कोरोना संक्रमित बढेसँगै उदयपुरमा परीक्षण व्यवस्थाकाे माग
काठमाडौं । २७ जना कोरोना संक्रमित भेटिएपछि उदयपुर जिल्लामा परीक्षण व्यवस्थाकाे माग बढेकाे छ । उदयपुरमा बसेको राजनीतिक दलहरूको बैठकपछि पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघिय सरकारसँग आग्रह गरेका हाे । नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उदयपुर डेन्जोर जोन बनेको भन्दै विशेष चासो दिएर उदयपुरमै परीक्षण हुनु पर्ने नेकपा अध्यक्ष कटुवालले बताए । संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नसमेत आग्रह गरेका छन् । कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धरान, विराटनगर तथा काठमाडौं पठाउँदै आएकाे छ ।
याे वर्ष नेपालको रेमिट्यान्स सवा एक खर्ब घट्न सक्ने विश्व बैंककाे अनुमान
काठमाडाैं । विश्व बैंकले यो वर्ष नेपालको रेमिट्यान्स सवा एक खर्ब अर्थात १४ प्रतिशत घट्न सक्ने अनुमान गरेकाे छ । विश्व बैंकले प्रवासन र विकाससम्बन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै काेराेना भाइरसकाे कारण नेपालकाे रेमिट्यान्समा साे रकम जतिकाे नाेक्सान हुने अनुमान गरेकाे हाे । बैंकले याे भाइरसका कारण संसारभरिको आर्थिक क्रियाकलाप सुस्त भएपछि कामदारको श्रम आय घटेर रेमिटेन्स समेत ओरालो लाग्दै गएकाे बताएकाे छ । चालु आर्थिक वर्षको पहिलो आठ महीना अर्थात फागुनसम्ममा नेपालले ५ खर्ब ९२ अर्ब रेमिट्यान्सभित्र्याएकाे थियाे । चैत यता रेमिटेन्स घटेको बताइएकाे छ । गत आर्थिक वर्षमा नेपालले वैदेशिक रोजगारीमा गएका नेपालीबाट ८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्र्याएको थियो । विश्व बैंकले अनुमान गरेअनुसार यो वर्ष १४ प्रतिशत रकम घटे करिब सबा एक खर्ब रेमिट्यान्स कम भित्रिने भएकाे हाे । सन् २०२० मा संसारभरिको रेमिट्यान्स २० प्रतिशत घट्ने बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार दक्षिण एशियाको मात्रै रेमिटेन्स आप्रवाह २२.१ प्रतिशत खुम्चनेछ । जसमा सबैभन्दा धेरै भारत र पाकिस्तानको रेमिटेन्स समान २३ प्रतिशतले गुम्ने विश्व बैंकले अनुमान गरेको छ । यो वर्ष बंगलादेशले २२ र श्रीलंकाले १९ प्रतिशत रेमिटेन्स आय गुमाउने प्रक्षेपण छ । नेपाली अर्थतन्त्र रेमिट्यान्सबाट चलेको छ । यो सबैलाई थाह भएको कुरा हो । रेमिट्यान्स रकमको वृद्धिदरमा गिरावटा आउनुको पहिलो कारण वैदेशिक रोजगारी रहेको छ । काेराना भाइरसकाे कारण अहिले धेरै नेपाली बेराेजगार भएर बसेका छन् भने धेरै स्वदेश आइसकेका छन् । लामाे समयदेखि मलेसिया तथा खाडीमुलुकमा रोजगारीमा रहेका युवाहरू अहिले कामबिहिन बनेका छन् । यसले पनि नेपालकाे अर्थतन्त्रमा निकै असर पर्ने देखिन्छ । अहिले विदेशमा नेपाली युवाले पाउँदै आएको सेवा-सुविधामा समेत कटौती भएको छ । त्यसले पनि त्यसकाे असर रेमिट्यान्समा पर्ने गर्छ ।
