राहत वितरणमा पक्षपात गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री भट्ट
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लकडाउनका समयमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई वितरण गरिने राहतमा पक्षपात गरिए कारवाही गरिने चेतावनी दिए। मुख्यमन्त्री भट्टले गरीब, विपन्न र असहायलाई वितरण हुने राहतमा राजनीति र पक्षपात नगर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको राहतमा यहाँका स्थानीय तहले पक्षपात गरी वितरण गर्न थालेको भन्ने व्यापक गुनासो आएपछि मुख्यमन्त्री भट्टले मापदण्ड बनाई राहत वितरण गर्न सुझाव दिएका हुन् । “ अन्याय भयो वा पाउनैपर्ने मान्छे अटाउन सकिएन भने त्यस्ता कुरा तत्काल सच्चाउनुहोस्”, उनले भने, “राहत वितरणमा कमजोरी नहोस्, गरीब जनताको घरमा चुल्हो नबल्ने स्थिति नआओस् ।” त्यस्तै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको राहत वितरणमा सहज वातावरण बनाउन सबै स्थानीय तह र नागरिकलाई आग्रहसमेत गरे । राहत वितरणमा कतै कमजोरी रहे वडाध्यक्ष, सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सरकार मुख्यमन्त्री कार्यालयको निःशुल्क हटलाइन नम्बर ११४८मा सम्पर्क गर्न मुख्यमन्त्री भट्टले अनुरोध गरेका छन् । अर्को प्रसङ्गमा उनले भने, “कोरोना जोखिम न्यूनीकरणका लागि ‘लकडाउन’ एक मात्र अस्त्र भएका कारण सबैले यसको पालना गर्नुको विकल्प छैन, सबै मिली कोरोनाको सामना गरौं ।” पहाडी जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि डोटी र बैतडीका जिल्ला अस्पताल छनोट भइसकेकाले उपकरण पाउनेबित्तिकै काम शुरु हुनेसमेत मुख्यमन्त्री भट्टले जानकारी दिए । रासस
तानसेन सिमेन्टले चाल्यो कोभिड-१९ विरुद्ध कदम
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सिमेन्टद्वारा पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ । सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानी मा अवस्थित पाल्पा तान्सेन सिमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा बिषादी छरिएको छ । खानी स्थलप्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट चार लाख एक हजारको चेक माथागढी गाउपालिकाका कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेका हुन् । साथै, सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि पाल्पा सिमेन्ट प्रा.लि.ले दुई लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा , वडा नम्बर ३ र ५ का अध्यक्ष कर्ण बहादुर सेन र थमन सिंह नेपालीलाई उक्त समुहका पिआर मेनेजर जीवन प्रकाश निरौलालगायतका पदाधिकारीहरुले मिति गत चैत २७ गते हस्तान्तरण गरेका थिए ।
पञ्चकन्या समुहमा कार्यरत कर्मचारीद्वारा एक सय २० जनालाई राहत
काठमाडौं । पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले एक सय २० जनालाई राहत प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको हो । लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै उद्योगमा कार्यरत ६० जना मजदुरलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का ६० जना राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्धेश्यले ५ लाख रुपैया सहयोग गरेका हुन् । टोल विकास सस्था र वडा कार्यालयको सिफारिषमा वडाका विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० केजी चामल, ५ केजी आटा, ५ केजी आलु, २ केजी चिउरा, २ केजी दाल, नुन, तेल, सावुन लगाएतका सामाग्री प्रदान गरिएको हो । पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागितामा राहत बितरण गरिएको हो । उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमिकबाट केहि दिनको रकमकट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् ।
काेराेना संक्रमितमुक्त बन्याे काठमाडाैं
काठमाडौं । आजदेखि काठमाडौंमा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएकाे छ । आज पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राज भण्डारीले आज देखि काठमाडौंमा कोरोना संक्रिमतकाे संख्या शुन्य पुगेको बताएका छन् । ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्, काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ,’ उनले भने । काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताए । सबै संक्रमित निको भएर घर फर्किसकेको अवस्थामा एक प्रकारको आनन्द महसुुस भएको बास्तोला बताउँछन् । आफुहरु थप आउन सक्ने चरणको लागि तयारी गरिरहेको उनले जानकारी दिए । हालसम्म नेपालमा ४७ जना काेराेना संक्रिमत पुष्टि भएका छन् । जसमा ९ जना निकाे भएर घर फर्किसकेका छन् । आज मात्रै थप दुई जनामा काेराेना देखिएकाे छ । काठमाडाैंमा नयाँ काेराेनाका बिरामी नदेखिए पनि काठमाडाैं बाहिर भने दैनिक बढ्दै गएका छन् ।
भारतबाट आएका सबैलाई र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने
बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक (आरडिटी) टेष्ट गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार एक सय २२ जनाको आरडिटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका थिए । तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब टेष्ट भएकाले बाँकी सबैको पनि र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने उनले बताए । चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५ सय ३१, पुर्चौंडीमा ३ सय ४३, मेलौलीमा ४ सय ४९, पाटनमा ४ सय ८२ र सुर्नयामा ४ सय ५ जना रहेका छन् । त्यस्तै डिलाशैनीमा २ सय ६५, दोगडाकेदारमा ४ सय १, पञ्चेश्वरमा ८ सय ९५, सिगासमा १ सय ३९ र शिवनाथ ९ सय १२ जना जिल्ला भित्रिएको बताइएको छ । चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन् । जिल्लामा अहिले एक हजार ६ सय र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कीट मात्रै भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ । यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको उनले बताए । यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । रासस
सीमामा अलपत्र नेपाली महाकाली तरेर आए
दार्चुला । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन शुरु भयो । लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई मदकोट क्षेत्रमै पनि भोकभोकै बस्नुपरेको थियो । ठेकेदारले घर जाउ भन्यो, बस्ने खाने पैसा थिएन्, भोकभोकै बस्नुभन्दा तीन दिन पैदल हिडेर उनीहरु बिहीबार साँझ बालुवाकोट गाउँ आइपुगें । १४ जनाको समूहमा रहेका उनीहरुले शुक्रबार बिहान दत्तुको बेतमा एक हजार रुपैयाँ भारु (नेपाली एक हजार छ सय रुपैयाँ) तिरी जोखिम मोलेर महाकाली नदी कटाए । भारतीयले ट्युबमा महाकाली नदी तारेबापत एक हजार रुपैयाँ भारु लिएको हो । “ठेकेदारले काम रोक्यो, प्रतिव्यक्ति दुई÷तीन हजार रुपैयाँ ज्यालाबापत दिएर घर पठाएको हो,” लालबहादुर नेगीले भने, “किनेर खान पनि नपाइने । भोकभोकै मर्नुभन्दा आफ्नै देशमा गएर मरौला भनेर ट्युब तरेर जोखिम मोलेरै भएपनि स्वदेश आयौं ।” “हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्ने गरी जोखिम मोलेरै आएका हौं । हामीले घरमा फोन गर्दा पनि विद्यालयका क्वारेन्टाइनमा बसेर आउनुहोला भनेका हुन्”, उनले भने, “२० वर्ष बढी भयो, भारतमा काम गर्दै आएको । अहिलेसम्म कुनै बेला पनि यस्तो समस्या आइलागेको थिएन् ।” “अहिलेको लकडाउन भनेर खान बस्नै नपाइने अवस्था आयो । मजदूरी गरेर परिवार पाल्नेलाई समस्या भयो । पाँच छोरा र तीन छोरी र दुई जना आफू गरी १० जनाको हाम्रो परिवार छ, आफ्नो गाउँघरमा परिवार पाल्न नसकिने भएर भारतमा मजदूरी गर्न गएका हौं ।” “रहरले भारतमा गएका थिएनौ, तर आउँदा अपराधी जस्तो गरेर आउनु पर्याे”, उनले भने, “पुल नखुल्ने भएपछि नदीको सहारा लिनुपरेको हो ।” हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहन्छौ । हामीसँगैका २ जना भागेर समेत गए । तर हामीे आफैले प्रहरीलाई खबर गरेर यहाँ आएका हौ । सबैभन्दा जेठो छोरा (दिपेन्द्र)लाई समेत भारतमै मजदूरी गर्न लगे । घरमा श्रीमती जानकी नेगी र ७ छोराछोरी छन्, उनले । गाउँको उत्पादनले तीन महिना खान पुग्दैन् । वर्षमा दुई पटक भारतमा गएर मजदूरी गर्ने गरेको उनका छोरा दिपेन्द्रले बताए । भारतमा काम गरेको पैसाले घरका खाना खर्च र भाइबहिनी पढाउन खर्च जुटाउने गरेको उनको भनाइ छ । उनले भने, “आफूले आर्थिक अभावका कारण पढ्न पाएनौं, भाइबहिनीलाई पढाउन भारतमा मजदुरी गर्दैछौं ।” भारतमा प्रतिदिन रु ४५० देखि ६ सयसम्म यालादारी दिने गरेका छन् । नेगीका घरमा भरत कक्षा १०, भुवन कक्षा ७, सीता कक्षा ७, पार्वती कक्षा ६, नरेन्द्र कक्षा ५, संगिता कक्षा ४ र श्याम कक्षा १ मा पढ्ने गरेका छन् । डिलाशैनी १ का सुनिल कार्कीले गाउँमा काम नपाउँदा भारतीय बजारमा काम गर्नुपर्ने बताए । सडकमा मजदुरी गथ्र्यौ देश लकडाउन भयो काम बन्द गर्नु भनेपछि समस्यामा परेर हिडेरै आएको उनले बताए । काम गर्ने ठाउँमा खानलाई केहि नभएपछि हप्तौ दिनसम्म भोकभोकै बस्नुपर्यो, डिलाशैनीका लोकेन्द्र कार्कीले भने । जे भएपनि नेपाल पुग्नुपर्छ भनेर हिडेर आयौं । मदकोटबाट जङ्गलको बाटो भएर धारचुलाको बालुवाकोट पुगेको उनको भनाइ छ । आफ्नो देशका क्वारेन्टाइनमा पुगिए खाना खान त पाइएला भनेरै आएका हौ । “हामी जस्ता सयौं भारतीय क्वारेन्टाइनमा छन् भनेर सुनेका थियौ,” कार्कीले भने, “गाउँबाट आउन सकिन्छ भने आउनुहोस्, यतैका क्वारेन्टाइनमा बस्नुहोला भनेपछि जन्मभूमीको माया लागेर आयौ । ” उनीहरुसँगै बैतडीका १२ जना र नौगाड दार्चुलाका २ जना नेपाल आएका हुन् । जसमा १० जना मात्रै दार्चुलाको महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुसँगै ट्युब तरेर नेपाल छिरेका बैतडी डिलाशैनी १ का धिर्के राना र प्रसाद राना भने भागेर गएका छन् । महाकालीमा ट्युब तरेर आउनेहरुमा बैतडी डिलाशैनी—७ का सुशिल कार्की, डिलाशैनी— ४ का लालबहादुर नेग, दिपेन्द्र नेगी, दोगेडाकेदार गाउँपालिका—१ का जितबहादुर कार्की, डिलाशैनी—३ का केशव भण्डारी, खड्ग बहादुर नेगी, डिलाशैनी—७ का लोकेन्द्र कार्की, डिलाशैन—१ का अमरसिह धामी, वकिल धानुक, डिलाशैनी—२ का गणेश हरडे, दार्चुला नौगाड— ३ का राजेन्द्र ठगुन्ना र नविन ठगुन्ना रहेका छन् । नेपाल भारत जोड्ने झोलुङ्गे पूल नखुल्दा हालसम्म एक सय नेपाली ट्युब र महाकालीमा तरेर नेपाल आइसकेका छन् । भने धार्चुलाका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमै बसेका छन् । ट्युब तरेर भारतबाट आएका उनीहरुलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरिएको नगरपालिका विपद् शाखा प्रमुख भुवन जोशीले बताए । स्वास्थ्य चेकजाँचपछि उनीहरुलाई महेन्द्र नमूना मावि खलङ्गाको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले १४ जनालाई भने २१ दिनपछि घर पठाएको छ । महाकाली नगरपालिका— ९ दत्तु चुच्चैबाट नेपाल भित्रिएका १० जना बैतडीका र २ जना दार्चुलाका नेपाली मजदुरलाई महाकाली नगरपालिकाको गाडीमा राखेर क्वारेन्टाइनमा पुर्याइएको हो । नेपाल भारत लकडाउनपछि लेकमको लालीदेखि व्यासको दुम्लीङ नाका भएर नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आउने नेपालीलाई अवैध रुपमा छिर्न नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएपनि आउने क्रम भने रोकिएका छैनन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र बहादुर शाही नेपालतिरका ट्युबहरु प्रहरीले नियन्त्रणमा राखेर बन्द गरेको भएपनि भारततिरबाट रोक नलगाउँदा समस्या भएको बताए । भारतसँग सीमा जोडिएका क्षेत्रमा थप कडाई भारतसँग सीमा जोडिएका क्षेत्रमा सरकारले थप कडाइ गर्दै लगेको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाउँदै लगेको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारको निर्देशनानुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो । सोही अनुसार सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाले लेकमको लाली देखि व्यासको डोकटसम्मका आठ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको हो । महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बलियो उपस्थिती जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्मरबहादुर विष्टका अनुसार सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली, मालिकार्जुनको बाकु, उकु, डिन्सी, महाकालीको काकडा, व्यासको धौलाकोट स्याकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरेको छ । महाकाली नदीबाट हुने अवैध क्रियाकलाप र भारतबाट महाकाली नदी भएर नेपाल प्रवेश गर्ने व्यक्ति रोक्नका लागि सशस्त्र प्रहरी ठाउँ ठाउँमा राखिएको डिएसपी विष्टले बताए । नयाँ स्थापना गरिएका ७ पोष्टमा १० जनाका दरले ७० सशस्त्र प्रहरी खटाइएको छ भने उकुमा १५ जना खटिएका छन् । रासस
सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित निको भएर घर फर्किए
काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोभिड–१९ सम्बन्धि नियमित प्रेस ब्रिफिङमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई कोरोना संक्रमित निको भएर घर फर्किएका बताएका हुन् । पेप्सिकोला सनसिटी अपार्टमेन्टमा फेला परेका संक्रमित दुई आमा (८१ वर्षीय)–छोरा (५८ वर्षीय) निको भएर घर फर्किएका हुन् । यहीसँगै नेपालमा निकाे भएर ९ जना घर फर्किएका छन् ।
कोरोनाको दुई नयाँ संक्रमित थपिए
काठमाडौं । कोभिड–१९ को थप दुई संक्रमितको पहिचान भएको छ । कोभिड–१९ सम्बन्धि नियमित प्रेस ब्रिफिङमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई संक्रमितको पहिचान भएको बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे पिसिअार परीक्षणमा उदपयुरकी ५५ वर्षिया महिला महिला र जनकपुरकाे १४ वर्षिय किशाेरमा काेराेना संक्रमण पुष्टि भएको हाे । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४७ पुगेकाे छ जसमा ९ जना निकाे भएर घर गइसकेका छन् ।