विकासन्युज

हवाई सेवा नहुँदा खुम्बुको औषधि काठमाडौंमै

काठमाडौं । लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौंमै रोकिएको छ । लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात लाख बराबरको मास्क, पञ्जा, स्यानिटाइजर, पिपिइ सेट, औषधिलगायतका सामग्री काठमाडौंमा थन्किएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा अहिले औषधिलगायतका कोरोना सुरक्षा स्वास्थ्य सामग्री अभाव रहेको छ । पालिकाको सबै वडामा मास्क, स्यानिटाइजर, पिपिइलगायत अन्य औषधिसमेत अभाव हुन थालेको उनको भनाइ छ । लकडाउनअघि काठमाडाँैमा सामग्री अभाव भएकाले त्यसपछि खरिद गरिएका कुनै पनि सामग्री ढुवानी गर्न सकिएको छैन । खुम्बुमा ढुवानीको एक मात्र सहज माध्यम विकल्प हवाईमार्ग रहेको छ । लकडाउनसँगै देशभरको हवाई सेवा बन्द हुँदा खाद्यान्नसहित स्वास्थ्य सामग्री ढुवानी गर्न नसकिएको भट्टराईले बताए । यसैबीच खुम्बु पासाङल्ह्मु गाउँपालिका–१ खरिखोलाबाट खुम्बु भित्रिने व्यक्ति बढेको स्थानीयवासीले बताएका छन् । खरिखोला प्रहरी चौकीमा सुरक्षाकर्मी सीमित हुँदा विभिन्न नाका हुँदै गाउँपालिका भित्रिने क्रम बढेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार ११ जनाको दरबन्दी रहेको खरिखोला प्रहरी चौकीमा पाँच मात्रै प्रहरी हुँदा नाकामा कडाइ गर्न नसकिएको हो । रासस

भोजपुरको एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ पुष्टि भएको जानकारी दिएको छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेको ‍पुगेको छ। बिहीबार साँझ कोरोना पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनी भोजपुरका रहेको जनाएको छ । बिहीबार दिउँसो नै २ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरिसकेको थियो। बिहीबार नै २ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्। कोरोनाको उपचार पछि निको भएर घर जानेको संख्या १० पुगेको छ भने ३८ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

काठमाडौं । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाँईले जानकारी दिए । उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल उदयपुरतर्फबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेपछि उदयपुरसँगै जोडिएको सिरहामा त्रास बढेको छ । घरमै सामाजिक सुरक्षाभत्ता सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । गत चैत ११ गतेदेखि मुलुकमा जारी लकडाउनलाई प्रभाबकारी बनाउन घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गाउँपालिकाले निर्णय गरेको हो । लकडाउनका कारण बैंकमा जान सेवाग्राहीलाई समस्या भइरहेकाले कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरी घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बाँड्ने निर्णय भएको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले जानकारी दिए । विगत एक महिनादेखि जारी लकडाउनको मारमा परेका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न सङ्घीय सरकारले गरेको परिपत्रअनुसार सो गाउँपालिकाको एक हजार ९ सय ४० घरपरिवारलाई पहिलो चरण राहत वितरण सम्पन्न गरेको अध्यक्ष साहले बताए । रासस

बेलायतमा थप तीन नेपालीको मृत्यु

काठमाडौं । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका थिए । आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उनले पूर्णकालीन रुपमा कामसमेत गर्दै आएको समाजसेवी लीलादेवी गुरुङले बताए । खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिईन । उनी गत वर्ष मात्र बेलायत आएका थिए । एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिए । त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ । बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए । तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आएको समाजसेवी कमल गुरुङ बताए । रासस

प्रधानमन्त्रीले भनेः काठमाडौं कोरोना बिरामी मुक्त हुँदा धेरै खुसी लागेको छ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका कोरोना बिरामी मुक्त हुँदा खुसी लागेको बताएका छन् । शुक्रबार बिहान एक ट्वीट गर्दा काठमाडौंमा कोरोनाका बिरामी नभएकोले आफु धेरै खुसी भएको बताएका छन् । उनले भनेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ, डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’ हालसम्म नेपालमा ४८ जनामा कोरोना देखिएको छ भने १० जना निको भएर घर फर्किसकेका छन् । काठमाडाैंमा काेराेनाकाे उपचारको क्रममा रहेका बिरामीहरू निकाे भएर घर फर्किए सँगै काठमाडाैं काेराेना बिरामीमुक्त भएकाे हाे । बिहिबार पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्,  काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ हाे । काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बनस्तोलाले बताए ।

