विकासन्युज

छैन लमजुङमा थर्मल गन पनि

लमजुङ। महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा छैन । मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गनविना नै स्वास्थ्यकर्मीले काम गरिरहेका छन् । यसबाहेक एन ९५ मास्क, पिपिईसमेत पर्याप्त नभएको स्वास्थ्यकर्मीको गुनासो छ । मस्र्याङ्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमनाथ घिमिरेले भने, “यस संक्रमणको बेला हामीले थर्मल गन खोज्दा पनि पाउन सकेनौँ । सबैभन्दा महत्वपूर्णमध्येको एक थर्मल गन पनि हो, योविना बिरामीको ज्वरो थर्मामिटरबाट नाप्नुपर्दा स्वास्थ्यकर्मी डराउनाका साथै संक्रमणको उच्च जोखिमसमेत छ ।” यस्तै ह्याण्ड स्यानिटाइजरसमेत अभाव भएकाले बिहीबार ५० थान ल्याइएको र सो पर्याप्त नभएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । सरकारसँग पटकपटक पर्याप्त स्वास्थ्य सामग्रीको माग गर्दा पनि हालसम्म स्थानीय तहले पर्याप्त प्राप्त गर्न नसकेको जनप्रतिनिधिको दुखेसो छ । हालसम्म जिल्लामा रहेका आठ स्थानीय तहमध्ये ती स्थानीय तहबाहेकमा २१ थर्मल गन छन् । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा गरी २९३ थान पिपिई छन् । जिल्लाभरि ४६५ मात्र ह्याण्ड स्यानिटाइजर छ । त्यस्तै भिटिएम २० वटा बेँसीशहर नगरपालिकामा रहेको जिल्ला सामुदायिक अस्पताल, क्विक रेस्पोन्स टिमका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । रासस

यि हुन् तरकारी बिक्री वितरण गर्न पाइने काठमाडौंकाे ११ स्थान

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान निर्धारण गरेको छ । बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड हुन नदिन कामपाले कलङ्की , बाफल , स्वयम्भू , वनस्थली , गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल , तीनकुने , लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तय गरेको हो । कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले पहिलो चरणमा ती ११ स्थानबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको जानकारी दिए । “कालीमाटी तथा बल्खुको फलफूल बजारमा भीडभाड हुन नदिन हामीले विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराएका छौँ”, उनले भने । प्रमुख ढकालका अनुसार ती स्थानबाट उपभोक्तालाई सबैखाले फलफूल र तरकारी उपलब्ध गराइनेछ । भीडभाड कम गर्नकै लागि हाल कालीमाटी फलफूल तथा तरकारी बजार पूर्णरुपमा बन्द रहेको छ । अहिले कामपाले सञ्चालनमा ल्याएको तरकारी बिक्री वितरणस्थलहरु सम्बन्धित स्थानमा वडा कार्यलयको सहयोग र समन्वयमा रहेको पनि कामपाले जानकारी गराएको छ । कामपाले लकडाउन अवधिभर वैकल्पिक तरकारी बजारका रुपमा सञ्चालनमा ल्याएको उक्त बिक्रीस्थानबाट उपभोक्ताले आफूलाई अनुकूल पर्ने स्थानबाट फलफूल तथा तरकारी खरिद गर्न सक्नेछन् । त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थपरक बनाउने र त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्नुपर्नेछ ।

सिभिल बैंकको मुद्दती निक्षेपकाे म्याद सकियाे ? नवीकरण गर्न यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । सिभिल बैंकले लकडाउनको अवधिमा म्याद सकिएको मुद्दती निक्षेपहरु नवीकरणको लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ । बैंकले शुक्रबार एक सूचना जारी गरी निक्षेप नवीकरण गर्न चाहने ग्राहकहरुलाई कम्पनीको कर्मचारीहरुको सम्पर्क नम्बर उपलब्ध गराएको हो । बैंकको सूचना अनुसार म्याद सकिएका मुद्दती निक्षेपहरु नवीकरणको लागि ग्राहकले बैंकका कर्मचारी काश्यप मानन्धरलाई ९८४१२८३५१२ र सोफिया श्रेष्ठलाई ९८४१९३०७१० नम्बरमा सम्पर्क गर्न सक्ने छन् । त्यस्तै, उनीहरुले इमेल मार्फत पनि नवीकरण गर्न सक्नेछन् । जसका लागि काश्यप मानन्धरको इमेल आईडी  [email protected] र सोफिया श्रेष्ठको [email protected] मा मेल गर्न सकिने बैंकले जनाएको छ । बैंकले लकडाउनको अवधिमा आफ्ना बैंकिङ्ग काउन्टरहरु सूचारी गरिरहेको छ । त्यस्तै, बैंकले कोरोनाको सम्भाव्य संक्रमणलाई न्यून गर्न आफुलाई आवश्यक बैंकिङ सेवाहर विद्युतीय माध्यमबाट गर्न अनुरोध गरेको छ । साथै, बैंकले ग्राहकहरुको खाताको व्यक्तिगत विवरण जस्तै यूजर नेम, पासवर्ड, एटीएम पीन लगायतको गोप्य विवरणहरु कहिल्यै नमाग्ने हुँदा यस प्रति सजग रहन अनुरोध गरेको छ ।

पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति

मस्को। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ । प्रेस सेवाको वक्तव्यमा भनिएको छ, “रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति र साउदी राजासँग टेलिफोनमा कुराकानी गरे ।” छलफलका क्रममा ओपेक समेतको सहभागितामा मन्त्रीस्तरीय बैठक आयोजना गर्न सहमति पनि भएको छ । उनीहरुबीच तेलको मूल्यमा आएको उतारचढाव र यसबाट विश्व अर्थतन्त्रमा सिर्जित नकारात्मक असरलाई कम गर्न तथा विश्वको तेल व्यापारलाई स्थिरता प्रदान गर्न सबै पक्षबीच समान धारणा रहेको पनि प्रेस सेवाले जनाएको छ । कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्व बजारमा तेलको माग घट्नुका साथै तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । अमेरिकाले मुख्य तेल उत्पादक राष्ट्रहरु रुस र साउदी अरेबियाबीच जारी अस्वस्थ प्रतिस्पर्धाका कारण तेलको मूल्यमा अस्थिरता आएको बताउँदै दुबै देशमाथि उत्पादनमा कटौती गर्न दबाब दिँदै आएको छ । यसैबीच, तेल उत्पादक राष्ट्रहरुको समूह (ओपेक) र रसियाबीच आगामी मे र जुन महिनाका लागि प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्न बिहीबार सहमति भएको ओपेकले जनाएको छ । अमेरिकी टेलिभिजन सिएनएनका अनुसार जुलाईदेखि डिसेम्बरको अवधिमा ८० लाख ब्यारेल प्रतिदिन तथा सन् २०२१ को जनवरीदेखि स्न २०२२ को अप्रिलसम्म प्रतिदिन ६० लाख ब्यारेल तेल उत्पादनमा कटौती गरिने छ । इरान, लिबिया र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धहरुका कारण पहिल्यै तेल उत्पादनमा असर परेको भन्दै यी मुलुकको तेल उत्पादनमा कटौती हुने छैन । साउदी अरेबियाको अग्रसरतामा भएको ओपेकको बिहीबारको बैठकमा सदस्य मुलुकहरुबीच टेलिकन्फेरेन्स मार्फत बैठक भएको साउदी अरेबियाले जनाएको छ । (रासस–एएनआई)

