काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिको हालैको विस्तारप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।
सभापति गगनकुमार थापाले गरेको १९ जनालाई केन्द्रीय सदस्य मनोनयनपछि सार्वजनिक धारणा राख्दै कोइरालाले पार्टीभित्र सामूहिक भावना र साझा विचार कमजोर बनेको संकेत गरेका हुन् ।
उनले कांग्रेसको समग्र एकताविना राष्ट्रिय राजनीतिमा पार्टीले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गर्दै पद र व्यक्तिभन्दा पार्टीको एकता ठूलो विषय भएको बताएका छन् ।
विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख गर्दै उनले विभाजित कांग्रेसले केवल राजनीतिक क्षति मात्र नभई जनविश्वाससमेत गुमाएको टिप्पणी डा. कोइरालाले गरेका छन् ।
कोइरालाले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा व्याख्या गर्दै नागरिकको भरोसा जित्न नसके कांग्रेसको राष्ट्रिय औचित्यमाथि नै प्रश्न उठ्नसक्ने चेतावनीसमेत दिए ।
उनले पार्टीसँग आबद्ध युवा, संघर्षशील र त्यागी समूहको राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस भावनात्मक रूपमा एकताबद्ध र राजनीतिक रूपमा नागरिकमैत्री बन्नुपर्ने धारणा राखेका छन् ।
उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधानवाद र लोकतान्त्रिक मूल्यहरूमाथि पपुलिज्मको नाममा आक्रमण भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पनि कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको बताए ।
गुटीय राजनीतिका कारण पार्टी कमजोर बनेको संकेत गर्दै उनले यसको अन्त्य छिटो हुनुपर्नेमा जोड दिएका छन्।
कोइरालाले वैशाख २८ गते गरिएको १९ जनाको मनोनयनले पार्टी एकताको भावनालाई कमजोर बनाएको स्पष्ट टिप्पणी गरेका छन् । साथै उनले १४औं महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औं महाधिवेशन एकता महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।