विकासन्युज

स्वर्गद्वारी आश्रम सङ्कटमा

प्युठान।  नेपालका प्रमुख धाममध्ये महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी कोभिड– १९ संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आर्थिक संकटमा परेको छ । स्वर्गद्वारीमा रहेका गाईको हेरचाह, खाद्यान्नलगायत अन्य व्यवस्थापन हुन नसक्दा संकट उत्पन्न भएको हो । स्वर्गद्वारी दर्शनार्थीबाट उठेको भेटीका भरमा चल्दै आएको छ । अहिले लकडाउनपछि स्वर्गद्वारी दर्शनका लागि दर्शनार्थी आउन रोकिँदा गाईलाई दाना, घाँस, कामदारको समेत अभाव भएपछि संकटमा परेको स्वर्गद्वारी आश्रमले जनाएको छ । आश्रममा १५० कर्मचारी छन् । संस्कृत पढ्न ८५ जना वटुक रहेका छन् । स्वर्गद्वारी आश्रमका नाममा दाङका तुल्सीपुर र लमही तथा प्युठानको स्वर्गद्वारीमा ६५० गाई पालिएका छन् । तीमध्ये स्वर्गद्वारी आश्रममा मात्रै ४५० छन् । स्वर्गद्वारीमा रहेका गाईका लागि दैनिक ६ क्विन्टल दाना खपत हुन्छ । त्यो तुल्सीपुरमा रहेका उद्योगबाट ल्याउँदै आइएको थियो । अहिले उद्योग बन्द हुँदा दाना ढुवानी रोकिएको छ । विद्यार्थी, आश्रमका साधुसन्त, ब्राह्मणका गरी दैनिक कम्तीमा २२५ जनाका लागि भोजन तयार हुन्छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आंैँसीमा स्वर्गद्वारी दर्शन गर्न आउनेको भीड लाग्छ । यही समयमा मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गर्छ । चैत र वैशाख स्वर्गद्वारीमा सबैभन्दा बढी दर्शनार्थी आउने महिना हुन् । कोरोना संक्रमणको पूर्वरोकथामको तयारीस्वरुप गरिएको लकडाउनका कारण चैतभर स्वर्गद्वारी आउने पर्यटकको सङ्ख्या शून्य भएको छ । स्वर्गद्वारीमा आउने तीर्थालु पर्यटक नहुँदा संकट उत्पन्न भएको स्वर्गद्वारी आश्रमका कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिए । ‘तीर्थाटनमा आएका दर्शनार्थीको भेटीको भरमा जेनतेन गुजारा भइरहेको थियो’, कोठरी न्यौपानेले भने, ‘गाईको दाना अभाव हुँदा समस्या भइरहेको छ, खाद्यान्न धेरै कम छ र कर्मचारीसमेत घरमा बसेपछि घाँसको पनि अभाव भएको छ ।’ आश्रममा सञ्चालित वेद पाठशालामा वटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेन आश्रमले व्यहोर्नुपर्छ । ती सबैका लागि स्वर्गद्वारी आश्रमको दैनिक खर्च रु ४० हजारभन्दा बढी हुने गरेको छ । नियमित स्रोत अहिले रोकिएको छ आश्रमका भक्तजनको दानदक्षिणा नै प्रमुख स्रोत भएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताए । उनले लकडाउन घोषणा भएसँंगै तीर्थालु आउन रोकिएपछि आश्रममा समस्या निम्तिएको बताए । आफ्ना नाममा रहेको दाङस्थित एक हजार १२ बिघा खेत जनयुद्वपछि आश्रमले उपभोग गर्न पाएको छैन । आश्रमका अनुसार त्यहाँ रहेको गुठीबाट एक हजार ७९३ क्विन्टल धान, करीब ४४० क्विन्टल तोरी र पाँच क्विन्टलजति मकै वार्षिक आम्दानी हुने गरेकामा एक दशकदेखि किसानले कुतबाली दिन छाडेका छन् । आश्रमले गत आर्थिक वर्षमा वार्षिक रु डेढ करोडको भेटी संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । भेटी, दान दक्षिणा प्रमुख आयस्रोत रहेकामा हाल संकटमा रहेको आश्रमले उधारोमा खाद्य पदार्थ खरीद गरी दैनिक कामकाज सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । रासस

तनहुँमा कुहिएको चामल राहतमा

तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् । चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीयवासी रेशम विकले बताए । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरवाही गर्नेलाई कारवाही गरिने चेतावनी दिए । वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिइएकाले चामल कस्तो प¥यो भन्ने आफूले थाहा नभएको बताउँदै सडेगलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारवाही गरिने दृढता व्यक्त गरे । उनका अनुसार उक्त चामल फिर्ता गरी आजै अर्को वितरण गर्न लागिएको छ । रासस

‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ । मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिन्छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन् । परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवं भिडियोसमेत देखाउन सक्छन् । एप्लिकेशनबाट विस्तारै भिडियो परामर्शको सेवा पनि लिनसकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए । निःशुल्क रुपमा प्लेस्टोरमा उपलब्ध एप डाउनलोड गरि यस विषम अवस्थामा आफ्ना स्वास्थ्य समस्या तथा जिज्ञासाका बारेमा डाक्टरहरुसँगसहजै परामर्श लिन हाम्रो डक्टरले सबैलाई अपिल गरेको छ । एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्नसकिन्छ । यसका अलावा विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्नसकिन्छ । कोरोना भाइरसबाट उत्पन्न त्रास र लकडाउनको अवस्थामा अस्पताल जान नसकेका चिकित्सकसँग परामर्श र उपचार सेवा नराम्ररी प्रभावित भएको छ । यो अवस्थामा चिकित्सक, अस्पताल तथा जनस्वास्थ्यविदहरुले घरमै बसेर चिकित्सकसँग अनलाईन परामर्श गर्न प्रोत्साहित गरिरहेका बेला यो एपका बारेमा धेरैभन्दा धेरैले जानकारी पाउन आवश्यक देखिएको छ । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएका बेला एप्लिकेशनले आफ्ना सेवाहरुमा २० प्रतिशत छुटसहितको कुपनकार्ड वितरण गरिरहेको छ । सो कोड हाम्रो डक्टरको फेसबूक पेजमा पाउनसकिन्छ ।

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

कपिलवस्तु । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् । ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ । कपिलवस्तुमा किसानले उत्पादन गरेको दूध नबिकेपछि खेतमा फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ । वाणगङ्गा नगरपालिका– ४ मा रहेको ट्विन्स डेरी उद्योगले दुई दिनमा १६ हजार लिटर दूध खेतमा फाल्नुपरेको बताएको छ । दुग्ध विकास संस्थानले दूध नकिनेपछि बाध्य भएर बारीमा फाल्नुपरेको सञ्चालक इन्दिरा पौडेलले बताए । वाणगङ्गा नगरपालिका, व्यावसायिक पशुपालन समितिका सचिव तथा सक्रिय कृषक जयलाल गिरीका गोठमा पैँसठ्ठी बाख्रा र अठ्चालीस गाईभैँसी छन् । घाँस पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्नु र दानाको अयातनिर्यात नै बन्द भई पशुलाई पर्याप्त खाना दिन नसक्दा उत्पादनमा ८० प्रतिशत गिरावट भएको उनको गुनासो छ । गिरीले रासससँग कुरा गर्दै भने, “अब गोठमा बाँधिएका गाईभैँसी तथा बाख्रालाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ ।” उन का अनुसार पहिले खर्च कटाएर पनि मासिक रु एक लाखसम्मको आम्दानी हुने सो व्यवसायमा अहिले ८० प्रतिशत घाटा भइरहेको छ । वडा नम्बर–८ बोडगाउँका खुमानन्द पौडेलले २४ गाई पालेका छन् । उनले यसअघि गाईपालनबाट मासिक रु ८० हजार आम्दानी गर्दै आएका थिए । यतिबेला दूध उत्पादन घट्नु तथा बन्दाबन्दीले दाना पाउन नसक्नुले आम्दानी घटेको छ । उनको जस्तै समस्या वडा नम्बर–९ चप्परगाउँका अगुवा कृषक विष्णु पौडेलको पनि छ । उत्पादित दूध बिक्री नभएपछि छरछिमेकलाई फोन गरेर दूध लिन बोलाएको र बचेको दूधको पनिर बनाइएको उनले बताए। वडा नम्बर–११ खुरबुधियाका पशुपालक किसान कमल सुवेदी गाउँस्थित डेरीले दूध नल्याउनू भनेपछि उत्पादित दूध गाउँबाट १० किलोमिटर दूरीमा रहेको डेरीमा गएर बेच्न बाध्य हुनुभएको छ । गोठभरि ४० भैँसी पालिरहनुभएका बुद्धभूमि नगरपालिका मोर्मा–३ का ईश्वरी पौडेल लकडाउनका कारण दाना पाउन समस्या भएको र पाए पनि महँगो पर्ने भएकाले समस्या निम्तिएको बताउँछदन् । शुद्धोधन गाउँपालिका– १ बगदीका खेमराज भण्डारीले सन्तुलित र चापट दाना प्रति क्विन्टल रु ५०० देखि ६०० सम्म मूल्यवृद्धि भएकाले गोठमा भएका गाईभैँसी पाल्नसमेत धौधौ भएको बताए । दैनिक साठी लिटर उत्पादन भइरहेको दूध घटेर अहिले २५ लिटरमा पुगेको बताउँदै उहाँले घरमा भएको दूध फाल्नुपर्ने र आफन्त बोलाएर दिनुपरेको गुनासो गरे । वाणगङ्गा क्षेत्रमा मात्र झण्डै तीन सय पशु फार्म दर्ता भए पनि हाल डेढ सयभन्दा बढी मात्र सक्रिय रहेको नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले बताए । तिनमा तीन ठूला र चारपाँच साना डेरी छन् । लकडाउन खुलेपछि प्रभावित किसानको समस्या सम्बोधनका लागि नगरपालिकाले योजना बनाउने तिवारीले जानकारी दिए । जिल्लाभित्रका पशुपालक किसानको पीडा उस्तै भएको कपिलवस्तु जिल्लाका भेटेरीनरी पशु चिकित्सक दुर्गाप्रसाद खनालको भनाइ छ । कोरोनाको त्रासले बजारमा माग कमी भएकाले दूध तथा मासुजन्य खाद्य पदार्थले बजार मूल्य नपाउँदा यतिबेला किसान प्रत्यक्षअप्रत्यक्ष मारमा परिरहेको खनालको बताउनुहुन्छ । दानाका लागि भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपालका उद्योग धरापमा पर्ने अवस्था आउने उनकाे आकलन छ । रासस

१७ वटा स्थानीय राहत कोषमा सिद्धार्थ बैंकको ५ लाख १० हजार रुपैयाँ बराबरकाे सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले स्थानिय तह अन्तर्गत रहेका १७ वटा स्थानीय तह राहत कोषमा ५ लाख १० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले उक्त स्थानका गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजार रुपैयाँको दरले सो मात्राको सहयोग उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडिमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी उक्त सहयोग गरेको हो । बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बैंकले लिएको छ । उक्त रकम बैंकका निम्न शाखाहरु मार्फत प्रदान गरिएको होः १. विनयी त्रिवेणी, नवलपुर २. रामगोपालपुर, महोत्तरी ३. आमचोक, भोजपुर ४. गढी, सुनसरी ५. रोशी, काभ्रे ६. मर्चवारी, रुपन्देही ७. गोकुलगंगा, रामेछाप ८. देवघाट, तनहुँ ९. मकालु, संखुवासभा १०. गोलन्जोर, सिन्धुली ११. आदर्श कोटवाल, बारा १२. यसोधरा, कपिलवस्तु १३. माधवनारायण, रौतहट १४. देवताल, बारा १५. पुथा उत्तरगंगा, पूर्वी रुकुम १६. बहुदरमाई, पर्सा १७. वुढीगंगा, बाजुरा यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाख रुपैयाँको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको छ र विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने विश्वमा देखिएको यस बिशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरु समक्ष आग्रह बैंकले गरको छ ।

नामी कलेजकाे पठनपाठन अनलाईनबाटै

काठमाडौं । काेराेना भाइरस (कोभिड १९)को कारण हाल आधा विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि गत चैत ११ गते देखि लकडाउनमा रहेको छ ।  यो अवस्था कहिले सामान्य अवस्थामा जान्छ भनेर भन्न सक्ने स्थिति अहिले छैन । यो समयमा धेरै क्षेत्र प्रभावित भएका छन् । शैक्षिक क्षेत्रमा पनि यसको प्रभाव निकै ठूलाे परेकाे छ । तर यस्ता केही शैक्षिक संस्थाहरु छन् जसले अनलाईन कक्षाहरु संचालन गर्दै विद्यार्थीलाई लकडाउनको महसुस गराउन दिएका छैनन् । त्यही मध्ये एक कलेज हो गोकर्णश्वर स्थित नयाँ आयम मल्टी डिसिप्लनरी ईन्स्टिच्युट (नामी) । बेलायतको युनिभर्सिटी अफ नर्थ हेम्पट्नबाट मान्यता प्राप्त नामी कलेजले हाल ब्याचलर्स तहको कक्षा अनलाईनमार्फत सुरू गरेकाे छ । कोरोनाको संक्रमणलाई महामारी घोषणा गरिएसँगै लकडाउन हुने संभावनालाई मध्यनजर गर्दै अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको कलेजका प्रधानध्यापक संजीव उदासले बताए । मे महिनामा सेमेस्टर जसरी पनि अन्त्य गर्नुपर्ने भएकोले पनि आफूहरु पूर्ण रुपमा तयारी अवस्थामा बसेको उदासले जानकारी दिए । विश्वविद्यालयकै एप मार्फत हाल कलेजले कक्षाहरु संचालन गरिरहेको छ । लकडाउन कहिले खुल्ने तय नभएकोले विद्यार्थीहरुको अन्योलमा पर्ने हुनाले अनलाई कक्षाहरु संचालनमा ल्याईएको उनी बताउँछन् । उदास भन्छन्, ‘ हाल कोरोना भाईरसको कारण लकडाउन भयो, भोलि अर्को के समस्या आईपुग्छ भनेर हामी भन्न सक्दैनौं । त्यसैले अब सबै शैक्षिक संस्थाहरुले अनलाईन कक्षा संचालन गर्ने प्रविधीतर्फ बढ्न जरुरी छ ।’ अनलाईन कक्षा र वास्तविक कक्षाकोठाहरुमा खासै फरक नभएको उनी बताउँछन् । अनलाईन कक्षामा भएको सबै पढाई रेकर्ड हुने र कुनै विद्यार्थीले ईन्टरनेट समस्या भएको कारण कक्षामा सामेल हुने नपाएको अवस्थामा पछि रेकर्ड भएको कक्षाको पढाई दोहोराएर पढ्न पाउने उनले बताए । सन् २०१४ मा स्थापना भएको नामी कलेजले प्लस २ देखि ए लेभल र एमबीए सम्मको कोर्स संचालन गर्दै आएको छ । कलेजमा अहिले ७ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् ।

काँग्रेस सांसदले काेराेना काेषमा १५ दिनको पारिश्रमिक प्रदान गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ । सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने सचिवालयले जानकारी दिएको छ । रासस

भारतबाट नेपालमा औषधि ल्याउन कठिन, के पर्याे अप्ठेराे ?

काठमाडाैं । भारतले प्यारासिटामोलबाहेक अरू सबै औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि ढुवानीको असहजता र कामदार अभावका कारण ती औषधि नेपाल आयात गर्न समस्या देखिएको व्यवसायीहरूले बताएका छन्। समस्या समाधानका लागि सरकारलाई आग्रह गरिएको र सहज भएमा ती औषधि छिट्टै नेपाल ल्याइने उनीहरूको भनाइ छ। भारतले निर्यात प्रतिबन्ध हटाएका औषधिहरूमा नेपालमा उत्पादन नहुने जीवनरक्षाका लागि प्रयोग हुने र सीसीयू तथा आईसीयुमा प्रयोग हुने औषधी रहेको बताइएको छ। कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि भारतले आफ्नो देशमा उत्पादन हुने २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखियो। कस्ता अप्ठेरा छन् ? विभिन्न देशको आग्रहपछि हाल उसले प्यारासिटामोल बाहेकका सबै औषधीको निर्यात माथिको प्रतिबन्ध हटाएको छ। यसबाट उत्साहित नेपाली व्यवसायीहरूले त्यस्ता औषधी आयातको योजना बनाइसकेका छन्। तर दुवै देशमा लकडाउनको स्थितिमा सामान ल्याउन समस्या देखिएको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए। “हामीले आयातका लागि भनेका छौँ। तर भारतमा पनि लकडाउन भएकाले त्यहाँ ढुवानीकर्ताको व्यवस्थापन गर्न अनि सामान बोक्न र झिक्न आवश्यक कामदार जुटाउन समस्या परिरहेको बताइएको छ,” उनले भने। मजदुरलाई पासको माग एउटै प्रकारको औषधि र एउटै व्यवसायीको भएमा मात्रै ढुवानीकर्ताहरूले सहजै ल्याइदिने गरेको अनुभव व्यवसायीहरूको छ । दुवै देशका भन्सार जाँचका क्रममा आवश्यक पर्ने मजदुरलाई समेत पासको व्यवस्था गर्नुपर्ने उनीहरूको अनुरोध छ। भारतको औषधि निर्यात खुल्ला गर्ने निर्णयसँगै नेपालमा उत्पादन हुने औषधिका लागि भारतबाट आयात गर्नुपर्ने कच्चापदार्थ पनि सहज हुने अपेक्षा औषधि उत्पादकहरूले गरेका छन्। तर त्यसका लागि पनि ढुवानी र मजदुर दुवैको व्यवस्थालाई सहज पारिनुपर्ने औषधि उत्पादक सङ्घका अध्यक्ष नारायणबहादुर क्षेत्रीले बताए। आफूहरूसँग हाल केही कच्चा पदार्थ भएपनि लकडाउन अझै लम्बिँदै गएमा त्यसको प्रभाव नेपालमा उत्पादन हुने औषधिमा समेत पर्न सक्ने उनको भनाइ छ। बिबीसी नेपालीबाट