अहिले मन्त्रिपरिषद्को बैठक बस्दै, अध्यादेश फिर्ता लिने तयारी

काठमाडाैं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उनले आकस्मिक बैठक बोलाएका हुन्। सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो।

राहत वितरणमा गएका एकको मृत्यु

काठमाडौं । राहत वितरण गर्न गएका १ जनाको मूत्यु भएको छ । मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिका वडा नंबर ६ को सिलिङमा राहत वितरण गर्न गएका खडकबहादुर कटुवालको मृत्यु भएको हो । राहत वितरणका क्रममा हिडेका धनकुटा प्रखिबासका अन्दाजी वर्ष ५०/५५ खडकबहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिगो विकासका लागि एकता नेपाल नामको संस्थाबाट राहत वितरणका लागि राक्सिराङ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भए पछि उपचारको  लागि अस्पाताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको भ्याक्सिनमा सफलता मिल्न आँट्योः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन बन्नमा सफलता प्राप्त हुन लागेको बताएका छन् । ‘हामी भ्याक्सिन हासिल गर्नमा निक्कै नजिक छौं,’ राष्ट्रपति ट्रम्पले भनेका छन् । उनको यस्तो भनाइ आएपनि संसारका धेरैजसो विशेषज्ञहरु भने कोरोनासँग सम्बन्धित कुनैपनि भ्याक्सिन उपलब्ध हुनका लागि १२ देखि १८ महिनासम्मको समय लाग्न सक्छ भन्दै आइरहेका छन् । कोरोना भाइरसः विश्वका प्रमुख घटना संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९० हजारभन्दा बढिको मृत्यु भइसकेको छ । युरोपियन युनियनका नेताहरुले कोरोना महामारीको कारण लडखडाएको युरोपको अर्थव्यवस्थालाई उकास्नका लागि अरबौं रुपैयाँको आपतकालिन सहायताको योजनामा सहमति जनाएका छन् । कोरोना भाइरसको कारणबाट हुने वाला आर्थिक नोक्सानीलाई कम गर्नका लागि १ जुनबाट त्यहाँ अवस्थित प्रणाली मार्फत् ५ सय ४० अर्ब युरोको वित्तीय सहायता जारी गरिनेछ । अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा ४ सय ८४ अर्ब डलरको एउटा नयाँ राहत प्याकेजसँग जोडिएको बिल पास भएको छ । यसको उद्देश्य भनेको साना व्यवसायीहरुलाई कर्जा दिने र त्यसैगरी हस्पिटलहरु तथा कोरोना भाइरसको परीक्षणका लागि थप धनराशी उपलब्ध गराउने छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपमा कोरोना संक्रमणबाट भएका करीब ५० प्रतिशत मृत्यु केयर होम्समा भएकोमा चिन्ता व्यक्त गरेको छ । ब्रिटेनका स्वास्थ्य मन्त्री म्याट हैनकोकले बिहीवार ब्रिफ्रिंगको वेला मिडियालाई बताएका छन् कि कोरोना भाइरस संक्रमित मानिसहरुको पहिचानका लागि १८ हजार मानिसहरुलाई नोकरीमा राखिनेछ । चीनले विश्व स्वास्थ्य संगठनलाई ३ करोड डलरको अतिरिक्त फण्ड दिने घोषणा गरेको छ । चीनको यो फैसला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठनलाई अमेरिकाले दिने सहायता कटौति गर्ने फैसलाभन्दा पछि आएको हो । ट्रम्पले कोरोना महामारीसँग जोडिएका जानकारीहरु सही समयमा नदिएको आरोप डब्लूएचओ माथि लगाउँदै फण्ड रोक्ने घोषणा गरेका थिए । युरोपको अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भ्याक्सिनको मान्छेमा ट्रायल शुरु भएको छ । यो अध्ययनका लागि चुनिएका कूल ८ सय जनामध्ये पहिलो २ जनालाई इन्जेक्शन लगाइएको छ । (श्रोतः बीबीसीडटकम)