विकासन्युज

न्यायालय धेरै फोहोर भयो, सफा गर्नुपर्यो : सांसद खतिवडा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पीडित बनेकी तथा सांसद रचना खतिवडाले खतिवडाले न्याय प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायालय फोहोर भएको र अब सफा गर्नुपर्ने भन्ने धारणा राखेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  उनले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा गोली चलाउनेहरू अझै पनि खुलेआम हिँडिरहेको आरोप लगाइन् । घटनापछि सरकारले आन्दोलन र पीडितको पीडा बिस्तारै बिर्सिएको जस्तो अनुभूति भएको उनले बताइन् ।  आन्दोलनमाथि भएको दमनको घटनामा संलग्न व्यक्तिमाथि अझै कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गर्दै उनले घाइते र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिन् ।  उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू र घाइते भएका व्यक्तिहरूले अझै न्यायको अनुभूति गर्न नसकेको भन्दै राज्यले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन् । 

कांग्रेसले भन्यो :  राष्ट्रपतिको सम्बोधनकै बिच प्रधानमन्त्री किन हिँडेको ?

नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उठेर हिँडेको विषयमा प्रश्न उठाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्पराविपरीत भएको धारणा राखिन् । प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने उनले माग गरिन् । लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भुल्न नहुने उनको भनाइ छ । उनले यस विषयमा सरकारले जवाफ दिनुपर्ने धारणा राखिन् । 

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका–३० बस्ने नवलपरासीपूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् ।        पक्राउ परेकामध्ये शैलेन्द्रले सर्विया, स्लोभाकियालगायतका देश पठाइदिन्छु भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जनाबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट सात लाख ५० हजार रूपैयाँ, धनबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख रूपैयाँ र नौमायाले साइप्रस पठाइदिन्छु भन्दै छ लाख चार हजार ५०० रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।      पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौमायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उल्लेख छ ।  

श्रममन्त्री यादवको सवारी चालक अपहरण गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सवारी चालक रहेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् । सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो। महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका- ३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ । आलम मन्त्री यादवको सचिवालयमा रही हलुका सवारी चालकको रूपमा कार्यरत छन् । पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबरजस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरू गरिएको बताए । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार छन् र उनीहरूको खोजी तीव्र पारिएको छ । आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको छ ।

सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकार अन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा भक्तपुरको नगकोटमा आयोजित ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ । दुई दिनसम्म (बैशाख २६ र २७) सञ्चालन भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट सहभागी ४० जना पत्रकारलाई सहकारी पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ, सहकारी संकटमा मिडियाको भूमिका, सहकारी पत्रकारितामा नैतिकता, सहकारी कानुन, वर्तमान चुनौती तथा अवसर लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा पत्रकार यादव हुमागाईंले सहकारी पत्रकारिताको अवधारणा, अनुसन्धानमूलक पत्रकारिताका अभ्यास, सहकारी क्षेत्रमा देखिएका चुनौती र मिडियाले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे सहजीकरण गरेका थिए । त्यस्तै, सहकारीका वित्तीय सूचक, प्रतिवेदनमा आधारित समाचार लेखन, सहकारी वित्तीय विवरण विश्लेषण, जोखिम संकेत पहिचान, वित्तीय स्वास्थ्य परीक्षण गर्ने तरिका, वित्तीय मूल्यांकनका आधार तथा सहकारी संकटका वित्तीय संकेतहरूबारे राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले सहजीकरण गरेका थिए । यसैगरी, पत्रकार हिक्मत आचार्यले तथ्यजाँच (फ्याक्ट चेक) को अवधारणा, तथ्यजाँच गर्ने विधि, मिथ्या सूचना र भ्रामक सूचनाबीचको भिन्नता तथा भ्रामक सूचनाका प्रकारका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको समापन अवसरमा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सहकारी क्षेत्रको विश्वसनीयता बढाउन तथ्यमा आधारित, जिम्मेवार र अनुसन्धानमूलक पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सहकारी क्षेत्रलाई गलत प्रवृत्तिबाट मुक्त गर्न र सही सूचनामार्फत जनतालाई सचेत गराउन पत्रकारहरूले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सहकारीको सेवा प्रवाहलाई सहज बनाउन केही समयअघि मात्रै ललितपुरमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिएको मन्त्री रायमाझीले बताए । उनले अब सहकारीहरूले सेवा लिन प्रदेश राजधानी नै धाउनुपर्ने बाध्यता हटेको उल्लेख गर्दै प्रदेश सरकारले मकवानपुर र ललितपुरबाट सहकारीहरूलाई सेवा दिने व्यवस्था मिलाएको बताए । मन्त्री रायमाझीले प्रदेश सरकारले गरिबी निवारणसम्बन्धी नीति निर्माण गरेको जानकारी गराउँदै सो नीति सरकारले छिट्टै पास गर्ने बताए । उनका अनुसार उक्त नीतिअन्तर्गत रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका बागमती प्रदेशका ८ जिल्लाका विपन्न दलित, पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायका एक हजार घरपरिवारलाई लक्षित गरिएको छ । नीतिअन्तर्गत ती परिवारका लागि बसोबासका लागि आवास निर्माण गरिनेछ । साथै बिउ पुँजी उपलब्ध गराइनेछ । आयआर्जनका लागि आवश्यक सिप विकास तालिम प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नीति तयार भएको उनले बताए । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएको अध्यक्ष कृष्ण सारु मगरले बताए । उनले पत्रकारहरूलाई विधागत ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी पत्रकारिता तालिम आयोजना गरिएको जानकारी दिए ।  अध्यक्ष मगरका अनुसार नेपाली पत्रकारिता अहिले संक्रमणकालीन मोडमा छ । परम्परागत पत्रकारिताको प्रभाव घट्दै गएको र डिजिटल युगको पत्रकारिता तीव्र रूपमा प्रवेश गरिरहेको उनले बताए । उनले बदलिँदो प्रविधि र सञ्चार माध्यमको स्वरूपसँगै पत्रकारहरूले नयाँ सीप, तथ्यमा आधारित रिपोर्टिङ र अनुसन्धानमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।  साथै सहकारी क्षेत्रजस्तो संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा जिम्मेवार, सत्यतथ्य र निष्पक्ष पत्रकारिता आवश्यक रहेको उनको भनाइ थियो । तालिमले पत्रकारहरूलाई सहकारीको संरचना, वित्तीय अवस्था तथा जोखिम संकेतबारे बुझ्न सहयोग पुगेको र सहकारीसम्बन्धी समाचारलाई अझ विश्वसनीय बनाउन योगदान दिने अपेक्षा महासंघले गरेको कार्यक्रमका संयोजक तथा सचिव काजी श्रेष्ठले बताए । त्यस्तै, तालिमले पत्रकारहरूलाई सहकारी क्षेत्रका वित्तीय विवरण बुझ्ने क्षमता अभिवृद्धि गर्नुका साथै सहकारीसम्बन्धी समाचारलाई तथ्यमा आधारित र जिम्मेवार ढंगले प्रस्तुत गर्न सहयोग पुगेको बताए ।

केन्द्रीय सदस्य मनोनयनप्रति डा. शेखर कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिको हालैको विस्तारप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।  सभापति गगनकुमार थापाले गरेको १९ जनालाई केन्द्रीय सदस्य मनोनयनपछि सार्वजनिक धारणा राख्दै कोइरालाले पार्टीभित्र सामूहिक भावना र साझा विचार कमजोर बनेको संकेत गरेका हुन् । उनले कांग्रेसको समग्र एकताविना राष्ट्रिय राजनीतिमा पार्टीले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गर्दै पद र व्यक्तिभन्दा पार्टीको एकता ठूलो विषय भएको बताएका छन् ।  विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख गर्दै उनले विभाजित कांग्रेसले केवल राजनीतिक क्षति मात्र नभई जनविश्वाससमेत गुमाएको टिप्पणी डा. कोइरालाले गरेका छन् । कोइरालाले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा व्याख्या गर्दै नागरिकको भरोसा जित्न नसके कांग्रेसको राष्ट्रिय औचित्यमाथि नै प्रश्न उठ्नसक्ने चेतावनीसमेत दिए । उनले पार्टीसँग आबद्ध युवा, संघर्षशील र त्यागी समूहको राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस भावनात्मक रूपमा एकताबद्ध र राजनीतिक रूपमा नागरिकमैत्री बन्नुपर्ने धारणा राखेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधानवाद र लोकतान्त्रिक मूल्यहरूमाथि पपुलिज्मको नाममा आक्रमण भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पनि कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको बताए ।  गुटीय राजनीतिका कारण पार्टी कमजोर बनेको संकेत गर्दै उनले यसको अन्त्य छिटो हुनुपर्नेमा जोड दिएका छन्। कोइरालाले वैशाख २८ गते गरिएको १९ जनाको मनोनयनले पार्टी एकताको भावनालाई कमजोर बनाएको स्पष्ट टिप्पणी गरेका छन् । साथै उनले १४औं महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औं महाधिवेशन एकता महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

'केही समूहले इन्साइडर ट्रेडिङ गरेर १६ अर्ब दुरुपयोग गरे, अर्बौं कमाए'

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा सीमित समूहको प्रभाव बढ्दा सर्वसाधारणको अर्बौं रुपैयाँ जोखिममा परेको बताएका छन् । उनले इन्साइडर ट्रेडिङ र बजार हेरफेरमार्फत केही व्यक्तिले करिब१६ अर्ब रुपैयाँसम्म दुरुपयोग गरेको आरोप लगाएका हुन् ।  मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले विगतका वर्षहरूमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको नियन्त्रणमा पुगेको स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए । उनले बजारमा कृत्रिम चलखेल गरेर राजनीतिक नेतृत्वसमेत प्रभावित पार्ने प्रवृत्ति बढेको टिप्पणी गरे । उनका अनुसार केही समूहले पुँजी बजारलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेका छन् । यस्तो अवस्थाले आर्थिक संस्थामात्र होइन, राजनीतिक संरचनामाथि समेत प्रभाव पार्ने वातावरण बनेको उनको भनाइ छ ।  मन्त्री वाग्लेले सरकारले पुँजी बजार सुधारका लागि विभिन्न कदम अघि बढाइरहेको जानकारी दिए । स्टक एक्सचेन्जको पुनःसंरचनाका लागि गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको उनले बताए । उनले आगामी दिनमा नेपालको पुँजी बजारलाई अझ व्यावसायिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममा समेत पुँजी बजारप्रति उदार नीति समावेश भइसकेको भन्दै आगामी बजेटमार्फत त्यसलाई थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे ।  ‘पुँजी बजारलाई विश्वस्तरीय अभ्यासअनुसार अघि बढाउने गरी सरकारले सुधारका कार्यक्रम ल्याइरहेको छ,’ मन्त्री वाग्लेले बैठकमा भने ।   

काठमाडौंमा दुई दिने सांगीतिक उत्सव सम्पन्न

काठमाडौं ।  राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय सांगीतिक महोत्सव सेकरेड हिमालयज २०२६ सम्पन्न भएको छ । युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको हो ।  महोत्सव संगीत केवल मनोरञ्जनको साधन मात्र नभई ब्रह्माण्ड र आफूलाई बुझ्ने माध्यम रहेको सन्देश दिँदै सम्पन्न भएको हो । महोत्सवको पहिलो दिन रुट्स् एन्ड अवेकनिङ शीर्षकमा केन्द्रित थियो । मंगलमान महर्जन, ब्रबिम महर्जन र राजन महर्जनले ओपनिङ ब्लेसिङ अफ साउन्ड मार्फत कार्यक्रमको सौम्य सुरुवात गरेका थिए ।  हिमालयन सिङ्गिङ बाउल र गोङको गहिरो कम्पनले हलमा उपस्थित सबैलाई ध्यानमग्न अवस्थामा पु¥याएको थियो । त्यसलगत्तै गायिका सुगमा गौतम, सलिना बिक, तबला वादक जगन्नाथ धौगोडा र बाँसुरी वादक नागेन्द्र राईको सुमधुर जुगलबन्दीले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । पहिलो दिनको प्यानल छलफलमा मंगलमान महर्जन, ब्रबिम महर्जन, अमेलिया कांग, कालिन योंग र दुर्गामणि मरानले संगीतका विविध आयाममाथि प्रकाश पारेका थिए । कार्यशालामा तबला वादक तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकार र नृत्यकार कृपा बज्रचार्यले शरीरमा सकारात्मक ऊर्जा जागृत गर्ने कला सिकाएको थियो । सोही अवसरमा काठमाडौं युथ अर्केस्ट्राद्वारा प्रकाशित संग्स अफ नेपाल (नेपालका गीतहरू) नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो । महोत्सवको दोस्रो दिन साइन्स, सोल एन्ड सिम्फनी सत्रमार्फत ध्वनिको वैज्ञानिक र आध्यात्मिक पक्षलाई जोडिएको थियो । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. अर्जुन आचार्यले ध्वनिको कम्पनले मानव स्नायु प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे रोचक चर्चा गरेका थिए । महोत्सवको समापन भने निकै उल्लासमय रह्यो । डा. जोन शाप्र्लीको नेतृत्वमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको स्प्रिङ कन्सर्ट सबैको आकर्षणको केन्द्र बन्यो । उक्त कन्सर्टमा नेपालको राष्ट्रिय गानदेखि मंगल धुन, ’कान्छी मट्याङ ट्याङ’, राजमती कुमती’, ’उकाली ओरालीहरूमा’, ’सीलु’ जस्ता मौलिक धुनहरूलाई अर्केस्ट्राको शैलीमा प्रस्तुत गरिएको थियो । त्यतिबेला हलमा उपस्थित दर्शकहरू हर्षविभोर भएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो । सन् २०१८ मा सिङ्गापुरबाट यात्रा सुरु गरेको युनिभर्स अफ साउन्ड अभियानले यसपटक नेपालको भूमिमा आफ्नो सांगीतिक सुगन्ध फैलाएको हो । सेकरेड हिमालयज २०२६ का परिकल्पनाकार तथा निर्देशकद्वय संगीतकार डा. जोन शाप्र्ली र सिङ्गापुरकी साउन्ड हिलर अमेलिया काङले महोत्सवले संगीत, नृत्य र ध्वनिलाई अनुभव गर्ने एउटा साझा मञ्च प्रदान गरेको बताए  । डा. शाप्र्लीले भने, ‘सारा ब्रह्माण्ड नै एउटा कम्पन हो र ध्वनि भनेको अनुभवमा ढालिएको ऊर्जा हो ।’ अमेलिया काङले आफ्नो सन्देशमा यो उत्सव प्रश्नहरूको उत्तर खोज्न नभई स्वयंलाई महसुस गर्नका लागि भएको बताए ।  आयोजक संस्था काठमाडौं युथ अर्केस्ट्राका संस्थापक सबिन मुनिकारले यस महोत्सवलाई नेपाली संगीतलाई विश्वव्यापी मञ्चमा नयाँ ढंगले चिनाउने एक ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे ।