विकासन्युज

ओमेगा क्यापिटल एडभाइजर्सले पायो घरजग्गा किनबेच गर्ने कानुनी अनुमति

काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न नेपाल सरकारबाट आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कम्पनीलाई घरजग्गा कारोबार गर्न इजाजतपत्र (इजाजतपत्र नं. बिआरके १८३५६०१) प्रदान गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको विभागबाट प्रचलित कानून तथा नियमावलीअनुसार उक्त इजाजतपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । इजाजतपत्रअनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रभित्र कानुनी रूपमा घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न सक्नेछ । साथै, इजाजतपत्रमा तोकिएको व्यवस्थाअनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा कम जुनसुकै रकमको घरजग्गा कारोबार गर्न पाउने अधिकार प्राप्त गरेको छ । इजाजतपत्र प्राप्तिपछि कम्पनीले प्रचलित कानून तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्ने, पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अवलम्बन गर्ने, सुरक्षित तथा विश्वसनीय घरजग्गा कारोबार सेवा प्रदान गर्ने तथा ग्राहक र सरोकारवालाको हितलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनी व्यवस्थापनका अनुसार उक्त इजाजतपत्र प्राप्ति संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता र दीर्घकालीन विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ । कम्पनीले आगामी दिनमा थप गुणस्तरीय, पारदर्शी र कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सरकारले निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।      सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।      निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।  

बीसीए कप फुटसल : नागार्जुन कलेजले जित्यो १ लाख ५० हजार पुरस्कार

काठमाडौं । डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजनमा डीएभी कलेजको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथु उपस्थित थिए । साथै, डीएभी कलेज तथा अन्य संस्थाका प्राध्यापक, शिक्षाविद् र अतिथिहरूको पनि उपस्थिति रहेको थियो । प्रतिस्पर्धात्मक खेलपछि नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ । विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पास्कल नेशनल कलेज उपविजेता बन्दै ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो । व्यक्तिगततर्फ नागार्जुन कलेज अफ आईटीका रिशव श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेशनल कलेजका आवास योञ्जनले प्राप्त गरे । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बिकेश कुथु र डीएभी कलेजका अध्यक्ष अनिल केडियाले आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए । प्रविधिसँग बढी समय बिताउने विद्यार्थीका लागि शारीरिक गतिविधि आवश्यक रहेको उनीहरूको भनाइ थियो । अध्यक्ष केडियाले प्रविधिमुखी जीवनशैलीका कारण खेलकुदको महत्त्व झन् बढेको उल्लेख गरे । डीएभी कलेजका बीएससी र बीसीएका एकेडेमिक हेड शशि भूषण चतुर्वेदीका अनुसार प्रतियोगिताको उद्देश्य विभिन्न बीसीए कलेजबीच मित्रता, सहकार्य र समन्वय अभिवृद्धि गर्नु हो । प्रतियोगिताको समन्वय बीसीए प्रोग्राम हेड सुदीप अधिकारीले गरेका थिए । प्रतियोगिताका खेलहरू एन्फा रेफ्री उज्ज्वल लिम्बू, यमबहादुर सुनुवार र सुरज भण्डारीले सञ्चालन गरेका थिए । व्हिजी डेभियन्सका अध्यक्ष महेश्वर सिलवालको नेतृत्वमा आयोजक समितिले शिक्षक, विद्यार्थी र प्रायोजकहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

२१ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २६३८ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२८ कम्पनीको ९३ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको २४ करोड, राधी विद्युत कम्पनीको १६ करोड, न्यादी गुप्रको १५ करोड र रिडि पावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  मंगलबारको कारोबारमा १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ । साथै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।  साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन लिन सकिने सामसङको अफर सुरु

काठमाडौं । सामसङले आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक सार्वजनिक हुनुअघि नै ग्राहकहरूका लागि ‘ह्यान्ड रेजर’ (प्रि–रिजर्भ) अफर सार्वजनिक गरेको छ । यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन अग्रिम बुकिङ गर्दै अधिकतम २० हजार ९९९ रुपैयाँसम्मका लाभ प्राप्त गर्न सक्नेछन् । प्रारम्भिक ग्राहक तथा ब्रान्डप्रति निष्ठावान प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन् । प्रि–रिजर्भ गर्ने ग्राहकहरूले १ टीबीसम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँसम्म बराबर) र ६० वाटको फास्ट चार्जर (५ हजार ९९९ रुपैयाँसम्म बराबर) प्राप्त गर्नेछन् । यो एक्सचेन्ज सुविधा ग्यालेक्सी एस२३, एस२४, एस२५ तथा आईडिभाइस १४, १५ र १६ जस्ता प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध हुनेछ । ‘ह्यान्ड रेजर’ अफर फेब्रुअरी २३ देखि २६, २०२६ सम्म मात्र मान्य रहनेछ । यस अवधिमा ग्राहकहरूले योग्य डिभाइस एक्सचेन्ज गर्दै नयाँ एआई–सञ्चालित ग्यालेक्सी स्मार्टफोन विशेष मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन् । सामसङ एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितका अनुसार यस अफरमार्फत कम्पनीले आफ्ना निष्ठावान ग्राहकहरूलाई नयाँ प्रविधिमा अपग्रेड गर्दा अतिरिक्त लाभ र प्राथमिक पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । उनले यो कार्यक्रम नेपालका उपभोक्तालाई स्मार्ट प्रविधि, थप मूल्य र सहज अपग्रेड अनुभव उपलब्ध गराउने प्रतिबद्धताको हिस्सा भएको बताए । ग्राहकहरूले samsungcampaigns.com मा गई ‘ह्यान्ड रेजर’ अफर चयन गरी आफ्नो विवरण दर्ता गरेर प्रि–रिजर्भेसन सुनिश्चित गर्न सक्नेछन् । साथै, सामसङका अधिकृत स्टोरहरूमा हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता सुविधासहित नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकलाई नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

साम्बाको उपचार निःशुल्क गर्ने केएमसी अस्पतालको घोषणा

काठमाडौं । काठमाडौं मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । सिनामंगलस्थित अस्पतालले एक वक्तव्य जारी गर्दै साम्बाको सम्पूर्ण उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएको हो । नेपालको राष्ट्रिय गहनाका रूपमा परिचित साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटका कारण मैदानबाहिर रहेकी छन् । यसअघि कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरी हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेपछि पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ । त्यसपछि साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् । साम्बाले उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने उल्लेख गर्दै सहयोगको आग्रह गरेपछि काठमाडौं मेडिकल कलेजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'साम्बा नेपालमै उपचार गर्न तयार भए देशकै एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेजले उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख छ । अस्पतालले अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको कर्तव्यबोधका आधारमा साम्बाको उपचार निःशुल्क गर्ने निर्णय गरिएको जनाएको छ ।

भू–राजनीतिक तनावले बिटकोइनको मूल्यमा तीव्र गिरावट

काठमाडौं । बिटकोइन मंगलबार ५ प्रतिशतभन्दा बढीले घट्दै ६३ हजार ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  बढ्दो भन्सार (ट्यारिफ) तनाव र व्यापक भू–राजनीतिक जोखिमका कारण लगानीकर्तामा जोखिमप्रति सतर्कता बढेपछि बजारमा दबाब देखिएको हो । बजार पुँजीकरणका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइन फेब्रुअरी २०२६ को पहिलो हप्तामा तीव्र उतारचढावबीच दबाबमा परेको थियो । जोखिमयुक्त सम्पत्तिबाट लगानीकर्ताहरू टाढिन खोज्दा बिटकोइन कारोबारका क्रममा ६२ हजार ९६४.६४ अमेरिकी डलरसम्म झरेको थियो, जुन पछिल्ला महिनाहरूयताकै कमजोर स्तरमध्ये एक मानिएको छ ।  यस वर्ष अहिलेसम्म बिटकोइन करिब २७ प्रतिशतले घटिसकेको छ भने अक्टोबरको उच्च बिन्दुबाट करिब ५० प्रतिशतले तल आएको छ । क्रिस्टोफर ह्यामिल्टनका अनुसार बिटकोइनमा देखिएको यो गिरावट क्रिप्टो–विशेष धक्काभन्दा पनि जोखिम धारणा पुनःसमायोजनको परिणामजस्तो देखिन्छ । यो गिरावट संरचनागत बहिर्गमनभन्दा ट्याक्टिकल डि–रिस्किङ को परिणाम हुनसक्ने पनि उनी बताउँछन् । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आणविक सम्झौतामा इरानको असहमति जारी रहे ‘आगामी करिब १० दिनभित्र आक्रमण गर्नेरनगर्ने निर्णय लिने बताएका थिए । त्यसयता तनाव बढ्दै गएको छ र वासिङ्टनले मध्यपूर्व क्षेत्रमा सैन्य सम्पत्ति परिचालन जारी राखेको छ । ग्लोबल एक्स अस्ट्रेलियाका इन्भेस्टमेन्ट स्ट्राटेजिस्ट बिल्ली लेउङका अनुसार बिटकोइन अझै पनि विश्वव्यापी तरलता अवस्थाप्रति अत्यन्त संवेदनशील छ । यदि बजारले व्यापार नीतिलाई वित्तीय अवस्था कडा बनाउने रूपमा बुझ्यो भने त्यसको प्रभाव सबैभन्दा पहिले क्रिप्टो बजारमा देखिनेछ ।

कुखुराको दाना उत्पादन गर्ने भ्याली पेलेट फिडको आम्दानी ४ अर्ब नाघ्यो, बैंकमा ऋण २.१० अर्ब

काठमाडौं । भ्याली पेलेट फिड प्राइभेट लिमिटेडले सन् २०२५ मा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १४.५५ प्रतिशत अर्थात् ५१ करोड ६० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा ३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४ अर्ब ५ करोड २० लाख रुपैयाँ तथा सन् २०२१ मा ३ अर्ब १० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार दाना पुनः संरचना गरेपछि बिक्री परिमाण बढेको र विशेषगरी ब्रोइलर दाना खण्डमा ग्राहक स्वीकृति सुदृढ भएकाले आम्दानी वृद्धि भएको हो । कुल आम्दानीमध्ये करिब ८६ प्रतिशत हिस्सा ब्रोइलर दाना खण्डबाट आएको जनाएको छ । सञ्चालन नाफामा पनि सुधार देखिएको छ । ब्याज, कर तथा ह्रासकट्टी अघिको नाफा मार्जिन सन् २०२४ मा ४.९९ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ५.६५ प्रतिशत पुगेको छ । खुद नाफा मार्जिन १.२३ प्रतिशतबाट बढेर २.६४ प्रतिशत पुगेको छ। ब्याज खर्च घटेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ । ग्रस नगद सञ्चिति ६ करोड ७० लाख रुपैयाँबाट बढेर १२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसले आन्तरिक नगद प्रवाहमा सुधार आएको देखाउँछ । सन् २००८ अगस्टमा स्थापना भएको कम्पनीको कारखाना मकवानपुरको हेटौंडामा रहेको छ । कम्पनीले कुखुरा पालनका लागि चार प्रकारका पेलेट दाना तथा ब्रोइलर ब्रीडरका लागि म्यास दाना उत्पादन गर्दै आएको छ । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको वार्षिक उत्पादन क्षमता ७० हजार मेट्रिक टन पुगेको छ । कम्पनीका अनुसार दाना उद्योग अत्यन्तै विखण्डित र प्रतिस्पर्धात्मक छ । संगठित तथा असंगठित दुवै प्रकारका उद्योगहरू बजारमा सक्रिय छन् । उत्पादनमा फरकपन कम भएकाले मूल्य निर्धारणमा साना तथा मध्यम उत्पादकहरूको क्षमता सीमित हुन्छ र बजारकै माग-आपूर्ति अवस्थाले मूल्य तय हुने हुँदा बजार उतारचढावले व्यवसायमा असर पार्ने गरेको जनाएको छ । कम्पनीको व्यवसाय प्रत्यक्ष रूपमा पोल्ट्री उद्योगसँग जोडिएको छ । कुखुरा पालन क्षेत्रमा बर्ड फ्लुजस्ता रोगको प्रकोप वा मासु उपभोगमा कमी आएमा दाना उत्पादक कम्पनीहरूको बिक्री तथा नाफामा प्रत्यक्ष असर पर्ने जोखिम रहेको कम्पनीले जनाएको छ । उद्योग सञ्चालनका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३९ करोड ३५ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब १० करोड ३५ लाख रुपैयाँ ऋण लिएको छ। अघिल्लो वर्ष कम्पनीको कुल ऋण ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ रहेको थियो ।