बैतडीमा ४ सय २५ को थ्रोट स्वाब सङ्कलन
काठमाडौं । क्वारेन्टाइनमा बसेका बैतडीका ४२५ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब सङ्कलन गरेको हो । स्वाब सङ्कलन गरिएका नागरिकको स्वाबको काठमाडौँमा परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पुर्चौंडी नगरपालिकाको हाटमा १५९, नकालीमा ७१ र गहताडमा ११३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको हो । यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । उहाँका अनुसार पञ्चेश्वरमा मेलौली नगरपालिकाको क्वारेन्टाइनमा बसेका चार र शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १२ गरी ८२ जनाको पञ्चेश्वरमा स्वाब सङ्कलन गरिएको हो । कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली बैतडी आइपुगेको हो । स्वाब सङ्कलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो । जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकको पनि थ्रोट स्वाब दोस्रो चरणमा सङ्कलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । उनीहरुको स्वाब कहिले सङ्कलन गर्ने भन्ने विषयमा टुङ्गो नलागेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अहिले क्वारेन्टाइनमा बसेका चार स्थानीय तहका नागरिकको थ्रोट स्वाब सङ्कलन गरिएको छ । उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर गरिने र नेगेटिभ आएपछि २१ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख भट्टले बताए । बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । रासस
सामाजिक सञ्जालमा प्रधानमन्त्रीबारे अफवाह फैलाउने पक्राउ
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरीको साइबर ब्यूरोको टोलीले दुवैलाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ । रासस
पर्वतमा ग्यास कालोबजारी गर्ने पक्राऊ
पर्वत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो । वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीमाथि बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको उपभोक्ताको आरोप छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ३७५ तथा ढुवानीसहित भरी सिलिण्डरको एक हजार ४०० र आधा सिलिण्डरको रु ७०० तोकेको छ । व्यवसायी रेग्मीले रु एक हजार ७०० लिएर ग्यास बिक्री गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको हो । रासस
आज माछापुच्छ्रे बैंकको ५२ वटा शाखा खुल्ने (सूचीसहित)
काठमाडौं । माछापुच्छ्रे बैंकले आज(शुक्रबार) देशभरका ५२ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको प्रदेश १ को १० वटा, प्रदेश २ को ९ वटा, प्रदेश ३ को ११ वटा, प्रदेश ४ को ९ वटा र प्रदेश ५, प्रदेश ६ तथा प्रदेश ७ को ४/४ वटा शाखा खुल्ने बैंकले एक सूचना मार्फत जानकारी गराएकाे छ । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।
लकडाउनमा पनि अब उद्योग चल्ने, मजदुरलाई स्वास्थ्य मन्त्रालयले हेर्ने
काठमाडौं । सरकारले लकडाउनमा पनि उद्योग सञ्चालन गर्न दिने भएको छ । लकडाउनको कारणले १७ दिनदेखि अत्यावश्यक बाहेका सबै उद्योगहरु बन्द छन् । उद्योग मन्त्रालयले चरणबद्ध रुपमा सबै उद्योग सञ्चालन गर्ने कार्य अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडी बढाएको जानकारी दिए । ‘देशका उद्योगधन्दाहरु बन्द हुद देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ, विकासका काम र राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालनका लागि सरकार लागिरहेको छ,’ भट्टले भने । उद्याेगमा काम गर्ने मजदुरको स्वास्थ्य के कस्ताे छ भन्ने तथा कसरी सुरक्षित राख्ने भन्ने विषयका समन्वय स्वास्थ्य मन्त्रालयले हेर्नेछ । विश्व स्वास्थ्य संघठनले तोकेको मापदण्ड अनुसार नै मजदुरको स्वास्थ्य परीक्षण गरिने मन्त्री भट्टले बताए । ‘तेल उत्पादन गर्न भुष चाहिन्छ, उत्पादन गरिसकेपछि प्याकिङ् गर्न प्लास्टिक वा बोतल चाहिन्छ, एउटा उद्योगले उत्पादन गरेको बस्तु अर्काे उद्योगलाई चाहिन्छ, त्यसैले सरकारले सबै उद्योग सञ्चालन गर्न दिन लागेको हो,’ उनले भने । सरकारले राष्ट्रिय गाैरबका आयोजना निर्माणमा पनि समस्या नआउने प्रबन्ध मिलाएकाे छ । हाइड्रो परियोजना १ वर्ष धकेलियो भने त्यसको लागत बढ्छ । लागत बढदा आर्थिक भार थपिन्छ । हाइड्रो लगायतका विकासका परियोजना सञ्चालन गर्न सिमेन्ट, फलाम लगायतका बस्तु चाहिन्छ । त्यसैले सबै उद्योगहरु खुल्न लागेको मन्त्री मन्त्री भट्टले जानकारी दिए । उद्योग सञ्चालन हुदा स्वदेशमा नै उत्पादन भएको बस्तु बजारमा पठाउन सहज हुनेछ । उद्योगका लागि आवश्यता पर्ने कच्चा पदार्थ पनि ल्याउन सरकारले सहजिकरण गर्नेछ । लकडाउनको समायमा उद्योग सञ्चालन गर्दा मजदुरहरुलाई उद्योगमा नै राखेर काममा लगाउने र स्वास्थ्य परीक्षण गरिने छ ।
कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने
काठमाडाैं । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् । आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिँदै छ । विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो । यसरी भिसा थपिएको यो दोस्रोपटक हो । कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपालीलगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए । यो निर्णयसँगै फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् । यद्यपि इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् । हाल कोरियामा आउने सबै किसिमका भिसा कोरिया सरकारले बन्द गरेको छ । उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ । भिसा थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट www.hikorea.go.kr वा फोन नम्बर १३४५ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइको छ ।रासस
मन्त्री भुसालले मागे कृषि उत्पादनबारे स्थानीय तहको सुझाव
काठमाडाैं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव मागेका छन् । उनले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग सम्बन्धमा सबै स्थानीय तहसित सुझाव मागेका हुन् । यसबारे स्थानीय तहले के–के गर्न सक्ने तथा प्रदेश र सङ्घीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा समेत मन्त्री भुसालले सबै स्थानीय तहबाट सल्लाह–सुझाव लिइने आफ्नो अवधारणामा स्पष्ट पारेका छन् । उनले सो अवधारणाअनुसार अघि बढ्न मुलुकका सवै स्थानीय तहलाई निर्देशन दिएका छन् । कोरोना भाइरसका कारण हाललाई सबैसित छलफल गर्न सम्भव नभएकाले मन्त्री भुसालले स्थानीय तहसँग सुझाव मागेका हुन् । कृषिको विकासका लागि हालसम्म गरिएका प्रयासलाई सार्थक बनाउन तथा कमजोरी हटाउने उद्देश्यले मन्त्रालयले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नाराअन्तर्गत पाँच वटा नीतिगत आधारसहितको कृषि विकासको अवधारणा ल्याएको छ । व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ/नश्ल, मल, सिँचाइ, बिजुलीलगायत उत्पादनका मुख्य सामग्रीमा अनुदान दिइने, सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गर्दै प्रत्येक किसानलाई पाँच प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋण उपलब्ध गराउने तथा सबै किसानलाई प्राविधिक सेवा उपलब्ध गराउने अवधारणा मन्त्रालयले अघि बढाएको छ । सो अवधारणाअनुरुप हाल मुलुकभरका स्थानीय तहमा कृषि तथा पशु सेवातर्फ रिक्त रहेका छ हजार प्राविधिक जनशक्तिको दरबन्दीमा पदपूर्ति गरिने मन्त्रालयको योजना छ । मन्त्रालयले सबै बालीवस्तुको बीमा गर्ने अवधारणा ल्याएको छ । “कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु¥याउने सुनिश्चितता गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली–वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ”, अवधारणामा उल्लेख छ । किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरी उचित बचतको ग्यारण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिनेछ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्ने तथा बजारमा न्यूनतम मूल्य नपाएको अवस्थामा स्वयं सरकारले खरिद गर्ने व्यवस्थाको तयारीमा मन्त्रालय जुटेको छ । “यी नीतिगत आधारको मूल उद्देश्य मुलुकमा कृषिकर्म गर्ने कुनै पनि व्यक्तिले न्यूनतम बचत प्राप्त गर्छ भन्ने कुराको प्रत्याभूति गराउनु हो । यसबाट हरेक किसानले आफ्नो सामान्य जीवन निर्वाहका लागि चिन्ता गर्नुपर्ने छैन । जति बढी उत्पादन, त्यति बढी बचतको ग्यारण्टी हुँदा हामीले दशकौँदेखि भन्दै आएको आयात प्रतिस्थापन अर्थात् आत्मनिर्भरता स्वतः कार्यान्वयन हुँदै जानेछ”, अवधारणामा उल्लेख छ । यो अवधारणाले श्रमबजारमा जुट्ने युवा जनशक्तिका लागि कृषिले ठूलो अवसर प्रदान गर्ने मन्त्री भुसालको विश्वास छ । वैदेशिक रोजगारीबाट फर्कनेलाई समेत यसले स्पष्ट विकल्प दिनेछ । “हामीले अघि सारेका नीतिको कार्यान्वयनले कृषि क्षेत्रका समस्यालाई आधारभूत रूपमा समाधान गर्न सकिनेछ”, मन्त्री भुसालले स्पष्ट पारेका छन् । अघि बढाएका नीतिगत आधारको कार्यान्वयनका लागि तीनवटै तहका सरकार, सहकारी र निजी क्षेत्रको भूमिकालाई उचितरूपमा संयोजन गर्नुपर्ने मन्त्रालयले जनाएको छ । उत्पादनका लागि बजार, जमिनको चक्लाबन्दी, कृषिकर्ममा यान्त्रिकीकरण, भण्डारण, प्रशोधनलगायत सिँचाइ, विषादी व्यवस्थापन, रोग नियन्त्रण, नयाँ प्रविधि तथा उन्नत जात/नश्लको अनुसन्धान र विकास, पर्यावरणीय कृषिलगायत कार्यक्रम एकसाथ सञ्चालन गर्नुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन् । “यी सबै काम सम्पन्न गर्न उत्पादन सामग्रीमा दिइने अनुदान, ऋणको ब्याजमा सहुलियत र प्राविधिक सेवा जुनसुकै बाली–वस्तु उत्पादन गर्ने किसानलाई दिनुपर्छ”, अवधारणामा प्रष्ट पारिएको छ । यस्तै न्यूनतम समर्थन मूल्यको निर्धारण तथा खरिदको ग्यारेण्टी कुन–कुन बाली–वस्तुमा गरिनेछ भनेर तोक्नु आवश्यक हुने, अहिलेको आयात र आवश्यकताका हिसाबले धान, मकै, गहुँ, आलु, उखु, फलफूल (तराईमा आँप र केरा, पहाडमा कागती, सुन्तला र केरा तथा हिमालमा स्याउ), माछा, मासु (कुखुरा, बाख्रा, राँगा, बुङ्गुर), अण्डा र दूधलाई मुख्य बाली–वस्तुको कोटीमा राख्नुपर्ने मन्त्री भुसालको अवधारणामा उल्लेख छ । प्रादेशिक र स्थानीय हिसाबले कहीँ चिया र अलैँची कहीँ ओखर वा अन्य बाली–वस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा र सबै बाली–वस्तुको बीमाको कार्यान्वयन मुलुकभर एउटै मापदण्ड र प्रक्रियाबाट गरिनुपर्ने योजना अघि बढाइएको छ । बाली–वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने र किसानले बजारमा बिक्री गर्न नसकेको बाली–वस्तु खरिद गर्ने व्यवस्था सङ्घीय, प्रदेश र स्थानीय तहले गर्नुपर्ने छ । जमिनको चक्लाबन्दी र बाँझो जमिनको उपयोग आगामी कार्यक्रमको महत्वपूर्ण विषय हुनेछ तथा यसको कार्यान्वयनका लागि मुख्यगरी स्थानीय तहले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ । मन्त्रालयको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सङ्घीय, प्रदेशका मन्त्रालय तथा सबै स्थानीय तहसितको समन्वय र सहकार्यद्वारा तयार गर्नुपर्ने मन्त्री भुसालको धारणा छ । “सङ्घीय मन्त्रालय र सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरूसित पटक–पटक छलफल गरी विभिन्न विषयमा समझदारी गरिएको छ”, मन्त्री भुसालले भने । ती समझदारीका आधारमा हरेक प्रदेशमा त्यस प्रदेशभित्रका स्थानीय तहको नेतृत्वसँग समेत छलफल गर्ने योजना रहेको उनकाे भनाइ छ । रासस
मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात
काठमाडाैं । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् । बिहिबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए । प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनि सम्झाइरहँदा केही युवाहरुले उहाँमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए । प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए । अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस