निर्जीवन बीमा व्यवसायमा मोटरको हिस्सा ३०.२६ प्रतिशत

कस्को हिस्सा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४५ अर्ब रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका कम्पनीहरूले ३१ लाख ६ हजार ६२२ बीमालेख जारी गरेर ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । समीक्षा अवधिमा बीमा कम्पनीहरूले मोटर बीमामार्फत १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३०.२६ प्रतिशत हो ।

कम्पनीहरूले दोस्रो धेरै व्यापार सम्पत्ति बीमाबाट गरेका छन् । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २३.६३ प्रतिशत रहेको छ । जेठसम्ममा कम्पनीहरूले सम्पत्ति बीमामार्फत १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १८.७३ प्रतिशत हो । यसैगरी, कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा १० प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

जेठ मसान्तसम्ममा बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ २ अर्ब ८० करोड ४० लाख रुपैयाँ, हवाईतर्फ २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ, कृषि तथा बालीतर्फ १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ र लघुतर्फ १ अर्ब २० करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ६.१५ प्रतिशत, हवाईको ५.०१ प्रतिशत, कृषि तथा बालीको ३.३७ प्रतिशत र लघुको २.६५ प्रतिशत हिस्सा रहेको छ ।

null
 

Share News