काेराेना भाइरसकै कारण १ सय ७० देशको प्रतिव्यक्ति आम्दानी घट्ने

काठमाडाैं । विश्वभर महामारीका रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे कारण १ सय ७० देशको प्रतिव्यक्ति आय घट्ने प्रअनुमान गरिएकाे छ । अन्तर्राष्टिय मुद्रा कोष (आईएमएफ) ले १ सय ७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरेको हाे । विश्वभर संक्रमण झन बढ्दै गएपछि उसले ती देशकाे प्रतिव्यक्ति आय  घट्ने बताएकाे छ । याे भन्दा अगाडि उसले १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको थियो । तर, कोरोनाले चौतर्फी असर गरेपछि आइएमएफले आफ्नै प्रक्षेपण उल्ट्याएको हो । आइएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताइन् ।  ‘कोरोनाले सन् २०२० मा संकट ल्याउनेछ र अवस्था सामान्य हुँदै गए सन २०२१ म विश्वको आर्थिक अवस्था सुधारतर्फ जानेछ’, आइएमएफले भनेको छ । काेराेनाकै कारणले गर्दा विश्व अर्थतन्त्रमा पनि ठूलै असर परेकाे छ । दैनिक लाखाैं मानिसहरूले जागिर गुमाइरहेका छन् । विश्वकाे सबैभन्दा ठूलाे शक्तिशाली राष्ट्र अमेरिकामा मात्र तीन सातामा १ करोड ६८ लाख अर्थात (१६ं.८ मिलियन) मानिसले जागिर गुमाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण उनीहरुले आफ्नो जागिर गुमाएका हुन् । यसरी नै विश्वमा जागिर गुमाउनेहरू पनि बढ्दै गएका छन् भने प्रतिव्यक्ति आय पनि घट्दै गएकाे छ । विभिन्न क्षेत्रमा यसले नाेक्सान गरिरहेकाे अवस्था छ । विश्वमा अर्थतन्त्रमा गिरावट आउन थालेसँगै दैनिक रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ । अझैँ पनि धेरैको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ ।

भारतमा कोभिड १९ का संक्रमितको संख्या छ हजार नाघ्यो

मुम्बइ। भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ६ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शुक्रबार बिहानसम्म ६ हजार ४१२ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि यो क्रम जारी नै छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको जानकारीअनुसार यहाँ गएको १२ घन्टामा मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ । गएको १२ घन्टामा यहाँ ३० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ३६४ जना पुगेको शुक्रबार विहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ५०४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ७०९ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ८३४ पुगेको छ । त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ७२० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस-एएनआई

‘लकडाउन’ जारीरहेसँगै बढ्न थाल्यो खाद्यान्नको मूल्य

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् । कतिपय व्यापारीले भूकम्प र नाकाबन्दीमा जस्तै अहिले पनि कमाउने समयका रुपमा लिएको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत सङघ/सस्थाले बताएका छन् । ‘लकडाउन’ जारी रहँदा चामल, दाललगायतका खाद्यान्न पनि तोकिएको भन्दा बढी मूल्यमा बिक्री हुन थालेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । सरकारले पर्याप्त अनुगमन नगरेकाले व्यवसायीले ताकिएको भन्दा बढी मूल्यमा खाद्यान्न बेच्ने गरेको उनले आरोप लगाए । उनले भने, “धेरै व्यापारीले भूकम्प नाकाबन्दीका समयमा पनि बढी मूल्य लिँदा केही भएन अहिले पनि केही हुँदैन भन्ने सोचेका छन् ।” साँझ र बिहानको समयमा मात्रै खाद्यान्न पसल खुल्दा बजारमा यी समयमा भीडभाड हुने गरेको अध्यक्ष तिमल्सिनाले बताए । व्यापारीलाई मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न र दूरी कायम गरेर मात्रै सामान दिन भनिए पनि पूर्णरुपमा पालना भइरहेको छैन । उनले भने, “कतिपय व्यापारीले यसलाई पालना गरे पनि कतिपयले नगरेको पाइएको छ ।” बजार मूल्य ह्वात्तै बढेको छ । कतिपय व्यापारीले घरमै पु¥याए पनि सेवा (होम डेलिभरी) शुरु गरेका छन् । कम्तीमा यति मूल्यबराबरको तरकारी किन्नुपर्ने र पु¥याउने ज्याला तोकिएकाले त्यसको जानकारी भए पनि प्रयोग नगरेको बालकुमारीकी सीता न्यौपानेले बताए । ठूलो परिवार र सम्पन्न व्यक्तिका लागि मात्रै यो उपयुक्त हुने उनको भनाइ छ । उनले भने, “हामीले आफैँ छानेर रु ५०/१०० को एक दुई छाक किन्ने मान्छेले कम्तीमा रु १५ सय दुई हजारको तरकारी कहाँ किन्न सक्छौँ ।” बजारमा अहिले तरकारी र फलफूल नपाउने समस्याभन्दा पनि महँगो पर्नु उपभोक्ताका लागि समस्या भएको अध्यक्ष तिमल्सिनाले बताए । व्यवसायीले विभिन्न स्थानबाट ल्याउँदा बढी भाडा परेकाले मूल्य बढेको बताउने गरेको उनले जानकारी दिए । उपत्यका आसपासका जिल्लाबाट तरकारी ल्याउन चालक/सहचालकले पहिलेभन्दा दोब्बर भाडा माग्ने गरेको व्यापारीले बताउँदै आएका छन् । उनले भने, “यसमा स्थानीय तहले पनि समन्वय गर्नुपर्छ, अहिले एकातिर गाउँको उत्पादन खेर गइरहेको छ भने अर्कातिर शहरी क्षेत्रमा तरकारीको मूल्य ह्वात्तै बढेको छ ।” वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी दीपक पोखरेलले विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको बताए । यो टेलिफोनमा पहिले सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको गुनासो आउने गरेको थियो । बजारमा पहिले आधा र अहिले पूरै सिलिन्डर ग्यासको बिक्री भइरहेकाले यी गुनासोमा कमी आएको छ । विभागले आएका गुनासोका आधारमा टोली अनुगमन गएर कुनै समस्या पाइएमा कारवाही अघि बढाएको उनको भनाइ छ । केही दिन पहिले मात्रै मासु र ग्यासको मूल्य तोकिएभन्दा बढीमा बिक्री गरेको भन्दै कारवाही गरिएको थियो । उनले भने, “टोल फ्री नम्बर १२ घण्टा खुल्ला हुन्छ र त्यसमा गुनासो आउँदा हामीले अनुगमन र कारवाही गरिरहेका छौँ ।” कति बजेदेखि कति बजेसम्म पसल खुल्ने÷खुलाउने भन्नेमा स्वयं व्यापारी, प्रहरी र स्थानीयवासी अन्योलमा छन् । मुख्य सडकमा बिहान बेलुका खोल्दा पनि प्रहरी हतारिएर बन्द गराउन आउने भए पनि उपत्यकाका कतिपय स्थानमा भित्री चोकमा दिनभर पसल खुलेको उनले बताए । ‘लकडाउन’ का समयमा ढुवानी सहज नभएकाले पनि बजारमा पर्याप्त तरकारी नभएको उनको भनाइ छ । मागअनुसार आपूर्ति नभएकाले पनि भाउ बढेको हुनसक्ने उनले बताए । उनले भने, “अत्यावश्यक खाद्यान्नको सहज आपूर्तिको व्यवस्था हुनुपर्छ ।” काठमाडौँ उपत्यकाका आसपासका क्षेत्र र नजिकका जिल्लाबाट शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा ढुवानी सहज नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैनन् । खाद्य वस्तु बजारसम्म पु¥याउन नपाउँदा दूध र तरकारी उसै खेर गइरहेको स्थानीयवासी किसानले गुनासो गर्दै आएका छन् । उपत्यकाका काँठ क्षेत्र, धादिङ, काभ्रे, नुवाकोट, चितवनलगायत जिल्लाबाट उपत्यकामा तरकारी र दूधको आपूर्ति हुने गरेको थियो । रासस

प्रधानमन्त्री ओली र मोदीकाे टेलिफोन सम्वादः कोरोना विरुद्द लड्न सहकार्य गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन सम्पर्क गरेका छन् । उनले आज एक ट्वीट गर्दै मोदीसँग फोनसम्वाद भएको जानकारी गराएका छन् । उनले मोदीसँग कोरोनाविरुद्द लड्नका लागि नेपाल भारतले सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिएका छन् । उनले भनेका छन्,‘मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें,कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं, लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।’