अन्तत: चर्काे विवादपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि अध्यादेश फिर्ता लिने अवस्थामा पुगेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएसँगै अध्यादेश फिर्ता लिन तयार भएका हुन् । छलफलमा प्रचण्डले तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने भन्दै माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । राजनीतिक दल फुटाउन सहज हुने गरी सरकारले मंगलबार मात्र अध्यादेश ल्याएको थियो । पार्टीभित्र र बाहिर चर्काे विरोध भइरहेको छ ।
अब घरघरमै औषधि र तरकारी, पसल पुग्नै नपर्ने
काठमाडाैं । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बिक्रीको व्यवस्था पहिलोपल्ट मिलाएको हो । त्यसपछि मेचीनगरमा उद्योग वाणिज्य सङ्घले घरघरै सुपथ मूल्यमा तरकारी पुर्याउन थालिसकेको छ । मेचीनगर नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्तलगायतलाई सरकारबाट दिइने मासिक भत्तासमेत घरमै पु¥याउने संयन्त्र बनाएको छ । एकल महिला, लोपोन्मुख र दलित वालवालिकालाई समेत अब घरमै भत्ता आइपुग्नेछ । नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याउन वडा अध्यक्षको नेतृत्वमा १५ वटै वडामा कर्मचारी खटाइसकेको मेचीनगर-६ का वडाध्यक्ष ललित तामाङले बताए। बन्दाबन्दीमा बैंकमा सामाजिक भत्ता लिन ज्येष्ठ नागरिक भीड हुन थालेपछि कोराना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगाउन घरघरमै भत्ता पुर्याउने व्यवस्था मिलाइएको नगरकी उप्रमुख मीना उप्रेतीले बताए । मेचीनगरमा मङ्सिरदेखि फागुनसम्म चार महिनाको सामाजिक सुरक्षा भत्तावापत १३ हजार ३८५ जनालाई १४ करोड ६ लाख ३३ हजार २०० रुपैयाँ सामाजिक सुरक्षा भत्तावापत वितरण गरिने नगरपालिकाका सूचना अधिकारी एवं लेखा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए । विर्तामोड नगरपालिकाले किसानलाई अनुदान दिएको कृषि फार्मबाट ताजा तरकारी किन्ने र गाडीको व्यवस्था गरेर नगरको टोलटोलमा पुर्याउने व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए । त्यसकार्यमा वडाका जनप्रतिनिधिले प्रत्यक्षरूपमा समन्वय गरिरहेको र कृषि शाखाले सम्पूर्ण व्यवस्थापनको काम गरिरहेको उनले बताए । मेचीनगर नगरपालिकाले मिर्गौला, मुटु, दमजस्ता रोगको घरै बसेर नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई आवश्यक औषधि घरमै पुर्याउने अभियान सञ्चालन गरेको जनाएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीलाई वडापिच्छे सो कार्यका लागि जिम्मेवारी तोकिएको सामुदायिक शाखाका अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए । रासस
७८ हजार मेटन खाद्यान्न आयातः चार सय ट्रक बाहिरिए
काठमाडौं । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५ सय ७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो समयमा २४ हजार २ सय १८ मेटन दलहन, ४० हजार ९९ मेटन तरकारी, दश हजार ८ सय १८ मेटन फलफूल र दश हजार ९ सय ९६ मेटन दुग्धजन्य पदार्थ आयात गरिएको छ । त्यस्तै रु ९७ करोड ६९ लाख ७६ हजार बराबरको तयारी औषधि र २१ करोड ९१ लाख १६ हजार बराबरको कच्चा पदार्थ आयात भएको छ । मन्त्रालयको तथ्यांकानुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ । दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ । धेरै दुग्धजन्य पदार्थ १ सय १७ दशमलव ४ प्रतिशतले आयात बढेको छ । त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ । फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात तथा निर्यात ठप्प भएको छ । लकडाउनका अवधिमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २ सय ३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको तथा ६ सय ८३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको र तीन हजार १ सय ५५ ट्रक रोकिएका छन् । भैरहवा नाकावाट १ सय २४ ट्रक भित्रिएको, १ सय ५४ ट्रक बाहिरिएको र हाल २ सय ३४ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १ सय २ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको र १०१ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काकरभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् । तातोपानी नाकाबाट यही वैशाख ४ गतेयता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् । वैशाख ४ गते एक ट्रक, वैशाख ६ गते एक कन्टेनर र वैशाख ७ गते चार कन्टेनर नेपाल भित्रिएका छन् । चीनमा कोराना भाइरसको संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका नेपाल सरकारले चैत १२ गते अत्यावश्यक सामान ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो । रासस
मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले हस्तान्तरण गर्याे ४० थान पीपीई मास्क
काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) ले नेपाल प्रहरी अस्पताललाई ४० थान पीपीई तथा ५ हजार थान मास्क हस्तान्तरण गरेको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयन्नलाई सहयोग गर्न एमपीआईएले उक्त सहयोग गरेको हो । महाराजगंज स्थित उक्त अस्पतालमा आयोजित एक समारोहमा एमपीआईएका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष मलहोत्राले यस सहयोगले कोरोना महामारी विरुद्ध लडिरहेको राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
आमा भेट्न नपाएका विककाे गुनासाे- अँगालो मारेर बेस्सरी रुने मन छ
‘आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।’ उनले रुञ्चे स्वरमा भनिरहेका थिए । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूरपश्चिम प्रदेशका पहिलो व्यक्ति कैलालीका लम्किचुहा नगरपालिका-९ प्रतापपुरका राज विकलाई आज आमा खुवाउने मेसो पनि मिलेन । ‘लाखौँ मानिसको ज्यानसमेत लिइसकेको भाइरसको सङ्क्रमण आफूमा फैलिएको थाहा पाउँदा शुरुमा आफ्ना लागि यो जीवन यति नै रहेछ भन्ने सोचेको थिएँ तर कोरोनाको सङ्क्रमण देखिएको भनेर अस्पताल भर्ना गरेको एक हप्ता भइसक्दा पनि कुनै लक्षण नदेखिँदा भने बाँच्ने आशा जागेर आइदियो’, विकले भने, ‘अस्पतालमा चिकित्सकहरूको सल्लाह र नर्सहरूको रेखदेख तथा उहाँहरुले प्रदान गरेको हौसलाबाट मलाई म बाँच्छु भन्ने लाग्न थाल्यो ।’ क्वारेन्टाइनमै परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनको आत्मविश्वास अझै बढ्यो । ‘मलाई लाग्न थाल्यो, साँच्चै मलाई केही भएको छैन । सबै डाक्टर तथा नर्सले मलाई अझै आत्मविश्वास बढाउन प्रेरित गर्दाखेरि लाग्थ्यो उहाँहरू मेरा भगवान् भएर आउनुभएको छ । अहिले घरमा पनि म डाक्टरहरूको सल्लाहअनुसार अलग्गै बसिरहेको छु ।’ दोस्रो र तेस्रो पटक रिपोर्ट नेगेटिभ आउँदा उनले पहिलो पटक आमाबुबालाई सम्झिए । ‘एक्लै थिएँ खुशी व्यक्त गर्न भक्कानिएर रोएँ अनि आमालाई फोन गर्दाखेरि आफू कतै सपनामा त छैन कि भन्ने पनि लाग्यो ।’ उनलाई जब अस्पतालबाट घर पठाउने कुरा बताइयो त्यति बेलाको आफ्नो खुशीलाई आफूले शब्दमा व्यक्त गर्न नसक्ने उनले बताए । अस्पताल बसाइका क्रममा उनले जानेको र बुझेको एउटै कुरा थियो आत्मबल बलियो बनाउनुपर्छ । साथसाथै सरसफाइ तथा सामाजिक दूरी कायम गर्ने कुरा पनि कोरोनाबाट बच्ने महत्वपूर्ण उपाय हुन् । ‘अहिले घर आएको छु । अलग्गै बसिरहेको छु । चिकित्सकले एक हप्ता भन्नुभएको छ त्यस बेलासम्म अलग्गै बस्छु तर लापरवाही गर्दिन । चिकित्सकको समयसीमा सकिएको पहिलो दिन आमालाई अँगालो मारेर बेस्सरी रुने मन छ’, उनले भने । उनी सङ्क्रमित भएर अस्पताल हुँदा आफूभन्दा आफ्नी आमा धेरै पीडामा थिइन् । आमाकै आशीर्वादले आफूले कोरोनालाई जितेको उनको विश्वास छ । छोरा अब फर्केर आउला भन्ने आफूले नसोचेको राजुकी आमा भागादेवीले बताइन् । संसारलाई रुवाइरहेको सो रोग आफ्नो छोरालाई पनि लागेपछि छोरा गुमाउनुपर्ने भयो भन्ने पीडाले उनलाई सताइरहन्थ्यो । जब छोरा सञ्चो भएर घर आउने कुरा थाहा भयो उहाँका आँखाबाट खुशीका आँशु झरे । ‘छोरा आएपछि छोरालाई काखमा राखेर रुने मन थियो तर डाक्टरहरूले भनेअनुसार एक हप्ता अलग्गै बस्नुपर्नेछ छोराले, त्यसपछि एक पटक मन खोलेर छोरालाई अँगालेर रुनेछु ।’ भारतको मुम्बईबाट गत चैत ११ गते आएका विकलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई यही वैशाख ७ गते सेती प्रादेशिक अस्पतालबाट घर फर्काइएको थियो । रासस
अब विलाशी वस्तुमा होइन, उत्पादनशील क्षेत्रमा लगानी गरौं
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्वको अर्थतन्त्रलाई निकै असर पारेको छ । यसले नेपालको अर्थतन्त्रलाई पनि ठूलो धक्का दिने अनुमान विज्ञहरुले गरेका छन् । विभिन्न देशहरु र नेपालले पनि आम नागरिकका लागि राहत र उद्योगी व्यवसायीहरुका लागि विशेष प्याकेज पनि घोषणा गरेका छन् । अझै पनि नेपालको अर्थतन्त्र र उद्योग व्यवसायलाई नकारात्मक प्रभाव तथा असर कम गर्नका लागि सबैको समन्वयात्मक भूमिका र सहकार्य आवश्यक छ । यसका लागि नेपाली बैंकहरु पनि अहिले आफ्नो आन्तरिक गृहकार्यमा छन् । कोरोनाले सबै क्षेत्र र वर्ग उतिकै असर पारेको भएपनि कसलाई कति असर पारेको छ भनेर निचोड निकाल्न आवश्यक छ । हामी पनि साना तथा मझौला उद्यमीहरुका लागि र अन्य व्यवसायीहरुका लागि पनि के सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने छलफलमै छौं । यसको बारेका हालसम्म कुनै निर्णय नभइसकेपनि सबैबीच सहकार्य र समन्वय भने भइरहेको छ । सरकारले देशलाई लकडाउन घोषणा गरेको पनि एक महिना भइसकेको छ । यो समयमा धेरै उद्योगधन्दा तथा व्यवसायहरु बन्द छन् । देशमा आर्थिक गतिविधी सुस्त छ । हामीले यी विविध क्षेत्रहरुलाई के कत्ति असर परेको छ ? कस्तो असर परेको छ ? र कुन तरिकाबाट त्यसको समाधान गर्न सकिन्छ भन्ने विषयमा अध्ययन र छलफल गर्न उतिकै आवश्यक छ । कोरोनाको कारण विशेष गरेर देशको पर्यटन, उद्योग, व्यवसाय र विभिन्न वस्तु आपूर्तिमा समस्या भइरहेको छ । अहिले यो समय भनेको नाफा गर्ने भन्दा पनि कसरी अर्थतन्त्रलाई पहिलेकै अवस्थामा पुर्याउने वा स्थीर राख्ने भन्ने विषयमा नै सबैले ध्यान दिनपर्छ । यसका लागि विभिन्न बैंकहरुले पनि छलफल गर्दैछन् । हामी पनि छलफलकै क्रममा छौं । कसलाई बढी समस्या परेको छ ? बैंकको तर्फबाट के केसरी सहयोग गर्न सकिन्छ ? भनेर पनि ग्राहकका कुराहरु सुनिरहेका छौं । अहिले निर्माणाधीन परियोजनाहरुको पनि आफ्नै समस्या होला । बीमाको पनि दावी भुक्तानीका कुराहरु होलान् । उद्योग व्यवसायीका आ–आफ्नै समस्या होलान् । ती सबैका समस्याहरुलाई एकिकृत गरेर कसलाई बढी समस्या परेको छ । त्यसको घाउमा मल्हम लगाउने काम बैंकहरुको पनि महत्वपूर्ण हुन्छ । यी सबै विषयमा गर्ने भन्ने हामीले पनि हेरिरहेका छौं । उनीहरुलाई के सुविधा दिन सकिन्छ ? भन्ने गृहकार्य गरिरहेका छौं । कसलाई कति घाटा छ ? बैंकले पनि कतिसम्म धान्न सक्छ ? भन्ने विषय पनि महत्वपूर्ण नै हो । कतिपय नयाँ उद्योगहरु हुन्छन् । उनीहरुलाई अहिले गाह्रो हुन्छ । किनकि पुरानै उद्योग तथा व्यवसाय समस्यामा परिरहेको अवस्थामा नयाँले प्रवेश गरेर ऋण लिनु त्यति प्रभावकारी हुँदैन । तर,पुराना उद्योगहरुलाई कसरी पहिलेकै अवस्थामा राख्ने ? उनीहरुको किस्ता तिर्ने समय बढाएर सजिलो पर्छ कि वा कुनै विकल्प उनीहरुलाई सस्टेन पार्न सकिन्छ भन्ने विषयमा पनि गृहकार्य भइरहेको छ । बैंकमा पनि फण्ड सिमित हुन्छ । त्यसलाई कहाँ प्रयोग गर्ने भन्ने कुरा कसलाई बढी समस्या छ भन्ने विषयले तय गर्छ । यो अवस्थामा धेरै रोजगारी सिर्जना कसरी गर्न सकिन्छ, पर्यटन क्षेत्रको वृद्धि, उत्पादनशीलता र आम्दानी तथा उपभाेगलाई ध्यानमा राखेर पनि लगानी गर्न उचित हुन्छ । अहिले धेरै युवा विदेशबाट स्वदेश फर्केका छन् । उनीहरुलाई कुन क्षेत्रमा लगाउने हो । कसरी स्वरोजगार बनाउने हो त्यसमा पनि सबैले सोच्न आवश्यक छ । देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा जुन क्षेत्रले बढी योगदान गर्न सक्छ, जसले धेरै रोजगारी सिर्जना गर्न सक्छ र जसले उत्पादनशीलतामा बढी सहयोग गर्न सक्छ, त्यसलाई मध्येनजर गर्दै लगानी पनि बढाउनु पर्छ । यो समय विलासिताको मात्र नभएर अब देश विकासमा जसले योगदान पुर्याउँछ त्यस्तो परियोजना र व्यवसायमा सबैले प्राथमिकताका साथ काम गर्नुपर्छ । अब विलासिताभन्दा पनि उत्पादनशीलतामा सबैले लगानी गर्न उचित हुन्छ । बैंकहरुले पनि त्यसतर्फ लगानी बढाउनु पर्छ । यो समयमा कृषिलाई कसरी उत्पादनशील बनाउने ? भन्ने तर्फ पनि सबैको ध्यान जानुपर्छ । अहिले धेरै उद्योग तथा व्यवसायहरु संकटमा छन् । उद्योग बाँच्यो भने बैंक बाँच्ने भएकोले सबैको सहकार्य आवश्यक देखिन्छ । कोरोनाको महामारीले पारेको असरलाई सामाना अर्थात कम गर्नको लागि नाफा र प्रतिस्पर्धाको भावना हटाई समन्वय र सहकार्यको बाटो रोज्नु पर्छ । एकले अर्काका समस्या बुझेर काम गर्नु पर्छ । यसमा पनि बैंकहरु एउटैले धान्न सक्ने अवस्था त छैन । तर, सबैको हातेमालोले यो संकटलाई टार्नुपर्छ । संकटमा परेका उद्योग बनाउनका लागि बैंक नै डुब्यो भने पनि अर्को समस्या आउँछ । त्यसैले सरकार, सबै बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय र आमनागरिक मिलेर यो संकटको सामना गर्नु पर्छ । बैंकले पनि आफु बाँच्न सक्ने अवस्थासम्म लगानी गर्ने हो । यतिखेर आफुसँगको सहयात्री अर्थात ग्राहकलाई पनि सहयोग गर्ने र बैंकहरुलाई पनि नोक्सान नहुने हिसाबमा सरकारले पनि त्यही हिसाबमा नीति नियम ल्याउनु पर्छ । सबैले आआफ्नो हिसाबबाट योगदान गर्नुपर्छ । तब मात्र यो संकटलाई हामी पार लगाउन सक्छौं । कुनलाई प्राथमिकता दिने ? अब बैंकहरुले पनि जो पायो त्यसर्लाइ कर्जा दिने भन्दा पनि उचित व्यवसाय र क्षेत्रलाई अध्ययन गरी कर्जा प्रवाह गर्न आवश्यक छ । जसले बढी रोजगारी सिर्जना गर्न सक्छ, जसले हाम्रो विदेशी आम्दानी बढाउन्छ, देशको निर्यातमा बढी सहयोग गर्छ, त्यस्तो व्यवसायलाई हेरेर बैंकहरुले लगानी गर्न आवश्यक हुन्छ । जसबाट चौतर्फी सन्तुलन हुन्छ । यतिखेर धेरै महँगो गाडीहरु किन्न, धेरै सुनहरुको व्यापार गर्न भन्दा पनि कृषिलाई आधुनिकीकरण अर्थात उत्पादनशीलता, बन्द भएका उद्योगमा लगानी गरेर बढिभन्दा बढी रोजगारी सिर्जना गर्न सकिन्छ । जसले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्छ । र, देशको पनि विकास हुन्छ । आर्थिक गतिविधि पनि बढ्छ । युवालाई उत्पादनशील क्षेत्रमा लगाएर देशको आयात घटाउन सक्यो भने पनि राम्रै हुन्छ । यसका लागि यो क्षेत्रका विज्ञहरुको सल्लाह सुझाव अध्ययन अनुसन्धान गरेर उचित निश्कर्षसहित लगानी गर्नु पनि अहिलेको आवश्यकता हो । अहिले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै संंकटको अवस्था छ । राष्ट्रिय संकटको समय भयो भने त अन्तर्राष्ट्रिय दातृ संस्थाले सहयोग पनि गर्छ भन्ने आशा हुन्थ्यो । अहिले त्यसको सम्भावना पनि न्युन छ । एक आर्थिक वर्ष सरभाइवमा लागियो भने त्यसपछि आर्थिक वृद्धि त अवश्य हुन्छ नै । अब बैंकहरुले पनि उत्पादनशील कर्जाहरु ल्याउन आवश्यक छ । ठूला उद्योगमा सपोर्ट गर्ने खालका गाउँघरमा साना उद्योगहरु हुन्छन् । त्यसमा फोकस गरर गाउँघरकै युवाहरुर्लाइ त्यसतर्फ आकर्षित गर्न सकिन्छ । अहिले धेरै उद्योगहरु बन्द अवस्थामा छन् । उनीहरुको व्यापार पनि धेरै घटेको छ । उनीहरुलाई लक्षित कर्जा ल्याउन आवश्यक छ । उनीहरु सस्टेन हुने कर्जा प्रवाह हुनु पर्छ । यो समयमा कर्जाको व्याजदर घट्नु त अवश्य नै पर्छ । कर्जाको व्याज घटाएर साना तथा मझौला उद्यमीहरुलाई पनि बढी प्राथमिकता दिनुपर्छ । धेरै मानिसहरु व्याजकै निर्भरमा हुन्छन् । यी विविध कुराहरु अध्ययन गरेर उचित नीति नियम बनाई कार्यान्वन गर्नुपर्छ । (राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीईओ अधिकारीसँग सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित)