौल भएको ग्यास सिलिण्डर बेच्ने बिरुद्ध ठगीको मुद्दा

काठमाडौं । कम तौल भएको ग्यासको सिलिण्डर बेच्ने बिरुद्ध ठगीको मुद्दा दायर गरिएको छ । चितवनको बाबा ग्यास र हेटौँडाको साहारा ग्यास माथि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ठगी मुद्दा दायर गरीएको छ । तोकिएको तौलभन्दा कम ग्यास भरिएको सिलिन्डर बजारमा बिक्री वितरण गरेको आरोपमा ठगी मुद्दा दायर गरीएको हो । बाबा ग्यासको सिलिण्डरमा ७ दशमलब १ किलो हुनु पर्नेमा ८ सय ३० ग्राम घटी र सहारा ग्यास उद्योगले पठाएको ग्यासमा १ सय ९५ ग्रामसम्म घटी फेला परेको थियो ।

कोरोना अपडेट: विश्वमा ८ लाख ८७ हजारभन्दा बढी संक्रमित,४४ हजार ३ सय २ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ४४ हजार ३ सय २ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ८ लाख ८८ हजार ४ सय १८ जना पुगेका छन् । त्यस्तै कोरोना भाइरसको उपचार पछि १ लाख ८८ हजार ८ सय ७९ जना घर फर्किएका छन् । पछिल्लो समय संयुक्तराज्य अमेरिका विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । त्यहाँ अहिलेसम्म १ लाख ८८ हजार ८ सयभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ४ हजार ६६ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ । अमेरिकामा उपचार पछि भने ७ हजार २ ५१ जना घर फर्किएका छन् । कोरोना भाइरसबाट प्रभावित इटालीमा १२ हजार ४ सय ४३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६ हजारभन्दा बढी संक्रमित रहेका छन् । आजसम्म इटालीमा १५ हजार ७ सय २९ जना उपचार पछि घर फर्किएका छन् । स्पेनमा १ लाख २ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ९ हजार ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ८ सय ६७ जना निको भएका छन् । कोरोना भाइरसको उद्गम स्थल चीनले कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा राखेको छ । आज नयाँ संक्रमितको संख्या ३ सय रहेको छ । हालसम्म ८३ हजार जना संक्रमित छन् भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । त्यस्तै ७६ हजार ४ सय १२ जना उपचार पछि घर फर्किएका छन् । पछिल्लो समय युरोपेली मुलुकमा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएको छ । जर्मनी ७३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छन् भने ८ सय २२ जनाको मृत्यु भएको छ । १९ हजार उपचार पछि निको भई घर फर्किएका छन् । फ्रान्समा ५२ हजार ३ सय ७५ जना संक्रमित छन् । फ्रान्समा ३ सय ५ सय २३ जनाको मृत्यु भयो भने ९ हजार ४ सय ४५ जनालाई निको भएको छ । इरानमा ४७ हजार ५ सय ९३ कोरोनाबाट संक्रमित छन् भने ३ हजार ३६ जनाको मृत्यु भएको छ । त्यस्तै १५ हजार ४ सय ७३ जना उपचार पछि घर फर्किएका छन् । केहि दिन यता बेलायतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आजको तथ्यांक अनुसार २९ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै १ सय ३५ जना उपचार पछि निको भएका छन् । कोरोना भाइरसबाट स्वीट्जरल्याण्डमा ४ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ हजार १ सय ३७ पुगेको छ । त्यस्तै २ हजार ९ सय ६७ जना उपचार पछि घर फर्किएका छन् । नेदरलयाण्डमा कोरोना भाइरसबाट १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १३ हजार ६ सय १४ पुगेको छ । उपचार पछि २ सय ५० जना घर फर्किएका छन् । बेल्जियममा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै ८ सय २८ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ३२ जना उपचार पछि घर फर्किएका छन् । टर्कीमा १३ हजार ५ सय ३१ जना कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ४३ जनालाई निको भएको छ । अष्ट्रिया १० हजार ४ सय ८२ जना कोरोना भाइरस संक्रमित छन् भने १ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो समय दक्षिण कोरियाले पनि कोरोना संक्रमणलाई नियन्त्रणमा गर्न सफल भएको देखिएको छ । हाल ९ हजार ८ सय ८७ जनाको मानिस कोरोना भाइरस संक्रमित छन् भने १ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५ सय ६७ जना उपचार पछि घर फर्किएका छन् ।स्वीडेनमा मृत्यु हुनेकाे संख्या १ सय ५, पोर्चुगलमा १ सय जनाको मृत्यु भइसकेको छ । यसैगरी यस सङ्क्रमणबाट नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ । नेपालमा हालसम्म ५ जनाका काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे र हाल १ जना निकाे भएर घर फर्किएका छन् ।